ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्युचुअल फण्डले औसतमा २० देखि २५ प्रतिशत प्रतिफल दिइरहेका छन्

२०७९ फागुन, १७  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पूँजीबजारमा लगानीका विभिन्न औजारमध्ये एक हो, सामूहिक लगानी कोष (म्युचुअल फण्ड), जुन लगानीको उपयुक्त उपकरण मानिन्छ । तुलनात्मक रूपमा जोखिम कम हुने भएकाले नेपालमा पनि केही वर्षयता म्युचुअल फण्डका योजनाको संख्या बढ्दै गएको छ । म्युचुअल फण्ड सञ्चालन गर्ने विभिन्न कम्पनीमध्ये सनराइज क्यापिटल लिमिटेड पनि एक हो । प्रस्तुत छ, यस कम्पनीले सञ्चालनमा ल्याएका म्युचुअल फण्डका योजना, यस्ता योजनाले दिने प्रतिफललगायत विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार :

तपाईंहरूको संस्था कसरी अघि बढेको छ ?
हाम्रो संस्था धेरै राम्रोसँग चलिरहेको छ । भर्खरै मात्र हामीले नयाँ किसिमको म्युचुअल फण्ड बजारमा ल्याएका थियौं । हामी पहिलोपटक ‘सनराइज फोकस्ड इक्विटी फण्ड’को १०० करोड रुपैयाँ बराबरका इकाई विक्री गर्न सफल भएका छौं । अर्कोतर्फ, हाम्रो पोर्टफोलियो पनि राम्रो छ । यसमा लगातार व्यवसाय बढिरहेको छ । डिम्याट खाता संख्या १ लाख ५० हजार पुगिसकेको छ । यो पनि हरेक वर्ष बढिरहेको छ । अहिलेसम्मको कुरा गर्दा हाम्रो जनशक्तिलाई पारिश्रमिक दिन र प्यारेन्ट कम्पनीलाई २० देखि ३० प्रतिशत लाभांश दिन पुगेको छ ।

म्युचुअल फण्डका इकाईहरू बीचको समयमा विक्री हुन पनि सकिरहेको थिएन । तपाईंहरूले त एउटै योजनाको १ अर्बका इकाई विक्री गर्नुभएछ । यो कसरी सम्भव भयो ?
म पनि म्युचुअल फण्डका इकाईहरू समयमा विक्री हुन नसकेको स्वीकार्छु । नेपालमा अहिलेको समयमा म्युचुअल फण्डका इकाई विक्री गर्न निकै गाह्रो छ । साना लगानीकर्ताको हितका लागि म्युचुअल फण्डहरू स्थापना भएका हुन् । जसलाई शेयर बजारको बारेमा जानकारी छैन, उनीहरूको हितलाई हेरेर बजारबाट शेयर किनेर त्यसको आम्दानीले लाभ दिने उद्देश्यले म्युचुअल फण्डमा काम हुन्छ । तर नेपालमा म्युचुअल फण्डको बारेमा साना वा ठूला दुवै लगानीकर्ताले त्यति रुचि देखाएको पाइएन । यसको प्रमुख कारण लगानीकर्ताले म्युचुअल फण्डले दिने प्रतिफल र यसको महत्त्व नबुझ्नु नै हो । साधारण लगानीकर्ताले पनि आज शेयर किन्यो, भोलि दोब्बर मूल्यमा आम्दानी लिन खोजेकाले म्युचुअल फण्डप्रति ध्यान जान नसकेको हो जस्तो लाग्छ । जब कि म्युचुअल फण्डमा त्यो मूल्य तत्काल सम्भव हुँदैन । यसबाट राम्रो प्रतिफल पाउन ५ देखि १० वर्ष कुर्नैपर्ने हुन्छ । हामीले निष्कासन गरेको योजनामा पनि यस्तै समस्या देखियो । तैपनि सर्वसाधारणतर्फ करीब ३० हजारले आवेदन दिए । बाँकी त संस्थागत लगानीकर्ता नै थिए । त्यसमा पनि मुख्य लगानीकर्ता बैंक, वित्त र बीमा कम्पनी थिए ।

 

 

