काठमाडौं । पछिल्लो केही वर्षयता नेपालमा किवी आयात ह्वात्तै बढेको छ । आर्थिक वर्ष (आव) ०७४/७५ यता नेपालमा किवी आयात ६३७ गुणाले बढिसकेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार आव ०७४/७५ मा ४ हजार ५९२ किलोग्राम आयात भएको किवी आव ०७८/७९ मा ३ लाख ३६ हजार ४५० किलोग्राम भित्रिएको थियो । अर्थात् ५ वर्षमा किवी आयात ६३७.४९ गुणा बढेको हो ।
आव ०७४/७५ मा सानो परिणाममा आयात भएको किवी आव ०७५/७६ मा ह्वात्तै बढेको थियो । साे आवमा ८६ हजार ६४६ किलोग्राम आयात भएको किवीको परिणाम अर्काे वर्ष साढे २३ हजार किलो घटेको थियो । आव ०७६/७७ मा नेपालमा ६३ हजार १२३ किलो किवी आयात भएको भन्सार विभागको तथ्यांक छ ।
त्यसपछिका वर्षमा भने किवी आयात परिणाम ह्वात्तै बढेको देखिन्छ । अर्थात् विदेशी किवीमा नेपाली उपभोक्ता राेजाइ बढिरहेको छ ।
पछिल्ला ४ वर्षयताको तथ्यांकले यो कुरा पुष्टि गर्छ । नेपालमा आर्थिक वर्ष (आव) ०७६/७७ मा ६३ हजार १२३ किलोग्राम किवी भित्रिएकोमा आव ०७७/७८ मा १ लाख ७३ हजार ८१७ किलोग्राम किवी आयात भएको थियो ।
आव ०७८/७९ मा किवी आयातको परिणाम पनि दोब्बरभन्दा बढीले बढेको थियो । भन्सार विभागका अनुसार सो आर्थिक वर्षमा ३ लाख ३६ हजार ४५० किलोग्राम किवी आयात भएको थियो । चालू आवमा पनि किवी आयात बढ्ने देखिन्छ । चालू आवको पहिलो ६ महीनामा २ लाख ७४ हजार ६६१ किलोग्राम किवी आयात भइसकेको छ । यो आधारमा आयात हुने हो भने चालू आवमा साढे ५ लाख किलोग्राम किवी आयात हुने देखिन्छ ।
चालू आवको पहिलो ६ महीनामा आयात भएको किवी परिणाम गत आवको सोही अवधिभन्दा दोब्बर हो । गत आवको साउन–पुसमा ९७ हजार ८२१ किलोग्राम किवी भित्रिएको थियो ।
किवी आयात परिणामसँगै त्यसबाट बाहिरिने रकम पनि बर्षेनि बढ्दो छ । आर्थिक वर्ष (आव) ०७६/७७ मा २ करोड ८२ लाख ५५ हजार रुपैयाँको किवी आयात भएकोमा आव ०७७/७८ मा त्यो रकम ५ करोड ३८ लाख ७२ हजार पुगेको थियो । यस्तै, आव ०७८/७९ मा किवी आयातबाट ६ करोड २६ लाख ७० हजार रुपैयाँ बाहिरिएको थियो । चालू आवको पहिलो ६ महीनामा यसरी बाहिरिने रकम ५ करोड १५ लाख २९ हजार पुगिसकेको छ । सोही आधारमा आयात भए चालू आवमा १० करोडभन्दा बढी रुपैयाँको किवी आयात हुन सक्छ ।
चालू आवको पहिलो ६ महीनामा किवी आयातबाट बाहिरिने रकम पनि झण्डै दोब्बर छ । भन्सार विभागका अनुसार गत आवको साउन–पुसमा २ करोड ६८ लाख रुपैयाँको किवी आयात गरिएकोमा चालू आवमा आयात रकम बढेर ५ करोड १५ लाख २९ हजार रुपैयाँ पुगेको छ । यो गत आवको तुलनामा ९१ प्रतिशत बढी हो ।
कुन वर्ष कति आयात ? (टेबलमा)
आर्थिक वर्ष | परिणाम | रकम (हजारमा) |
२०७४-२०७५ | ४५९२ | १३६९ |
२०७५-२०७६ | ८६६४६ | ३७५४१ |
२०७६-२०७७ | ६३१२३ | २८२५५ |
२०७७-२०७८ | १७३८१७ | ५३८७२ |
२०७८-२०७९ | ३३६४५० | ६२३७० |
२०७९-२०८० (साउन-पुस) | २७४६६१ | ५१५२९ |
स्रोत : भन्सार विभाग
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा चीन र भारतसँगै चिली, ग्रिस, इरान, टर्की, युएईलगायतका देशबाट किवी आयात हुने गरेको छ ।
‘कोभिड महामारीपछि बढ्यो माग’
कोभिड १९ महामारीपछि किवीको खपत अत्यधिक बढेको कालीमाटीस्थित खुद्रा व्यापारी कमल बस्नेत बताउँछन् । उनले अहिले दैनिक १० केजीदेखि १५ केजीसम्म किवी विक्री गर्ने गरेका छन् ।
किवीका फाइदाबारे जानकारी पाएपछि अहिले यसको माग बढेको उनको भनाइ छ । ‘पहिले यसका फाइदाबारे धेरैलाई थाहा थिएन । र, कसैले चासो दिँदैनथे । अहिले भने ग्राहकहरू किवी खोज्दै आउँछन्,’ उनले भने ।
माग बढेसँगै नेपालका विभिन्न जिल्लामा किवीको व्यावसायिक खेती थालिएको छ । नेपालमा विशेषगरी रामेछाप, दोलखा, मकवानपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा किवी खेती हुने गरेकाे छ ।
विभिन्न जिल्लामा किवी खेती भए पनि सिजनमा किवी आयात गर्नुपर्ने व्यापारीहरू बताउँछन् । नेपालमा उत्पादित किवी ग्राहकले नरुचाउने गरेकाले विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।
विदेशी किवी किन रुचाउँछन् नेपाली उपभोक्ता ?
नेपाली किवी गुणस्तरीय नभएकाले ग्राहकले नरुचाएको व्यापारी बताउँछन् । कुलेश्वर फलफूल बजारका अध्यक्ष अमर बानियाँ नेपाली किवीको आकार सानो भएकाले ग्राहकले नरुचाउने गरेको बताउँछन् । ‘नेपालमा उत्पादित किवी मिठो त हुन्छ । तर, आकार सानो भएकाले ग्राहकले किन्न चाहँदैनन्,’ उनले भने ।
कुलेश्वरमा खपत हुने किवीको एक चौथाइ हिस्सा मात्रै स्वदेशी उत्पादन रहेको बानियाँले बताए । कुलेश्वरमा खपत हुने तीन चौथाइ हिस्सा भने आयातबाट धानिने गरेको छ ।अहिले चीनबाट आयात गरिएको किवी विक्री भइरहेको उनले सुनाए । अहिले किवी प्रतिकिलो ४०० देखि ५०० रुपैयाँसम्म विक्री भइरहेको उनले बताए ।