काठमाडौं । नेपाली धितोपत्र बजारको अग्रपंक्तिको नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको वर्षौं हुँदा पनि धेरैजसो लगानीकर्ता नेप्से अनलाइन कारोबार प्रणालीबारे अनभिज्ञ रहेको पाइन्छ ।
शेयरबजारमा लामो समयदेखि सक्रिय भएर लगानी गर्दै आएका लगानीकर्तामा नेप्से अनलाइन कारोबार प्रणालीसँग सम्बद्ध टीएमएस, नट्स, म्याचिङ इन्जिनजस्ता विषयको ज्ञान पनि कमै देखिन्छ । लगानीकर्ता ती विषयमा सचेत भए बजार अझ परिपक्व हुने शेयरबजारका जानकार बताउँछन् ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार बुधवार (माघ १८) सम्म डिम्याट खाता खोल्नेको संख्या ५५ लाख २४ हजार नाघेको छ । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा मात्र नभएर दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्यासमेत बढ्दो छ । तर, डिम्याट खाताको तुलनामा थोरै लगानीकर्ताले मात्र दोस्रो बजारमा कारोबार गर्न टीएमएस खाता खोलेका छन् ।
नेप्सेका अनुसार अहिले दोस्रो बजारमा लगानी गर्न टीएमएस लिने लगानीकर्ताको संख्या १४ लाख २५ हजार हाराहारी छ । यो डिम्याट खाताको करीब २६ प्रतिशत हो ।
आईपीओमा लगानी गर्ने लगानीकर्ताले आफूले खरीद गरेको शेयर बेच्न ब्रोकरकहाँ अनिवार्य कारोबार खाता खोल्नुपर्छ । तर, ब्रोकरकहाँ कारोबार खाता मात्र खोलेका लानीकर्ताले ब्रोकर कार्यालयमा फोन गरेर वा ब्रोकर कार्यालयमा उपस्थित भएर मात्र शेयर किनबेच गर्न पाउँछन् ।
लगानीकर्ताले ब्रोकरकहाँ कारोबार खाताका साथै टीएमएस खातासमेत खोल्दा आफ्नो मोबाइल वा कम्प्युटरबाटै आफूसँग भएको शेयर विश्वको जुनसुकै कुनाबाट बेच्न र इच्छा लागेको शेयर किन्न सक्छन् ।
नेप्सेले सञ्चालनमा ल्याएको नेप्से अनलाइन कारोबार प्रणाली (नट्स)मा इन्टरनेट प्रयोग गरी संसारको जुनसुकै ठाउँबाट लगानीकर्ताले शेयर खरीद र विक्री आदेश प्रविष्ट गरी कारोबार गर्न सक्छन् ।
नट्स प्रणाली आउनुअघि लगानीकर्तालाई त्यस्तो सुविधा थिएन । नेप्सेले २०५० सालमा ओपन आउट क्राई सिस्टम अर्थात् नेप्सेको कारोबार कक्षमै उपस्थित भएर धितोपत्र दलालहरूले (ब्रोकर) शेयर खरीदविक्री गर्ने र उक्त कारोबार नेप्सेका कर्मचारीले सेतोपाटीमा लेखी सम्पन्न गर्न थालेको थियो । नेप्सेले २०६४ सालमा ओपन आउट क्राई सिस्टम विस्थापित गरी सेमीअटोमेटेड सिस्टम शुरू गरेको थियो ।
२०७५ कात्तिकदेखि नेप्सेले नट्स सञ्चालनमा ल्याएसँगै विगतको तुलनामा लगानीकर्तालाई शेयर किनबेच गर्न धेरै सहज भएको छ । अहिले लगानीकर्ताले नट्स प्रणालीअन्तर्गतको टीएमएस प्रयोग गरी संसारको जुनसुकै कुनाबाट नेपाली शेयरबजारमा शेयर किनबेच गर्न सम्भव भएको छ ।
नट्सको टीएमएस प्रयोग गरी ब्रोकरका साथै लगानीकर्ताले इन्टरनेटमार्फत धितोपत्र खरीदविक्री गर्न सक्छन् । टीएमएसबाट ब्रोकरले पनि लगानीकर्ताको खाता खोल्ने, कारोबार जोखिम व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापनलगायत काम गर्न सक्छन् ।
यस्तै लगानीकर्ताले टीएमएसमार्फत शेयर खरीदविक्री गर्ने आदेश दिने, रकम ट्रान्सफर गर्नेलगायत काम आफै गर्न सक्छन् । टीएमएसबाट लगानीकर्ताले नेप्सेको चार्टहरू पनि अध्ययन गर्न सक्छन् । अहिले लगानीकर्ता नेप्सेको चार्ट अध्ययनका लागि पत्रपत्रिकालगायत अन्य माध्यममा भर पर्नु परेको छ । टीएमएसमा ब्रोकरको डेटा सेन्टरमा होस्टिङ भई ब्रोकर तथा लगानीकर्ताको कारोबार व्यवस्थापन हुन्छ अर्थात् टीएमएस हरेक ब्रोकरको डेटा सेन्टरमा छ । यस्तै टीएमएसबाट दिइएको सम्पूर्ण आदेश नट्समा गएर म्याचिङ हुन्छ । त्यसैले टीएमएस सञ्चालनका लागि ब्रोकरहरूले छुट्टै डेटा सेन्टर बनाउनुपर्छ । तर, लगानीकर्ताले डेटा सेन्टर बनाउन भने आवश्यक पर्दैन ।
