सरकारले मुलुकमा औद्योगिक व्यावसायिक वातावरणमा धेरै सुधार भएको बताउँदै आए पनि निजीक्षेत्र विश्वस्त देखिँदैन । प्रोत्साहनमूलक नीतिको अभाव, जनशक्ति आपूर्तिमा समस्या, उच्च लागत लगायतका कारण उद्योग व्यवसायले अपेक्षित गति लिन नसकेको निजीक्षेत्रको गुनासो छ । यद्यपि चुनौतीकै बीच अवसरको पहिचान गर्दै लगानी गर्ने व्यावसायिक घराना पनि छन् । तिनैमध्ये एक हो गोल्यान समूह । यस समूहले बैंक तथा बीमा, उत्पादनमूलक उद्योग, होटल, कृषि, जलविद्युत् लगायत क्षेत्रका १६ ओटा कम्पनीमा लगानी गरेको छ । प्रस्तुत छ, नेपालको उद्योग व्यवसायका अवसर, सम्भावना, चुनौती र यस समूहले गरिरहेका कामबारे समूहका प्रबन्ध निर्देशक अक्षय गोल्यानसँग आर्थिक अभियानका कार्यकारी सम्पादक रुद्र खड्काले गरेको कुराकानीको सार :
नेपालमा उद्योग व्यवसाय गर्न निकै कठिन छ, समस्या धेरै छन् भनिन्छ । तपाईंंको अनुभव चाहिं कस्तो छ ?
मेरो विचारमा यसलाई एउटा पक्षबाट मात्र हेर्नुहुँदैन । एकाध समस्या हेर्ने हो भने नेपालमा उद्योग व्यवसाय गर्न गाह्रो नै छ । तर यसका सम्भाव्य अवसर र सम्भावना पनि हेर्नुपर्छ । अलिअलि कठिनाइ त नेपालमा मात्र होइन, संसारका जुनसुकै देशमा हुन्छन् । त्यो स्वाभाविक हो । तर मेरो अनुभवमा नेपाल जस्तो अवसर र सम्भावना भएको विश्वमा निकै कम छन् ।
नेपालमा सम्भावना र अवसर रहेको कुरा गर्नुभयो । त्यो कुन आधारमा, केलाई इंगित गरेर भन्नुभयो ?
यो मैले कुनै उद्योग विशेषलाई हेरेर भनेको होइन । हाम्रो देश प्राकृतिक साधनस्रोतमा धनी रहेको सर्वविदितै छ । उदाहरणको रूपमा जलस्रोतलाई नै लिनसक्छौं । यही सम्भावना देखेरै हामीले ‘माटो’ ब्रान्डमा हिमालयन स्प्रिङ वाटर उत्पादन तथा बजारीकरण गरेका छौं । अहिले त रसुवा, हिमालयज अनटप लगायत ब्रान्डमा पनि उत्पादन गरिरहेका छौं । सोही अवसर सदुपयोग गर्दै नेपालबाट पानी पनि निर्यात गर्न सकिन्छ भन्ने उदाहरण स्थापित गर्न सकेका छौं । ताजा र शुद्ध पानीको माग जहाँ जतिखेर पनि हुन्छ भनेर उत्पादन शुरू गरिएको हो । यस्तै स्वच्छ ऊर्जामा पनि उच्च सम्भावना छ । जलविद्युत् यसको प्रमुख स्रोत हो । यसबाट बढीभन्दा बढी लाभ लिन सरकारले समयसापेक्ष ऊर्जा नीति ल्याउनुपर्छ । सरकारले विद्युत् खरीदविक्री सम्झौता (पीपीए) लाई समयसापेक्ष गरिदिएमा जलविद्युत्मा लगानी बढ्न सक्छ । उत्पादित ऊर्जाको बाह्य बजार विस्तार गर्न सकिन्छ । सहज खालको नीति निर्माण गरी कार्यान्वयनमा ल्याएमा भारतसहित बंगलादेश र अन्य मुलुकमा समेत निर्यात गर्न सकिन्छ । यो भयो भने मुलुकको अर्थतन्त्रको विकास पनि छिटो हुन्छ ।
नेपालमा उद्योग, व्यवसायका लागि जनशक्ति आपूर्तिमा समस्या रहेको बताइन्छ । गोल्यान समूहले आफू मातहतका विभिन्न १६ ओटा कम्पनीमार्फत ५ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको छ । कसरी व्यवस्थापन गर्नुभएको छ ?
