ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजी बजार विकासको लागि ब्रोकर संख्याभन्दा पनि लगानीकर्ता सचेतना बढाउन आवश्यक : सापकोटा

२०७९ पुस, २४  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अनन्त्य सुन्दर

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान) को शनिवार नयाँ कार्यसमिति चयन भएको छ । समितिको अध्यक्षमा स्वर्णलक्ष्मी सेक्युरिटिज (ब्रोकर नम्बर ३७) का सञ्चालक धर्मराज सापकोटा चयन भएका छन् । 

अध्यक्षका अर्का उम्मेदवार आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज (ब्रोकर नम्बर ५७) का सञ्चालक गुणनिधि भुसाललाई १२ मतले पछि पार्दै सापकोटा अध्यक्ष पदमा विजयी भएका हुन् । 

नवनियुक्त अध्यक्ष सापकोटालाई आर्थिक अभियानले सोधेको छ - एसबानको नयाँ गठन भएको कार्यसमितिको प्राथमिकताहरू के के छन् ?

हाम्रो मुख्य प्राथमिकता नै लगानीकर्ताको सचेतना हो । धेरैजसो नवप्रवेशी लगानीकर्ताहरूमा बजारमा लगानी गर्नु पूर्व आवश्यक हुने प्रारम्भिक ज्ञान पनि नभएको देखिन्छ । त्यसैले लगानीकर्ता सचेतनाका लागि एसबानले ‘शेयर साथी’ भिडीयो कार्यक्रमका साथै लगानीकर्ता सचेतनाको मुलुकभर कार्यक्रम गर्दै आएको छ । नयाँ गठित समितिले पनि उक्त कार्यलाई निरन्तरता दिनुका साथै अन्य थुप्रै कार्यक्रमहरू सञ्चालनमा ल्याउने छ ।   

बजार विकास र विस्तारको लागि एसबानको कस्तो भूमिका रहन्छ ?
बजार विकास र विस्तारको लागि आवश्यक पर्ने सबै भन्दा महत्वपूर्ण कुरा ‘प्रविधि’ हो । प्रविधिको विकास भए मात्र बजारको विकास र विस्तार सम्भव छ । त्यसैले हामी ब्रोकरहरूले आफ्नै टिएमएस सञ्चालनमा ल्याउँदै छौं । त्यसका लागि नेप्सेसँग आवश्यक सहकार्य गरेर अघि बढिरहेका छौं ।  

“पूँजी बजारको दिगो विकासको लागि ब्रोकरको संख्याभन्दा पनि लगानीकर्ता सचेतना आवश्यक छ । बजारको पहुँच विस्तारको लागि हामी ७७ जिल्लामा जान तयार छौं । त्यसका लागि नियामकले शाखा विस्तारमा सहजिकरण गर्नुका साथै सब ब्रोकर, आधिकारिक प्रतिनिधि मार्फत पनि शेयर खरीद विक्री गर्ने लगायतका अन्य विकल्पहरू अनुसरण गर्न उत्तिकै आवश्यक छ ।”

राफसाफ प्रक्रिया सहजीकरणको लागि हामी सिडिएससीसँग पनि सहकार्य गरी रहेका छौं । त्यसका साथै हामी ब्रोकरहरू आफैले पनि प्रविधिमा लगानी गर्न उत्तिकै आवश्यक छ । 

नियामकले ब्रोकरहरूलाई कसरी सहजीकरण गर्न आवश्यक छ ?
नेपालमा हाल सञ्चालनमा भएका ब्रोकरहरूले अहिले सामान्य शेयर खरीद विक्रीको काम मात्र गर्दै आएका छन् । अन्तरराष्ट्रिय अभ्यासहरू हेर्दा ब्रोकरले शेयर खरीद विक्री बाहेक पोर्टफोलियो म्यानेजमेन्ट, एडभाइजरी लगायत अन्य विभिन्न सेवा सुविधाहरू दिन्छन् । त्यसैले नेपालमा पनि नियामकले ब्रोकरहरूलाई शेयर खरीद विक्री बाहेक अन्य सेवा सुविधाहरू पनि दिने वातावरण सृजना गर्न आवश्यक छ । 

त्यसका साथै नियामकले अन्तरराष्ट्रिय बजारमा दशकौंदेखि प्रयोग भएका औजारहरू सञ्चालनमा ल्याएर बजार विस्तार गर्नु पर्छ । त्यसका लागि आवश्यक नीति नियमहरू संशोधनका साथै आवश्यक अन्य कामहरू पनि गर्न आवश्यक छ ।  

धितोपत्र बोर्डले दिन लागेको नयाँ ब्रोकर लाइसेन्सको बारेमा एसबानको धारणा के छ ?
हामी विगत २९ वर्षदेखि यो पेशामा छौं । ओपन आउट क्राई (लगानीकर्ता र ब्रोकरहरू नेप्सेमा उपस्थित भइ बोली लगाएर शेयर खरीद विक्री गर्ने) देखि अनलाइनबाटै शेयर किनबेच गर्ने समयसम्म आउँदा हामीले यही बजारमा दैनिक २२ अर्ब रुपैयाँसम्मको कारोबार गरी सकेका छौं । तर अझै पनि हामी माथि प्रश्न चिन्ह खडा गरिन्छ । 

मेरो विचारमा पूँजी बजारको दिगो विकासको लागि ब्रोकरको संख्याभन्दा पनि लगानीकर्ता सचेतना आवश्यक छ । त्यसका साथै बजारको पहुँच विस्तारको लागि हामी ब्रोकरहरू ७७  जिल्लामै जान तयार छौं । तर त्यसका लागि नियामकले शाखा विस्तारमा सहजीकरण गर्नुका साथै सब ब्रोकर, आधिकारिक प्रतिनिधि मार्फत पनि शेयर खरीद विक्री गर्ने लगायतका अन्य विकल्पहरू अनुसरण गर्न उत्तिकै आवश्यक छ । 

ब्रोकरले आफूले चाहे अनुरुप बजारमा उतारचढाब गर्छन् भनिन्छ, यसमा कतिको सत्यता छ ?
हामी ब्रोकरहरूलाई आफूले चाहे अनुरुप बजारमा उत्तरचढाब गर्छन् भन्ने आरोप अक्सर लाग्ने गरेको छ । तर, उक्त कुरा सुन्दा मलाई अचम्मका साथै हाँस्यास्पद पनि लाग्छ । 

बजारमा हुने उतारचढाबमा हिजो पनि ब्रोकरको हात थिएन, आज पनि छैन र भोलिका दिनमा पनि हुने छैन् । हाम्रो हरेक काम नियामकको नियमनको दायरा भित्र हुन्छ । त्यसैले बजारमा ब्रोकरहरूले उतारचढाब गर्ने भन्ने सम्भब नै छैन् । 

त्यसका साथै बजार ब्रोकरको हातमा होइन १५-१६ लाख लगानीकर्ताहरूको हातमा छ । त्यसैले ब्रोकरहरूले बजारमा उतारचढाब गर्यो भनेर कि त अज्ञानीले भन्ने हो, कि त कसैले नियतबस बजारमा डर र त्रासको वातावरण सृजना गर्न उक्त आरोप लगाउनेले भन्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)