काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को भदौसम्ममा जीवन बीमा कम्पनीहरूले कुल २६ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दी तथा बैंकहरूको ब्याजदर वृद्धिको प्रभावले बीमा कम्पनीहरूको व्यवसायमा भने कमी आएको छ ।
बीमा समितिका अनुसार सञ्चालनमा रहेका १९ कम्पनीहरूले भदौसम्ममा कुल १ करोड ४० लाख १४ हजार ८६६ ओटा बीमालेख जारी गरी २६ अर्ब ३ करोड २७ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । भदौमा मात्र कम्पनीहरूले १० अर्ब ९७ करोड ५३ लाख १९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । साउनको तुलनामा भदौको बीमाशुल्क संकलन २७ दशमलव ११ प्रतिशतले कम हो । साउनमा उनीहरूले १५ अर्ब ५ करोड ७४ लाख २६ हजार रुपैयाँ बीमाशुल्क उठाएका थिए ।
आर्थिक गतिविधिमा देखिएको कमी र बैंकहरूको ब्याजदर वृद्धिले बीमा कम्पनीहरूको व्यवसाय प्रभावित भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘आर्थिक मन्दी र बैंकको ब्याजदर वृद्धिको प्रभाव बीमा कम्पनीहरूको व्यवसायमा देखिएको छ,’ उनले भने, ‘यही कारणले नै साउनको तुलनामा भदौमा कम्पनीहरूको व्यवसाय घटेको हो ।’ बैंकको ब्याज उच्च भएकाले बीमा गर्ने सर्वसाधारणले बीमालेख ‘सरेन्डर’ गरेर मुद्दती निक्षेपमा रकम राख्न थालेको उनले बताए ।
पछिल्लो समय बैंकहरूले शुरू निक्षेपको १० गुणासम्म फिर्ता गर्ने गरी २० वर्ष अवधिसम्मका मुद्दती निक्षेप योजना सार्वजनिक गरेका छन् ।
भदौमा कम्पनीहरूको व्यवसायमा ठूलो अंश नवीकरण भएको बीमाशुल्कको छ । समितिका अनुसार कम्पनीहरूले साउनमा २ अर्ब २० करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क र १२ अर्ब ८५ करोड ४० लाख रुपैयाँ नवीकरण शुल्क संकलन गरेका थिए ।
भदौमा पनि कम्पनीहरूले २ अर्ब ६० करोड १५ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्दा ८ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ नवीकरणबाट आर्जन गरेका छन् ।
महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई बैंकिङ गतिविधिमा कमी आएपछि बीमा कम्पनीको व्यवसाय पनि प्रभावित भएको बताउँछन् । ‘मानिसका सबै आवश्यकता पूरा भएपछि मात्र बीमा गर्ने हुन्,’ उनले भने, ‘बैंकले ऋण बन्द गरेको र बजारमा नगद प्रवाह कम भएको अवस्थामा सर्वसाधारणको प्राथमिकता आधारभूत आवश्यकता परिपूर्तिमा केन्द्रित छ ।’ वित्तीय क्षेत्रमा तरलताको अवस्था सहज भई आर्थिक गतिविधि सामान्य नभएसम्म बीमा व्यवसाय विस्तार नहुने उनले बताए ।
समितिको तथ्यांकअनुसार भदौसम्ममा सबैभन्दा बढी व्यवसाय नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले भदौसम्ममा ७ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । यसैगरी नेशनल लाइफ इन्स्योरेन्सले ३ अर्ब २३ करोड ५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ३ अर्ब १९ करोड ७५ लाख, युनियन लाइफले १ अर्ब ४० करोड ६ लाख र एशियन लाइफले १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले भदौसम्ममा २७ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको समितिको तथ्यांकमा उल्लेख छ ।