धितोपत्र बजारलाई लगानीको प्रमुख क्षेत्र बनाएर म्युचुअल फण्डहरू सञ्चालनमा आइरहेका छन् । नेपालमा बन्द र खुलामुखी प्रकृतिका गरी तीन दर्जनभन्दा बढी म्युचुअल फण्ड सञ्चालनमा रहेकोमा कुमारी क्यापिटल लिमिटेडले खुलामुखी नयाँ म्युचुअल फण्ड सञ्चालनको तयारी गरेको छ । कम्पनीले आज (चैत ९ गते) देखि खुलामुखी प्रकृतिको नयाँ योजनाको इकाई विक्री शुरू गर्दै छ । सोही योजना र नेपालमा म्युचुअल फण्डको समग्र अवस्थाका बारेमा आर्थिक अभियानकी प्रजिता बुढाथोकीले क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मासँग गरेको कुराकानीको सार :
कुमारी क्यापिटलले सञ्चालनमा ल्याएको ‘कुमारी सुनौलो लगानी योजना’बारे बताइनुस् ।
‘कुमारी सुनौलो लगानी योजना’ कुमारी बैंकद्वारा प्रबर्द्धित कुमारी क्यापिटलले सञ्चालनमा ल्याएको खुलामुखी योजना हो । यसको अवधि सीमित हुँदैन, निरन्तर खरीदविक्री हुने गर्दछ । यसमा लगानीकर्ताले जुनसुकै बेला आफ्नो लगानी सजिलै थप्न वा झिक्न सक्नुहुन्छ । अझ महत्वपूर्ण त यसले साना ठूला सबै लगानीकर्तामा व्यवस्थित लगानी योजनामार्फत नियमित लगानी गर्ने बानी बसाल्छ । साथै प्रतिकूल अवस्थामा पनि आकर्षक प्रतिफल पाउन मद्दत गर्दछ ।
यस योजनाको आकार १ अर्ब रुपैयाँको हो, जसमध्ये पहिलो चरणमा ‘न्यू फन्ड अफरिङ’को माध्यमबाट ५० करोड रुपैयाँ बराबरको इकाई जारी गर्न लागिएको हो । यसमा न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँसम्मका लागि आवेदन दिन सकिन्छ । यस योजनाको आकार १ अर्ब रुपैयाँ कायम भएपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई क्रमिक रूपमा अघि बढाउँदै लगिनेछ ।
यो योजनामा किन लगानी गर्ने ? यसबाट लगानीकर्ताले पाउने प्रतिफललाई योजना व्यवस्थापकले कसरी प्रक्षेपण गरेको छ ?
यो योजनामा कोष प्रबर्द्धक कुमारी बैंकको कुल आकारको १५ प्रतिशत बीज पूँजी लगानी रहेको हुन्छ । बन्दमुखी योजनाको इकाई सामान्यतया दोस्रो बजारमा खुद सम्पत्ति मूल्य (न्याभ) भन्दा कममा कारोबार हुने गर्दछ । त्यसविपरीत खुलामुखी योजना ‘कुमारी सुनौलो योजना’का इकाई प्रत्यक्ष रूपमा कुमारी क्यापिटल तथा अन्य अधिकृत वितरकका माध्यमबाट न्याभमै कारोबार गर्न मिल्दछ । साथै यस योजनाले लगानी योजनाका वैकल्पिक सेवाहरू, जस्तै– एसआईपी, एसडब्ल्यूपी पनि प्रदान गर्दछ । यसबाहेक लाभांशको विकल्प पनि प्रदान गर्दछ, जसमा इकाईधनीले ‘डिभिडेन्ट पेआउट प्लान’ अथवा ‘डिभिडेन्ट रिइन्भेस्टमेन्ट प्लान’को विकल्प रोज्न सक्दछन् ।
यस योजनाबाट लगानीकर्ताले दोस्रो वर्षपछि ८ प्रतिशत, तेस्रो तथा चौथो वर्षमा १० प्रतिशत र पाँचदेखि १० वर्षसम्म वार्षिक १५ प्रतिशतका दरले लाभांश पाउने प्रक्षेपण गरिएको छ । यस्तै १० वर्षको अन्त्यसम्ममा योजनाको न्याभ २७ रुपैयाँ ८६ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । यो भनेको १० वर्षमा लाभांशसहित २९६ दशमलव ६२ प्रतिशत प्रतिफल हो । यसको सिम्पल एनुअल रिटर्न २९ दशमलव ६६ प्रतिशत, कम्पाउन्ड एनुअल ग्रोथ रेट १४ दशमलव ७७ प्रतिशत र इन्टर्नल रेट अफ रिटर्न १७ दशमलव ५९ प्रतिशत हुन्छ ।
टेक कम्पनी, औषधि, टेलिकम, हवाई सेवा, कृषि क्षेत्र जस्ता क्षेत्रलाई आईपीको चरणमा पुर्याउन सके बजारको विकास तथा स्थायित्वमा सघाउ पुग्छ ।
कुमारी क्यापिटलअन्तर्गत हाल कति ओटा म्युचुअल फण्ड सञ्चालनमा छन् ? ती फण्डको अवस्था कस्तो छ ?
