दुई दशकअघि काठमाडौंमा ‘हिमालयन जाभा’ कफी शप खोलेका गगन प्रधानले नेपाली कफीलाई अन्तरराष्ट्रिय स्तरमै प्रवर्द्धन गरेका छन् । कम्पनीले हाल आउटलेट र फ्रेन्चाइज गरी ४० ओटा कफी शप सञ्चालन गरिरहेको छ । यतिमात्र होइन, उसले नेपाली कफीको निर्यात, कफीखेती, कफी बनाउने उपकरणको विक्री, बारिष्टा तथा बेकरी तालीम पनि सञ्चालन गरिरहेको छ । नेपाली समाजमा कफी संस्कृति बढाउन तल्लीन प्रधानसँग उनको व्यावसायिक पृष्ठभूमि, नेपालमा कफी संस्कृतिको विकास, हिमालयन जाभाको व्यावसायिक यात्रा लगायत विषयमा आर्थिक अभियानले केही समयअघि गरेको कुराकानीको सार :
तपाईंंको पारिवारिक पृष्ठभूमिबारे बताइदिनुस् न ।
मेरो जन्म भक्तपुरको गल्छीटोलमा भएको हो । तर त्यहाँ धेरै समय बस्न पाएनौं । मेरो बुवा ४५ वर्षदेखि पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ । मेरो बुवाआमा शिक्षित परिवारको भएकाले उहाँहरू छोराछोरीलाई पनि उचित शिक्षा दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । त्यतिबेला भक्तपुरमा राम्रो बोर्डिङ स्कूल नभएकाले हामी सानै उमेरमा काठमाडौंको शान्तिनगरमा बसाइसराइ गरेर आएका हौं । कक्षा ८ सम्म स्थानीय बोर्डिङ स्कूलमा अध्ययन गरेपछि थप अध्ययनका लागि बुवाले सिद्धार्थ वनस्थली स्कूलमा भर्ना गरिदिनुभयो । २०४८ सालमा मैले त्यहाँबाट एसएलसी उत्तीर्ण गरेँ । एसएलसीपछि उच्च शिक्षाका लागि शंकरदेव क्याम्पसमा भर्ना भएँ । त्यसपछि होटल म्यानेजमेन्ट अध्ययन गर्न सन् १९९४ मा अष्ट्रेलिया गएँ ।
होटल म्यानेजमेन्ट अध्ययन गर्ने सोच कसरी आयो ?
मलाई अष्ट्रेलिया गएर होटल म्यानेजमेन्ट अध्ययन गर्ने सोच एक्कासि आएको होइन । मेरो बुवा पहिलेदेखि नै पर्यटन व्यवसायमा संलग्न हुनुहुन्थ्यो । उहाँले सानाठूला कार्यक्रम हुुँदा पनि हामीलाई सानै उमेरदेखि होटल तथा ब्यांक्वेटहरूमा लैजाने गर्नुहुन्थ्यो । त्यतिखेर बुवाले विभिन्न पेशाकर्मी तथा व्यवसायीसँग गरेको कुराकानी अझै मेरो स्मृतिमा ताजा छ । उहाँको कार्यशैली र अरूप्रति गर्ने व्यवहार देखेर पहिल्यैदेखि हस्पिटालिटीमा केही गर्छु भन्ने लाग्थ्यो । त्यो लक्ष्य पूरा गर्न पनि म होटल म्यानेजमेन्ट अध्ययन गर्न अष्ट्रेलिया गएको हुँ । तर नेपाल फर्केपछि कफी शप नै खोल्ने र यसको ब्रान्डिङ गर्ने बारेमा चाहिँ सोचेको थिइनँ ।
कफीको आन्तरिक खपत र निर्यात बढाउन उत्पादमै जोड दिनुपर्छ ।
अष्ट्रेलिया गएपछि कसरी कफीसँग जोडिनुभयो ?
वास्तवमा कफीसँगको मेरो लगाव अष्ट्रेलियामै भएको हो । त्यहाँ मैले अध्ययनका साथै काम पनि गरेँ । काम र अध्ययनको चापले खाने र सुत्ने कुनै निश्चित समय थिएन । यो भएकाले ममा चकलेट र कफी खाने बानी बसेको हो । त्यहाँ कलेजको कक्षा कोठामा पनि कफी लैजान पाइन्थ्यो । सन् १९९९ मा स्वदेश फर्किएँ । त्यसपछि कफीबारे थप अध्ययन, अनुसन्धानको काम चाहिँ नेपालमै बढी भयो ।
स्वदेश फर्किएपछि शुरूमा के काम शुरू भयो त ?
काम नभएपछि दिमागमा अनावश्यक सोच आउने रहेछ । तर दृढ अठोट र सोचका साथ स्वदेश फर्किएकाले म खाली हात बसिन । नेपालको हस्पिटालिटी क्षेत्रमा केही गर्ने सोच पहिलेदेखि नै थियो । त्यसकारण नेपाल फर्किएको तीन दिनपछि नै पाँचतारे होटलमा काम गर्न थालेँ । तर त्यहाँ काम गरेको एक हप्तापछि यो काम मेरा लागि उपयुक्त छैन भन्ने लाग्यो । मेरो एउटा राम्रो या नराम्रो पक्ष के छ भने कुनै पनि निर्णय एकदमै लिन्छु । यस्तो निर्णय गर्ने क्षमता नभएको भए आज हिमालयन जाभा हुँदैनथ्यो होला । मैले अष्ट्रेलियामा काम गरेको अनुभवको आधारमा बजार सर्वेक्षण शुरू गरेँ । यो काम एक सातासम्म गरेँ । सर्वेक्षण गर्दा नेपालमा गुणस्तरीय कफी शप भएको देखिन । नेपालमा कफीको क्षेत्रमा पनि राम्रो सम्भावना छ भन्ने लाग्यो । त्यसपछि यसतर्फ मोडिएँ ।
त्यसलगत्तै कफीबारे तालीम लिन अमेरिका जानुभएको रहेछ । त्यहाँ जानुको खास कारण के थियो ?