कुनै पनि उद्योग वा कम्पनीले प्राविधिक जनशक्तिका लागि शुरुआती समयमा लगानी गर्नैपर्दछ । हामीले रिलायन्स स्पिनिङ मिल्स स्थापना गरेको २७ वर्ष हुन लाग्यो । यो उद्योगमा शुरूमा सबै जनशक्ति भारतबाट ल्याइएको हो । किनकि त्यतिबेला नेपालमा टेक्सटायलसम्बन्धी ज्ञान भएको जनशक्ति नै थिएन । हुन त आज पनि नेपालमा यसबारे पर्याप्त ज्ञान भएको जनशक्तिको कमी नै छ । उद्योग सञ्चालनकै लागि बिस्तारै तालीम केन्द्र सञ्चालन गर्यौं । तीन महीनाको तालीम दिएपछि नेपाली जनशक्तिको भर्ना शुरू गरेका हौं । नेपालको निजीक्षेत्रले उद्योग तथा कलकारखाना सञ्चालनका लागि प्राविधिक पक्षमा पनि लगानी गर्नुपर्दछ । स्वदेशकै श्रमशक्तिलाई प्राथमिकतामा राख्ने हो भने रोजगारी र तालीम/ प्रशिक्षण केन्द्र नै सञ्चालन गर्नुपर्दछ । हामीले यो कामको शुरुआत गरेकाले आज रिलायन्स स्पिनिङ मिल्सको श्रमिक तहका सबै जनशक्ति नेपाली नै छन् । कर्मचारी तहमा ६० प्रतिशत भारतीय र बाँकी नेपाली श्रमशक्ति कार्यरत छन् । उद्योगमा निरन्तर काम गर्ने कतिपय श्रमिक बढुवा भएर महाप्रबन्धकसम्म भइसकेका छन् । जनशक्ति तयार पार्ने काम सम्पूर्ण निजीक्षेत्रले गर्नुपर्छ जस्तो लाग्छ । इच्छाशक्ति भयो भने निजीक्षेत्रले कार्यशक्ति तयार पार्न नसक्ने पनि होइन । तर यसका लागि नीतिगत सहजता कायम गरिदिने दायित्व सरकारको हो । उद्योगमैत्री वातावरण तयार हुन सकेन र विद्यमान ऐन कानून तथा नीति पनि छिटोछिटो परिवर्तन भयो भने निजीक्षेत्र निरुत्साहित हुन्छ । त्यो अवस्थामा काम गर्न सकिँदैन । लगानी आकर्षित हुन सक्दैन । अवसर नै नभएपछि युवा जनशक्ति यत्तिकै बस्दैनन् । अन्ततः रोजगारीका लागि विदेशिन उनीहरू बाध्य हुन्छन् ।
उद्योग व्यवसायमा व्यवस्थित र आधुनिक कार्यप्रणाली लागू गर्ने प्रयासमा छौं ।
त्यसो भए सरकारको नीतिकै कारण नेपालको जनशक्ति पलायन भइरहेको हो त ?
यो हुनुमा सरकारको नीति मात्र दोषी छैन । प्रमुख कारण यो भए पनि अन्य धेरै कारण छन् । हाम्रो ग्रूपले दुई–अढाई वर्षअघि मात्र ‘हाइड्रो डिभिजन’ शुरू गरेको हो । नेपालमा जलस्रोतको राम्रो सम्भावना देखेर जलविद्युत्मा लगानी विस्तार गरेका हौं । सरकारले पनि अब छिटोछिटो पीपीए गर्ला भनेर यो क्षेत्रमा प्रवेश गरेका थियौं । तर लामो अवधिसम्म पनि पीपीए भएको छैन सरकारले यसमा बेवास्ता गरेकै कारण हाम्रो जलविद्युत्तर्फका ५–६ जना रोजगारीका लागि बाहिर गइसकेका छन् । नेपालमा काम छैन भने किन बस्ने भनेर उनीहरू बाहिरिएका हुन् । हुन त स्वेदशको कार्यशक्तिलाई टिकाइराख्न निजीक्षेत्रको पनि उत्तिकै दायित्व र महत्वपूर्ण भूमिका रहन्छ । कार्यानुभव भएका श्रमशक्ति टिकाइराख्न समयसापेक्ष तलब र पुनर्ताजगी तालीम पनि दिइरहनुपर्यो । यसका लागि लगानी बढाउनुपर्छ । त्यसपछि सरकारको नीति महत्वपूर्ण हुने नै भयो ।
हाम्रो युवाशक्तिमा अहिले विदेशिने होड देखिन्छ । स्वदेशमा अवसर नहुनु वा नदेख्नु यसको प्रमुख कारण हो । यहाँ कार्यरत संस्थाले समयसापेक्ष तलब दिएन भने वा काम तथा अनुभवको उचित मूल्यांकन गरेन भने पनि त्यो श्रमशक्ति टिकाइराख्न चुनौती हुन्छ । कसैले ठूलो रकम खर्चेर चार्टर्र्ड एकाउन्टेन्ट (सीए) वा एमबीबीएस गरेको छ भने स्वाभाविक रूपमा उसले राम्रो अवसर खोज्छ । त्यो अवस्थामा उसलाई स्वदेशमै टिकाउन सरकार र सम्बद्ध निजीक्षेत्रको ठूलो भूमिका हुन्छ । अर्को कुरा, निजीक्षेत्रको अहिलेको काम गर्ने तौरतरीका पनि पुरानै खालको छ । यसलाई परिमार्जन गर्नुपर्दछ । निजीक्षेत्रले सञ्चालन गरिरहेका कतिपय कम्पनीमा प्रबर्द्र्धकहरू नै सञ्चालक भएर काम गर्न खोजिरहेको अवस्था छ । यद्यपि अहिले यस्तो संरचना विस्तारै परिवर्तन हुन थालेको छ । गोल्यान ग्रूपले पनि यसमा परिवर्तन गरिरहेको छ ।