कुमारी क्यापिटलअन्तर्गत दुई वर्षदेखि दुई ओटा बन्दमुखी योजनाहरू कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना सञ्चालनमा छन् । तीमध्ये कुमारी धनवृद्धि योजना सञ्चालनमा आएको ९ महीना मात्र भएको छ । यी दुवै फण्डले सञ्चालनमा आएको बेलादेखि सुसंगत रूपमा नेप्सेको प्रतिफललाई उछिनेको देखिन्छ । घट्दो बजारमा पनि यी दुवै फण्डले इकाईधनीको सम्पत्ति सफल रूपमा संरक्षण गर्न सकेको छ । न्याभ १० रुपैयाँमाथि कायम राख्न सफल भएको छ । २०७९ माघ मसान्तसम्ममा कुमारी इक्विटी फन्डको न्याभ १० रुपैयाँ ८३ पैसा र कुमारी धनवृद्धि योजनाको न्याभ १० रुपैयाँ ६५ पैसा छ । दुवै फण्डसँग अझै पनि पर्याप्त नगद रिजर्भ छ, जुन क्रमिक रूपमा अहिले घटिरहेको बजारमा लगानी बढाउन उपयोगी रहनेछ ।
आम सर्वसाधारणमा म्युचुअल फण्डबारे बुझाइ कम पाइन्छ । यसलाई बढाउन कुमारी क्यापिटलबाट के कस्ता काम भइरहेका छन् ?
सामान्यतया सर्वसाधारणलाई म्युचुअल फण्डको बारेमा कम चेतना भएको र यो क्षेत्रमा लगानीकर्ताले लगानी गर्न कम रुचाएको जस्तो लाग्छ । लगानीकर्ताले म्युचुअल फण्डमा अल्पकालमै भन्दा पनि दीर्घकालसम्म लगानी गरेर उच्च प्रतिफल आर्जन गर्छु भन्ने सोच राख्नुपर्छ । दीर्घकालका लागि गरिने म्युचुअल फण्डको लगानीले मिल्ने प्रतिफल अवश्य पनि मुद्दती निक्षेपबाट पाउने ब्याजभन्दा बढी हुन्छ । अझ बजार घट्दा जुन हिसाबले व्यक्तिगत लगानीकर्ताले आफ्नो पोर्टफोलियो गुमाउन पुग्नुभएको छ, त्यसको तुलनामा म्युचुअल फण्डको इकाईमा लगानी गर्दा गुमाउने रेसियो पनि निकै कम छ । त्यसैले म्युचुअल फण्डमा विकल्पको रूपमा लगानी गरी आफ्नो पोर्टफोलियोको केही हिस्सा बनाउँदा राम्रो प्रतिफलका साथै लगानी सुरक्षित बनाउन सकिन्छ ।
म्युचुअल फण्ड सामान्यतया दोस्रो बजारमा कारोबार हुने भएकाले लगानीकर्ता म्युचुअल फण्डको बजार मूल्य हेर्ने गर्छन्, जबकि उहाँहरूको ध्यान खुद सम्पत्ति मूल्यमा हुनुपर्ने थियो । किनकि परिपक्व भएका अथवा हाल सञ्चालनमा रहेका म्युचुअल फण्डले औसतमा १५ प्रतिशत लाभांश वितरण गरेको पाइन्छ । त्यसैले हाल कुमारी क्यापिटलले लगानीकर्ता सचेतना कार्यक्रम तथा अभियानमार्फत लगानीकर्तालाई यसबारे जानकारी गराउने काम गर्दै आएको छ । यीबाहेक विभिन्न जानकारीमूलक आलेख, भिडियो, रेडियो जिंगल, सामाजिक सञ्जाल (फेसबुक, युट्युब, टिकटकलगायत) मार्फत पनि जानकारीमूलक सूचना प्रसारित गर्दै आएका छौं ।
आम लगानीकर्ताले अरू धितोपत्रमा गरेको लगानीको घटाइभन्दा म्युचुअल फण्डको इकाईको घटाइ धेरै कम रहेको छ ।