मैले पाँचतारे होटलको काम छाडेर कफीको बजार सर्वेक्षण गरेँ । सर्वेक्षणमा पाँच–छ ओटा प्रश्नावली समावेश थियो । सर्वेक्षण गर्न धेरै कार्यालयहरूमा डुलेँ । सर्वेक्षणपछि नेपालमा गुणस्तरीय कफी शपको सम्भावना रहेको पाएँ । त्यतिखेर काठमाडौंमा चिया पसल थुप्रै थिए, तर गुणस्तरीय कफी शप थिएनन् । मैले चाहेको जस्तो फरक खालको कफी शप झनै थिएन । सफा र समय बिताउने खालको अलग वातावरणको कफी शप नभएपछि यसमा केही गर्न सकिन्छ कि भनेर तालीम लिन अमेरिका गएको हुँ । त्यहाँ डेढ महीनाजति तालीम लिएँ । त्यहाँ व्यवस्थापनको ज्ञान हासिल गरेँ । अनि कफी बनाउने मेसिन लिएर काठमाडौं आएँ । १९९९ को नोभेम्बर २९ मा काठमाडौंको हेरिटेज प्लाजामा ‘हिमालयन जाभा’ नाममा कफी शप स्थापना गरेँ । तर सोचेजस्तो व्यापार हुन सकेन । त्यसपछि हामी ठमेलमा स¥यौं ।
हिमालयन जाभामा प्रारम्भिक लगानी कति थियो ? लगानी कसरी जुटाउनुभयो ?
कफी शप १३ लाख रुपैयाँमा शुरू गरेको हुँ । अष्ट्रेलियामा बस्दा केही पैसा कमाएको थिएँ । थप लगानी अन्यत्रबाट जुटाइएको हो । सन् १९९९ हेरिटेज प्लाजामा शुरू गर्दा म र अरू चार जना कामदार थियौं । तर त्यतिखेर रेष्टुरेन्ट शुरू गरेको भए अझ धेरै लगानी आवश्यक पर्ने रहेछ । त्यहाँ कफी शप शुरू गर्दा धेरै कुरा ध्यानमा राखेर निर्णय गरेको थिएँ । त्यतिखेर कफी शप शुरू गर्दा सबैभन्दा महँगो सामान कफी बनाउने मेशिन र ग्रान्डर थियो । अरू यहीँका सामान थिए । कफी पनि नेपाली उत्पादन थियो ।
कफी पसलको नाम अरू पनि राख्न सकिन्थ्यो होला । हिमालयन जाभा नै राख्नुको कारण के होला ?
यसको रोचक प्रसंग छ । नाम पनि धेरै सोचविचार गरेर राखेको थिएँ । हिमालयन विश्वमै लोकप्रिय नाम हो । जाभा भन्ने शब्द कम्प्युटरसँग सम्बन्धित छ । भन्नुको अर्थ के हो भने कफीसँगै कम्प्युटर हो । तर त्यतिखेरको कफी संस्कृति फरक खालको थियो । मेरो उद्देश्य हिमालयन जाभाबाट फरक खालको कफी दिनु थियो । अष्ट्रेलियामा रहँदा खाने गरेको कफी चाहिँ त्यतिखेर इन्डोनेशियाको जाभा टापुबाट आउने गरेको रहेछ । आजको दिनमा पनि विश्वमै सबैभन्दा बढी कफी जाभा र सुमात्रामा धेरै उत्पादन हुने गरेको छ । नेपालको कफीले माग धान्न सकेन भने इन्डोनेशियाबाटै कफी मगाउँछु भन्ने सोच थियो । त्यो सोचको विकसित रूपले गर्दा हिमालयन जाभा नामकरण गरिएको हो । तर केही वर्षसम्म हिमालयन जाभा नामले समस्या पनि भयो । हिमालयन जाभा भनेको कम्प्युटर इन्स्टिच्युट भन्ने ग्राहकलाई लाग्दो रहेछ । अझ कतिपयले कफी पसलको सेटअप देखेर फर्निचर शोरूम हो पनि भन्ने गरेका थिए । शुरुआती दिनमा अपेक्षाकृत व्यापार हुन नसके पनि निराश भएनौं, काममा निरन्तर लागिरह्यौं ।
युवालाई कफी बनाउने तालीम दिन सके स्वदेश र विदेशमा उनीहरूले धेरै दुःख पाउनुपर्दैन भनेर तालीम केन्द्र खोलेका हौं ।
शुरुआती दिनमा थोरै जनशक्तिबाट कफी शप सञ्चालन गरिएको देखिन्छ । त्यस बेलाको अनुभव बताइदिनुस् न ।
शुरुआती दिनमा हामी पाँचजना थियौं । विदेशमा पनि काम गरिसकेको हुनाले कुनै पनि काम सानोठूलो हुँदैन भन्ने लाग्थ्यो । म प्रतिष्ठित परिवारको सदस्य भए पनि होटलमा काम गरेको देखेर अरूले के भन्लान् भन्ने लागेन । अष्ट्रेलियामा हुँदा कफी पसलमा पो काम गरेछ भन्नेहरू पनि थिए । आफूले शुरू गरेको काम मेरो प्रमुख प्राथमिकतामा थियो । त्यो सोच र अठोट आजका दिनसम्म पनि छ । अनुभवका आधारमा मेरो सोच अनुसार यो व्यवसाय गरेकाले मलाई पश्चात्ताप छैन । त्यतिखेरको कुरा गर्ने हो भने हिमालयन जाभामा कफी बनाउने शीप मबाहेक अरूमा थिएन । अरू स्टाफलाई पनि क्रमशः सिकाउँदै गएँ । यो काम अनुभव र शिक्षाका कारण सम्भव भएको हो । केही वर्ष सोचेजस्तो व्यापार हुन सकिरहेको थिएन । तर पछि हटेनौं । अहिले विचार गर्दा धैर्य र समय बलवान् हुँदो रहेछ भन्ने लाग्छ ।
हिमालयन जाभाको शुरुआत कहाँबाट गर्नुभयो ?
