ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अङ्ग्रेजी नयाँ वर्षमा बढ्दै पर्यटकीय चहलपहल, होटलहरूको बुकिङ ८० प्रतिशतसम्म

२०७९ पुस, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
अङ्ग्रेजी नयाँ वर्ष मनाउन काठमाडौं, ठमेल आएका विदेशी पर्यटक । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar प्रतिक्षा कडेल

काठमाडौं । अघिल्लो अङ्ग्रेजी नयाँ वर्षमा पोखरा पुग्ने विदेशी पर्यटक फाट्टफुट्ट मात्रै थिए । त्यहाँका होटलमा ग्राहकको चाप थिएन । पोखरा मात्रै होइन, देशभरका अन्य पर्यटकीय क्षेत्रको अवस्था पनि उस्तै थियो । 

तर, यो वर्ष अवस्था फेरिएको छ । नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षका लागि पोखरालगायत देशभरका पर्यटकीय क्षेत्रहरूमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना महामारीयता सुनसानझैं देखिएका होटल तथा पर्यटकीय गन्तव्य अहिले विदेशी पर्यटकले भरिन थालेका छन् । 

कोरोनाको असर कम भएसँगै नेपाल भित्रिने पर्यटकको संख्या पनि बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष नेपाल आउने पर्यटकको संख्या दोब्बरभन्दा बढी छ ।  सन् २०२२ को नोभेम्बरसम्ममा ५ लाख ६५ हजार पर्यटक नेपाल भित्रिसकेका छन् । सन् २०२१ मा भने नेपाल आउने पर्यटकको संख्या साढे २ लाखभन्दा कम थियो । 

कोरोना महामारीयता पर्यटक गतिविधि बढ्न थालेपछि व्यवसायी पनि उत्साहित छन् । पर्यटक बढेसँगै पर्यटन व्यवसाय लयमा फर्किने व्यवसायीको अपेक्षा छ । 

धमाधम बुकिङ हुँदै होटल 

नयाँ वर्ष नजिकिएसँगै देशभरका पर्यटकीय गन्तव्यमा होटल धमाधम बुकिङ भइरहेका छन् । नयाँ वर्षको लागि काठमाडौंको ठमेल, कास्कीको पोखरा, काभ्रेपलाञ्चोकको धुलिखेल, भक्तपुरको नगरकोटलगायत क्षेत्रका होटल धमाधम बुकिङ हुन थालेको त्यहाँका व्यवसायीहरू बताउँछन् । होटल बुकिङ पनि अघिल्लो वर्षको तुलनामा बढेको व्यवसायीहरू बताउँछन् । 

होटल संघ, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ वर्षको लागि अहिले बुकिङ शुरु भइसकेको बताए । ‘अहिलेसम्म ५० प्रतिशत होटल बुकिङ भइसकेको छ । अझै समय छ बुकिङ गर्ने,’ उनले अभियानसँग भने । उनले अझै होटल बुकिङ हुने अपेक्षा गरे ।  

अहिले भने आन्तरिक पर्यटकले लेकसाइडका होटल भरिभराउ रहेको उनको भनाइ छ । आजबाट सडक महोत्सब शुरू भएकाले होटल भरिभराउ भएको उनले बताए । उक्त महोत्सव पुस १७ गतेसम्म चल्नेछ । पोखरामा १ हजार २०० होटल छन् । 

विदेशी पर्यटकहरू नयाँ वर्षमा बिदा मनाउन नेपाल आउने गरेको व्यवसायीहरू बताउँछन् । ‘विदेशी पर्यटकहरू क्रिसमसदेखि नयाँ वर्षसम्म बस्छन् । आन्तरिक पर्यटक भने क्रिसमसका लागि आएर फर्किसके । अब फेरि नयाँ वर्षको लागि आउँछन्,’ सुवेदीले भने । 

पोखरामा आउने आन्तरिक पर्यटक काठमाडौंका बढी हुने गरेको उनले बताए । 

चितवनको पर्यटक व्यवसायी पनि आउने अंग्रेजी नयाँ वर्षका लागि पर्यटक बढ्ने अनुमान गर्छन् । चितवनस्थित सौराहा जंगल सफारी रिसोर्टका सञ्चालक सुमन घिमिरेले अहिलेसम्म ८० प्रतिशत होटल बुकिङ भइसकेको बताए । ‘अझै बुकिङ भइरहेका छन्,’ उनले भने । 

उनका अनुसार चितवन आउने विदेशी पर्यटकहरूमध्ये अधिकांश सौराहामा ‘न्यू इअर इभ’ मनाएर धेरै पर्यटक न्यू इअरका दिन पोखरा जाने गरेका छन् । विदेशी पर्यटकमा धेरैजसो भारतीय रहेको उनको भनाइ छ । 

भक्तपुरको नगरकोटस्थित होटल मिस्टिक माउन्टेनले पनि नयाँ वर्षको लागि ‘बुकिङ फुल’ भएको जनाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)