कम्पनीहरूका विभिन्न पदमा प्रवद्र्धकहरूको आधिपत्य हुनु हुँदैन । निजीक्षेत्रले प्रबन्धक, प्रमुख कार्यकारी अधिकृत वा अनुसन्धानकर्ता जति पनि राख्ने गरेका छन्, उनीहरूलाई स्वतन्त्र रूपले काम गर्न पनि दिनुपर्दछ । सबै काम प्रबर्द्धकले गर्ने हो भने उनीहरूको स्वतन्त्रता हनन हुन्छ । यो प्रवृत्तिमा सुधार हुनुपर्छ । यो संस्कृतिको विकास हामीले गरिसकेका छौं, अरूले पनि गर्न आवश्यक छ ।
तपाईंले विदेशमा अध्ययनसँगै काम पनि गर्नुभयो । त्यहाँ र यहाँ काम गर्ने तौरतरीकामा कत्तिको फरक रहेछ ?
नेपाल बाहिर ८ वर्षजति बसेँ । मैले बाहिर बसेरै काम गरेको हुँ । विदेशमा दुई वर्ष काम गरेँ । काम गर्ने तौरतरीका चाहिँ त्यो देशको लिभिङ स्ट्याण्डर्डमा पनि भर पर्ने रहेछ । म अमेरिका, स्पेन र मध्यपूर्वमा बसें । ती देश विकसित छन् । तर हाम्रो देश विकासोन्मुख हो । त्यहाँको र यहाँको भौगोलिक तथा राजनीतिक स्थिति फरक छ । हाम्रो उद्योग व्यवसायको कार्यशैली धेरै कडाखालको परिश्रममा आधारित छ । तर त्यहाँ सबै काम मेशिन तथा उपकरणमार्फत हुन्छन् । त्यहाँ व्यवस्थित कार्यप्रणालीको विकास हुनुका साथै प्रविधि र अटोमेशनको प्रयोग बढी छ । प्रायः सबै कम्पनी इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) मा आधारित भइसकेका छन् । सबै काम सिस्टमबाट गरिन्छ । तर हामीकहाँ अधिकांश काम म्यानुअल हुन्छ । यसले गर्दा कर्मचारीले अन्य कुरा सिक्न र सोच्न पनि पाउँदैनन् । त्यसकारण हामी पनि व्यवस्थित र आधुनिक कार्यप्रणाली लागू गर्ने प्रयासमा छौं । प्रविधिमा आधारित कार्यशैली अपनाउन खोजिरहेका छौं ।
नेपालमा कार्यरत जनशक्तिले कडा परिश्रम गर्छन्, तर उनीहरूमा ‘क्रिएटिभ आइडिया’ कमजोर छ भन्न खोज्नुभएको हो ?
म्यानुअल सिस्टम र कडा परिश्रमका कारण हाम्रो जनशिक्तले क्रिएटिभ आइडियाबारे सोच्न समेत पाएका छैनन् । हाम्रो क्रिएटिभ आइडिया कमजोर छैन । तर कार्यशक्तिले यसमा लाग्न समय नै पाइरहेको छैन । हामीले कार्यस्थलमा आठघण्टे कार्यावधिको अधिकतम सदुपयोग गर्न सकिरहेका छैनौं । मुख्यतः पुरानो प्रणाली र संरचना परिमार्जन गर्नै सकेनौं । पहिलेको तुलनामा यसलाई सुधार गर्ने प्रयास भने भइरहेको छ । दुई–तीन वर्षमा सुधार होला । यसमा हाम्रो शिक्षा प्रणालीको कमजोरी पनि जिम्मेवार छ जस्तो लाग्छ । माध्यमिक तहपछि जुन खालको पाठ्यक्रम र त्यसबाट हाम्रो जनशक्तिमा जुन स्तरको सिकाइ हुनुपर्ने हो, त्यो सामान्यतया कार्यक्षेत्रमा देखिँदैन । हाम्रो सिकाइ प्रयोगात्मक अभ्यास, समहूगत कार्य तथा समस्या समाधानमुखी छैन । यो नभएकाले २०–२२ वर्षका युवायुवती जब नोकरीमा आबद्ध हुन्छन्, तब उनीहरू हतोत्साहित हुन्छन् । किनभने उनीहरूमा न केही अनुभव हुन्छ, न त काम गर्न सक्ने आत्मविश्वास । यो सबै विद्यमान शिक्षा प्रणालीकै दोष हो भन्ने ठानेको छु ।
माध्यमिक तहपछिको शिक्षा प्रणालीमा दोष छ भन्नुभयो । विदेशमा त नेपाली युवायुवतीले राम्रो पनि गरेका छन् नि ।
मैले यहाँ कलेज पढेर गएका युवायुवतीले राम्रो गरेका छैनन् भन्न खोजेको होइन, कन्फिडेन्स र एक्सपोजरको कुरा मात्र गरेको हुँ । हुन त मानिसले चाह्यो भने नसिक्ने र गर्न नसक्ने भन्ने छैन । म जब अमेरिकाबाट कलेज सकेर आएँ, त्यतिखेर पनि हाम्रै गोल्यान ग्रूपमा हुनुपर्ने खालको संरचना नै थिएन । मैले केही वर्ष स्पेनमा पनि काम गरेँ । त्यहाँका जनशक्तिमा काम गर्ने शैली र सोच नै उच्चस्तरको हुन्थ्यो । जब बिदामा फर्केर यहाँ (गोल्यान ग्रूपमा) हेरें, तर यहाँ निकै फरक पाएँ । सिस्टमले पनि काम गर्ने शैलीमा फरक पार्दोरहेछ ।
हाम्रो कार्यशैलीमा समस्या हुँदा उद्योग व्यवसाय अघि बढाउनै चुनौतीपूर्ण देखियो नि, होइन ?