नेपालको धितोपत्र बजार र म्युचुअल फण्डको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
धितोपत्र बजारको कुल बजार पूँजीकरणमा म्युचुअल फण्डको हिस्सा निकै कम छ । त्यसैले म्युचुअल फण्डका योजनाहरूको आकार बढाएर यसलाई व्यवस्थित गर्न सम्पत्ति व्यवस्थापनको महत्वपूर्ण आँकडा भयो भने यसले बजारमा सुधार ल्याउन सक्छ । यसले बजारलाई सन्तुलनमा राख्न मद्दत पुग्छ । यतिबेला बजार घटेकाले पनि सबै योजना व्यवस्थापकले नेप्से परिसूचकको तुलनामा योजनाको सम्पत्ति कम घट्नेगरी व्यवस्थापन गरेको देखिन्छ । अहिले न्याभको हिसाबले करीब १५ देखि २० प्रतिशत मात्र घटेको होला । तर कुनै व्यक्तिगत लगानीकर्ताले गरेको लगानीको घटाइ त्योभन्दा बढी रहेको बजारमा सुनिन्छ । यसले पनि के देखाउँछ भने योजना व्यवस्थापकहरूले लगानीको विविधीकरण गरेर जोखिम व्यवस्थापन गरेकाले घाटा कम भएको छ । हाल बजार घटिरहेको छ, जसका प्रमुख कारण बजारमा तरलता अभाव, सरकारी तथा नियामक निकायहरूले समय समयमा परिवर्तन गर्ने नीतिनियम र उच्च ब्याजदर हुन् । बजार ३२०० को उचाइबाट लगभग ४० प्रतिशतले घटेको छ ।
म्युचुअल फण्डको लगानी धितोपत्र बजारमा केन्द्रित हुने भएकाले म्युचुअल फण्डमा पनि पक्कै असर गर्छ । यद्यपि म्युचुअल फण्डको लगानी विविधीकरण ऋणपत्र, फिक्स्ड रिटर्न इन्स्ट्र्युमेन्टमा हुने भएकाले प्रतिकूल अवस्थामा लगानी गरी जोखिम न्यूनीकरण भएको हुन्छ । त्यसैले प्रतिकूल अवस्थामा पनि म्युचुअल फण्डहरूले इकाईधीको पूँजी संरक्षण गरेको पाइन्छ । म्युचुअल फण्डहरूले दीर्घकालमा मुद्दती निक्षेपभन्दा बढी प्रतिफल दिएका छन् । आगामी दिनमा योजनाको आकार बढाएर योजनालाई बजार सुधारको महत्वपूर्ण घटकको रूपमा हेरियो भने बजारमा सन्तुलन कायम हुन्छ । साथै नयाँ लगानीकर्ता योजना व्यवस्थापकको लगानी व्यवस्थापन प्रणालीलाई आत्मसात् गरी अघि बढ्न सक्नेछन् । अहिले बजार घटेका बेला लगानीकर्ताले १० रुपैयाँलाई बजार मूल्यसँग तुलना गर्दा नकारात्मक सन्देश गएको देखिन्छ । आम लगानीकर्ताले अरू धितोपत्रमा गरेको लगानीको घटाइभन्दा म्युचुअल फण्डको इकाईको घटाइ धेरै कम रहेको छ । म्युअल फण्डको इकाईको परभ्यालू नै १० रुपैयाँ रहेकाले सबै जनाको लगानीको पहुँचमा छ । यो बुझाइ बढाउन सके यसको महत्व समेत बढ्ने देखिन्छ ।
हाल खुलामुखी र बन्दमुखी गरी ३ दर्जनभन्दा बढी म्युचुअल फण्ड सञ्चालनमा छन् । धितोपत्र बजारलाई सन्तुलनमा राख्न यस्ता फण्डको भूमिका कत्तिको प्रभावकारी छन् ?