हामीले हिमालयन जाभाको शुरुआत हेरिटेज प्लाजाबाट शुरू गरेका थियौं । यसको भाडा मात्रै मासिक ४० हजार रुपैयाँ थियो । हामीले बिजुलीको बिल नै मासिक ६० हजार रुपैयाँ तिथ्र्यौं । चर्को खर्चले बाध्य भएर त्यहाँबाट बाहिरिएका हौं । हामीले त्यहाँ चार महीनामात्र कफी शप सञ्चालन गर्यौं । त्यहाँबाट ठमेलमा सर्यौं । त्यहाँ मासिक भाडा १९ हजार रुपैयाँ थियो । हिमालयन जाभा मेरो मात्र एकल लगानी होइन । यसमा मेरो साथी आनन्द गुरुङको पनि लगानी छ ।
समय क्रमसँगै दोस्रो आउटलेट काठमाडौं गेष्ट हाउसमा स्थापना गर्यौं । तर दोस्रो आउटलेट खोलिहाल्ने योजना भने थिएन । किनभने पहिलो आउटलेट नै सहज रूपले सञ्चालन हुन सकेको थिएन । ठमेलस्थित काठमाडौं गेष्ट हाउसको सञ्चालक राजन शाक्य मेरा साथी पनि हुन् । उनकै आग्रह र सहयोगमा त्यहाँ कफी शपको राम्रो सम्भावना देखेर त्यहाँ दोस्रो आउटलेट स्थापना गरियो । सन् २००१ मा काठमाडौं गेष्ट हाउसको एउटा कर्नरमा कफी शप सञ्चालन भएको हो ।
हिमालयन जाभाको टर्निङ प्वाइन्ट स्न २००२ पछि शुरू भएको रहेछ । । ठमेल जस्तो पर्यटकीय क्षेत्रमा त्यतिखेर ५० इन्चको टीभी खरीद गरेर चर्चा पनि बटुल्नुभयो, होइन ?
कफी शप खोलेको त केही वर्ष बितिसकेको थियो । सोचेजस्तो व्यापार हुन सकिरहेको थिएन । अब यसमा केही नयाँ आइडिया ल्याउनैपर्छ भन्ने लागिरहेको थियो । त्यही आइडियाअन्तर्गत ५० इन्चको टीभी खरीद गरेर ल्यायौं । हुन त ग्राहकलाई टीभीबाट भीसीआरको सहयोगले कफीबारे डकुमेन्ट्री देखाउने उद्देश्य थियो । यो उद्देश्य एकातिर थियो भने त्यही समय विश्वकप फूटबल आयोजना हुँदै थियो । यतिमात्र नभई, त्यसबेला काठमाडौं उपत्यकामा सिनेमा हल पनि त्यति थिएनन् । कफी खान आउने ग्राहककै आग्रहमा केही समयसम्म हामीले मुभी नाइट सञ्चालन गर्यौं । संयोगवश त्यही बेला विश्वकप फूटबल शुरू भयो । कफी शपमा आउने अधिकांश ग्राहकको आग्रहपछि विश्वकप फूटबल प्रसारण गर्यौं । मलाई अझै पनि स्मरण छ, त्यति सानो स्थानमा १५० जनाभन्दा बढी मानिसले विश्वकप फूटबल हेरेका थिए । हिमालयन जाभामा कहिल्यै नआउनेहरूले पनि खेल हेर्न आएर कफीबारे थाहा पाएका हुन् । यसपछि कफी खाने संस्कृतिको विकास ह्वात्तै बढ्यो । व्यापार पनि राम्रो भयो । नियमित कफी खान आउने ग्राहकको संख्या बढ्यो । यो नै हाम्रा लागि पहिलो टर्निङ प्वाइन्ट थियो । त्यसपछि कफीको क्षेत्रमा थप केही काम गरौं भन्ने हौसला बढ्यो ।
त्यसपछि हिमालयन जाभाको यात्रा कसरी अघि बढ्यो ?