जनशक्ति र कार्यशैलीमा भएको समस्याले शुरुआती समयमा मात्र गाह्रो हुने हो । बिस्तारै यो सहज हुँदै जान्छ । कुनै व्यक्तिले ५–१० वर्ष काम गरेपछि उसको अनुभव तथा आत्मविश्वास बढिहाल्छ । त्यसपछि उसलाई कुनै समस्या हुँदैन । नेपालमा दक्ष जनशक्तिकै कारण धेरै व्यावसायिक घरानाले राम्रो प्रगति र सफलता हासिल गरेका धेरै उदाहरण पनि छन् । यो त कम्पनी सञ्चालकले गरेको नभई जनशक्तिबाटै सम्भव भएको हो । मेरो विचारमा कम्पनीका प्रवद्र्धक, सञ्चालक वा प्रमुख कार्यकारी एक्लैले केही गर्न पनि सक्दैन । सफलता दिलाउने कार्यशक्तिले नै हो ।
त्यसो भए, यी सबै अनुभवले अहिले गोल्यान ग्रूपलाई अरुसँग प्रतिस्पर्धा गर्न गाह्रो छैन ?
प्रतिस्पर्धा हुनु राम्रो पक्ष हो । प्रतिस्पर्धा कहाँ छैन र ? प्रतिस्पर्धा गाह्रो नै हुन्छ । तर त्यो हुनुपर्दछ । हाम्रो ग्रूपमा अहिले चारओटा क्षेत्रमा संलग्न छ । तर मेरो विचारमा हामीले जसरी कृषिमा अहिलेसम्म निजीक्षेत्र कसैले पनि ठूलो लगानी गरेको छैन । त्यसो त कृषिमा आफ्नै खालका कठिनाइ र बाध्यता रहेछन् । रिलायन्स स्पिनिङ (धागो उद्योग) ले पनि प्रतिस्पर्धा गरिरहेको छ । कम्पनीले अबको केही समयपछि आईपीओ पनि ल्याउँदै छ । उद्योगको क्षमता विस्तारका लागि जापानबाट अत्याधुनिक प्रविधिका उपकरण ल्याइसकेका छौं । अरू दुई–तीन ओटा धागो उद्योगसँग हाम्रो प्रतिस्पर्धा भइरहेको हुन्छ । तर त्यो स्वस्थ प्रतिस्पर्धा हो । हामीले ती उद्योगीबाट पनि दैनिक रूपमा सिकिरहेका हुन्छौं, हामीबाट पनि उनीहरूले सिकिरहेका हुन्छन् । मेरो बुवा (पवन गोल्यान) को नेतृत्वमा बसेर हामीले कसरी अघि बढ्ने भनेर सरसल्लाह र छलफल गरिरहेका हुन्छौं । हामीले होटल क्षेत्रमा पनि प्रतिस्पर्धी रूपमा काम गरिरहेका छौं । प्रतिस्पर्धाले नै उत्पादन र गुणस्तरमा सुधार ल्याउँदछ । यो भयो भने सेवा र जनशक्तिको गुणस्तरमा पनि सुधार आउँछ ।
तपाईंहरूले आफ्ना व्यावसायिक प्रतिष्ठानमा स्वदेशकै जनशक्तिलाई प्रयोग गरिरहनु भएको छ होइन ?
