काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘खाद्यान्न बाली बीमालेख’ जारी गरेसँगै अब कृषि बीमालेखअन्तर्गत खाद्यान्न बालीको पनि उत्पादनको आधारमा बीमा हुने भएको छ । प्राधिकरणका अनुसार उक्त बीमालेखमा बालीहरू धान, मकै, जौ, गहुँ र कोदो समेटिनेछ ।
यी खाद्यान्न बालीको बीमालेखले विभिन्न आठ प्रकारको क्षतिको रक्षावरण गर्नेछ, जसमा अग्निजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य, भूमिजन्य, चट्याङजन्य, रोग तथा किराजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति परेका छन् ।
बीमालेखले रक्षावरण गरेको जोखिमका कारण खाद्यान्न बाली क्षति भएमा क्षति भएको ३ दिनभित्र बीमितले बीमकलाई टेलिफोन, एसएमएस, ईमेलमध्ये कुनै एक माध्यमबाट जानकारी गराउनु पर्नेछ ।
अतिरिक्त सुविधाअन्तर्गत खाद्यान्न बाली बीमा गराएका बीमितले २ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा पाउनेछन् । बीमा अवधिमा आत्महत्याबाहेक अन्य कुनै पनि कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुन: ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोलीगाँठोदेखि माथि काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमेमा बीमकबाट बीमितले २ लाख रुपैयाँ भुक्तानी पाउनेछन् ।
एकै क्षेत्रफलमा लगाइएको खाद्यान्न बालीको आंशिक रूपमा बीमा गर्न भने पाइने छैन । धान र कोदो बालीको हकमा रोपेको ३० दिनभित्र बीमा गरिएको हुनुपर्नेछ । मकै, गहुँ र जौ बालीको हकमा बीउ छरेको ७ दिनपछि ३० दिनभित्र बीमा गरेको हुनुपर्नेछ ।
प्राधिकरणले बीमालेखअनुसार धान, मकै र गहुँ बालीको हकमा बीमांक रकमको ५ प्रतिशतका दरले तथा जौ र कोदो बालीको हकमा बीमांक रकमको ३ प्रतिशतका दरले बीमाशुल्क कायम हुने व्यवस्था गरेको छ ।
शिखर इन्स्योरेन्सका कृषि तथा लघु बीमा शाखाका सहायक प्रबन्धक सार्थकराज पाण्डे खाद्यबालीको उत्पादनको आधारमा बीमालेख जारी हुने भएसँगै किसान उक्त बीमालेखबाट लाभान्वित हुने बताउँछन् ।
‘हालसम्म खाद्यान्न बालीको लागतको आधारमा मात्र बीमालेख जारी हुन्थ्यो, जसका कारण बालीमा क्षति हुँदा किसानले गुमाएको लगानी उठाउन सम्भव थिएन । अब उक्त बीमालेख कार्यान्वयनमा आएसँगै किसानको उत्पादनको पनि सुरक्षा हुन्छ,’ उनले भने, ‘साथै किसानको कुनै पनि कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरी, एक वा दुवै हातको नाडीमाथि पूरै हात काम नलाग्ने भएमा, दुवै आँखाको दृष्टि गुमेमा बीमकबाट किसानले २ लाख रुपैयाँ भुक्तानी पाउनेछन् । त्यसैले बीमालेखले किसानको उत्पादनका साथै ज्यानको पनि सुरक्षा हुन्छ ।’