नेप्सेको टीएमएस अहिले ५० ओटा ब्रोकर र नागरिक स्टक डिलरले चलाउँदै आएका छन् । वाइको प्राइभेट लिमिटेडद्वारा निर्मित उक्त टीएमएसको मर्मतसम्भार कार्य पनि वाइकोले नै गर्दै आएको छ ।
यस्तै नट्स पनि वाइको प्राइभेट लिमिटेडले नै निर्माण गरेकाले नट्सको मर्मतसम्भारको काम पनि उसैले गर्दै आएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७९ (तेस्रो संशोधन) कार्यान्वयनमा ल्याएसँगै अहिले ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालनमा ल्याउने बाटो खुलेको छ । हाल सञ्चालनमा रहेका ३३ ओटा ब्रोकरले श्रीलंकाको आइरनवान कम्पनीको र नासा सेक्युरिटिजले भारतीय डिअन ग्लोबलको टीएमएस सञ्चालनमा ल्याउन लागेका हुन् । बाँकी १४ ओटा ब्रोकरले अहिले सञ्चालनमा रहेको नेप्सेकै टीएमएस सञ्चालन गर्ने भएका छन् । ब्रोकरहरूले नयाँ टीएमएस सञ्चालन गर्नुअघि नेप्सेमा निवेदन दिनुका साथै पूर्वाधार निर्माण शुल्क तिर्नुपर्ने, प्रणाली जडान, प्रणाली परीक्षणलगायत विभिन्न चरण पार गर्नुपर्छ । नेप्सेका अनुसार अहिले सेक्युर्ड सेक्युरिटिज (ब्रोकर नं ३६) ले आइरनवान कम्पनीको टीएमएसको टेस्टिङ गरिरहेको छ ।
सेक्युर्ड सेक्युरिटिजका सञ्चालक तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका निवर्तमान अध्यक्ष सन्तोष मैनालीले श्रीलंकाको आइरनवान कम्पनीको टीएमएस सञ्चालनमा ल्याउन लागेका ३३ ओटा ब्रोकरहरूको एकैपटक टेस्टिङ गर्न समय लाग्ने भएकाले अहिले सेक्युर्ड सेक्युरिटिजको मात्र टेस्टिङ भइरहेको बताए ।
मैनालीका अनुसार सेक्युर्डको टेस्टिङपछि बाँकीको लाइभ टेस्टिङ एकैपटक हुनेछ । नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा सटही स्वीकृतिमा ढिलाइले नयाँ टीएमएस सञ्चालनका लागि श्रीलंकाको आइरनवान कम्पनीलाई भुक्तानीमा ढिला हुँदा टेस्टिङ १ महीना जति ढिलो भएको उनले बताए ।
यस्तै नासा सेक्युरिटिजका (ब्रोकर नम्बर ५८) सञ्चालक मदन पौडेलका अनुसार नासाले डिअन ग्लोबलको टीएमएस सञ्चालनमा ल्याउन लागेको छ । पौडेलका अनुसार नयाँ टीएमएसका लागि नेप्सेबाट एलओआई आएपछि टेस्टिङलगायत काम अघि बढ्नेछ ।
टीएमएस कसरी प्रयोग गर्ने ?
टीएमएस प्रयोग गर्न लगानीकर्ताले सम्बद्ध ब्रोकरको कार्यालयमा गएर आफ्नो इमेल आईडीसहित केवाईसी फर्म भरी टीएमएस खाता खोल्नुपर्छ । त्यसपछि ब्रोकरबाट लगानीकर्तालाई इमेलमा सम्बद्ध ब्रोकरको टीएमएसको यूआरएल र युजरनेम प्राप्त हुन्छ ।
इमेलमा प्राप्त टीएमएसको युजरनेम लगानीकर्ताले सम्बद्ध ब्रोकरको टीएमएसको यूआरएलमा लग इन गर्नुपर्छ । जस्तै ब्रोकर नम्बर ४५ मा टीएमएस खाता भएका लगानीकर्ताले ब्रोकर नम्बर ४५ को टीएमएसको यूआरएलमा लग इन गर्नुपर्छ ।
त्यसपछि लगानीकर्ताले इमेलमा प्राप्त लिंकमार्फत आफ्नो टीएमएसको पासवर्ड परिवर्तन गर्नुपर्छ । पासवर्ड परिवर्तन गर्न लगानीकर्ताले फर्गट पासवर्डमा क्लिक गर्नुपर्छ । त्यसपछि लगानीकर्ताले आफ्नो इमेलमा प्राप्त ओटीपी प्रविष्ट गरी पासवर्ड परिवर्तन गरेर कारोबार गर्न सक्छन् ।
टीएमएस प्रयोग गर्ने तरीका