लगानीकर्ताले नबुझेकाले म्युचुअल फण्डमा आकर्षण नदेखिएको भन्नुभयो । त्यसो भए अरू क्षेत्रमा प्रशस्त अवसर हुँदाहुँदै लगानीकर्ताले म्युचुअल फण्डमै किन लगानी गर्ने ?
पहिलो कुरा शेयरमा भन्दा म्युचुअल फण्डमा गरिएको लगानीमा जोखिम निकै कम हुन्छ । किनभने म्युचुअल फण्ड व्यवस्थापकले आफ्नो रिसर्च, टिम, फण्ड म्यानेजर टिम राखेर हरेक दिन, हरेक मिनेट हेरेर खरीदविक्री गर्ने, बजारबाट अवसर लिने काम गरिरहेका हुन्छन् । अर्को कुरा, समयमा किन्ने र विक्री गर्ने काम भइरहेको हुन्छ । तर व्यक्तिगत रूपमा भने कहिले शेयर किन्ने, कहिले बेच्ने भन्ने ठम्याउन गाह्रो हुन्छ । कतिपयमा यसबारे ज्ञान भए पनि सबैसँग समय हुँदैन । तर हामी बजारबाट लिन सकिने जति पनि लाभ हुन्छ, त्यो शेयर खरीदविक्री गरेर म्युचुअल फण्डमार्फत दिन सक्छौं । यो त दीर्घकालीन लगानी पनि हो । तोकिएको समयावधिसम्म राख्न सकियो भने यसले धेरै राम्रो प्रतिफल दिन्छ । अहिले नेपालमा जति पनि म्युचुअल फण्ड सञ्चालनमा छन्, तिनले औसतमा २० प्रतिशत प्रतिफल दिएकै छन् । केही वर्ष प्रतिफल घटेजस्तो देखिए पनि सधैं एकनास हुँदैन । अधिकांश म्युचुअल फण्डले केही साल न्याभ घटे तापनि अर्को सालमा रिकभर गरेर भए पनि राम्रो नाफा दिएका छन् । सनराइज फर्स्ट म्युचुअल फण्डले बजारमा आएको साढे २ वर्षमा ६९ प्रतिशत प्रतिफल दिइसकेको छ । अहिले पनि न्याभ १२ रुपैयाँ ८६ पैसा छ । यसको वार्षिक प्रतिफल औसत ३० प्रतिशतजति हुन्छ । दोस्रो चाहिँ बजार ३५ प्रतिशत तल आउँदा न्याभ १२ प्रतिशतले मात्र घटेको छ । तर अहिले बजार २१–२२ सयमा आउँदा हाम्रो न्याभ लगभग १० रुपैयाँ छोइसकेको छ । अब बजार केही बढ्नेबित्तिकै यो १० रुपैयाँ पुग्छ । अर्को सालसम्ममा थप लाभांश दिन सकिन्छ ।

नेपालमा मर्चेन्ट बैंकहरूले डिम्याट खाता सेवा, आरटीएस सेवा, म्युचुअल फण्ड अण्डर राइटिङ, पोर्टफोलियो म्यानेजमेन्ट जस्ता काम गरिरहेको गरेको पाइन्छ । यो त परम्परागत मर्चेन्ट बैंकिङ पनि भए । नयाँ सोच र नयाँ प्रडक्टका साथ आउन नेपालमा केले रोकेको जस्तो लाग्छ ।
नेपालमा हामीले डिम्याट सेवा, आरटीएस सेवा म्युचुअल फण्ड अण्डर राइटिङ, पोर्टफोलियो म्यानेजमेन्ट, एड्भाइजरी जस्ता काम गरेको पनि झन्डै ३० वर्ष भयो । नेपालमा एनआईडीसी क्यापिटल मार्केट नै पहिलोपटक अर्थात् ३० वर्षअघि म्युचुअल फण्डको रूपमा आएको हो । तर म्युचुअल फण्डको ऐन तथा नियम आएको ८–१० वर्ष भयो । त्यसपछि धेरै म्युचुअल फण्ड आउन थालेका हुन् । केही म्युचुअल फण्डले अहिले पनि राम्रो गरिरहेका छन् । बजारमा बन्दमुखी प्रकृतिका ३२ ओटा म्युचुअल फण्ड छन् । खुलामुखी प्रकृतिका ६ ओटा छन् ।

