काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै नेपाली बीमकले विदेशमा शाखा विस्तार गर्ने बाटो खुलेको छ ।
बीमा प्राधिकरणले बिहीवार जारी गरेको उक्त निर्देशिकाको दफा ११ मा ‘बीमकले प्राधिकरणको पूर्वसहमति लिई विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न सक्ने’ भनिएको छ । अब प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा पनि आफ्नो कार्यालय खोली व्यवासाय विस्तार गर्न पाउने भएका छन् ।
विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न बीमकले प्राधिकरणको साथै जुन मुलुकमा त्यस्तो कार्यालय स्थापना गरिने हो सो मुलुकको नियामक निकायले निर्धारण गरेको पूँजी कायम गर्नु पर्नेछ । त्यसका साथै बीमक तथा बीमकका सञ्चालकलाई कुनै कारबाही भएको भए त्यस्तो कारबाही भएको ६ महीना पूरा भइसकेपछि मात्र विदेशमा कार्यालय खोल्न पाइनेछ ।
यस्तै प्राधिकरणबाट बीमकले अन्तिम स्वीकृति प्राप्त गरेको ६ महीनाभित्र कार्यालय खोली सोको जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ । उक्त अवधिभित्र कार्यालय सञ्चालन नभए स्वीकृति स्वतः रद्द हुनेछ ।
नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले प्राधिकरणले ‘बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै अब कार्यालय सञ्चालनका लागि प्राधिकरणले निर्धारण गरेको मापदण्ड पूरा गर्ने नेपाली बीमकले अन्य मुलुकमा पनि कार्यालय खोलेर व्यवसाय सञ्चालन गर्न पाउने बताए ।
अधिकारीका अनुसार निकट भविष्यमा विदेशमा सञ्चालन हुने नेपाली बीमकहरूको व्यवसाय विदेशी मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्छ । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री नेपाली बीमकहरूले विदेशमा कार्यालय खोलेर व्यवसाय विस्तार गर्न पाउने भएसँगै बीमा व्यवसाय पनि विदेशी मुद्रा आर्जनको राम्रो स्रोत हुने बताउँछन् ।
‘अहिले बीमकहरूको पूँजी पनि बढेका कारण उनीहरू अन्य मुलुकमा पनि कार्यालय राखी व्यवसाय सञ्चालन गर्न सक्षम छन् । त्यसैले अब बीमकहरू पनि नेपालमा विप्रेषणको राम्रो स्रोत बन्न सक्छन्,’ उनले भने ।