ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डेटिङदेखि सेटिङसम्म प्रयोग हुन थालेपछि प्रिपेड डलर कार्डबाट भुक्तानीमा कडाइ

२०७९ भदौ, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रिपेड डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरीद गर्न सहज होस् भनेर जारी भएको कार्ड अनलाइन गेम, डेटिङ साइट प्रयोग तथा राजनीतिक र धार्मिक संगठनलाई चन्दा दिनसमेत प्रयोग हुन थालेपछि केन्द्रीय बैंकले निर्देशन जारी गरी विभिन्न क्षेत्रको भुक्तानीमा रोक लगाएको हो । 

राष्ट्र बैंकले मंगलवार बैंकहरूलाई निर्देशन जारी गरी १७ प्रकारका मर्चेन्ट क्याटगोरी कोड (एमसीसी)मा कार्डमार्फत भुक्तानी नहुने व्यवस्था मिलाउन भनेको छ । निर्देशनमा कार्डमार्फत बैंक रकम ट्रान्सफर, वालेटको रकम भुक्तानी, इन्स्योरेन्स प्रिमियम भुक्तानी, रियल इस्टेट एजेन्टको शुल्क भुक्तानी, मनी ट्रान्सफर, विभिन्न अनलाइन खेल, अनलाइन डेटिङ वेब प्रयोग तथा राजनीतिक र धार्मिक संगठनलाई चन्दाजस्ता भुक्तानी गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ । 

‘कार्डमार्फत अनुत्पादक क्षेत्रमा लगानी नहोस् भनेर केही क्षेत्रमा प्रतिबन्ध लगाएका हौं,’ राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पौड्यालले भने । 

राष्ट्र बैंकले २०७७ चैतमा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूले यस्तो कार्ड जारी गर्न पाउने व्यवस्था गरेको थियो । कार्डमार्फत वार्षिक अधिकतम ५ सय अमेरिकी डलर वा त्यो बराबरको विदेशी मुद्रा कारोबार गर्न पाउने व्यवस्था छ । 

प्रिपेड डलर कार्ड जारी हुन थालेको १ वर्ष नहुँदै १८ हजारभन्दा बढी कार्ड जारी भएका थिए । राष्ट्र बैंकका अनुसार २०७८ मङ्सिरसम्ममा जारी भएका १८ हजार १११ ओटा कार्डमार्फत १८ लाख डलर भुक्तानी भएको छ । त्यसयता जारी भएका कार्ड र ती कार्डबाट भएको भुक्तानीबारे राष्ट्र बैंकसँग छुट्टै तथ्यांक छैन । राष्ट्र बैंकमा नयाँ विभाग थप भएको र उक्त विभागले यसको नियमन गर्ने भएकाले यसबारे यकीन तथ्यांक नभएको सहायक प्रवक्ता पौड्यालले बताए । 

तर, विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले कार्डबाट भइरहेको भुक्तानीमा निगरानी गरिरहेको थियो । कार्डबाट अनलाइन गेम, डेटिङ साइटका सेवा खरीद हुन थालेपछि राष्ट्र बैंकले रोक लगाएको हो । 

यसअघि कार्डबाट कानूनले प्रतिबन्ध नलगाएका वस्तु तथा सेवा अनलाइनमार्फत खरीद गर्न सकिने व्यवस्था थियो । 

फेसबूकलगायत विभिन्न सामाजिक सञ्जालमा विज्ञापन गर्न, अनलाइनबाट विभिन्न सामान खरीद गर्न तथा छोटो अवधिका कोर्ष तथा तालीमको शुल्क भुक्तानी गर्न समेत यस्ता कार्ड प्रयोग भएका छन् । 

केन्द्रीय बैंकको निर्देशनअनुसार कार्डबाट पूँजीगत कारोबारका लागि खर्च गर्न नपाइने र कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्ने, पीओएसलगायत कारोबार गर्न नसकिने व्यवस्था छ । यस्तै निर्देशनमा बैंकहरूले व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सक्ने भए पनि प्रयोगकर्ताको ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक भएको र स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी बैंकमा ग्राहकले अनुरोध गरेको दिनको विनिमय दरका आधारमा कार्डमा अमेरिकी डलर वा अन्य विदेशी मुद्रा जम्मा गर्नुपर्ने र एक्टिभ भएको दिनबाट कार्डको समयअवधि गणना गर्नुपर्ने प्रावधान छ ।

विदेशी मुद्राको प्रिपेड कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरी विदेशी मुद्रा आम्दानी गरेको रकम पनि कार्डमा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने र यो रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुन सक्ने व्यवस्था गर्न सकिने प्रावधान निर्देशनमा छ । तर, कार्डमा ५ हजार डलरभन्दा बढी विदेशी मुद्रा भएमा उक्त रकम अनिवार्य रूपमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्ने भनिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)