अहिलेसम्म म्युचुअल फण्डले पुराना कामहरू नै गरिरहेको जस्तै देखिएको छ । यद्यपि नेपाल धितोपत्र बोर्डले भर्खरै मात्र विशिष्टीकृत लगानी कोषका लागि लाइसेन्स प्रक्रिया शुरू गरिसकेको छ । १०–११ ओटाले लाइसेन्स पनि पाइसकेका छन् । हामीले अब नयाँ काम गर्न पाउँछौं । यतिमात्र नभई अन्य नयाँ प्रडक्ट ल्याउने प्रयास पनि गरिरहेका छौं ।

नेपालमा अहिले विभिन्न क्षेत्रका कम्पनीले आईपीओ जारी गर्ने लहर चलेको छ । तर, अहिलेसम्म कुनै पनि मर्चेन्ट बैंकको आईपीओ आएको देखिँदैन । मर्चेन्ट बैंकहरूले नै यसमा चासो नदिएका हुन् कि नियामकबाट उपयुक्त वातावरण तथा साथ सहयोग नपाएका हुन् ?
वास्तवमा नेपालमा अहिलेसम्म मर्चेन्ट बैंकहरू कसैको पनि आईपीओ निष्कासन भएको छैन । यो साँचो हो । यसअघि धितोपत्र बोर्डको ऐन आईपीओ निष्कासन गर्न बाधक थिएन । तर बीचमा ऐन नै बाधक बनेको जस्तो लाग्छ । किनभने यदि पहिले दोस्रो बजारमा सूचीकृत कम्पनीको सब्सिडियरी कम्पनी हो भने त्यसले आईपीओ निष्कासन गर्नुपर्ने अनिवार्य बाध्यता छैन भन्ने ऐनमा उल्लेख छ । ऐनमै यस्तो प्रावधान भएपछि कसैले पनि यसतर्फ चासो नदेखाएकै हुन् । हुन त म्युचुअल फण्डको प्रतिफल त्यसै पनि प्यारेन्ट कम्पनीका शेयरधनीले पाइरहेको अवस्था छ । किनभने प्यारेन्ट कम्पनी सूचीकृत कम्पनी भएकाले शेयरधनीमा म्युचुअल फण्डको प्रतिफल अप्रत्यक्ष रूपमा गइरहेको हुन्छ । पछिल्लो समय आएर सीबीआईएल क्यापिटल र सिभिल क्यापिटलले आईपीओ निष्कासन प्रक्रिया शुरू गरेका थिए । तर अहिले त्यो प्रक्रिया नै रोकिएको हो कि जस्तो लागेको छ ।

नेपालमा म्युचुअल फण्डको बारेमा साना वा ठूला दुवै लगानीकर्ताले त्यति रुचि देखाएको पाइएन ।

त्यसो भए के भयो भने मर्चेन्ट बैंकहरू पनि आईपीओ ल्याउने प्रक्रियामा जान्छन् ?
यसको जवाफ सहज छ । कि त नेपाल धितोपत्र बोर्डले नै आईपीओ निष्कासन गर भनेर अनिवार्य गर्नुपर्‍यो । अहिले यसको पूँजी मात्र २० करोड रुपैयाँको छ । भोलिका दिनमा पूँजीको आकार ठूलो बनाइदियो भने सहायक कम्पनीको रूपमा रहन प्यारेन्ट कम्पनीको ५१ प्रतिशत शेयर भए पुग्छ । बाँकी हिस्सा आईपीओ निष्कासन गरे भइहाल्यो । भोलिका दिनमा यसको साइज १ अर्ब रुपैयाँको बनाइयो भने प्यारेन्ट कम्पनीले पनि यसलाई सब्सिडियरीको रूपमा नराख्लान् । किनभने प्यारेन्ट कम्पनी (बीमा, वित्त, बैंक)हरूको पनि लगानीको सीमा पक्कै होलान् र छन् पनि । हो, त्यो समयमा चाहिँ पक्कै पनि आईपीओ आउन सक्छ । किनकि आईपीओ निष्कासन नगरी उपाय नै हुँदैन ।

