ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्राहकलाई १५ प्रतिशत ब्याजमा ऋण प्रवाह गर्ने लघुवित्तमा बचत गर्दा १ प्रतिशत मात्र ब्याज

२०७९ भदौ, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्दा कति ब्याज पाइएला ? वाणिज्य बैंकले दोहोरो अंक (११ दशमलव शून्य ३ प्रतिशतसम्म) मा ब्याज दिइरहेका छन् । विकास बैंक, फाइनान्स कम्पनी र सहकारीले निक्षेपमा वाणिज्य बैंकको भन्दा पनि बढी ब्याज दिन्छन् । 

बैंक तथा वित्तीय संस्थाबीच ब्याजदरमा प्रतिस्पर्धा भइरहेका बेला लघुवित्त वित्तीय संस्थाले भने १ प्रतिशतसम्म ब्याजमा निक्षेप संकलन गरेको पाइएको छ । 

ग्राहकलाई १५ प्रतिशत ब्याजमा ऋण प्रवाह गर्ने लघुवित्तले तिनै ग्राहकबाट निक्षेप संकलन गर्दा भने १ प्रतिशतसम्म ब्याजदर दिइरहेका हुन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार २०७८ चैतमा लघुवित्त संस्थाहरूको ऐच्छिक बचतको औसत ब्याज ६ दशमलव ३७ प्रतिशत रहेकोमा सबैभन्दा कम एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको १ प्रतिशत मात्र छ । केही लघुवित्तले १० देखि १५ प्रतिशत ब्याज दिए पनि अधिकांशको ब्याजदर एकल अंकमा छ । 

यसैगरी लघुवित्तहरूले ऋणीलाई अनिवार्य बचतमा पनि बजारमा प्रचलितभन्दा कम ब्याज दिएका छन् । तथ्यांकअनुसार २०७८ चैतमा लघुवित्तको अनिवार्य बचतको औसत ब्याजदर ५ दशमलव २८ प्रतिशत थियो । तर, त्यो बेला केही लघुवित्तले २ प्रतिशतमात्र ब्याज दिएका थिए । एकाध संस्थाले मात्र अनिवार्य बचतमा दोहोरो अंकमा ब्याजदर तोकेका छन् । 

२०७९ असारमा वाणिज्य बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर ७ दशमलव ४१ प्रतिशत छ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लघुवित्तको ब्याजदर पनि बजारअनुसार प्रतिस्पर्धी हुनुपर्ने बताउँछन् । अहिलेको अवस्थामा १–२ प्रतिशत ब्याजदर दिनुलाई उनी गलत भन्छन् । ‘लघुवित्तले दिने ब्याजदर पनि वाणिज्य बैंकको हाराहारीमै हुनुपर्छ,’ शर्माले आर्थिक अभियानसँग भने, ‘बजारमा प्रचलितभन्दा न्यून ब्याज दिनु गलत हो ।’

२०७८ चैतसम्म लघुवित्तका ग्राहक सदस्य संख्या ५७ लाख ७२ हजार पुगेको छ । त्यसमध्ये ३२ लाख ४७ हजारलाई ४ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । 

लघुवित्तले ग्राहकबाट अनिवार्य बचत शीर्षकमा ३५ अर्ब ५६ करोड ८६ लाख तथा ऐच्छिक बचत शीर्षकमा ७७ अर्ब ३४ करोड ९४ लाख रुपैयाँ गरी कुल १ खर्ब १२ अर्ब ९१ करोड ८० रुपैयाँ निक्षेप संकलन गरेका छन् । 

बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा लगानी गर्नुपर्ने कर्जा लघुवित्त संस्थाहरूले लिएर बैंकको पहुँच नपुगेका वर्गको समूह बनाएर लगानी गर्दै आएका छन् । सर्वसाधारणबाट निक्षेप संकलन गर्न नपाउने भए पनि यी संस्थाले ऋणीबाट अनिवार्य बचत तथा ऐच्छिक बचतका नाममा निक्षेप उठाउने गरेका छन् । ऋण लिनका लागि अनिवार्य बचत गर्नुपर्ने नियम हुने भएकाले बाध्यतामा परेका सर्वसाधारणलाई न्यून ब्याज दिने गरेका हुन् ।

लघुवित्त बैंकर्स संघले लघुवित्तमा पनि बैंक तथा वित्तीय संस्थामा जस्तै आधारदर र स्प्रेडदरको प्रावधान लागू गर्न माग गर्दै आएको छ । यसो गर्दा ब्याजदर व्यवस्थित हुने अध्यक्ष शर्मा बताउँछन् । 

‘लघुवित्तले पनि आधारदरमा निश्चत प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था लागू हुनुपर्छ,’ उनले भने, ‘यसबाट निक्षेपमा न्यून ब्याज दिने प्रवृत्ति नियन्त्रणमा आउँछ ।’ 

अहिले आएर राष्ट्र बैंकले लघुवित्तले कर्जा लगानीमा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सीमा तोेकेको छ । विगतमा लघुवित्तमा ७ प्रतिशत स्प्रेड तोकिएको थियो । हाल उक्त व्यवस्था हटाइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)