नेपाल नेत्र ज्योति संघ ४५ वर्ष पुरानो संस्था हो । यसले देशभरमा २७ ओटा आँखा अस्पताल, ४४ ओटा जिल्ला शाखा र १५० ओटा आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । यी अस्पतालबाट वार्षिक ४० लाखभन्दा धेरैको आँखा जाँच हुन्छ । ३ लाखभन्दा धेरै आँखा रोगीको शल्यक्रिया हुन्छ । तीमध्ये वर्षेनि ६० हजारभन्दा धेरै नेपालीको आँखाको शल्यक्रिया निःशुल्क गरिन्छ । नेपालमा लामो इतिहास बोकेको संस्थाले अब भने आँखा उपचारमा ‘मेडिकल टुरिजम’को सम्भावना देखिरहेको छ । अहिले पनि संघले चलाएका सीमा क्षेत्रका आँखा अस्पतालमा उपचार गर्न आउने नेपालीभन्दा विदेशी (भारत, बंगलादेश लगायत) नागरिक धेरै छन् । अब भने संस्थाले अरब देशका आँखा रोगीलाई नेपालमा उपचार दिने योजना बनाइरहेको छ । प्रस्तुत छ, यिनै विविध विषयमा संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र सँग आर्थिक अभियानका प्रकाश जोशी ले गरेको कुराकानीको सार :
नेपालमा आँखासम्बन्धी समस्या र उपचारको अवस्था कस्तो छ ?
नेपालमा आँखा स्वास्थ्यको स्थिति हेर्दा गैरसरकारी संस्थाद्वारा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्र र केही अन्य निजी/सरकारी अस्पतालको माध्यमबाट आँखा उपचार सेवा प्रवाह भइरहेको छ । नेपालमा करीब ४० ओटा आँखा अस्पताल छन् । सबै जिल्लामा स्थायी रूपले आँखा उपचार केन्द्रको माध्यमबाट आँखा स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।
अन्धोपनसम्बन्धी ८० प्रतिशत समस्या उपचारबाट सम्भव हुन्छ । दृष्टिविहीन भइसकेको अवस्थामा उपचार सम्भव छैन ।
नेपालमा सन् १९८१ मा राष्ट्रिय अन्धोपन सर्वेक्षण गरिएको थियो । त्यसले मोतियाबिन्दु प्रमुख समस्याको रूपमा रहेको देखाएको थियो । यस्तै खस्रेरोग अन्धोपन गराउने दोस्रो ठूलो कारण रहेको पाइएको थियो । शहरी भन्दा पनि ग्रामीण भेगमा अन्धोपनको समस्या बढी थियो । साथै पुरुषभन्दा महिला यसबाट पीडित रहेका थिए । सन् २०११ मा अर्को सर्वेक्षण गरियो । देश संघीय संरचनामा गएपछि सन् २०२० मा प्रदेशस्तरमा अन्धोपनको सर्वेक्षण भएको थियो । त्यसले मोतियाबिन्दु अन्धोपनको प्रमुख समस्या भएको देखायो । खस्रेरोग भने जनस्वास्थ्य समस्याको रूपमा नरहेकाले निराकरण भइसकेको छ । यस्तै दृष्टिदोष अर्को जटिल समस्याको रूपमा पाइएको छ ।
पछिल्लो सर्वेक्षणबाट आँखासम्बन्धी समस्या कुन क्षेत्रमा कस्तो पाइएको छ ?
समस्या शहरी भेगमा पनि छ ग्रामीण भेगमा पनि छ । अहिले मधेश प्रदेश र लुम्बिनी प्रदेशमा अन्धोपनको बढी समस्या देखिएको छ । त्यसमा मोतियाबिन्दु प्रमुख कारण रहेको छ । गण्डकी प्रदेशमा दृष्टिविहीन भएकामध्ये ४२ प्रतिशतमा मोतियाबिन्दु कारण देखिएको छ । तुलनात्मक रूपमा अन्य प्रदेशमा अन्धोपनको समस्या कम छ । दृष्टिदोषको समस्या भने कर्णाली प्रदेशमा बढी छ । सर्वेक्षणले प्रदेशअनुसार फरक फरक देखाएको छ । मोतियाबिन्दु अन्धोपनको प्रमुख कारण हो ।
अन्धोपनको उपचार कत्तिको सम्भव हुन्छ ?
अन्धोपनसम्बन्धी ८० प्रतिशत समस्या उपचारबाट सम्भव हुन्छ । दृष्टिविहीन भइसकेको अवस्थामा उपचार सम्भव छैन । तिनलाई लो भिजन र पुनःस्थापनाको माध्यमबाट सहज बनाउनसम्म सकिन्छ ।
आँखासम्बन्धी समस्या आउनुका कारण के के हुन् ?
