ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

'मास सेन्टिमेन्ट'मा बढेको शेयर बजारलाई अर्थतन्त्रका सूचकले साथ दिन्छन् त ? यसो भन्छन् विश्लेषक

२०७९ पुस, १२  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अनन्त्य सुन्दर

काठमाडौं । आइतवारदेखि विकसित राजनीतिक घटनाक्रमले शेयर बजारमा प्रत्यक्ष प्रभाव पारेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै लगातार दोस्रो दिन पनि नेप्सेमा ५० अंक भन्दा माथिको वृद्धि भएको छ ।

प्रधानमन्त्रीमा प्रचण्ड र अर्थमन्त्रालयमा विष्णु पौडेलको तेस्रो कार्यकाललाई शेयर बजारका लगानीकर्ताले सकारात्मक रुपमा लिएपछि दुई कारोबार दिनमा नै नेप्से परिसूचक ११६ दशमलव ७५ अंकले बढेको छ । 

सोमवार ५६ दशमलव ८८ अंकले बढेको बजार मङ्गलवार त्योभन्दा बढी ५९ दशमलव ८७ अंकले बढेको छ । यो सँगै नेप्से परिसूचक १९८३ विन्दुमा पुगेको छ । जुन पछिल्लो ४ महीना यताकै उच्च विन्दु हो ।

त्यस्तै कारोबार रकम पनि सोमवार दुई अर्ब रुपैयाँ माथिको पुगेकोमा मंगलवार झन्डै दोब्बर ३ अर्ब ८८ करोड रुपैयाँको पुगेको छ । यो पछिल्लो ६ महीना यातकै सर्वाधिक कारोबार रकम हो । 

तर, शेयर बजारको अहिलेको वृद्धि स्थिर रहला वा जसरी बढेको हो त्यसरी नै घट्ने पो हो कि ? भन्ने प्रश्न आम लगानीकर्तामा छ ।

बजारका जानकारहरू भने बजारको आगामी यात्रा विश्लेषण गर्न थप दुई दिनको बजार अध्ययन गर्नुपर्ने बताउँछन् ।  

मर्चेन्ट बैंकर्श एशोसिएशन अफ नेपालका उपाध्यक्ष तथा ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पारषमणि ढकाल निरन्तर घट्दो क्रममा रहेको बजार नयाँ सरकार गठन भएसँगै एकैपटक प्रस्फुटन भएको बताउँछन् । ‘निरन्तर घट्दो क्रममा रहेको बजार हिजो र आज बढ्नुमा प्रमुख दुई कारण छन्’ ढकाल भन्छन् ’पहिलो प्रधानमन्त्रीमा प्रचण्डको उदय र दोस्रोमा अर्थमन्त्रीमा विष्णु पौडेलको तेस्रो कार्यकाल ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको रुपमा यो अन्तिम मौका भएको र आफूले सकेको राम्रो गर्ने बताउँदै आउनु भएको छ । त्यसैले प्रधानमन्त्रीले पूँजी बजार र समग्र अर्थतन्त्रको हितमा राम्रो काम गर्नु हुन्छ भन्ने आम-लगानिकर्ताको अपेक्षाले नै बजारमा सकारात्मक प्रभाब पारेको ढकालको बुझाइ छ । 

ढकाल भन्छन् ‘विगतका वर्षमा अर्थमन्त्री पौडेलको कार्याकालमा बजारले दुईपटक अलटाईम हाईको रेकर्ड ब्रेक गरिसकेको छ । त्यसैले यसपटक पनि लगानिकर्ताहरुले पौडेलको कार्याकालमा बजार बढ्ने आकलन गरेको देखिन्छ।’ 

त्यसका साथै हिजो बसेको मन्त्रीपरिषद्को बैठकले पनि अर्थतन्त्र र पूँजी बजारलाई सम्बोधन गर्ने भनिएको छ । तर बजारको आगामी यात्रा बारे भने थप दुई दिनको बजार विश्लेषण गरेर मात्र भन्न सकिन्छ, उनले भने।  

नेपाल ईन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको बेला नयाँ अर्थमन्त्रीको ईन्ट्रीसँगै दुई दिनमा नै बजार १०० अंक भन्दा धेरैले बढेको बताउँछन् ।

अर्थमन्त्री पौडेलकै पालामा दुईपटक बजारले अलटाईम हाईको रेकर्ड ब्रेक गरिसकेको छ । त्यसैले उनलाई शेयर बजार प्रति सकारात्मक अर्थमन्त्रीको रुपमा बजारले लिएको उनको भनाइ छ ।

अहिले बैंकिङ प्रणालीमा तरलता पनि सहज हुदैँ गएको र निकट भविष्यमा नै ब्याजदर पनि घट्ने आकलन लगानीकर्ताले गरेको रौनियारले बताए । 

शेयर बजार विश्लेषक अनलराज भट्टराई नेपाली राजनीतिमा केही दिनयता भएका राजनीतिक परिवर्तनले शेयर बजारमा प्रत्यक्ष प्रभाब पारेको बताउँछन् ।

नयाँ सरकारले वित्तीय स्थायित्व, पूँजी बजार सुधार र तरलता व्यवस्थानमा केन्द्रित भएर काम गर्छौ भनेर दिएका अभिव्यक्तिले पनि बजारमा सकारात्मक माहोल सृजना भएको उनले भनाइ छ ।

‘नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले नै गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति गर्नु भएको थियो’ विश्लेषक भट्टराई भन्छन्, ’त्यसैले लगानिकर्ताहरूमा राष्ट्र बैंकले निकट भविष्यमा पूँजी बजारको समस्याहरू सम्बोधन गर्ने अपेक्षा रहेको देखिन्छ ।’ 

स्टक ब्रोकर्श एशोसिएशनका अध्यक्ष सन्तोष मैनाली सोमवार र मङ्गलवार बजार बढ्नुको मुख्य कारण नै राजनीतिक परिवर्तन भएको बताउँछन् । ‘तरलता पनि केही सहज भएका कारण त्यसको प्रभाब बजारमा परेको देखिन्छ,’ उनले भने।  

‘बजार अहिले राजनीतिक परिवर्तनका कारण मार्केट सेन्टिमेन्टमा चलेको देखिन्छ’ अध्यक्ष सन्तोष मैनाली भन्छन्, ’त्यसैले बजार स्थिरताको लागि समग्र अर्थतन्त्रमा पनि सुधार आवश्यक छ।’

अहिले बैंकिङ प्रणालीमा लगानी योग्य रकम केही बढेको देखिन्छ । तर पुस मसान्तमा कर तिरिसकेपछि बैंकिङ प्रणालीमा कति रकम बाँकी रहन्छ भन्ने कुराले मात्रै वास्तविक तरलताको अवस्था एकिन हुने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)