उपभोक्ताको इच्छा, चाहना, वस्तुको मूल्य, प्रतिस्पर्धाजस्ता कुरामा नियमित परिवर्तन भइरहन्छ, जसले जोखिम बढाउँछ । प्रतिफल भनेको जोखिम वहन गरेबापत प्राप्त हुने पुरस्कार भएकाले व्यवसाय गर्नुपूर्व जोखिम निर्धारण अपरिहार्य छ । अपेक्षित प्रतिफलभन्दा वास्तविक प्रतिफल भिन्न हुन सक्ने अवस्था नै जोखिम हो । जोखिमको मात्रा सम्पत्तिको प्रकृतिअनुसार घटी वा बढी हुने गर्छ । वास्तविक सम्पत्तिमा घरजग्गा, मेशिन, ज्ञान र शिपलगायत पर्छन् भने वित्तीय सम्पत्तिमा बन्ड, शेयर, सुरक्षणपत्र, कर्जा लगानी र वित्तीय उपकरण पर्छन् । हालका दिनमा एकातर्फ ऋणको आकार बढेको छ भने अर्कोतर्फ व्यक्तिको व्यययोग्य आयमा कमी आइरहेको छ । बैंकिङ क्षेत्रमा नयाँ प्रविधिको प्रयोग एवं वित्तीय उपकरणले जोखिमलाई दिनप्रतिदिन बढाउँदै लगेको छ, जसले जोखिम विश्लेषणमा समेत चुनौती थपेको छ । बैंकिङ क्षेत्रमा आइपर्ने जोखिमहरूमा कर्जा, बजार, कार्यसञ्चालन, तरलता र ब्याजदरसम्बन्धी जोखिम प्रमुख छन् । सञ्चालन जोखिम बैंक तथा वित्तीय संस्थाहरूको आन्तरिक नियन्त्रण प्रणाली कार्यान्वयनको अभावसँग सम्बद्ध छ । जोखिमको सबैभन्दा ठूलो वाहक कर्मचारी हुन् । निरन्तर अनुगमन एवं सुपरिवेक्षणको अभाव र आन्तरिक नियन्त्रणको कार्यान्वयन पक्ष चुस्त र दुरुस्त नहुँदा जोखिम बढ्छ । हालका दिनहरूमाबैंक तथा वित्तीय संस्थाहरूमा सञ्चालन जोखिम निरन्तर बढेको छ । वित्तीय क्षेत्रमा जोखिम व्यवस्थापनमा हाल देखिएको प्रमुख समस्यामा जोखिमको मापनको अभाव र अनुगमन तथा नियन्त्रण फितलो हुनु नै हो । नेपाल राष्ट्र बैंकको इ.प्रा. निर्देशन नं ५।७५ मा कारोबारमा निहित जोखिम न्यूनीकरण गर्नेसम्बन्धी व्यवस्थाको बढ्दो उल्लंघनले पनि जोखिम बढाइरहेको छ ।
बैंक तथा वित्तीय संस्थामा जोखिम व्यवस्थापन कठिनाइ हुने प्रमुख कारणहरूमा कर्जा प्रवाह र निक्षेप संकलनमा हुने बदमासी हो । कुनै पनि संस्थाको लेखापरीक्षणले उक्त संस्थामा भइरहेका विभिन्न प्रकारका त्रुटि पत्ता लगाउने, लेखा अद्यावधिक भएनभएको यकीन गर्ने, संस्थामा भ्रष्टाचार भएनभएको पहिचान गर्ने र यदि भएको रहेछ भने दोषीलाई कारबाही गर्न सिफारिश गर्ने, आर्थिक ऐन नियमको पालना गराउन प्रोत्साहन गर्ने आदि काम गर्छ । सबै खाले बैंकिङ जोखिम न्यून गर्न नेपाल राष्ट्र बैंकले नेपालको बैंकिङ क्षेत्रमा वासेलको प्रयोग गरेको छ । जोखिम व्यवस्थापन सम्बन्धी ३ खम्बे नीतिसमेत लागू गरेको छ, जसलाई टायर १, २, ३, भनिन्छ । यसमा क्रमश: न्यूनतम पूँजीकोष, सुपरभिजन र बजार अनुशासन पर्छन् । जोखिम व्यवस्थापनलाई बैंकिङ व्यवसायको मेरूदण्डको रूपमा स्वीकार गरी सुशासनको पालना भएमा विश्व अर्थतन्त्र, देशको अर्थतन्त्र र बैंकिङ क्षेत्रसमेत लाभान्वित हुने देखिन्छ ।
