ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थतन्त्रमा देखिएको समस्याले निर्माण क्षेत्र पनि प्रभावित छ

२०७९ फागुन, १२  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

मुलुकको अर्थतन्त्रमा देखिएको असहजताले अहिले उद्योगी व्यवसायी मर्कामा छन् । समस्या समाधानको मागसहित व्यवसायीहरू सडकमै आउन थालेका छन् । अर्थतन्त्रको अहिलेको अवस्थामा निर्माण व्यवसायी पनि अप्ठ्यारोमा परेको मनसिरी ट्रेडिङका प्रबन्ध निर्देशक सुशील श्रेष्ठ बताउँछन् । प्रस्तुत छ, निर्माण व्यवसायका समस्या, चुनौती लगायत समसामयिक विषयमा श्रेष्ठसँग आर्थिक अभियानका अनन्त्य सुन्दरले गरेको संवादको सार :

अर्थतन्त्रको अहिलेको अवस्थालाई कसरी हेर्नुभएको छ ?
मुलुकको अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन, विदेशी मुद्रा सञ्चिति, महँगी, शेयर बजार लगायतका अधिकांश सूचक सकारात्मक देखिँदैन । अर्थतन्त्र यो अवस्थाबाट गुज्रिँदै गर्दा त्यसको प्रत्यक्ष असर हामी निर्माण व्यवसायीलाई पनि परेको छ ।

आर्थिक व्यावसायिक क्षेत्रमा देखिएका समस्या समाधान हुनुपर्ने मागसहित उद्योगी व्यवसायी ठाउँ ठाउँमा आन्दोलित नै भएका छन् । निर्माण व्यवसायीको अवस्था चाहिँ कस्तो छ ?
आर्थिक क्षेत्रमा देखिएको मन्दीको अवस्थाले हामी पनि सडकमै आउनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । समयमा काम नहुँदा, पैसा निकास नहुँदा, चर्को ब्याजदरलगायत कारण हामी समस्यामा छौं । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले दूरदर्शी नीति बनाएर कार्यान्वयन गर्न आवश्यक छ ।

निर्माण व्यवसायीलाई गुणस्तरीय काम नगर्ने, समयमा सम्पन्न नगर्ने जस्ता आरोप लाग्ने गर्छ । यसबारे के भन्नुहुन्छ ?
हाम्रो देशमा सबैजसो क्षेत्रमा हुने गरेका नराम्रा कामको मात्र चर्चा हुन्छ । मेरो विचारमा सबै निर्माण व्यवसायी खराब छैनन् । तोकिएको समयमै परियोजना सम्पन्न गर्ने निर्माण व्यवसायी पनि छन् । तर हाम्रोमा राम्रो कामको चर्चा हुँदैन । निर्माण व्यवसायीको खराब पक्ष औंल्याउँदै गर्दा राम्रा कामको प्रोत्साहन र त्यसको चर्चा गर्न पनि आवश्यक छ ।

मुलुकको विकासमा निर्माण व्यवसायीको कस्तो भूमिका हुन्छ ?
हाम्रो मुलुकमा अहिलेसम्म राजनीतिक परिवर्तन मात्र भयो । आर्थिक परिवर्तन हुन सकेको देखिँदैन । त्यसैले अब मुलुकको समग्र विकासका लागि आर्थिक परिवर्तन आवश्यक छ । आर्थिक परिवर्तनका लागि सडक, पुल, अस्पताल लगायत पूर्वाधार विकास आवश्यक हुन्छ । पूर्वाधार विकासका लागि मुख्य भूमिका नै निर्माण व्यवसायीको हुन्छ । त्यसैले मुलुकको विकास र समृद्धिमा निर्माण व्यवसायीको भूमिका सर्वोपरि हुन्छ ।

पूर्वाधार विकासका लागि निकास भएको बजेट कत्तिको सदुपयोग भएको छ जस्तो लाग्छ ?
हरेक वर्ष बजेटको ठूलो हिस्सा पूर्वाधार विकासका लागि छुट्ट्याइन्छ । तर बजेट सही ठाउँमा खर्च भएको देखिँदैन । पछिल्लो केही वर्षमा मुलुकमा बनेका भ्यू टावर र अस्पतालको संख्या तुलना गर्ने हो भने हामीले कस्तो खालको विकास र समृद्धि खोजेका हौं भन्ने प्रश्न उठ्छ ।

नेपालमा निर्माणका लागि आवश्यक पर्ने उपकरण ल्याउन सहज छ ?
अहिले निर्माणाधीन परियोजना सम्पन्न गर्न उपकरणविना सम्भव छैन । तर त्यस्ता उपकरण नेपालमा उत्पादन नहुने भएकाले बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । राज्यले हामी व्यवसायीलाई नेपालमै एसेम्बल गरेर उपकरण बनाउन नीतिगत हिसाबले सहजीकरण गर्नुपर्छ । त्यसका लागि हामी सक्षम र तयार पनि छौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)