हाल ३३ ओटा बन्दमुखी र ६ ओटा खुलामुखी योजना सञ्चालनमा छन्, जसको कुल आकार ४० अर्ब रुपैयाँजति छ । पूँजीकरणको तुलनामा न्यून भए तापनि नेपालमा म्युचुअल फण्डको शुरुआती समयभन्दा अहिले धेरै गुणाले आकार बढिसकेको छ । यसले गर्दा धितोपत्र बजारलाई सन्तुलनमा राख्न यस्ता योजनाको केही हदसम्म भूमिका छ । म्युचुअल फण्डले घट्दो बजारमा माग सृजना गर्न र बढ्दो बजारमा आपूर्ति दिन योगदान गर्दै आएको छ । म्युचुअल फण्डले साना बचत पूँजीबजारमा ल्याउन मद्दत गरेको छ । व्यवस्थित लगानी योजनाले त झन् यसलाई बढावा दिएको छ । म्युचुअल फण्डहरूले अनुसन्धानमा आधारित व्यावसायिक व्यवस्थापन गरी लगानी गरेका हुन्छन् । यसले गर्दा प्रतिकूल अवस्थामा पनि इकाईधनीको पूँजी संरक्षणमा योगदान पुगेको हुन्छ । अझ कतिपय लगानीकर्ताका लागि त ‘भ्यालू इन्भेस्टमेन्ट पोर्टफोलियो’ बनेको हुन्छ ।
नजिकको देश भारतमा म्युचुअल फण्डमा सर्वसाधारणको बढी आकर्षण देखिन्छ । नेपालमा म्युचुअल फण्डको इकाईमा लगानीकर्ताको आकर्षण कम हुनुको कारण के होला ?
हाम्रो देशको तुलनामा भारतको जनसंख्याको आकार, त्यहाँको वित्तीय प्रणाली र पूँजीबजार कैयौं गुणा ठूलो छ । हजारौं म्युचुअल फण्डको उपस्थिति छ भने सोहीअनुसार सर्वसाधारणको सहभागिता पनि छ । नेपालमा म्युचुअल फण्डको आकर्षण कम हुनुको कारण यो क्षेत्रसँग लगानीकर्तामा चेतना कम हुनु नै हो । अल्पकालीन लगानीको मानसिकताले लगानीकर्ताले म्युचुअल फण्डको न्याभभन्दा बढी बजार मूल्यलाई प्राथमिकता दिएको पाइन्छ । साथै लगानीकर्तालाई म्युचुअल फण्डको फाइदाबारे पर्याप्त जानकारी पनि छैन । जस्तै– म्युचुअल फण्डले गरेको लगानीमा कुनै किसिमको कर लाग्दैन । साथै म्युचुअल फण्डको एनएफओमा कुल इकाईको ५ प्रतिशत कोटा छुट्ट्याइएको हुन्छ । सोही कारण म्युचुअल फण्डको न्याभमा योगदान पुगेको हुन्छ । यसले गर्दा अन्त्यमा लगानीकर्तालाई नै फाइदा हुन्छ । त्यसकारण यस्ता जानकारीमूलक सूचना नियामक निकाय अथवा मर्चेन्ट बैंकिङ एशोसिएशनद्वारा नेपालको कुना–काप्चासम्म पु¥याउन सके पक्कै पनि यसमा आकर्षण बढाउन सकिन्छ ।
अझै नयाँ म्युचुलअ फण्डहरू सञ्चालनमा आउने तयारीमा छन् । विशेषगरी धितोपत्र बजारमा लगानी केन्द्रित हुने यस्ता योजनाको भविष्य कस्तो हुने देख्नुहुन्छ ?
नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा अझै १० ओटा म्युचुलअ फण्ड आउने तयारीमा छन् । हाल बजारमा तरलताको स्थिति निकै कमजोर छ । त्यसकारण ब्याजदर उच्च भएकाले नेप्से परिसूचक घटिरहेको छ । ३२०० सम्म पुगेको बजार हालसम्म ४० प्रतिशतले घटिसकेको छ । त्यसैले बजारप्रति लगानीकर्ताको विश्वास गुमेको बेलामा योजना व्यवस्थापकलाई बजारबाट पैसा उठाउन चुनौतीपूर्ण छ । सफलतापूर्ण रूपमा पैसा उठाउन सके योजना व्यवस्थापकले घटिरहेको बजारमा क्रमिक रूपमा लगानी गरी आकर्षक प्रतिफल दिने क्षमता राख्दछन् ।
म्युचुअल फण्डका लागि नीतिगत सुधार आवश्यक छ कि ?
पक्कै पनि नीतिगत सुधार भयो भने म्युचुअल फण्डप्रतिको आकर्षण बढाउन सकिन्छ जस्तो लाग्छ । जस्तै– नियामक निकायले म्युचुअल फण्डमा गरिएको लगानीलाई अन्य लगानीमा गरिएको व्यवहारभन्दा फरक गरिदियो, म्युचुअल फण्डमा गरिएको लगानीमा केही प्रतिशत आयकर घटाउने व्यवस्था गरियो र त्यसबाट भएको आम्दानीको निश्चित अंशमा कर नलाग्ने व्यवस्था भएमा म्युचुअल फण्डका लागि प्रभावकारी हुने देख्छु । नेपाल धितोपत्र बोर्डले पनि बीज पूँजी सीमा पुनरवलोकन गर्न आवश्यक देख्छु । यीसँगै धितोपत्र बजारमा लगानीका थप औजार बढाउन सके पूँजीबजारमा अवश्य पनि नयाँ आयाम थपिन सक्छ ।
लगानीकर्ताले म्युचुअल फण्डमा अल्पकालमै भन्दा पनि दीर्घकालसम्म लगानी गरेर उच्च प्रतिफल आर्जन गर्छु भन्ने सोच राख्नुपर्छ ।
नेपालमा मर्चेन्ट बैंकरमार्फत थप कस्ता कार्यक्रम ल्याउँदा प्रभावकारी होला ? कुमारी क्यापिटलको कुनै नयाँ योजना छ कि ?
अहिलेको पूँजीबजारमा वास्तविक क्षेत्रलाई भित्र्याउन जरुरी छ । किनभने यस्ता क्षेत्रहरूले देशको अर्थतन्त्रमा निकै योगदान पुर्याएको हुन्छ । हाम्रो पूँजीबजार बैंक, बीमा, जलविद्युत्, केही होटल र उत्पादनमूलक तथा इभेष्टमेन्ट कम्पनीमा मात्र केन्द्रित भएको देखिन्छ । यसैगरी टेक कम्पनी, औषधि, टेलिकम, हवाई सेवा, कृषि क्षेत्र जस्ता क्षेत्रलाई आईपीको चरणमा पुर्याउन सके बजारको विकास तथा स्थायित्वमा सघाउ पुग्छ ।
बुक बिल्डिङसम्बन्धी निर्देशिका जारी भए तापनि हाल सो विधिबाट कुनै पनि सार्वजनिक निष्कासन हुन सकेको छैन । यद्यपि मर्चेन्ट बैंकहरूले क्वालिफाइड इन्भेस्टमेन्ट बायरको हैसियतमा सो आईपीओ निष्कासन विधिलाई प्रभावकारी बनाउन सक्छन् । कुमारी क्यापिटलबारे भन्नुपर्दा सफलतापूर्वक नयाँ योजना ल्याएर एसआईपी सुविधाहरू उपलब्ध गराउन सकिन्छ । यसका लागि एसआईपीबारे विभिन्न लगानीकर्ता सचेतना कार्यक्रम चलाउने योजना छ ।