गोल्यान ग्रूपको कुरा गर्दा कर्पोरेट अफिसमा मात्रै करीब १२० को हाराहारीमा जनशक्ति कार्यरत हुनुहुन्छ । यसमा पनि ८५ देखि ९० प्रतिशत त नेपाली नागरिक नै छन् ।
अलि फरक प्रसंगमा कुरा गरौं । पछिल्लो समय गोल्यान ग्रूप हाइड्रो तथा नवीकरणीय ऊर्जातर्फ अगाडि बढेको जस्तो देखिन्छ । यसमा त प्राविधिक ज्ञान भएको जनशक्ति पनि चाहिन्छ होला नि, होइन र ?
यसको कुरा गर्ने हो भने नेपालमा त्यो प्राविधिक ज्ञान भएको जनशक्ति नभएको होइन । जस्तो हामीले सञ्चालनमा ल्याएको हाइड्रोमा प्रमुख कार्यकारी अधिकृत नेपाली नै हुनुहुन्छ । उहाँले धेरै ओटा प्रोजेक्टमा काम पनि गरिसक्नु भएको छ । धेरै अनुभव पनि छ । समग्रमा भन्नुपर्दा अहिलेसम्म नेपालमा हाइड्रोका धेरै ओटा प्रोजेक्ट सम्पन्न पनि भइसकेका छन् । यसले सफलता पनि पाइरहेको अवस्था छ । अझै यो क्षेत्रका धेरै ओटा प्रोजेक्टहरू निर्माणाधीन छन् । त्यसकारण धेरै नेपाली जनशक्तिमा विशेषतः हाइड्रोमा धेरै ज्ञान रहेको छ । तर त्यस्तो खालको ज्ञान सोलार इनर्जी (नवकरणीय ऊर्जा) मा भने छैन । यसमा पनि भइदिएको भए अझ राम्रो हुने थियो । यसको प्रोजेक्ट म्यानेजर (पीएम) चाहिँ भारतीय नागरिक हुनुहुन्छ । हामीले नेपालमा सौर्य ऊर्जालाई कसरी अगाडि बढाउने भनेर अध्ययन अनुसन्धान तथा प्रयोग पनि गरिरहेका छौं । यसका लागि चाहिने जनशक्ति हामी आफैंले प्राक्टिकल रूपमा तयार पार्ने गरी काम पनि गरिरहेका छौं । नेपालमा हाइड्रोजस्तो गरी अगाडि आएको क्षेत्र ऊर्जा होइन । सोलार इनर्जीबारे नेपालमा पाँच–छ वर्ष अगाडिदेखि मात्र चर्चापरिचर्चा शुरू भएको हो । त्यसकारण हामीले केही सम्भावना देखेर यसमा काम गरिरहेका छौं ।
नेपालको व्यवसायको इतिहास हेर्ने हो भने अधिकांश व्यापारिक घरानाले उत्पादनभन्दा पनि ट्रेडिङलाई जोड दिएको जस्तो देखिन्छ । तर गोल्यान ग्रूपले चाहिँ उत्पादनलाई प्राथमिकता दिएको देखिन्छ । यो अरुको तुलनामा संयोग त होइन ?
नेपालको व्यावसायिक इतिहासको कुरा गर्न म त्यति योग्य छु जस्तो लाग्दैन । किनभने म यो क्षेत्रमा आएको धेरै वर्ष पनि भएको छैन । म गोल्यान ग्रूपमा प्रवेश गर्नुभन्दा अघि नै अर्थात् १०–१२ वर्ष अघि मेरो बुवा र दाजुहरूले नेतृत्व गरिरहेको समयमा एउटा ब्रान्डसँग मिलेर ट्रेडिङ गर्ने अवसर आएको रहेछ । तर त्यतिबेला नै मेरा अग्रजहरूले अब ट्रेडिङमा नजाने बरु उत्पादनमै केन्द्रित भएर अगाडि बढ्ने भनेर निर्णय गर्नुभएको रहेछ । चार–पाँच वर्षअघि नै हाम्रो सञ्चालक समितिको मिटिङले पनि अबका दिनमा ट्रेडिङमा नजाने भनेर निर्णय गरिसकेको छ । मुुलुकमा आफ्नो नामका लागि भए पनि केही गर्नुपर्छ, मुलुकका लागि केही दिनु पर्दछ भन्ने ठानेर दिगो हुने खालका उद्योगमा मात्र काम गर्ने भनेर यो निर्णय गरेका थियौं । उद्योग तथा कलकारखाना, जलविद्युत् आयोजना, सौर्य ऊर्जा योजना र होटलहरू दीर्घकालका लागि जोडिएका छन् । यो क्षेत्रसँग हाम्रो नाम मात्र जोडिएको छैन, विरासत पनि जोडिएको छ । हाम्रो इतिहास पनि जोडिन्छ । किन कि आशा गरौं, हामी नरह“दा पनि यी आयोजना तथा व्यवसाय निरन्तर चलिरहन्छन् नै ।
निजीक्षेत्रको अहिलेको काम गर्ने तौरतरीका पुरानै खालको छ । यसमा परिमार्जनको खाँचो छ ।
भनेपछि पहिलादेखि नै गोल्यान ग्रूपको जोड ट्रेडिङ नभएर उत्पादननर्फ नै केन्द्रित थियो ?