तपाईंहरूले म्युचुअल फण्ड सञ्चालन गर्दा प्रत्येक महीनाको न्याभ रिपोर्ट सार्वजनिक गर्दै आउनुभएको छ । पोर्टफोलियो म्यानेजमेन्ट गर्न ग्राहकबाट रकम पनि लिनुहुन्छ । ग्राहकको व्यक्तिगत सबै विवरण सुरक्षित राखेर ‘हामीले यति रकम लिएको, यति फाइदा वा घाटा भयो’ भनेर सार्वजनिक गर्दा राम्रो हुन्थ्यो होला नि । त्यसो हुँदा नयाँ ग्राहकलाई कुन मर्चेन्ट बैंकमा पोर्टफोलियो म्यानेजमेन्ट गर्न दिँदा राम्रो हुन्छ भनेर छान्न सहज हुन्थ्यो होला ।
यो धेरै राम्रो आइडिया हो । किनभने न्याभ त हरेक दिन नै प्रकाशित भइरहेको हुन्छ । क्लोज रेटको न्याभ साप्ताहिक रूपमा वेबसाइटमा राखिएको हुन्छ । पोर्टफोलियो म्यानेजरहरूको पनि समग्र पोर्टफोलियो स्थिति र एसेट्स म्यानेजमेन्ट के कस्तो छ भन्ने चाहिँ कहीँ कतै प्रकाशन भएमा सर्वसाधारणलाई छान्न सजिलो हुन्थ्यो । तर कहीँ कतै राख्ने वा प्रकाशन गर्ने कुरा नियामक धितोपत्र बोर्डले पनि बाध्यकारी बनाएको छैन । अर्को कुरा, नियम छैन । हामीलाई सार्वजनिक गर्नुपर्ने बाध्यता पनि छैन । यो प्रश्न अत्यन्त सान्दर्भिक हो भन्ने मलाई लागेको छ । म यसबारे सम्भव भएसम्म तथ्य संकलन गरेर मर्चेन्ट बैंकर्स एशोसिएशनको वेबसाइटमा राख्ने प्रयास गर्नेछु ।

नेपालमा अहिले मर्चेन्ट बैंकहरूको स्वतन्त्र खालको अस्तित्व देखिँदैन । बैंक वा बीमा कम्पनीको सहायक कम्पनीको रूपमा चिनिन्छन् । केही स्वतन्त्र मर्चेन्ट बैंक पनि बैंक तथा बीमाको सहायक कम्पनीकै रूपमा प्रस्तुत भए । अर्को, कुनै दुई बैंक मर्ज भए र उनीहरू दुवैको सहायक कम्पनीको रूपमा मर्चेन्ट बैंक भने केही समयपछि मर्ज भएका उदाहरण छन् । मर्चेन्ट बैंक यो मामलामा किन स्वतन्त्र हुन नसकेका होलान् ?
यसको जवाफ दिनुभन्दा पहिला नेपालमा म्युचुअल फण्डको शुरुआती इतिहासबारे बताउँछु । नेपालमा सबैभन्दा पहिला एनआईडीसी क्यापिटल मार्केट दर्ता भएको हो । यो नै पहिलो मर्चेन्ट बैंक हो । त्यसबेला धितोपत्र बजारमा कुनै पनि आर्थिक गतिविधि थिएनन् भन्दा पनि हुन्छ । केही समयपछि यसैमा फाइनान्सको लाइसेन्स पनि गाभियो । अर्को कुरा, म्युचुअल फण्ड ल्याउन फण्ड स्पोन्सर चाहिन्छ । यसका लागि २ अर्ब रुपैयाँमाथिको पूँजी भएको आफ्नै प्यारेन्ट कम्पनी हुनुपर्ने प्रावधान छ । जुन बेला बैंकको ४ अर्ब रुपैयाँ मात्र पूँजी थियो । यो अवस्थामा म्युचुअल फण्ड ल्याउन सम्भव नै थिएन । बैंकको सहायक कम्पनीको रूपमा फण्ड म्यानेजर हुन पाइने प्रावधान भएकाले धेरैओटा मर्चेन्ट बैंकहरू वाणिज्य बैंक, केही विकास बैंक र जीवन बीमा कम्पनीको सहायक कम्पनी हुनुपरेको हो । स्वतन्त्र हुन नसक्नुको कारण पनि यही हो । मर्चेन्ट बैंकको पूँजी कम रहने र म्युचुअल फण्ड निकाल्ने बेला ठूलो पूँजी चाहिन्छ । यसका लागि बैंक या अरू कम्पनी भएमात्र सम्भव हुने भो । हामीले त्यतिखेर सन्राइज बैंकसँग मर्ज भएपछि काम गर्न सकेनौं । पुरानो एनआईडीसीको लाइसेन्स बन्द भयो । त्यसपछि हामीले हालसम्म तीनओटा म्युचुअल फण्ड ल्याएका छौं, जसले गर्दा हाम्रो आम्दानी पनि उल्लेख्य बढेको छ ।