तराईमा मोतियाबिन्दुका रोगी बढी छन् । त्यहाँ पोषणको कमीले हो । सनलाइटको रेडिएनशनमा बढी बस्नेलाई मोतियाबिन्दु चाँडै हुन सक्छ । तराईमा ४०–४५ वर्षका मानिसमा मोतियाबिन्दु हुने गरेको पाइन्छ । पहाडमा ५५–६० र हिमालमा ७५–७६ वर्षका मानिसमा मोतियाबिन्दु हुने गरेको छ ।
आँखा उपचारको क्षेत्रमा संघले अहिले के कसरी काम गरिरहेको छ ?
नेपाल नेत्र ज्योति संघको स्थापना २०३५ चैत १३ गते गैरसरकारी संस्थाको रूपमा भएको हो । हाल नेपालमा ९० प्रतिशतभन्दा बढी आँखाको स्वास्थ्य सेवा संघबाट प्रदान भएको छ । संघअन्तर्गत २७ ओटा आँखा अस्पताल, १५० ओटा उपचार केन्द्र र ४४ ओटा जिल्ला शाखाको माध्यमबाट वर्षेनि लगभग ३ लाख बिरामीको शल्यक्रिया हुँदै आएको छ । वार्षिक करीब ४० लाखको आँखा परीक्षण गरिरहेका छौं । नेपालका सबै जिल्लामा पुगेका छौं । स्थायी आँखा उपचार केन्द्र वा अन्य बाह्य कार्यक्रमको माध्यमबाट देशभर उपचार सेवा पुर्याएका छौं ।
७० प्रतिशत शल्यक्रिया गर्ने बिरामी भारतका विभिन्न प्रान्तबाट आउने गर्छन् । भारतका पाँचओटा प्रान्तबाहेक अन्य सबैबाट बिरामीहरू नेपालमा आँखा स्वास्थ्य सेवा लिन आएका छन् ।
नेपालमा आँखा उपचारमा जनचेतनाको अवस्था कस्तो छ ?
नेपालमा आँखा स्वास्थ्यबारे अझै पनि जनचेतनाको कमी छ । सर्वेक्षणले पनि त्यस्तै देखाएको छ । रोग लागेपछि उपचार गर्नुपर्छ, यस्तो रोग निको हुन्छ भन्नेबारे कतिपयलाई थाहै छैन । १५ वर्षपहिले हामीले एउटा अध्ययन गरेका थियौं । त्यतिबेला ४७ प्रतिशत मानिसलाई कुन ठाउँमा उपचार केन्द्र वा अस्पताल छ, रोग लागिसकेपछि के गर्नुपर्छ भन्ने जस्ता विषयमा जानकारी नै नभएको पाइयो । त्यसपछि हामीले राष्ट्रिय आँखा स्वास्थ्य शिक्षा कार्यक्रम शुरू गर्यौं । त्यसले चेतनाको स्तर बढायो । हाल ७० प्रतिशत जनतालाई आँखा स्वास्थ्यबारे जानकारी छ । तर, अझै पनि ग्रामीण भेगमा चेतनाको कमी छ । कर्णाली, मधेश र लुम्बिनीका अधिकांश जिल्लामा जनचेतना विस्तार गर्नुपर्ने देखिएको छ । जनचेतना बढाउने कार्यक्रम समुदाय स्तरमै गर्नुपर्छ ।
नेपालमा आँखा उपचार आम जनताको पहुँचमा छ ?
नेपालको आँखा उपचार सेवा संसारकै सबैभन्दा सस्तो छ । त्यसमा पनि हामी वर्षको लगभग ६० हजार जनाजतिको निःशुल्क शल्यक्रिया गर्छौं । विभिन्न बाह्य कार्यक्रमको माध्यमबाट उपचार गरिरहेका छौं । अस्पतालमा पुगेका बिरामीको पनि आर्थिक अवस्था हेरेर निःशुल्क उपचार गरिन्छ । नेपालमा यसै पनि आँखा उपचार पहुँचयोग्य छ ।
विपन्न हुनुहुन्छ भने हाम्रो शिविरमा निःशुल्क उपचार हुन्छ । अस्पतालमा पनि कुनै बिरामी छन् र उहाँहरूसँग पैसा छैन भने त्यसमा पनि शुल्क लिँदैनौ । तपाईंसँग पैसा छैन भने पनि उपचार हुन्छ । यो सूचना प्रवाह राम्रोसँग नभएको पनि हुन सक्छ ।
तपाईंहरू विभिन्न स्थानमा शिविर चलाउनुहुन्छ । त्यसको आर्थिक व्यवस्थापनको पाटो कसरी व्यवस्थापन गर्दै आउनुभएको छ ?
