ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नोटको चलनचल्ती घट्दै

२०७९ पुस, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

काठमाडौं । विद्युतीय माध्यमको कारोबारलाई सरकारी प्रोत्साहन र सर्वसाधारणको आकर्षणका कारण बजारमा नोटको चलनचल्ती घट्दै गएको छ ।

विद्युतीय भुक्तानी उपकरण प्रयोगकर्ताको संख्या र कारोबार बढ्दै गएको देखिएको छ । यसले बजारमा प्रचलनमा रहेका नोट कमी हुँदै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार २०७९ मङ्सिर मसान्तसम्ममा बजारमा ६ खर्ब १६ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा छन् । २०७८ मङ्सिरमा ६ खर्ब ५४ अर्बको नोट चलनचल्तीमा रहेकोमा १ वर्षमा ३८ अर्ब रुपैयाँले कमी आएको देखिएको छ ।

राष्ट्र बैंकको तथ्यांकलाई विश्लेषण गर्दा आर्थिक वर्ष (आव) २०७८/७९ को शुरूका ५ महीनामा प्रतिमहीना औसत ६ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको नोट प्रचलनमा रहेकोमा चालू आव २०७९/८० को मङ्सिरसम्ममा प्रतिमहीना औसत नोटको प्रचलन ६ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।

२०७९ कात्तिकको तुलनामा पनि मङ्सिरमा चलनचल्तीमा रहेको नोट १५ अर्ब रुपैयाँले घटेको छ । कात्तिक मसान्तमा बजारमा ६ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा थियो ।

राष्ट्र बैंकको मासिक वित्तीय विवरणअनुसार प्रत्येक महीना अघिल्लो वर्षको भन्दा चलनचल्तीमा रहेका नोटको संख्या घटेको देखिन्छ । दशैंतिहारजस्ता चाडपर्वका कारण असोजमा नोटको चलनचल्ती बढेको देखिए पनि त्यसपछिका महीनामा घट्दै गएको देखिन्छ ।

राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ र खुद्रा नोट बजारमा पठाउने गरेको छ । चाडपर्वमा बढी खर्च हुने भएकाले पनि नोटको प्रचलन बढी हुने गर्छ । यस वर्ष पनि राष्ट्र बैंकले १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट सटही गरेको थियो । त्यसबाहेक ३५ अर्ब बजारमा नोट वृद्धि भएको थियो । कात्तिकपछि भने चलनचल्तीमा रहेका नोट बैंकिङ प्रणालीमा फिर्ता हुन थालेको छ । यस वर्ष कात्तिक र मङ्सिरमा गरी चलनचल्तीमा रहेका नोटमा ३३ अर्बले कमी आइसकेको छ ।

राष्ट्र बैंकका अनुसार बजारमा चलनचल्तीमा रहेका नोटमध्ये परिमाण (संख्या)का आधारमा सबैभन्दा बढी ५ रुपैयाँ दरका छन् । २०७९ असारसम्म बजारमा ५ रुपैयाँ दरका ६७ करोड ५७ लाख ४८ हजार ९०३ थान नोट थिए ।

मौद्रिक मूल्यका हिसाबले हजार दरका नोट बढी छन् । हजार दरका ४ खर्ब ४३ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ बराबरका नोट बजारमा छन् । यस्तै ५ सय दरका २६ करोड ५६ लाख २३ हजार ५२२ थान नोट चलनचल्तीमा रहेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

विद्युतीय माध्यमबाट भुक्तानी बढेपछि चलनचल्तीमा रहेका नोटको संख्या घट्दै गएको राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल बताउँछन् ।

तर, अझै बजारमा प्रचलनमा रहेका नोटको संख्या उच्च रहेको उनको भनाइ छ । विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा बढीको कारोबारमा चेकमार्फत भुक्तानी अनिवार्य गर्दै आएको छ । यस्तै विद्युतीय भुक्तानी कारोबारको सीमा पनि बढाउँदै प्रोत्साहन गरेको छ । राष्ट्र बैंकले हाल प्रिपेड कार्डबाट प्रतिदिन २० हजार र प्रतिमहीना २ लाख तथा डेबिट कार्डबाट प्रतिदिन १ लाख र प्रतिमहीना ४ लाख कारोबार गर्न पाइने गरी सीमा तोकेको छ । यस्तै मोबाइल बैंकिङबाट दैनिक २ लाख तथा इन्टरनेट बैंकिङबाट २० लाख रुपैयाँसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको छ । वालेटमार्फत भने कारोबारका आधारमा प्रतिदिन १ लाखदेखि १० लाख रुपैयाँसम्मको सीमा निर्धारण गरेको छ ।

हाल नेपालमा ठूलो रकम कारोबार गर्ने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) देखि एटीएम, विद्युतीय चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, डेबिट/क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, शाखारहित बैंकिङ, बालेट, क्यूआर कोड, पीएसओ र ई–कमर्सजस्ता विद्युतीय भुक्तानी माध्यमबाट कारोबार हुँदै आएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको कात्तिकमा मात्र ३९ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)