जाजरकोट । पोल गाडेको पाँच वर्ष भइसक्दा पनि यहाँको कुशे गाउँपालिकाको अधिकांश ठाउँका स्थानीयले विद्युत् सेवा वञ्चित छन् ।
३३ केभी प्रशारण लाइन कुशेमा पुर्याउनका लागि नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षअघि बोलपत्र आह्वान गरेर काम शुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन । कुशे–५ पाँचकाटियाबाट खुर्पासम्म पोल गाडिएका छन् ।
शाइबाबा एण्ड तारा कन्टक्सन खलङ्गा–२ ले पालिकाको पाँचकाटियादेखि खुर्पा समकोटसम्म प्रशारण लाइन निर्माण गर्न आव २०७५/७६ मा ठेक्का लिएकामा हालसम्म काम सम्पन्न भएको छैन । अहिले गाडिएको पोल जीर्ण अवस्थामा छन् भने तार छरिएर अलपत्र छन् ।
दुई ठाउँबाट विद्युत् लिनका लागि काम शुरु भएको पाँच वर्ष बित्दा पनि आधा काम नहुँदा यहाँका सर्वसाधारण मर्कामा परेका छन् । छेडागाड नगरपालिकाको थलहबाट कुशे गाउँपालिका र भेरी नगरपालिका हुँदै कुशेको पाँचकाटिया जोडेर पालिकाभर विद्युतीकरण गर्ने उद्देश्यसहित प्रद्यिकरणले ठेक्का उपलब्ध गराएकामा हालसम्म २० प्रतिशत काम भएको बताइएको छ ।
बाटुल्ले बजारदेखि साधिविस्यौनासम्म तार ठाउँ–ठाउँमा थुपारेर फाँकिएको अवस्थामा रहेको स्थाीयवासी जनक चन्दले बताए । ‘समयमा काम गर्नुपर्नेमा तर यसरी राज्यको राष्ट्रिय सम्पत्ति फाँकेर किन नोक्सान गरेको होला ?’ उनले प्रश्न गरे । यसबारे पालिकाले समेत कुनै चासो नदेखाएको चन्दको गुनासो छ ।
पालिका, प्राधिकरण र निर्माणको जिम्मा लिएको कम्पनीले छिटो काम चालु गरी विद्युत् आपूर्ति गर्नुपर्ने स्थानीयको माग छ ।