हाम्रो उद्देश्य ग्राहकलाई गुणस्तरीय र स्वादिष्ट कफीमार्फत सेवा दिने भन्ने हो । ग्राहक सेवालाई सधैं उच्च प्राथमिकतामा राख्यौं । हाम्रो मेनुमा एसप्रेसो, माकिआटो, क्यापचिनो, अमेरिकानो, लाते, मोक्का लगायत कफीका प्रकार संलग्न छन् । मूल्य पनि साधारण उपभोक्ताले खर्चिने क्षमताकै आसपास छ । यतिमात्र नभई मेनुमा बेकरी तथा खाना अन्य प्रकार पनि छन् । हिमालयन जाभामा आफ्नै घरमा बसेको जस्तो अनुभव हुनेगरी ग्राहकलाई सेवा दिइरहेका छौं । अहिले कफी शपको भौतिक संरचना विशेष किसिमले तयार पारेका छौं । विगतदेखि वर्तमानसम्म हामी ग्राहक सेवामुखी नै छौं ।
अन्य स्थानमा आउटलेट स्थापनासँगै व्यवसाय विविधीकरण पनि गरिएको देखिन्छ । यसबारे बताइदिनुस् न ।
सन् २००३ मा तेस्रो आउटलेट रविभवनमा खोल्यौं । तत्कालीन लिंकन स्कूलका प्राचार्यले त्यहाँ कफी शप खोल्न सिफारिश गरेका हुन् । थप आउटलेट खोल्न दिगो हुन्छ या हुँदैन भन्ने आशंकाबीच त्यहाँ सानो बजेटमा खोल्यौंं । सिमेन्ट गोदाम रहेको कोठालाई नयाँ संरचनामा परिवर्तन गरेर आउटलेट खोलेका थियौं । यसपछि त हामीसँग होटल तथा रेष्टुरेन्ट व्यवसायी पनि जोडिन आइपुगे । कफी बनाउने मेसिन मगाउन अर्डर आएपछि कम्पनी दर्ता गरेर बाहिरबाट मगाएर विक्री गर्न थाल्यौं । यसपछि नेपालमा कफीको पनि बजार छ भन्ने देखेर अन्य उपकरण समेत भित्र्याउन थाल्यौं ।
त्यसलगत्तै सन् २००७ मा बारिष्टा ट्रेनिङ स्कूल खोल्यौं । अष्ट्रेलियामा हुँदा मैले होटल तथा रेष्टुरेन्टमा निकै मेहनतका साथ काम गरें । त्यहाँ अरू थुप्रै नेपाली काम गर्थे । तर सबै दक्ष कामदार थिएनन् । दक्ष कामदार नभएकैले उनीहरूले अरूको तुलनामा कम पारिश्रमिक पाउँथे । अर्कोपटक अष्ट्रेलिया जाँदा पनि शीप, अनुभव नभएका धेरै नेपाली युवाले दुःख पाएको देखेँ । त्यसपछि नेपालमा बारिष्टा ट्रेनिङ स्कूल खोल्ने सोच बनाएँ । युवालाई कफी बनाउने तालीम दिन सकियो भने स्वदेशमा मात्र नभई विदेशमा पनि धेरै दुःख गर्नुपर्दैन भनेर तालीम केन्द्र खोल्ने निर्णय लिएको थिएँ । यो स्थापना हुनुभन्दा अघि मैले ठमेलमै कफीसम्बन्धी साधारण तालीम तथा प्रशिक्षण दिने गरेको थिएँ । तर प्रशिक्षार्थीको संख्या बढ्दै गएकाले थप व्यवस्थित गर्नुपर्ने भइसकेको थियो । सिभिल मलमा पहिलो बारिष्टा ट्रेनिङ स्कूल खोल्यौं, जुन अहिले पनि छ । त्यसबाहेक चितवन, पोखरा, ललितपुर र काठमाडौंका अन्य सात स्थानमा ट्रेनिङ सेन्टर सञ्चालनमा छन् । बेकरीसम्बन्धी तालीम पनि सञ्चालनमा छ । यतिमात्र नभई विभिन्न स्थानमा कफीखेती गरिरहेका छौं ।
बारिष्टा स्कूलको कोर्स कति दिनको हुन्छ ? के - के सिकाइन्छ ?
बारिष्टा स्कूलको कोर्समा १० दिनको सघन तालीम हुन्छ । हिमालयन जाभाको आउटलेटमा दुई हप्ता इन्टर्नशिप गर्न दिइन्छ । सबै मिलाएर १०० घण्टाको कोर्स छ । उक्त कोर्सअन्तर्गत दैनिक १८ देखि २० जना प्रशिक्षार्थीलाई तालीममा सहभागी गराइन्छ । यसको शुल्क ३० हजार रुपैयाँ तोकेका छौं । बेकरी तालीम पनि शुरू गरेका छौं । यो चाहिँ १४ दिनको तालीम हो । यो तालीम अहिले पनि चालू छ । तर यसमा भने आक्रामक हिसाबले लागेका छैनौं । यस तालीममा सहभागी हुन चाहन्छन् भने तालीम दिने जनशक्ति तयार अवस्थामा छ ।
हाम्रो प्राथमिकता आउटलेट मात्र होइन, फ्रेन्चाइजी मोडल पनि हो ।
इलाममा कफी फार्म पनि शुरू गर्नुभएको रहेछ । यो अहिले कसरी अघि बढिरहेको छ ?