त्यसो भए मर्चेन्ट बैंकहरूले हामी स्वतन्त्र तरीकाले काम गर्छौं, स्वतन्त्र हुने खालको नीति चाहियो भनेका छैनन्, होइन ?
हामीलाई चाहियो भनेर जान नसक्ने होइन, सकिन्छ । अन्तरराष्ट्रिय अभ्यास हेर्ने हो भने कतिपय मुलुकमा यो त वाणिज्य बैंकको भन्दा ठूलो पूँजीको हुन्छ । धितोपत्र बजार पनि धेरै अघि बढिसकेको छ । तर नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने मर्चेन्ट बैंकका गतिविधि तथा दायरा विकास हुन धेरै समय लागेको छ । हामीले ३० वर्षमा बल्ल बुक बिल्डिङ विधि ल्याउँदै छौं । यदि हामीले स्वतन्त्र किसिमले पहिलादेखि नै एक–दुई अर्ब रुपैयाँ पूँजी भएका कम्पनीबाट काम शुरू गरेको भए नेपालमा धितोपत्र बजारको दायरा धेरै ठूलो भइसकेको हुन्थ्यो । अहिलेसम्म पनि मर्चेन्ट बैंकको पूँजी २० करोड रुपैयाँ मात्र छ । अब मर्चेन्ट बैंकहरूले पनि पूँजी बढाउँछन्, बढाउनैपर्छ । केहीले बढाइसकेका पनि छन् । त्यसपछि शाखा खोल्ने क्रम शुरू हुन्छ । त्यसपछि स्वतन्त्र हुन गाह्रो हुँदैन ।

तपाईंहरूले म्युचुअल फण्ड सञ्चालन गरिरहनुभएको छ । राम्रो सुविधा पनि पाइरहनु भएको छ । उता आईपीओमा पनि कोटा पाउनुहुन्छ । यति धेरै सुविधा पाउँदा म्युचुअल फण्डमा इकाई खरीद गरेका लगानीकर्तालाई न्याय गरेको जस्तो लाग्छ ?
यस खालको प्रावधान त नेपाल धितोपत्र बोर्डले नै गरेको हो । त्यतिखेरको कुरा गर्ने हो भने शुरुआती समयमा एनआईडीसी र नागरिक लगानी कोषको गरेर दुईओटा म्युचुअल फण्ड मात्र थिए । त्यतिखेर पाँच प्रतिशत कोटा छुट्ट्याउने चलन थियो । त्यतिखेर धेरै सुविधा पायौं, तर अहिले आएर ३२ ओटा बन्दमुखी र ६ ओटा खुलामुखी म्युचुअल फण्ड सञ्चालनमा आइसकेका छन् । अर्को कुरा, अहिलेसम्ममा सबै म्युचुअल फण्डको गरेर ४० अर्ब रुपैयाँ बराबरको कोष खडा भइसकेको छ । अहिलेको परिप्रेक्ष्यमा कुनै पनि कम्पनीले आईपीओ निष्कासन गर्दा पाउने ५ प्रतिशतले त्यति फरक परेको जस्तो लाग्दैन । तैपनि जति कोटा या आरक्षणका कारण आईपीओ प्राप्त भएको छ, म्युचुअल फण्डमा लगानी गरेका सर्वसाधारणलाई मद्दत गरेकै छ । भन्नुको अर्थ अब म्युचुअल फण्डमा सर्वसाधारणको सहभागिता बढ्न जरुरी छ ।

