काठमाडौं । धितोपत्र बजारमा लगानी गर्नुअघि मुख्यत: आधारभूत विश्लेषण र प्राविधिक विश्लेषण गरी शेयरको उचित मूल्य अनुमान गरिन्छ । प्राविधिक विश्लेषणका प्रकार धेरै छन् । तीमध्ये मैनबत्ती विश्लेषण महत्त्वपूर्ण छ, किनभने यो अन्य प्राविधिक विश्लेषणको तुलनामा सरल मानिन्छ ।
नेपालका शेयर लगानीकर्तामाझ पनि मैनबत्ती विश्लेषण लोकप्रिय छ । मैनबत्ती विश्लेषणको सहायताले बजारका लगानीकर्ता, व्यापारीका साथै समग्र बजारको मनोविज्ञान थाहा हुने भएकाले यसको प्रयोग बढेको पाइन्छ । मैनबत्ती विश्लेषणको माध्यमबाट बजारको आगामी दिशाका बारेमा अनुमान लगाउन सहज हुन्छ ।
मैनबत्ती विश्लेषणको शुरुआत जापानबाट भएको थियो । त्यसैले मैनबत्ती विश्लेषणमा प्रयोग हुने अधिकांश शब्दावली जापानी भाषाका छन् । जापानका म्युनेहिसा होम्मा नाम गरेका व्यापारीले १८औं शताब्दीमा मैनबत्ती विश्लेषणको शुरुआत गरेका थिए । मूल्यमा आपूर्ति र मागले मात्र नभर्ई बजारको मनोविज्ञानको पनि प्रभाव पार्ने भएको देखेर होम्माले चामलको मूल्यको पूर्वानुमान गर्न मैनबत्ती विश्लेषणको प्रयोग गरेका थिए ।
मैनबत्ती विश्लेषणमार्फत कुनै एउटा कम्पनीको शेयर मूल्यबारे मात्र होइन, समग्र बजारको पनि अवस्था देख्न सकिन्छ । साथै कुनै दिन वा अवधिको कारोबार शुरू हुँदाको मूल्य, सो अवधिमा कारोबार बन्द हुँदाको मूल्य, कारोबार दिनको कुनै बेला पुगेको अधिकतम मूल्य र न्यूनतम मूल्य एकै झलकमा थाहा पाउन सकिन्छ । यसको सहायताले प्रत्येक मिनेट, घण्टा, दिन र हप्ताका साथै महीनाको आधारमा विश्लेषण गरेर मूल्यको पूर्वानुमान गर्न सकिन्छ ।
मैनबत्तीका भागहरू
मैनबत्ती विश्लेषण गर्नुपूर्व लगानीकर्ताले मैनबत्तीका भागहरू बुझ्नुपर्ने हुन्छ । मैनबत्तीको शरीर, शरीरको माथिल्लो भाग, तल्लो भाग, टुप्पी र पुच्छर गरी पाँच भाग हुन्छन् ।
मैनबत्तीको शरीर
मैनबत्तीको ठाडो चतुर्भुज आकारलाई ‘रियल बडी’ अर्थात् शरीर भनिन्छ । यसले सम्बन्धित कम्पनी (अथवा बजार)को कारोबार दिनको बजार खुल्दा र बन्द हुँदाको बीचको मूल्य बुझाउँछ । शरीर हरियो–रातो वा सेतो–कालो दुई रङको हुन्छ । रंगीन मैनबत्तीमा हरियो र रातो रङको प्रयोग गरिन्छ । यस्तै श्यामश्वेत मैनबत्ती विश्लेषण गर्दा सेतो र कालो रङको प्रयोग गरिन्छ ।
मैनबत्तीको शरीर रातो वा कालो छ भने सो कारोवार अवधिमा कारोबार बन्द हुँदाको मूल्य कारोबार खुलेको मूल्यभन्दा घटेको भन्ने बुझिन्छ । यस्तै हरियो वा सेतो भएमा कारोबार बन्द हुँदाको मूल्य कारोबार खुलेको मूल्यभन्दा बढेको भन्ने बुझाउँछ ।