कफी फार्मिङमा प्रवेश गर्ने सोच पहिले थिएन । तर बाध्यता आइलाग्यो । हिमालयन जाभालाई गुणस्तरीय कफीको कच्चापदार्थ, दूध र शुद्ध पानीको आवश्यकता छ । किनभने हाम्रो जोड नै गुणस्तरमा छ । हामीकहाँ दूध र पानी शुद्ध पाउने अवस्था छैन । हिमालयन जाभामा मीठो कफी पाइन्छ भन्ने मानव स्थापित भइसकेको छ । त्यसकारण गुणस्तर वृद्धि गर्ने उद्देश्यले कफीखेती शुरू गरेका हौं । नेपालमा कफीको उच्च माग छ । तर उत्पादन एकदमै कम छ । कफी नगदे बाली भए पनि आज बिरुवा रोपेर अर्को वर्ष नै यसले उत्पादन दिँदैन । यसबाट उत्पादन हुन पनि पाँच–छ वर्ष वा अझै धेरै वर्ष लाग्न सक्छ । साधारण कृषकले यो खेती गर्न नसक्ने अवस्था छ । त्यसकारण किसान यो खेतीतर्फ आकर्षित नभएका हुन् । त्यसैले बाध्य भएर कफीखेतीमा लागेका हौं । कफी उत्पादन गर्न सकियो भने त कफीबाटै हिमालयन जाभाको भविष्य राम्रो हुन्छ । यस्तै, आउटलेट विस्तारमा पनि सहज हुन्छ ।
इलाममा कति जग्गामा कफीखेती गरिरहनु भएको छ ?
हुन त जुनसुकै स्थानमा गएर पनि हामी कफीखेती शुरू गर्न सक्थ्यौं । तर इलाम नै छनोट ग¥यौं । इलामको चियाले विश्वमा नेपाललाई चिनाउन मद्दत गरेको छ । इलाम चियास“गै कफीको राम्रो सम्भावना भएको क्षेत्र हो । कफी उत्पादन नै छैन भने हिमालयन जाभाको आउटलेट विस्तारको लक्ष्य पूरा हुन सक्ने कुरा भएन । हामीले नेपालमा २१ वर्षअघि कफी खाने संस्कृतिको विकास गर्यौं । अब उत्पादनतर्फ पनि लाग्नुपर्छ भन्ने मान्यता अनुरूप इलाममा कफीखेती थालेका हौं । अहिले कफीको बोटबाट दाना फल्न थालिसकेको छ । चाहना र सोच असल राख्ने हो भने जहाँ गएर पनि काम गर्न सकिन्छ भन्ने सन्देश युवालाई दिन खोजेका छौं । चिया बगानसँगै त्यहाँ कफीको नमूना बगान बनाउने उद्देश्य छ ।
नेपालमा उत्पादन हुने कफी कस्तो प्रकारको हो ?
कफीका त विभिन्न प्रकार छन् । तिनको स्वाद पनि फरक - फरक छन् । लामो इतिहास बोकेको नेपाली कफी अहिले गुल्मी हुँदै पूर्व–पश्चिमका ४० भन्दा बढी पहाडी जिल्लामा उच्च सम्भावनायुक्त नगदेबालीको रूपमा चिनिएको छ । अपवादबाहेक नेपालमा रोपिएको कफी अराबिका जातको मात्र छ । नेपालको हावापानीमा अराबिका र रोबष्टा कफी उत्पादन हुन्छन् । विश्व बजारमा भने अराबिका कफीको माग धेरै छ । रोबष्टामा क्याफिनको मात्रा धेरै र अराबिकामा क्याफिन कम पाइन्छ । विदेशको कफीसँग प्रतिस्पर्धा गर्न नेपालले कफीमा धेरै काम गर्न बाँकी छ । दाना उत्पादनपछि पनि विभिन्न चरण पार गरेरमात्र गुणस्तरीय कफी बन्छ । यसका लागि धेरै लगानी आवश्यक हुन्छ । समय पनि त्यत्तिकै लाग्दछ । यहाँ त कफीको व्यावसायिक खेतीका लागि सरकारी प्रयासको खाँचो छ ।
तपाईंहरूको मुख्य प्राथमिकता आउटलेट हो कि फ्रेन्चाइजी मोडल ?
हाम्रो प्राथमिकता आउटलेट मात्र होइन, फ्रेन्चाइजी मोडल पनि हो । नेपालबाहिर हिमालयन जाभाको आउटलेट धेरै छैन । तर फ्रेन्चाइजी मोडलको माग भने धेरै छ । फ्रेन्चाइजी मोडलका लागि अझै गृहकार्य गरिरहेका छौं । फ्रेन्चाइजी मोडल भनेको सिस्टम विक्री गर्ने हो । सिस्टम बेच्दा गुणस्तरदेखि लिएर धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । विदेशमा फ्रेन्चाइजीको अनुगमन तथा निरीक्षण गर्न पनि गाह्रो हुन्छ । नेपालमा ४० ओटा आउटलेट छन्, जसमध्ये आधा चाहिँ फ्रेन्चाइजी मोडलमा सञ्चालनमा छन् ।
धेरै व्यवसायी हिमालयन जाभाको फ्रेन्चाइजी चलाउन इच्छुक छन् भन्ने सुनिन्छ । तपाईंहरूले फ्रेन्चाइजी दिँदा केलाई आधार बनाउनु भएको छ ?
हिमालयन जाभाले नेपालको कफीको क्षेत्रमा अलग किसिमको परिचय बनाएको छ । हुन त हिमालयन जाभाका लागि फ्रेन्चाइजी मोडल समयको माग थियो । सन् २०१६ देखि विभिन्न व्यवसायी र साथीभाइको अनुरोधमा हिमालयन जाभाले फ्रेन्चाइजी विक्री गर्न शुरू गरेको हो । देशभित्र र बाहिरबाट फ्रेन्चाइजीका लागि लगातार इमेल आउन थालेपछि यसबारे हामीले अध्ययन पनि गर्यौैं । अनि मात्र यो सम्भव भएको हो । फ्रेन्चाइजीबाट मूल कम्पनीलाई पैसा त आउँछ । तर हामीले फ्रेन्चाइजी पनि गर्नुपर्छ भनेर हिमालयन जाभा शुरू गरेका भने होइनौं ।
हिमालयन जाभा विभिन्न चरण पार गर्दै आजको अवस्थामा आइपुगेको छ । यसको सफलता कसरी सम्भव भयो ?