बैंकिङ जोखिमका चुनौतीको सामना गर्न आन्तरिक नियन्त्रणको निकै महत्त्व रहेको हुन्छ । बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने सूूचना प्रविधिका साधनहरू हरपल ठगीको जोखिममा रहेका हुन्छन् । प्रविधिको प्रयोग गरी विश्वका कुनै पनि ठाउँबाट नयाँनयाँ प्रकृतिको अपराध र जालसाजीले वित्तीय क्षेत्रलाई गम्भीर समस्या पारेको छ । आधुनिक समयमा बैंकका कार्यहरू बाह्य विशेषज्ञमार्फत पनि गरिने हुँदा त्यस्ता कारोबार बैंकले अवलम्बन गरेका आन्तरिक नियन्त्रण प्रणालीको पहुँच बाहिर रहेका हुन्छन् । यस्तो अवस्थामा बैंकका काम कारबाहीमा निहित जोखिमहरू झन् बढ्छन् । बैंक तथा वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नाफा प्रदान गर्न धेरै ऐन नियम वा निर्देशिकाको मर्मविपरीत गएर पनि काम गर्न सक्छन् ।
केही समयदेखि बैंकहरूले अनुत्पादक क्षेत्रमा लगानी बढाएका कारण एकातर्फ कर्जाको भाखा नाघ्ने समस्या छ भने अर्कोतर्फ तरलता व्यवस्थापनमा दिनप्रतिदिन समस्या थपिँदै गएको छ ।
जनताको निक्षेप लिएर त्यसको सही परिचालन नगरी लगानीकर्ताको फाइदालाई मात्र ध्यान दिँदा समाजमा वित्तीय अराजकता आउन सक्ने सम्भावना हुन्छ । आधुनिक समयमा भइरहेको बैंक तथा वित्तीय संस्था बीचको तीव्र प्रतिस्पर्धा, बैंक तथा वित्तीय संस्थाहरूले अति नै धेरै जोखिम लिने प्रवृत्ति, कारोबारमा स्वार्थ बाझिएको खुलासा नगर्ने प्रवृत्ति, कामकारबाहीमा पारदर्शिता कायम नगर्नु, नियामक निकायहरू र रेटिङ एजेन्सी प्रभावकारी नहुनु र बदलिँदो गतिशील वातावरणले गर्दा बैंक सधैं जोखिममा रहेका हुन्छन् । यस्ता जोखिमले संस्थामा सानोतिनो असरले पनि नकारात्मक प्रभाव पार्न सक्छ र संस्था नै टाट पल्टन सक्ने अवस्था पनि आउन सक्छ । हालका दिनहरूमा विभिन्न कारणले बैंकहरूको नाफा बढी देखिएको र नाफा कमाउने होडबाजी नै चलेकाले राज्यको अर्थतन्त्र नै कमजोर रहेका बेला वित्तीय संस्थाको नाफाको आकार हेर्दा सूक्ष्म लेखापरीक्षणको टड्कारोप्रति सम्बद्ध निकायको बेलैमा ध्यान जानु जरुरी छ ।
जोखिम न्यून गर्न सकिए पनि शून्यमा राखेर व्यवसाय गर्न नसकिने भएकाले यसको उचित व्यवस्थापन गर्दै बैंकिङ क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सकेमा व्यवसायमा सफलता प्राप्त गर्न सकिन्छ । कम्पनीसमेत स्वस्थ र दीर्घजीवी हुन गई त्यसबाट बढी प्रतिफल पाउन सकिने पक्षलाई कसैले बिर्सनु हुँदैन । हालैको एक वित्तीय क्षेत्र सुधारसम्बन्धी अनुसन्धानका अनुसार सरकारको स्वामित्वमा रहेका वाणिज्य बैंकहरू तथा निजीक्षेत्रका बैंकहरू समेतमा बैंकिङ जोखिम बढेको छ । नियमित अनुगमन र सुपरिवेक्षणको अभाव, सुशासनमा देखिएको सुस्ती र आन्तरिक तथा बाह्य लेखापरीक्षणले औंल्याएका त्रुटिहरूको समयसापेक्ष सुधारमा देखिएको उदासीनता हो भनिएको छ । वास्तवमा बैंकिङ क्षेत्रमा आन्तरिक नियन्त्रणका लागि बनाइएका नियमकानून, नीति निर्देशिका आफैमा उत्कृष्ट छन् । तर, यसको कार्यान्वयन, निरन्तर अनुगमन र कर्मचारीलाई दिइने नियमित तालीमको अभाव देखिन्छ । अनुभव प्राप्त गर्ने समय नै नदिई नियमित बैंकको आर्थिक कारोबारमा संलग्न गराउनु, नीतिनियम र निर्देशिकाहरूको अध्ययन नगराउनु, राष्ट्र बैंकको बैंकिङ सुपरभिजनले औंल्याएका त्रुटिहरूको कार्यान्वयन नहुँदा पनि सञ्चालन जोखिम बढेको पाइन्छ । जोखिम तथा बैंकिङ अपराधसमेतको वृद्धिले जोखिम व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । त्यसैले सम्बद्ध निकाय समयमै सचेत हुनुपर्ने देखिन्छ ।
लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।