ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कात्तिक लागेपछि घट्न थाल्यो निक्षेप

२०७९ कात्तिक, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

काठमाडौं । चालू आर्थिक वर्षको भदौ र असोजमा बढेको वाणिज्य बैंकहरूको निक्षेप कात्तिक लागेपछि घट्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ र असोजमा बढेको निक्षेप कात्तिकको पहिलो सातादेखि निरन्तर घटिरहेको छ ।

तिहार, छठलगायत ठूला चाडपर्व र चुनावी चहलपहलका कारण बैंकबाट निक्षेप घट्न थालेको बैंकरहरूको अनुमान छ । चुनावपछि यो रकम विस्तारै बैंकिङ प्रणालीमा फर्किने र तरलता अभावमा राहत हुने उनीहरूको अपेक्षा छ ।

संघका अनुसार कात्तिक १ देखि ७ गतेसम्ममा ६ अर्ब २४ करोड रुपैयाँ निक्षेप घटेकोमा कात्तिक ८ देखि ११ गतेसम्ममा १७ अर्ब १३ करोड रुपैयाँ घटेको छ ।

असोज महीनाभरिमा वाणिज्य बैंकहरूको निक्षेप ६१ अर्ब ६४ करोड रुपैयाँ बढेर ४५ खर्ब ४७ अर्ब १५ करोड रुपैयाँ कायम भएको थियो । कात्तिक ११ गतेसम्ममा उक्त रकम ४५ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँमा झरेको छ । यसअघि साउनमा बैंकहरूको निक्षेप घटे पनि भदौमा भने ५२ अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको संघले जानकारी दिएको छ ।

दशैंअघि बैंकहरूको निक्षेप घटे पनि दशैंलगत्तै पुनः बैंकिङ प्रणालीमा फर्किन थालेको थियो । तर, मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी चहलपहल शुरू भएपछि कात्तिकको २ सातामै २३ अर्ब ३७ करोड रुपैयाँ घटिसकेको छ । कात्तिकमा तिहार तथा छठपर्वका कारण पनि निक्षेप घटेको बैंकरहरूको अनुमान छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चाडपर्व र चुनावी खर्चका लागि बैंकबाट निक्षेप बाहिरिएको बताउँछन् । ‘चाडपर्वमा खर्च गर्न र चुनावी गतिविधि बढेका कारण कात्तिक लागेपछि बैंकबाट निक्षेप घटेको छ,’ उनले भने, ‘चुनावपछि विस्तारै यो पैसा बैंकिङ प्रणालीमा फर्किन्छ ।’

चुनावमा उम्मेदवारहरूले अनौपचारिक क्षेत्रको पैसासमेत खर्च गर्ने भएकाले त्यसपछि बैंकमा निक्षेप बढ्ने उनले अनुमान गरे । ‘चुनावमा खर्चका लागि अनौपचारिक क्षेत्रको पैसा पनि प्रयोग हुने भएकाले चुनावपछि बैंकिङ प्रणालीमा निक्षेप बढ्छ,’ श्रेष्ठले भने, ‘यो निर्वाचनले पनि बैंकिङ प्रणालीमा देखिएको तरलता अभावमा केही राहत हुने अपेक्षा गर्न सकिन्छ ।’

कात्तिकमा निक्षेप घटे पनि वाणिज्य बैंकहरूको कर्जा प्रवाह भने वृद्धि भएको छ । कात्तिकमा मात्र बैंकहरूको कर्जा प्रवाह ५ अर्ब १० करोड रुपैयाँले वृद्धि भएको छ । असोज मसान्तमा बैंकहरूको कुल कर्जा प्रवाह ४२ खर्ब २० अर्ब ३२ करोड रुपैयाँ रहेकोमा कात्तिक ११ गतेसम्ममा ४२ खर्ब २५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

बैंकहरूले चालू आर्थिक वर्षको साउनमा १० अर्ब ५८ करोड, भदौमा १३ अर्ब ७५ करोड र असोजमा ३० अर्ब ४ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

निक्षेप वृद्धि नभए पनि बैंकहरूले कर्जा प्रवाह गरेपछि उनीहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) बढेको छ । कात्तिक ४ गतेसम्म बैंकहरूको औसत सीडी रेसियो ८७ दशमलव २३ प्रतिशत रहेकोमा ११ गते आइपुग्दा बढेर ८७ दशमलव ५८ प्रतिशत पुगेको संघले बताएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले सीडी रेसियो ९० प्रतिशतभन्दा कममा राख्नुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)