हिमालयन जाभा पहिलो कफी शप पनि हो । यसको शुरुआती समयका चार पा“च जना स्टाफ हामीसँग अहिले पनि हामीसँगै छन् । उनीहरू अहिले ठमेलको आउटलेटमा छन् । उनीहरू त पारिवारिक सदस्य जस्तो भइसकेका छन् । जो जसले हामीसँग काम गरेर, शीप आर्जन गरेर बाहिरिएका छन्, उनीहरूले अन्यत्र पनि कफी शपबाटै मनग्गे आम्दानी गरिरहेका छन् । हिमालयन जाभाको कफी शपबाट सिकेको शीपमार्फत उनीहरूले अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया र मलेशिया गएर पनि व्यवसाय गरिरहेका छन् । बारिष्टा कफी बनाउने कतिपय पूर्व स्टाफले नेपालमै बसेर मसँगै प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूको प्रगति लोभलाग्दो छ । हुन त मैले पनि अष्ट्रेलियामा कफी बनाउन सिकेको हुँ । त्यस्तै मबाट धेरै नेपाली युवाले कफीसम्बन्धी ज्ञान आर्जन गर्न पाए । उनीहरूले गरेको प्रगति देख्दा अहिले खुशी लाग्छ ।
नेपालको कफी अरू देशको भन्दा कुन अर्थमा फरक छ ?
कफीका प्रकार धेरै छन् । नेपालको कफी भने अग्र्यानिक नै हो । कफीको ‘सिड’देखि ‘कप’सम्मको समग्र व्यवसायमा अब ज्ञान, विवेक र प्रविधि भएका युवा आउनुपर्छ । कफी पारखीको संख्या पनि बढिरहेकाले चियाजस्तै कफी पनि संस्कृति बन्दै छ । पछिल्ला दिनहरूमा कफीको स्थानीय खपत पनि बढिरहेको छ । अन्तरराष्ट्रिय माग बढिरहेको छ । तर हामीस“ग कफी छैन । हामीसँग कफी हुन उत्पादन बढाउनैपर्छ । सम्भावना भएको जमीनको सदुपयोग गर्न अबको १० वर्ष कफीको व्यावसायिक रोपण अभियान सञ्चालन गर्नुपर्छ । ‘किसान सामूहिकीकरण’ अवधारणाका साथ कफी क्षेत्र विस्तारमा उनीहरूको भूमिका सबल बनाउनु जरुरी छ ।
नेपालमा कफीको उत्पादन र खपतको अवस्था कस्तो छ ?
उत्पादन वर्षेनि घटिरहेको अवस्था छ । मसँग अहिले यकिन तथ्यांक नभए पनि नेपालमा वार्षिक २८० टनभन्दा बढी उत्पादन हुँदैन । माग बढिरहेको छ भने उत्पादन भने घटिरहेको छ । सन् २००५ तिर नेपालमा जति कफी उत्पादन हुन्थ्यो, त्यसको ७० प्रतिशत निर्यात हुन्थ्यो, ३० प्रतिशत कफी घरेलु बजारमा खपत हुन्थ्यो । आजको दिनमा जति कफी उत्पादन हुन्छ, त्यसमा ९५ प्रतिशत कफी यहीँ खपत भइरहेको छ । काठमाडौं शहरमा मात्र अहिले चार–पा“च हजार कफी शप खुलिसकेका छन् । एउटा कफी शपमा दैनिक औसत एक किलोग्राम कफी खपत भइरहेको छ । अब कफी उत्पादनमा सबैले जोड दिनुपर्छ । हामीले वर्षमा ५० देखि ६० टन कफी खपत गर्दै आएका छौं । यो वर्षेनि बढ्दो छ ।
नेपालमा कफी संस्कृतिको विकासमा हिमालयन जाभाको योगदान कस्तो छ ?
मेरो विचारमा हिमालयन जाभाले नेपालको कफीको क्षेत्रको विकास र विस्तारमा त्यस्तो उल्लेख्य योगदान गरेको जस्तो लाग्दैन । यद्यपि कफी खाने संस्कृतिको विकास गरेको चाहिँ केही गरेको छ जस्तो लाग्छ । हिमालयन जाभाले थोरै भए पनि युवाका लागि स्वदेशमै काम गर्न प्रेरणा दियो जस्तो लाग्छ । हाम्रो व्यापारको प्रकृति पनि अरू व्यवसायभन्दा फरक छ । हामी दैनिक रूपमा साधारण तरीकाले ग्राहकलाई सेवा दिइरहेका हुन्छौं । नेपालमा कफी उत्पादन अपेक्षा गरेअनुसार नभए पनि ग्राहकलाई सेवा दिइरहेका छौं । दिनप्रतिदिन कफीको माग बढीरहेको छ । एकातिर नेपालमा कफी खाने संस्कृति बढिरहेको छ भने शहरबजारमा कफी शपको संख्या पनि वर्षेनि बढ्दै गएको छ । हामीकहाँ मात्र होेइन, आज शहर बजारका अन्य पसलमा पनि गुणस्तरीय र स्वादिष्ट कफी खान पाइन्छ । यो सुन्न पाउ“दा खुशी लाग्छ । कफी शपलाई नै व्यवसाय मानेर लगानी गर्ने युवाको संलग्नता बढ्दो अवस्थामा छ ।
हिमालयन जाभा सही समययमा सञ्चालन भएको हो जस्तो लाग्छ ?