अब मर्चेन्ट बैंक हरूले पनि पूँजी बढाउँछन्, बढाउनैपर्छ ।

अन्य क्षेत्रमा लगानीका अवसर प्रशस्त छन् । लगानीकर्ताले त कहाँ बढी फाइदा हुन्छ, त्यहाँ नै लगानी बढाउँछन् । त्यो स्थितिमा म्युचुअल फण्डमा लगानी गर्न त्यस्तो धेरै आकर्षण छ र ?
कसैलाई शेयर बजारमा लगानी गर्न मन छ वा शेयर बजारबारे ज्ञान छ, तर समय छैन भने सजिलैसँग म्युचुअल फण्डमा लगानी गर्न सकिन्छ । यसैका लागि मर्चेन्ट बैंकहरू आएका हुन् । म्युचुअल फण्डले दीर्घकालमा अरूले भन्दा धेरै राम्रो फाइदा दिन्छ । हामीले नै पुरानोबाट ३० प्रतिशतदेखि ४५ प्रतिशत नाफा दिएका छौं । यो वर्ष नयाँ म्युचुअल फण्डबाट पनि औसत
२९ प्रतिशत नाफा दिने लक्ष्य छ । किनभने अहिले शेयर बजार धेरै तल छ ।

भन्नुको अर्थ सर्वसाधारणलाई म्युचुअल फण्डबारे आवश्यक शिक्षा वा ज्ञान दिन नसकिएकै हो ?
शेयर बजारमा लगानी गरेमा आजको भोलि नै दोब्बर हुन्छ भन्ने भ्रम अधिकांश सर्वसाधारणमा छ । यस्तो खबर लगानीकर्तामा हावासरी फैलने गरेको छ । हल्लाकै कारण आज धितोपत्र बजारको यो अवस्था छ । धितोपत्र बजारमा जोखिम हुन्छ भन्ने  यथार्थ धेरै लगानीकर्ताले बुझेका छैनन् । कमाउने चाहना सबैको हुन्छ । तर सबैले कमाउन सक्दैनन् । तर मर्चेन्ट बैंकले म्युचुअल फण्डमार्फत सर्वसाधारणको पूँजीको जोखिम लिएर काम गर्दछ । म्युचुअल फण्डको बारेमा सर्वसाधारणलाई पर्याप्त ज्ञान छैन । म्युचुअल फण्डमा जोखिम छैन । तर नाफा भने राम्रो छ । तर पनि सर्वसाधारण आकर्षित हुन सकेनन् । हामीले म्युचुअल फण्ड के हो भन्ने बुझाएका मात्र छैनौं, समग्र वित्तीय साक्षरताका लागि अभियान पनि सञ्चालन गरिरहेका छौं । तर पर्याप्त हुन सकेन । धितोपत्र बोर्डले पनि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत वित्तीय साक्षरताका काममा खर्च गर भनेकाले हामीले समय समयमा विभिन्न निकायको सहयोग र सहकार्यमा यस्ता गतिविधि गर्दै आएका छौं । यस्तै मर्चेन्ट बैंकर्स एशोसिएशन र धितोपत्र बोर्डको अगुवाइमा म्युचुअल फण्डबारे अभियान चलाउने योजनाअनुसार काम भइरहेको छ ।

म्युचुअल फण्डको लगानी गर्न पाउने क्षेत्र एकदमै कम रहेको देखिन्छ । अहिलेको अवस्थामा लगानीका क्षेत्र थप गर्नुपर्ने आवश्यकता कति देख्नुभएको छ ? अनि कुन कुन क्षेत्रमा थप गर्दा राम्रो होला ?
अहिलेको कुरा गर्ने हो भने हाम्रो मुख्य लगानी शेयर बजारमै छ । हामीले ५० प्रतिशत त मुद्दतीमा राख्न पाउँछौं । अरू क्षेत्रअन्तर्गत डिबेन्चर र सरकारी बन्डमा लगानी गर्ने हो । यसबाहेक हामीले लगानी गर्ने अरू क्षेत्र नै छैनन् । हामीले लगानी गर्न चाहेको त धितोपत्र बजार नै हो । बैंक तथा वित्तीय संस्थाले नै लगानीकर्तालाई ५ देखि ६ प्रतिशत मुनाफा दिइरहेका छन् । अब वास्तविक क्षेत्र (रियल सेक्टर)का कम्पनीहरू धितोपत्र बजारमा आउनुपर्दछ । यसले अर्को अवसर पनि सृजना गर्न सक्दछ ।