हो, पहिलादेखि नै हाम्रो जोड उत्पादनतर्फ नै थियो । संयोग मात्र होइन, अवस्था र बाध्यताले नै हामीले यसतर्फ डोर्याएको हो । तर नेपालका लागि र हाम्रा लागि राम्रै अवसर छ है भन्ने देखियो भने ट्रेडिङमा पनि जान सकिन्छ । नजाने भन्ने हुँदैन । यद्यपि नर्मल ट्रेडिङमा जाने सोच चाहिँ छैन । इच्छा पनि छैन । अनि अर्को कुरा, ट्रेडिङले कार्यशक्तिलाई सक्रिय बनाउन सहयोग चाहिं गर्दै गर्दैन । अहिलेको परिप्रेक्ष्यमा हामीलाई चाहिएको त अनुभवी र क्रियटिभ आइडिया भएको वर्कफोर्स नै हो । त्यसकारण ट्रेडिङबाट यो कुरा सम्भव हुँदैन र छैन पनि । यसले त एकाउन्ट र विक्रीवितरणको कुरालाई मात्र प्राथमिकतामा राखेको हुन्छ । यसले प्रस्पिर्धात्मक बिजनेश माइन्ड बनाउन मद्दत पनि गर्दैन । हुन त हाम्रै ग्रूपको ट्रेडिङ पनि मैले नै हेरिरहेको छु । बिजनेश मोडलबारे ज्ञान पनि छ, तैपनि हाम्रो समग्र टिम नै प्रतिस्पर्धामा काम गर्न रुचाउँछ ।
नेपालमा ट्रेडिङ गरेर सजिलै पैसा कमाउन सकिन्छ भन्नेहरू पनि छन् । तपाईंलाई कहिलेकाहीँ ट्रेडिङ गरेको भए हुने रहेछ भन्ने लाग्दैन ?
पैसा कति कमाएपछि पुग्छ भन्ने प्रश्नको जवाफ आजसम्म कसैले दिएको पाइँदैन । यो त पक्कै पनि फिलोसोफीमा आधारित हुन्छ होला । कति कमाउने त पैसा भन्ने जवाफ इजी मनीतर्फ अग्रसर भएका व्यक्तिले पनि दिन सक्दैनन्् । इजी मनी प्राप्त गर्न कोभिडको समयमा धेरैले प्रयास पनि नगरेका होइनन् । तर हामी प्यासनका लागि केही गरौं भन्ने उद्देश्यका साथ उद्योग व्यवसायमा अगाडि बढेका हौं । हाम्रो उद्देश्य फरक खालको छ ।
उत्पादनमा जोड दिइरहेको गोल्यान समूहको पछिल्लो समय व्यसायलाई विविधीकरण गरिरहेको देखिन्छ । किन ?
यो अत्यन्त राम्रो र सान्दर्भिक प्रश्न हो भन्ने लाग्छ । मैले पनि मेरो अध्यक्ष तथा बुवा र अग्रजहरूलाई बारम्बार यही प्रश्न गर्थें । मेरो पनि सधैं प्रश्न हुन्थ्यो, एउटै क्षेत्रमा ठूलो स्केलमा लगानी गरेर काम गरे भइहाल्थ्यो नि, किन यति धेरै क्षेत्रमा व्यवसाय विविधीकरण गर्नु परेको भनेर । उहाँहरूको जवाफ हुन्थ्यो, प्रतिस्पर्धा नै वास्तविक जीवनको अनुभव पनि हो । कुनै क्षेत्रको उद्योग डुब्यो भयो वा विस्तारै घटाउनुपर्यो वा अगाडि बढ्नुपर्यो भने ब्याकअप त चाहिन्छ नै । हामीले स्पष्टसँग भनेका छौं, हामी अब र्यान्डम बिजनेशमा जाँदैनौं, हाम्रो ध्यान नै उत्पादनमा केन्द्रित हुन्छ । हामीले ठूलो स्केलमा रिलाइन्स स्पिनिङमा लगानी वृद्धि गरिरहेका छौं । हामीले यसमा राम्रो र अत्याधुनिक प्रविधिहरू भित्र्याएका छौं । शिवम् प्लाष्टिकमा पनि लगानी बढिरहेको छ । ट्राइकोटमा पनि लगानी वृद्धि गर्ने योजना भइरहेको छ । अहिले हामी जुनजुन इन्डस्ट्रीमा छौं, त्यसमा नै केन्द्रित भएर अगाडि बढ्ने योजना छ । यसैमा अगाडि बढ्ने सोच छ । होटल क्षेत्रमा त यसअगाडि नै एउटा होटल सञ्चालनमा आइसकेको छ । अरू दुईओटा होटल सञ्चालन गर्ने लक्ष्यका साथ अध्ययन भइरहेको छ । नेपालमा कृषिमा अपार सम्भावना छ भनेर नै मेरो बुवाले अगाडि बढाएको योजनामा केन्द्रित छौं । जलविद्युत् र सौर्य ऊर्जाबारे त यसअघि नै बताइसकें । फरक फरक खालका इन्डस्ट्रीबाटै नेपालका लागि चाहिने फरक फरक खालका जनशक्ति उत्पादन गर्ने काम पनि भइरहेको छ । भन्नुको अर्थ, हामीले पैसाका लागि मात्र होइन केही सिक्न र दिनको लागि पनि काम गरिरहेका छौं ।
यसको व्यवस्थापनका लागि कसरी काम गरिरहनुभएको छ ?
