ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शाखा रहित बैंकिङ : पैसा जम्मा गरेर भौचर लिइरहे, पैसा निकाल्न जाँदा खातामा पैसा छैन !

२०७९ असोज, २८  
समाचार विविध र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

लुम्बिनी । 'पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन', सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन], 'पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।'

रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उनलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी छन् । 'बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो, तर अहिले गएर बुझ्दा खातामा पैसा छैन', उनले भनिन् ।

सम्मरीमाई–७ का ५० वर्षीय रामदास लोधका दुई भाइ छोरा वैदेशिक रोजगारीमा छन् । कतारमा कमाएको पैसाले घर बनाउने योजनाअनुसार उनीहरूले महिनैपिच्छे पठाएको पैसा बाबु रामदासले नजिकैको शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गर्दै भौचर लिँदै आए । तर, बैंक स्टेटमेण्टमा उनको खातामा पैसा छैन । गत साउन महीनामा नयाँ घर बनाउने भनेर जब उनी बैंकको भैरहवा शाखामा पैसा निकाल्न गए, उनको खातामा मात्र ९० हजार रुपैयाँ रहेको थाहा पाए। यो अवधिमा उनले सो बैंकमा ४ लाख रुपैयाँ जम्मा गरिसकेको बताउँछन् । अहिले उनी बैंकले नै पैसा गायब पारिदिएको दुःखेसो पोख्दै न्यायको खोजीमा भौँतारिरहेका छन् ।

सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले पनि माछापुच्छ्रे बैंकको उक्त शाखारहित सेवा लिँदै २१ पटक गरी १५ लाख ८० हजार रुपैयाँ बैंकमा जम्मा गरे । उनको खातामा पनि उक्त पैसा छैन । खातामा पैसा नदेखिएपछि उनले बैंकमा निवेदन दिन गए तर, बैंकले उनको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिन तयार नभएको उनको गुनासो छ ।

आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई–५ स्थित माछापुच्छ्रे बैंकको सो शाखारहित कार्यालयमार्फत सेवाग्रहीले जम्मा गरेको भौचर छ । तर, उनीहरुको बैंक खातामा भने रकम जम्मा भएको छैन ।

खातामा जम्मा गरिएको रकम कहाँ गयो त ? भन्ने प्रश्नमा बैंकले आलटाले जवाफ दिँदै आएको सेवाग्राहीको भनाइ छ ।

सेवाग्राहीले क्षमताअनुसार ५ हजारदेखि १६ लाख रुपैयाँसम्म जम्मा गरेको बताएका छन् । यसरी जम्मा गरेको करिब ३ करोड रुपैयाँ एजेन्ट र बैंककै कारण गायब भएको उनीहरूको गुनासो छ । पैसा जम्मा गर्नेहरूले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेबारीदेखि, भैँसी खरीद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका थिए । बैंक र त्यसका एजेन्टलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित माछापुच्छ्रे बैंकले त्यहाँ स्थानीय एजेन्ट रोइनिहवाका निरञ्जन पाठकसँग सम्झौता गरेर शाखारहित बैंकिङ सेवा दिँदै आएको छ । पाठकले बैंकमा सेवा दिनका लागि बैंकका कर्मचारी स्थानीयवासी सिकन्दर ठाकुरलाई व्यवस्थापक राखेको थियो । सेवाग्राहीले उनै ठाकुरलाई पैसा बुझाउँदै पैसा बुझाएबापतको डिपोजिट भौचर ल्याउने गर्थे ।

निवेदनसमेत बुझ्न नमानेको माछापुच्छ्रे बैंकले भने अनुसन्धान भइरहेको भन्दै ढाँट छल गरिरहेको सेवाग्रहीको आरोप छ । वडा नं ५ का वडाध्यक्ष श्रवण यादवले भने, 'बैंकले स्थानीयवासीको रकम गायब हुँदा अहिलेसम्म पनि एजेन्टविरुद्ध कुनै कारवाही गरेको छैन । उल्टै एजेन्टसँगको सम्झौता तोडेको छ र शाखारहित सेवा बन्द गरेको छ ।'

वडाध्यक्ष यादवले यसबाट स्थानीयवासी झनै सशंकित हुनुपरेको उल्लेख गर्दै सेवाग्रहीले जोडेको एक–एक पैसा ब्याजसहित बैंकले तिर्नैपर्ने बताए । बैंकका व्यवस्थापक सिकन्दर ठाकुरले आफूबाट गल्ती भएको स्वीकार्दै सेवाग्राहीको बाँकी रकम छिट्टै व्यवस्थापन गर्ने बताए ।

उनले भने, 'मैले निजी प्रयोजनमा सेवाग्रहीको रकम खर्च नगरे पनि व्यावहारिक हिसाबले लेनदेन गरेको छु । म भागेको छैन र भाग्ने पनि छैन, मसँग व्यक्तिगत सम्पत्ति छ, आफ्नो घरजग्गा विक्री गरेर भए पनि सेवाग्राहीको पैसा चुक्ता गर्छु ।'

सेवाग्राहीको दाबी सबै सत्य नभएको र १ करोड ३२ लाख रुपैयाँ मात्र अनियमित भएको उनको भनाइ छ ।

बैंकका एजेन्ट निरञ्जन पाठकले यस क्षेत्रमा बैंकिङ सुविधा नभएका बखत २०७५ सालमा बैंककै कर्मचारी र स्थानीयवासीको आग्रहमा शाखारहित कार्यालय सञ्चालन भएको बताए । 'शाखा रहित बैंकिङका लागि मैले नै सम्झौता गरेको हुँ तर कोभिडको समयदेखि मसँग कुनै सम्झौता भएको छैन ।' उनले भने ।

एजेन्ट पाठकले व्यवस्थापकले गल्ती गरेकाले उनले सेवाग्राहीको पैसा तिर्नुपर्ने बताए । सो सम्बन्धमा माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालयका प्रवक्ता सुनिल खतिवडाले भने अब अनुसन्धान गरेर स्थानीयवासीको मर्का बुझ्ने बताएका छन् । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)