वास्तवमा कफी खान समय र कारण चाहिँदैन । कफी खान कुनै बहाना पनि चाहिँदैन । कफी संस्कृतिको विकास गरेकै कारण हिमालयन जाभाको नाम आज सबैसामु जोडिएको छ । हिमालयन जाभामा गुणस्तरीय र मिठो कफी खान पाइन्छ भन्ने छाप ग्राहकमा परेको छ । यतिमात्र नभई कतिपय ग्राहकले हिमालयन जाभालाई अहिले कार्यालयको रूपमा प्रयोग गरिरहेका छन् । यहाँ कफी, पुस्तकालय, वाइफाइदेखि अन्य सुविधा पनि छन् । आजसम्म आइपुग्दा हामीले धेरै सिक्ने मौका पनि पाएका छौं । कफी संस्कृतिको बारेमा अझै जानकारी दिन बा“की छ । ग्राहकबाट मात्र होइन, सरकारबाट पनि हामीले अझ काम गर्न हौसला पाएका छौं ।
नेपालको कफी संस्कृतिमा हिमालयन जाभा ब्रान्ड बनिसकेको महसुस चाहिँ कहिले भयो ?
हामी पेशाप्रति निरन्तर लगावका साथ काम गरिरहेका छौं । अझै धेरै गर्न बाँकी छ जस्तो लाग्छ । मेरो विचारमा गुणस्तर र स्वादका कारण नै आज हिमालयन जाभा ब्रान्ड बनेको जस्तो लाग्छ । तैपनि अझ कडा मिहिनेत गरिरहेका छौं । हिमालयन जाभा अरु कफी शपभन्दा फरक छ भन्ने ब्रान्ड आफ्नो ठाउँमा छ तर । हिमालयन जाभाले नेपालमा कफी विक्री गरेर मनग्य कमाउन सक्दछ तर हामी कफी संस्कृतिको विकास गर्न र स्वदेशमै गुणस्तरीय अर्गानिक कफीको उत्पादन तथा प्रवद्र्धन गर्न काम गरिरहेका छौं । हाम्रो उद्देश्य कफी बनाउने दक्ष जनशक्ति निर्माण गर्नु पनि छ ।
हिमालयन जाभाको भावी योजनाबारे बताइदिनुस न ।
हामीले सन् २००९ मै आउटलेट विस्तार गर्ने योजना बनाएका थियौं । बा“की योजनाहरू भने कोभिड महामारीको कारण अलपत्र परेको अवस्था छ । कोभिडले गर्दा हाम्रो व्यवसायमा पनि ठूलो असर प¥यो । विभिन्न आरोह अवरोध हुँदा पनि आउटलेट विस्तार, कफी उत्पादनदेखि बजार विस्तारका क्षेत्रमा योजना अनुरूप नै काम गरिरहेका छौं । फ्रेन्चाइजीको थप माग आइरहेकाले यसतर्फ पनि काम भइरहेको छ । फेन्चाइजीमात्र नभई आउटलेट विस्तार गर्ने योजना पनि छ । हामीले हिमालयन जाभामा काम गरेका पूर्व कामदार, साथीभाइलाई पनि फ्रेन्चाइजीका लागि सहयोग र सल्लाह पनि दिइरहेको अवस्था छ ।
कफी सेवन स्वास्थ्यका हिसावले उपयुक्त छ भन्ने कुरा सर्वसाधारणले बुझ्न थालेकाले नेपालमा भविष्यमा कफीको बजार राम्रो छ भन्ने लाग्छ । नेपाली ब्रान्डमा कफी एक्सपोर्ट गर्ने लक्ष्य पनि छ । यसका लागि सबैभन्दा पहिला गुणस्तरीय कफी उत्पादन हुनुपर्दछ ।
हिमालयन जाभाको व्यापार विस्तार गर्ने लक्ष्य भोलिका दिनमा स्वदेशमात्रै छ कि विदेश पनि छ ?
विदेशमा भन्दा पनि स्वदेशमै हिमालयन जाभाका आउटलेटहरू विस्तार गर्ने योजना छन् । त्यसै अनुरुप काम पनि भइरहेको छ । लुम्बिनी, पोखरा, जोमसोम, नाम्चेबजारमा त हिमालयन जाभाका आउटलेटहरू विस्तार भइसकेका छन् । प्रमुख शहरूहरूमा आउटलेट विस्तार गर्ने लक्ष्य छ । यतिमात्र नभई देशका मुख्य राजमार्गमा पनि आउटलेट विस्तार गर्ने योजना छ । पछिल्लो तयारी अनुरूप कुरिनटारमा आउटलेट निर्माण गर्ने गरी काम भइरहेको छ । सोचेजस्तो व्यवसायी आएको खण्डमा प्र्रmेन्चाइजी मोडल पनि विक्री गर्ने योजना छ ।
हिमालयन जाभाले कफी उपभोगको क्षेत्रमा गरेको प्रगति देखेर नेपालमा कफीका अन्तरराष्ट्रिय ब्रान्ड पनि आए, होइन ?