यसका लागि त हामीले धेरै वर्षदेखि तयारी पनि गरिरहेका छौं । यसको संरचना बनाउनेदेखि लिंक कसरी बढाउने, व्यावसायिक संरचना कस्तो बनाउने लगायत विविध क्षेत्रबारे कार्य योजना पनि बनाएका छौं । हरेक क्षेत्रमा अलग अलग सीईओ कार्यरत हुनुहुन्छ । सबै क्षेत्रको अलग अलग काम भए तापनि बिजनेश टिम एकदमै सहयोगी छ । कतिपय कामहरू केन्द्रीकृत छन् भने अरू धेरै काम उत्पादनस्थल र कार्यस्थलबाट भइरहेका हुन्छन् ।
जनशक्ति तयार पार्ने काम निजीक्षेत्रले गर्नुपर्छ । सरकारले यसमा नीतिगत सहजता कायम गरिदिनुपर्छ ।
उद्योग व्यवसायमा सफलता पाएको गोल्यान समूहले पछिल्लो समय कृषि र जलविद्युत्मा लगानी बढाएको छ । तर कतिपयले यो क्षेत्र निकै जोखिमपूर्ण छ भनिरहेका छन् । यस्तो खालको चुनौती कसरी व्यवस्थापन गर्ने योजना बनाउनुभएको छ ?
सबैभन्दा पहिला म कृषिको कुरा गर्न चाहन्छु । नेपालको कृषि क्षेत्रको डेटा नै छैन । किनभने निजीक्षेत्रले यसमा ठूलो परिमाणमा अहिलेसम्म लगानी गरेको पनि देखिँदैन र छैन पनि । समग्र कृषिको डेटा पनि नभएको सन्दर्भमा भोलिका दिनमा के हुन्छ यसै भन्न सकिने अवस्था छैन । तर इमानदारीका साथ हामी के भन्छौं भने हामीले गरेको यो काम नेपाल र नेपालीका लागि नै हो । कुनै पनि सार्वभौम मुलुकका लागि खाद्य सुरक्षा महत्वपूर्ण विषय हो । ३०–४० वर्षअघि हाम्रो देशको अर्थतन्त्र कृषि प्रणालीमा आधारित थियो, तर अहिले त्यस्तो अवस्था छैन । बसाइसराइँ हुने क्रम पनि तीव्र रूपमा बढेको छ । कृषिमा आम्दानी हुन नसकेपछि युवा जनशक्ति अन्य आयआर्जनका अरू क्षेत्रमा लागेका छन् । यस्तो अवस्था देखेर कृषिमा केही गरौं भन्ने उद्देश्यले हामीले काम शुरू गरेका हौं । कृषिको दिगो विकास गर्न र खाद्य सुरक्षालाई दृष्टिगत गर्दै हामीले धेरै लक्षित समूहलाई जोड्ने प्रयास गरिरहेका छौं । निश्चित रूपमा कृषिमा जोखिम चाहिँ छ । तर सफलता हासिल गर्न सकियो भने नेपालको कृषिक्षेत्रले फड्को मार्न सक्दछ । नेपालीले भोकै बस्नुपर्ने अवस्था पनि आउ“दैन । यो हामीले गरेको प्रयास नेपालका लागि नै रोल मोडल हुन सक्दछ । यदि यो सफल भयो भने मोडल कम्पनी हुन्छ । यसपछि अरू कम्पनीहरू स्वाभाविक रूपमा यस क्षेत्रमा अगाडि आउ“छन् । हामीले अहिले त लगानी गरेर प्रयास मात्र गरेका हौं । अर्को कुरा जहाँसम्म जलविद्युत्मा जोखिमको कुरा गर्नुभयो, मेरो विचारमा यसमा चाहिँ जोखिम छैन । पीपीए भएन वा सरकारले अरु पनि सहजीकरण गरिदिएन भने चाहिँ स्वाभाविक रूपमा जोखिम हुन्छ नै । यदि प्रभावकारी र दिगो नीति आयो भने जलविद्युत्मा राम्रो सम्भावना छ । त्यही भएर हामीले विदेशी कम्पनीसँग सहयोग एवं परामर्श लिएर भए पनि जलविद्युत् परियोजनामा काम अगाडि बढाइरहेका छौं ।
त्यसो भए भविष्यमा हाइड्रोले बजार पाउँछ भन्ने देखेर नै तपाईंहरू यसतर्फ अगाडि बढ्नुभएको हो ?