के कस्तो नीति भइदिए भोलिका दिनमा म्युचुअल फण्डको बजार राम्रो हुन्छ, अनि काम गर्न सजिलो हुन्छ ?
पहिलो कुरा त जनचेतनाका लागि नियामक र यो क्षेत्रमा रहेका मर्चेन्ट बैंकहरूले काम गर्नैपर्ने अवस्था छ । साथै जसरी बीमा गर्दा कर छूट पाइन्छ, त्यसरी नै म्युचुअल फण्डमा लगानी गर्दा किन नदिने भनेर हामीले भन्दै आएका छौं । ५० हजार रुपैयाँसम्म म्युचुअल फण्डमा लगानी गर्नेहरूलाई करयोग्य आयमा छूटको सुविधा दिने हो भने यस क्षेत्रमा सजिलै आकर्षण बढ्न सक्छ । यस्तो सुविधापछि सर्वसाधारणको आकर्षण म्युचुअल फण्डमा हुन्छ । म्युचुअल फण्डमा लगानी बढ्नु पूँजीबजारमा पैसा आउनु हो । यसले सबै क्षेत्र चलायमान हुन्छ । अनि नाफाबाट प्राप्त हुने कर राष्ट्रको ढुकुटीमा जम्मा हुन्छ ।

त्यसो भए म्युचुअल फण्ड पनि लगानीको क्षेत्र हो भन्ने कुरा अब कसरी अघि बढाउने ? यसका लागि सञ्चार जगत्ले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ ?
म्युचुअल फण्डबारे पत्रपत्रिकामा आइरहेका केही कुराले गर्दा लगानीकर्ता डराएको हो कि जस्तो पनि लाग्दछ । त्यो के हो भने धेरैले म्युचुअल फण्डको प्रतिइकाई मूल्य १० रुपैयाँ रहेकोमा घटेर ९ रुपैयाँ भयो भन्दैमा लगानीकर्ता डराइरहेको अवस्था छ । अझ कतिपयले त म्युचुअल फण्डलाई कम्पनीको आईपीओ ठानेर १ हजार रुपैयाँको १०० इकाई मात्र खरीद गर्ने गरेका छन् । उनीहरूले धेरै इकाई खरीद गर्‍यो भने यसले दीर्घकालमा राम्रो प्रतिफल दिन्छ भन्ने बुझेका छैनन् । अहिले त नेपालको शेयर बजार धेरै तल आएर घुमिरहेको छ । बजार ३० देखि ४० प्रतिशत तल आउँदा पनि म्युचुअल फण्डको न्याभ भने १२ देखि १५ प्रतिशत मात्र घटेको छ । त्यो भनेको म्युचुअल फण्ड धेरै सुरक्षित तहमा छ भन्ने संकेत पनि हो । अब धितोपत्र बजार केही माथि गयो भने म्युचुअल फण्डको न्याभ स्वाभाविक रूपमा १० रुपैयाँभन्दा माथि गइहाल्छ । धितोपत्र बजारमा १ लाख रुपैयाँ लगानी गर्दा घटेर ६० हजार रुपैयाँ भएको थाहा नपाएझैं गर्ने व्यक्तिहरूले १० रुपैयाँ इकाईको म्युचुअल फण्ड घटेर ९ रुपैयाँ हुँदा व्यापक हल्ला गर्छन् । यस्तो हल्लाका कारण पनि समस्या आएको हो । बजार घटबढ त हुन्छ नै । तैपनि नेपालका सबैजसो म्युचुअल फण्डले औसतमा २० देखि २५ प्रतिशत प्रतिफल दिइरहेका छन् ।

म्युचुअल फण्डबारे थप केही भन्नु छ ?
अहिले बजारमा खुलामुखी प्रकृतिका ६ ओटा म्युचुअल फण्ड छन् । यस्तै अरू पनि बजारमा आउँदै छन् । खुलामुखी म्युचुअल फण्ड दोस्रो बजारमा दैनिक खरीद र विक्री गर्न सकिने भएकाले यसमा सर्वसाधारणको आकर्षण बढ्छ नै । अब आगामी दिनमा संस्थागत कम्पनीहरू पनि खुलामुखी प्रकृतिको म्युचुअल फण्डमा आउनुपर्दछ । बीमा, बैंक तथा वित्तीय संस्थाहरू यसअघि बन्दमुखी म्युचुअल फण्डमा पहिला नै आइसकेका छन् । राष्ट्र बैंकले नै खुलामुखी म्युचुअल फण्डमा लगानी गर्न सक्ने प्रावधान ल्याइदियो भने संस्थागत कम्पनीहरू आउँछन् भन्ने लाग्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)