निश्चय पनि हाम्रो यसमा अप्रत्यक्ष भूमिका होला । नेपालमा कफी उपभोगको बजार ठूलो भइसकेको छ । नेपाल खुला अर्थतन्त्र भएको मुलुक रहेका कारण अन्तरराष्ट्रिय ब्रान्ड आउन सक्छन् । हुन त यो अवधिमा दुई तीन ओटा अन्तरराष्ट्रिय कफी ब्रान्ड नेपाल नआएका होइनन् । भारतको ब्रान्ड त आएर पनि बन्द भइसकेको छ । केएफसीलगायतका अन्तरराष्ट्रिय ब्रान्डहरू त नेपालमै छन् । हामी पनि अन्तरराष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने गरी काम गरिरहेका छौं । हाम्रो प्रतिस्पर्धा नै अनुभव, गुणस्तर, स्वाद र मूल्यमा नै हुने हो । हुन त नेपालमा गुणस्तरीय कफी शपहरू स्थापना भइसकेका छन्, जसले गर्दा अन्तरराष्ट्रिय चेन ब्रान्डका कफी शपहरूलाई नेपालमा टिकेर काम गर्न चाहिँ गाह्रो हुन्छ जस्तो लाग्छ ।
हिमालयन जाभाको अर्को साझेदारको रूपमा आनन्द गुरुङ पनि हुनुहुन्छ । तपाईंहरूले कार्य विभाजन चाहिँ कसरी गरिरहनु भएको छ ?
उहाँ मेरो असल मित्र हो । उहाँ व्यावसायिक मेकानिकल इन्जिनीयर पनि हो । उहाँले फ्रेन्चाइज मोडल, बजार विस्तार, कफी शपका लागि आवश्यक सामान आपूर्ति लगायतका काम पनि हेरिरहनु भएको छ । उहाँमा अनेकन आइडिया र सोच पनि छन् । हिमालयन जाभामा अहिले म प्रत्यक्ष देखिने पात्र हो भने उहाँ भने नदेखिने तर सक्रिय पात्र पनि हो । हामी दुई जनाको भेटमा दैनिक रूपमा अरू धेरै व्यावसायिक योजनाका काम भइरहेका हुन्छन् ।
हिमालयन जाभाको यो यात्रा आजसम्म आइपुग्दा यसलाई कसरी समीक्षा गर्न सकिन्छ ?
कोभिड महामारीकै कुरा गर्ने हो भने हाम्रो व्यवसाय लगभग दुई वर्ष त बन्द नै भयो । धेरै कामदारहरू बेराजगार हुन बाध्य भए । हुन त यो असर हामीलाई मात्र परेको होइन । शुरुआती समयमा त वास्तवमा कफी खाने संस्कृतिको विकास नै भएको थिएन । आजको दिनमा पनि माग अनुसारको गुणस्तरीय कफी बजारमा पाउने अवस्था छैन । शुरुआती समयमा अत्यधिक लोडसेडिङ हुन्थ्यो, खर्च पनि बढी थियो । त्यससमयमा त दैनिक १८ घण्टा लोडसेडिङमा व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता थियो । त्यस्तो बेलामा डिजेलबाट मोटर चलाएर कफी व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता थियो । तर त्यस्तो अवस्था अहिले छैन । कफीका सवै उपकरण बिजुलीबाट चलाउने पर्ने भएकाले आम्दानीको ७० प्रतिशत खर्च त डिजेल किनेर धुवाँ उडाउनु पर्ने अवस्था थियो । हामी धेरै समस्या र आरोह अवरोह पार गरेर आजको अवस्थामा आइपुगेका छौं । कफी बनाउने शीप सिकेका युवाहरूको संख्या निक्कै बढेका छन् । तर उनीहरूलाई स्वदेशकै व्यवसायमा टिकाउन गाह्रो भइरहेको छ । कफी बनाउन जान्ने जनशक्ति अभाव हटाउन अझ काम गर्नुपर्ने खाँचो छ । स्वदेशमा उनीहरूलाई टिकाइरहने हो भने सरकारले आयआर्जनका पेशा तथा शिपमा अझै लगानी गर्न आवश्यक छ ।
हिमालयन जाभाको ब्रान्ड भ्यालू र वार्षिक टर्नओभर कति छ ? बताइदिनुस् न ।
वास्तवमा भन्ने हो भने हामीले अहिलेसम्म भ्यालूएसन गरेको पनि छैन । आवश्यकता प¥यो भने गरौंला । तर आजको दिनसम्ममा मलाई पनि थाहा छैन । टर्नओभर पनि यकिन गरेका छैनौं । किनभने हाम्रो ध्यान दैनिक अप्रेसनदेखि लिएर बारिष्टा स्कूल सञ्चालन र फार्मिङमै छ । आम्दानीको स्रोत नै तलबदेखि लिएर आउटलेट विस्तारसम्मका काममा खर्च भइरहेको अवस्था छ ।
काठमाडौंमा हिमालयन जाभाको सबैभन्दा आम्दानी दिने आउटलेट चाहिँ कुन हो ? बताउन मिल्छ ?
व्यापारिक हिसाबले राम्रोसँग चलेको बौद्ध आउटलेट हो । बौद्ध त ठमेलभन्दा बढी पर्यटकहरू आवतजावत हुने राम्रो स्थान पनि हो । पहिलेको तुलनामा पर्यटकको संख्या कम भए तापनि बौद्धमा पर्यटकहरूको राम्रो मुभमेन्ट रहेकाले हिमालयन जाभाको कुल आम्दानीको ५० प्रतिशत चाहिँ बौद्धले कभर गरिरहेको अवस्था छ । यहाँ त स्थानीय ग्राहकको पनि राम्रो जमघट हुन्छ ।
(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)