मैले यसअघि पनि पीपीएलाई जोड दिनुप¥यो भनेको छु । किनभने पीपीए भएन भने अगाडि बढ्न पनि गाह्रो हुन्छ । निजीक्षेत्रले उत्पादन गरको विद्युत् नेपाल विद्युत् प्राधिकरणले किन्न सक्दैन भने नेपाल सरकारले पावर कम्पनी खडा गर्नुप¥यो । हामीले यसमार्फत पनि विद्युत् विक्री गर्न सक्दछौं । भारत वा अरू देशमा पनि ह्वीलिङमार्फत विक्री गर्न सक्दछौं । यसमा धेरै पक्ष र सम्भावनाहरू छन् । ऊर्जाको उपभोग र खपत घट्ने अवस्था देखिँदैन, बढ्दै जान्छ । नेपालमै विद्युतीय सवारीसाधन पनि दिनप्रतिदिन आइरहेको अवस्था छ । अझ उद्योगधन्दा र कलकारखाना बढ्यो भने झनै यसको महत्व र उपादेयता बढेर जान्छ । त्यसमा पनि हामीले जति र जुन रूपमा हाइड्रो र सोलारबाट विद्युत् उत्पादन गर्न सक्छौं, त्यसलाई निर्यात गर्न सक्दछौं । यसका लागि सरकारले नीति मात्र निर्माण गरिदिए पनि पुग्ने अवस्था छ ।
पारिवारिक विरासत बोकेको गोल्यान समूहलाई अहिले नयाँ पुस्ताले नेतृत्व गरिरहनु भएको छ । यसले अबका दिनमा पारिवारिक विरासतमै काम गर्छ कि फरक ढंगले काम गर्ला ? नयाँ सोचहरू पनि छन् ?
हाम्रो पारिवारिक व्यवसाय छँदै छ । त्यो त म भए पनि, नभए पनि स्वाभाविक रूपमा आउने नै भयो । तर म आज जुन पोजिसनमा आएको छु । त्यो पोजिसनमा नयाँ खालको व्यक्तित्व आएपछि निश्चित रूपमा फरक खालको सोचलाई प्रस्फुटन गर्नैपर्दछ । हुन त विभिन्न व्यक्तिको काम गर्ने तौरतरीका, सोच पनि फरक फरक खालको हुन्छ । ममा त्यस्तो खालको नयाँ खालको अनुभव केही नभए तापनि हौसलाका साथ काम गर्ने, टिमवर्क बनाउने, वर्क प्लानमा विश्वास गर्ने अनि संगठित भएर निरन्तर आशा र विश्वासका साथ लागिरहने प्रवृत्ति छ । एकदिन ब्रान्डलाई सबैसामु परिचित बनाउने सोच छ ।
अहिले गोल्यान ग्रूपले १६ ओटा कम्पनी सञ्चालन गरिरहेको छ । अरू पनि थप्ने योजनामा हुनुहुन्छ ?
यसबारे अध्ययन भइरहेको छ । सम्भावना र अवसर देखियो भने थप्न सकिन्छ ।
अन्त्यमा, हामीले सोध्न बाँकी रहेको र तपाईंलाई पनि भन्न मन लागेको कुरा भए बताइदिनुस् न ।
हामी अहिलेसम्म जसरी अगाडि बढिरहेका छौं, त्यो देख्दा खुशी लाग्छ । नेपाल र नेपालीका लागि हामीले व्यवसायको माध्यमबाट केही न केही भए पनि योगदान गरिरहेका छौं भन्न पाउँदा खुशी लाग्छ । अझै पनि हाम्रोतर्फबाट देशका लागि गर्छौं नै । यसका लागि हाम्रो प्रयास निरन्तर जारी छ । हाम्रो कम्पनीमा मात्र होइन नेपालमा धेरै अवसरहरू छन् । सिकाइ पनि हुन्छ, वृत्ति विकास पनि हुन्छ, स्वदेशमा बसेर काम गर्नुको मजा अलग हुने हुनाले कोही पनि युवाले कामका लागि बाहिर जानु पर्दैन । जानैपर्ने बाध्यता कसैले पनि सृजना गर्नु हुँदैन । यहीं आयआर्जनका कामहरू गर्न सकिने भएकाले विभिन्न अवसरहरू स्वदेशमै छन् । नेपालको श्रम, शीपलाई नेपालमै सदुपयोग गरौं भन्न चाहन्छु । यसका लागि हामीले अलिकति मेहनत किन गर्नु नपरोस् । हामीले स्वेदश अनि परिवारसँग बसेर आफ्नो देशको विकासमा योगदान गर्नु पर्दछ । युवा वर्गलाई म यही आह्वान गर्न चाहन्छु ।
(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)