ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजार बुलिश ट्रेन्डमा गएको संकेत दिने ३ सूचक, ब्याजदर घट्यो भने झनै 'बुस्ट' हुने !

२०७९ पुस, २६  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अनन्त्य सुन्दर

काठमाडौं । निरन्तर घट्दो क्रममा रहेको शेयरबजार नयाँ सरकार गठन भएसँगै २२०० विन्दुभन्दा माथि उक्लिएको छ । सरकारदेखि नीतिगत परिवर्तनसँगै बढेको बजार अब बुलिश लयमा फर्किएको धेरैले आकलन गरेका छन् ।

पछिल्ला दिनहरूमा बजार दैनिक औसत ५०/६० अंकसम्म बढिरहेको छ । कारोबार रकम पनि ४/५ अर्ब रुपैयाँ पुगेको छ । विगत १२ दिनमा मात्र शेयरबजार सूचक नेप्से ३४५ अंकले बढिसकेको छ । यो १८ दशमलव ४५ प्रतिशतको वृद्धि हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले पाएपछि लगानीकर्ताको मनोबल बढेको थियो । त्यसमा राष्ट्र बैंकले गरेका नीतिगत परिवर्तनले पनि बजारलाई टेवा दिइरहेका छन् ।

शेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला एउटा बटम लगाएर निरन्तर बढेको बजारले ३२०० को रेकर्ड पनि ब्रेक गर्ने सम्भावना रहेको बताउँछन् । अहिलेको बजार हेर्दा बुलिश लयमा फर्केको संकेत देखिइसकेको उनको भनाइ छ ।

सीबीआईएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठ अहिलेको शेयरबजार नीतिगत घटनाक्रमअनुरूप अघि बढेको बताउँछन् । सरकार गठनदेखि राष्ट्र बैंक, अर्थ मन्त्रालयको नीतिहरूका कारण बजारमा सकारात्मक माहोल सृजना भएको श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्रीले मंगलवार संसद्मा विश्वासको मत लिएसँगै बजारमा अर्को माहोल सृजना हुने श्रेष्ठको विश्वास छ । त्यसका साथै अब माघमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाए भने बजार थप ‘बुस्ट’ हुने उनले दाबी गरे ।

विगतमा जस्तो अहिले दैनिक २०/२२ अर्बको शेयर कारोबार हुने सम्भावना भने कम रहेको श्रेष्ठ बताउँछन् । ‘राष्ट्र बैंकले बैंकहरूलाई शेयरबजारमा लगानी गर्न अहिले कडाइ गरेका कारण बजारमा विगतमा झैं कारोबार हुने सम्भावना कम छ,’ उनले भने ।

बजार बुलिश ट्रेन्डमा गएको संकेत दिने ३ सूचक
शेयरबजार पछिल्लो समयको न्यूनतम विन्दु १८१५ बाट करीब ४०० अंक (३९६ अंक) को वृद्धिसहित २२११ विन्दुमा आएको छ । यो भनेको करीब २२ प्रतिशतको वृद्धि हो ।

बजार २० प्रतिशतले तल वा माथि हुनुलाई केही विश्लेषकले बजारले ट्रेन्ड परिवर्तन गरेको रूपमा लिन्छन् । अर्थात् बजार २० प्रतिशतले बढ्दा बुलिश ट्रेन्ड र २० प्रतिशतले नै घट्दा बियरिस ट्रेन्डमा गएको रूपमा लिन्छन् ।

केही विश्लेषकले शेयरबजार धेरै दिन बढ्ने र थोरै दिन मात्रै घट्ने ट्रेन्ड चल्यो भने त्यसलाई पनि बुलिश ट्रेन्डमा गएको रूपमा अर्थ लगाउँछन् । अर्थात् ३/४ दिन बजार बढ्ने र १/२ दिन घट्ने ट्रेन्ड चले पनि यस्तो बेलामा समग्र बजार बढिरहेको हुन्छ, जुन पछिल्लो ११ कारोबार दिनको तथ्यांकले पुष्टि गर्छ । ११ मध्ये २ दिन मात्रै बजार घटेको छ । ९ दिन बढेको छ ।

त्यस्तै वित्तीय अवस्था कमजोर भएका कम्पनीहरूको शेयर मूल्य निरन्तर बढ्नुलाई पनि बजार बुलिश ट्रेन्डमा गएको रूपमा अर्थ लगाइन्छ । पछिल्लो समय फाइनान्स, हाइड्रोपावरलगायत समूहगत सूचकमा आएको वृद्धिले पनि त्यसलाई पुष्टि गरिरहेको छ ।

कारोबार ५ अर्ब बढी
सोमवार नेप्से परिसूचक ४७ दशमलव १५ अंक बढेर बन्द भएको छ । परिसूचक बढेर २ हजार २११ दशमलव ७६ विन्दुमा पुगेको छ ।

यस दिन २५७ धितोपत्रको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयरको ७४ हजार ५४३ पटकमा रू. ५ अर्ब ३१ करोड बराबरको कारोबार भयो । नेप्से परिसूचक साढे ७ महीनापछि २२०० विन्दुमाथि पुगेको हो । यसअघि जेठ १३ गते नेप्से परिसूचक २ हजार २२३ दशमलव ७८ विन्दुमा पुगेको थियो ।

बजार बढ्दा कम पूँजी भएका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । सोही कारण अधिकांश जलविद्युत् कम्पनीहरूको शेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आठ धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १० प्रतिशतका दरले वृद्धि भएपछि सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ३ दशमलव ५७ प्रतिशत घटेर रू. १ हजार ५९५ कायम भएको छ । दोस्रोमा धवलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २ दशमलव ४४ प्रतिशत घटेर रू. १ हजार ५६० कायम भएको छ । यस दिन रिडी पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भई रू. २० करोड ६८ लाख बराबरको कारोबार भएको छ । कम्पनीको शेयर मूल्य रू. ६ सय कायम भएको छ । त्यस्तै दोस्रोमा ङादी ग्रूप पावरको रू. १६ करोड ९६ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचक ४ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)