काठमाडौं । शोधनान्तर घाटा, व्यापारघाटा र घट्दो विदेशी मुद्रा सञ्चितिजस्ता अर्थतन्त्रमा दबाब दिने बाह्य क्षेत्रमा सुधार आएको छ । आयात प्रतिबन्धले व्यापारघाटामा आएको कमी र विप्रेषण आप्रवाहमा भएको सुधारले विदेशी विनिमय सञ्चिति वृद्धि भई अर्थतन्त्रमा कायम बाह्य क्षेत्रको दबाब कम भएको हो ।
नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशित गरेको देशको ताजा आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाहमा सुधारले गत माघमा पनि निरन्तरता पाएको छ । विदेशबाट आयात धान्ने सञ्चिति पर्याप्तता सूचकसमेत बलियो भएको छ । यद्यपि उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धिदर) मा अघिल्लो महीनाको तुलनामा दबाब बढेको छ ।
शोधनान्तर बचत १३३ अर्ब
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तमा देशको शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा थियो । यस्तै अमेरिकी डलरमा अघिल्लो वर्ष माघमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति यस वर्ष १ अर्ब १ करोडले बचतमा छ ।
कोभिड–१९ महामारी र यसलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका कारण अघिल्ला वर्षहरूमा आयात घट्दा शोधनान्तर स्थिति बचतमा थियो । गत आवको शुरूदेखि नै आयात उच्च भएपछि शोधनान्तर घाटा बढ्न थालेको थियो । यसले विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि आयात निरुत्साहित गर्न राष्ट्र बैंकले आयात एलसीमा नगद मार्जिनको व्यवस्था गर्यो । सरकारले विलासी वर्गका १० थरी सामान आयातमा रोक लगायो । प्रतिबन्धलगायत अन्य नीतिगत उपायले आयात घट्दा देशको शोधनान्तर स्थिति बचतमा पुग्यो । शोधनान्तर बचत बढ्नुका साथै विदेशी मुद्रा सञ्चिति पनि बढेपछि सरकारले विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाइसकेको छ । नेपाल राष्ट्र बैंकले पनि आयात एलसीमा नगद मार्जिनको प्रावधान हटाइसकेको छ ।
विनिमय सञ्चितिमा सुधार
शोधनान्तर बचत बढ्दा देशको विदेशी मुद्रा सञ्चितिमा सुधार हुने क्रम जारी छ । २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव ८ प्रतिशतले वृद्धि भई माघ मसान्तमा १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा माघ मसान्तमा १० दशमलव २ प्रतिशतले बढेर १० अर्ब ५० करोड कायम भएको छ । पुसमा विदेशी मुद्रा सञ्चिति रुपैयाँमा १३ खर्ब ३७ अर्ब २९ करोड र अमेरिकी डलरमा १० अर्ब ३० करोड थियो । सञ्चितिमा आएको वृद्धिले यसको पर्याप्तता सूचकमा पनि सुधार आएको छ । आव २०७९/८० को सात महीनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० दशमलव ८ महीनाको वस्तु र ९ दशमलव ४ महीनाको वस्तु तथा सेवा आयात धान्छ ।
विप्रेषण हालसम्मकै उच्च
राष्ट्र बैंकका अनुसार चालू आवको माघसम्ममा विप्रेषण आप्रवाह २७ दशमलव १ प्रतिशतले वृद्धि भई ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव ४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव ४ प्रतिशतले बढेर ५ अर्ब ३० करोड पुगेको छ ।
माघमा मात्र १ खर्ब ४ अर्ब ८० करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यो हालसम्मकै धेरै हो । यसअघि पुसमा १ खर्ब ४ अर्ब ५८ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेका बेला सरकारले औपचारिक माध्यमबाट विप्रेषण पठाउन प्रोत्साहन गरेपछि सकारात्मक प्रभाव देखिएको छ । माघमा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने नेपालीको संख्या ५७ दशमलव ३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुन: श्रमस्वीकृति लिने नेपालीको संख्या १० दशमलव १ प्रतिशतले बढेर १ लाख ६७ हजार पुगेको छ । औपचारिक रूपमा प्राप्त हुने विप्रेषणलाई बैंकमा राख्दा थप ब्याज दिनुका साथै सरकारले विप्रेषण पठाउने नेपालीलाई साधारण शेयरमा आरक्षणको व्यवस्था गरेको छ ।
मूल्य वृद्धिमा दबाब
माघमा मूल्य वृद्धिदरमा भने दबाब देखिएको छ । पुसमा उपभोक्ता मूल्य वृद्धिदर ७ दशमलव २६ प्रतिशतमा झरेकोमा माघमा पुन: बढेर ७ दशमलव ८८ प्रतिशत पुगेको छ । अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब घट्दै गए पनि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकेको छैन । अर्थतन्त्रका सूचकमा सुधार आए पनि पुन: आयात बढ्दा दबाबमा जाने आकलनसहित राष्ट्र बैंकले कसिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको छ । यसले बैंकको ब्याजदर वृद्धि हुनुका साथै कर्जा प्रवाह कम हुँदा बजार सुस्ताएको छ । चैतदेखि बैंकहरूले निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरिसकेका छन् । यस्तै बैंकहरूले स्प्रेडदरसमेत घटाउनुपर्ने भएकाले यसबाट कर्जा सस्तो भई आन्तरिक बजार पनि चलायमान हुने अपेक्षा छ ।