सुर्खेत । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सुर्खेतमा सडकमै चालकको स्वास्थ्य जाँच र सवारीसाधनको परीक्षण शुरू गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले कर्णालीमा सवारी दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रमसँगै सवारी चेकजाँचमा कडाइ गरेको हो ।
ट्राफिक व्यवस्थापन कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि कर्णालीबाट बाहिरिने र भित्रिने सार्वजनिक यातायातका सवारी चालकको स्वास्थ्य चेकजाँचसँगै सवारीसाधनको ‘यान्त्रिक परीक्षण’ शुरू गरेको छ । विभिन्न निकायका प्राविधिकको सहयोगमा ट्राफिक प्रहरीले भेरीगंगाको छिन्चुमा सोमवारदेखि एकीकृत शिविरमार्फत सार्वजनिक सवारीसाधनका चालक तथा सह–चालकको स्वास्थ्य र सवारीसाधनको परीक्षण शुरू गरेको हो ।
९० प्रतिशत सवारी दुर्घटना मानवीय त्रुटिका कारण हुने गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रज्वल महर्जनले बताए । कर्णाली प्रदेशभरि हप्तामा सरदर ७ जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको जानकारी उनले दिए । कर्णालीमा पछिल्लो सात महीनामा भएका २६८ सवारी दुर्घटनामा ८० जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ ।
दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अवस्था तथा सवारी चालकको स्वास्थ्यसमेत राम्रो हुनुपर्ने कार्यालय प्रमुख महर्जनले बताए । ‘सवारी दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीको भूमिका मात्रै पर्याप्त हुँदैन,’ उनले भने, ‘यसका लागि आम नागरिक तथा सवारीसँग सम्बन्धित सवारी चालक तथा परिचालक, यातायात व्यवस्था कार्यालय, सडक विभागजस्ता विभिन्न निकायबीच हातेमालो आवश्यक छ ।’ उनले कर्णाली प्रदेश प्रहरीले शुरू गरेको ‘यात्रु सुरक्षा अभियान’अन्तर्गत एकीकृत शिविरमार्फत सडकमै स्वास्थ्य चेकजाँचसँगै यान्त्रिक परीक्षणले दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त उनले गरे ।
चेकजाँचमा कडाइ गरेसँगै कर्णालीमा पछिल्लो सात महीनामा ट्राफिक नियम उल्लंघन गर्ने साढे २१ हजार सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालय प्रमुख महर्जनले कारबाहीबाट १ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य र सवारीसाधनको यान्त्रिक परीक्षण गर्नु राम्रो अभ्यास भएको भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए । ‘ट्राफिक प्रहरीले यस्ता जनचेतनामूलक कार्यक्रम समय–समयमा सञ्चालन गर्दा सवारी दुर्घटना न्यूनीकरणमा सघाउ पुग्छ,’ उनले भने ।
दुर्घटनाबाट कतिपयको अकालमै मृत्यु र घाइते हुँदा आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक समस्याले विकासमा नकारात्मक प्रभाव पर्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश सदस्य डिलबहादुर खत्रीले बताए । सडक दुर्घटना न्यूनीकरणका लागि तीनै तहका सरकारसँगै सम्बन्धित सरोकारवाला समेत बढी जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाइ छ ।