मैनबत्तीको टुप्पी
मैनबत्तीको शरीरको माथिल्लो भागमा रहेको ठाडो धर्कोलाई ‘हेड’ अर्थात् टुप्पी भनिन्छ । टुप्पीको सहायताले उक्त कारोबार अवधिको अधिकतम शेयरमूल्य जान्न सकिन्छ । उदाहरणका लागि कुनै कम्पनीको टुप्पी ३०० रुपैयाँसम्म पुगेको छ भने उक्त कारोबार अवधिमा सो कम्पनीको शेयरमूल्य सो अवधिमा कुनै समयमा ३०० रुपैयाँसम्म पुगेको भन्ने बुझिन्छ । रातो वा कालो शरीर भएको मैनबत्तीमा टुप्पी छैन भने उक्त कारोबार अवधिमा कम्पनीको कारोबार खुल्दाको मूल्य नै अधिकतम मूल्य भएको बुझ्नुपर्छ ।
मैनबत्तीको पुच्छर
मैनबत्तीको शरीरको तल्लो भागमा रहेको ठाडो धर्कालाई ‘टेल’ अर्थात् पुच्छर भनिन्छ । पुच्छरको सहायताले उक्त कारोबार अवधिको न्यूनतम शेयरमूल्य थाहा पाउन सकिन्छ । उदाहरणका लागि कुनै कम्पनीको पुच्छर ३०० रुपैयाँसम्म पुगेको छ भने उक्त कारोबार अवधिमा कम्पनीको न्यूनतम शेयरमूल्य सो कारोबार अवधिमा कुनै बेला ३०० रुपैयाँसम्म पुगेको बुझिन्छ । यस्तै रातो वा कालो शरीर भएको मैनबत्तीमा पुच्छर छैन भने उक्त कारोबार अवधिमा सो कम्पनीको कारोबार बन्द हुँदाको मूल्य नै न्यूनतम मूल्य रहेछ भन्ने हुन्छ ।
शरीरको माथिल्लो बिन्दु र तल्लो बिन्दु
मैनबत्तीको शरीरको तल्लो र माथिल्लो बिन्दुले कारोबार शुरू हुँदा वा बन्द हुँदाको मूल्य (रङअनुसार) बुझाउँछ । रातो वा कालो रङको शरीरको माथिल्लो बिन्दुले कारोबार शुरू हँुदाको मूल्य बुझाउँछ भने तल्लो बिन्दुले कारोबार बन्द हुँदाको मूल्य बुझाउँछ । उदाहरणका लागि कुनै कम्पनीको रातो वा कालो रङको शरीरको माथिल्लो बिन्दु ३०० रुपैयाँ छ भने उक्त कम्पनीको कारोबार शुरू हुँदाको मूल्य ३०० रुपैयाँ रहेको बुझिन्छ ।
यसैगरी हरियो वा सेतो रङको शरीरको तल्लो बिन्दुले कारोबार शुरू हुँदाको मूल्य बुझाउँछ भने माथिल्लो बिन्दुले कारोबार बन्द हुँदाको मूल्य बुझाउँछ । उदाहरणका लागि कुनै कम्पनीको शरीरको माथिल्लो बिन्दुले ३०० रुपैयाँ छ भने उक्त कम्पनीको कारोबार बन्द हुँदाको मूल्य ३०० रुपैयाँ रहेको थाहा हुन्छ । मैनबत्ती विश्लेषणका लागि आवश्यक सबै भागहरू बुझिसकेपछि मैनबत्तीका प्याटर्नले दिएको संकेतका आधारमा लगानीको निर्णय लिन सकिन्छ । मैनबत्ती विश्लेषणमार्फत कुनै वस्तु, कम्पनीका साथै समग्र बजारको कारोबार भोल्यूमको तुलना गरी मूल्यको पूर्वानुमान पनि गर्न सकिन्छ ।