ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकिङ प्रणालीमा तरलता सहज, २ खर्ब २६ अर्बभन्दा बढी कर्जा विस्तार गर्न सक्ने क्षमता

सीडी रेसियो ८५.८६ प्रतिशतमा, २.२६ खर्बभन्दा बढी कर्जा विस्तारको क्षमता, ब्याजदर घटाउन दबाब

२०७९ पौष, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

काठमाडौं । बजारमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेको चर्चा चलिरहेका बेला विभिन्न तथ्यांकले यतिखेर तरलता अभाव नरहेको देखाएका छन् । गत आर्थिक वर्ष (आव)को शुरूदेखि बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य रकम (तरलता) को अभाव सहज बन्दै गएको हो । चाडपर्व र चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको रकम फिर्ता हुन थालेको र रेमिट्यान्स (विप्रेषण) आप्रवाह बढेका कारण बैंकिङ प्रणालीमा भएको निक्षेप वृद्धिले तरलतामा सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आइतवारसम्मको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थासँग ५२ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप छ । यसमध्ये वाणिज्य बैंकहरूसँग ४६ खर्ब २९ अर्ब रुपैयाँ र विकास बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब २५ अर्ब रुपैयाँ छ । यसैगरी आइतवारसम्म बैंक, वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४७ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । यसमा वाणिज्य बैंकको अंश ४२ खर्ब १३ अर्ब रुपैयाँ र विकास बैंक तथा वित्तीय संस्थाको अंश ५ खर्ब ४६ अर्ब रुपैयाँ छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ दशमलव ८६ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशत सीडी रेसियोसम्म कर्जा दिन पाउने व्यवस्था भएकाले २ खर्ब २६ अर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार गर्न सक्ने क्षमता रहेको पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री बताउँछन् । पुसमा सरकारी ढुकुटीमा फिर्ता हुने रकम घटाउँदासमेत १ खर्ब रुपैयाँभन्दा बढी तरलता बैंकिङ प्रणालीमा हुने भएकाले अभाव नहुने उनले दाबी गरे ।

‘सरकारको आन्तरिक ऋण, कर तथा स्थानीय तहको निक्षेप गणना गर्ने रकम घटाउँदा पुसमा बैंकिङ प्रणालीमा तरलता अभाव हुन्छ भनेर विश्लेषण भइरहेको छ,’ क्षेत्रीले भने, ‘यी सबै घटाउँदा पनि बैंकहरूमा १ खर्ब हाराहारी कर्जा दिने क्षमता बाँकी रहने भएकाले तरलताको समस्या हुँदैन ।’ पछिल्लो समय बैंकमा निक्षेप बढिरहेकाले माघबाट ठूलो समस्या थपिएन भने ब्याजदर घटाउनुपर्ने उनको भनाइ छ । उनका अनुसार पुस मसान्तपछि बैंकहरूले स्थानीय तहको निक्षेप रकम ८० प्रतिशतको सट्टा ५० प्रतिशतमात्र निक्षेपमा गणना गर्न पाउने व्यवस्थाले ३१ अर्ब हाराहारीमा निक्षेप घट्छ । पुनर्कर्जाबापतको ८० अर्ब रुपैयाँ फिर्ता हुन्छ । यस्तै गत आवको आधारमा पुसमा ४५ अर्ब रुपैयाँ हाराहारी करबाट सरकारी ढुकुटीमा जाने भए पनि १ खर्बभन्दा बढी तरलता कायमै रहने उनले विश्लेषण गरे ।

राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनले कात्तिकमा मूल्य वृद्धिदर घट्नुका साथै शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह, विदेशी मुद्राको सञ्चितिजस्ता सूचक सकारात्मक भएका छन् । कात्तिकसम्ममा विप्रेषण आप्रवाह २० दशमलव ४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । कात्तिकमा मात्र ९६ अर्ब ९९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यसबाट बैंकहरूको निक्षेपमा सकारात्मक प्रभाव देखिएको छ ।

नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्यांकअनुसार मङ्सिरमा मात्रै वाणिज्य बैंकहरूमा ५७ अर्ब २२ करोड रुपैयाँले निक्षेप बढेको छ । मङ्सिरको पछिल्लो १ सातामै २२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप थपिएको छ ।

बैंकहरूको निक्षेप बढे पनि कर्जा विस्तार भने सुस्त छ । मङ्सिरमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह २ अर्ब रुपैयाँ मात्रैले बढेको छ । कात्तिक मसान्तमा बैंकहरूको कुल कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा मङ्सिर मसान्तमा बढेर ४२ खर्ब २४ अर्ब रुपैयाँ पुगेको संघले जानकारी दिएको छ । पूर्वबैंकर क्षेत्री भने पछिल्लो समय बैंकहरूको ब्याजदर उच्च हुँदा कर्जाको माग नै घटेको र बैंकले कर्जा विस्तार गर्न नसकेको बताउँछन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि गत आवदेखि नकारात्मक रहँदै आएका अर्थतन्त्रका सूचकहरू सकारात्मक भएको र तरलताको समस्या पनि सहज हुँदै गएको बताइरहेका छन् । पुसमा भने केही चाप बढ्न सक्ने गभर्नर अधिकारीको अनुमान छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय पनि विप्रेषण आप्रवाहमा सुधार, पूँजीगत खर्च वृद्धि र असुलीमा बैंकहरूको जोडका कारण तरलताको अवस्था केही सहज देखिएको बताउँछन् । ‘सीडी रेसियोको अवस्था केही सहज देखिएको छ,’ उनले आर्थिक अभियानसँग भने, ‘तर, बैंकहरू आफ्नो पोर्टफोलियो म्यानेज गरेर बस्ने मनसायमा देखिएकाले तत्काल कर्जा फालाफाल हुने अवस्था देखिँदैन ।’ अहिलेकै जस्तो निक्षेप वृद्धि भइरहे माघमा निक्षेपको ब्याजदर घट्ने उनले बताए ।

बैंकहरूले तरलताको अवस्थामा सुधार नआएको भन्दै पुसमा ब्याजदर स्थिर राखेका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ पनि तत्काल बैंकहरूले ठूलो लगानी गर्ने गरी तरलता सहज नभएको बताउँछन् । ‘पुससम्म यसलाई दीर्घकालीन सुधार भनेर विश्लेषण गर्न सकिँदैन,’ उनले भने, ‘अहिलेको अवस्थाले बैंकहरूलाई ऋण फलो गर्ने, रोटेशन गर्ने, ठाउँ त रह्यो, ठूलो कर्जा दिने स्पेस छैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)