आर्थिक व्यवस्थापन तीन किसिमबाट हुन्छ । एउटा संघीय सरकारले सहयोग गरेको छ । मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया र शिविर आयोजना गर्न स्थानीय सरकार र प्रदेश सरकाले पनि सहयोग गरेको छ । त्यस्तै अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले पनि सहयोग गरेका छन् भने अस्पतालको आफ्नै स्रोतबाट दुर्गम जिल्लामा आँखा उपचार कार्यक्रम सञ्चालनमा ल्याएका छौं । त्यसमा स्थानीय निकायसँग समन्वय गरेर शिविर आयोजना गर्छौं । त्यसरी दुई प्रकारको शिविर सञ्चालन गरिन्छ । एउटा ‘डायग्नोस्टिक स्क्रिनिङ क्याम्प’ हुन्छ, जसमार्फत बिरामीलाई अस्पतालमा ल्याएर शल्यक्रिया गर्छौं । यसैगरी जहाँ अस्पताल टाढा छन्, दुर्गम छन्, त्यहाँ अस्पतालकै टोली गएर निःशुल्क शल्यक्रिया गरिन्छ ।
शिविर सञ्चालनका लागि संघीय सरकारले कस्तो सहयोग गर्छ ?
अहिले संघीय सरकारबाट मोतियाबिन्दुको शल्यक्रिया, विद्यालय आँखा स्वास्थ्य कार्यक्रम र आँखा उपचारको संस्थागत क्षमता विस्तारका लागि सहयोग पाएका छौं ।
संघअन्तर्गतका अस्पतालमा भारतका विभिन्न स्थानबाट पनि बिरामी आएको देखिन्छ । उपचारमा उनीहरूले पनि नेपालीले जस्तै सहुलियतपूर्ण सेवा सुविधा पाउँछन् कि केही फरक हुने गर्छ ?
नेपालीको जुन शुल्कमा शल्यक्रिया गरिन्छ, सोही शुल्कमा भारतीय बिरामीको पनि शल्यक्रिया हुने गर्छ । ७० प्रतिशत शल्यक्रिया गर्ने बिरामी भारतका विभिन्न प्रान्तबाट आउने गर्छन् । भारतका पाँचओटा प्रान्तबाहेक अन्य सबैबाट बिरामीहरू नेपालमा आँखा स्वास्थ्य सेवा लिन आएका छन् ।
उपचारको सेवाशुल्क कति लाग्छ ?
विपन्न हुनुहुन्छ भने हाम्रो शिविरमा निःशुल्क उपचार हुन्छ । अस्पतालमा पनि कुनै बिरामी छन् र उहाँहरूसँग पैसा छैन भने त्यसमा पनि शुल्क लिँदैनौ । नेपालमा आँखाको कुनै किसिमको रोग लागेको छ भने नजिकको आँखा अस्पतालमा जानुस् । तपाईंसँग पैसा छैन भने पनि उपचार हुन्छ । यो सूचना प्रवाह राम्रोसँग नभएको पनि हुन सक्छ ।
नेपालमा आँखा उपचार खर्चका दृष्टिले एकदमै पहुँचयोग्य छ । उपचार पद्धति र प्रविधि पनि विश्वस्तरीय छन् । यसबारे प्रचारप्रसार गर्न सके विदेशबाट आँखाका बिरामी उपचारका लागि नेपाल आउँछन् भन्ने विश्वास छ ।
नेपाललाई आँखा उपचारको पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना अघि सार्नुभएको रहेछ । यो कत्तिको सम्भव छ ?
अहिले आँखाका धेरै बिरामी भारतबाट आएका छन् । यस्तै अन्य मुलुकबाट समेत आँखाका बिरामी आकर्षित गर्न सकिने सम्भावना देखेर ‘मेडिकल टुरिजम’को अवधारणा अघि बढाएका छौं । विभिन्न तहका सरकारसँग सहकार्य गरेर यसलाई सार्थक बनाउने सोच छ ।
यसमा हामीले खाडी मुलुकबाट आँखाका बिरामी आउने सम्भावना देखेका छौं । किनकि यी देशमा आँखा स्वास्थ्यको बीमा हुँदैन । उनीहरू आँखा उपचारका लागि टर्की, थाइल्याण्ड र भारतकै केही अस्पतालमा जाने गर्छन् । यस्तोमा ती मुलुकका आँखाका बिरामीलाई आकर्षित गर्न सकिने ठूलो सम्भावना छ ।
नेपालमा आँखा उपचार खर्चका दृष्टिले एकदमै पहुँचयोग्य छ । उपचार पद्धति र प्रविधि पनि विश्वस्तरीय छन् । सोहीअनुसारको दक्ष जनशक्तिको व्यवस्था भएकाले गुणस्तरीय सेवा प्रवाह हुँदै आएको छ । यसबारे प्रचारप्रसार गर्न सके विदेशबाट आँखाका बिरामी उपचारका लागि नेपाल आउँछन् भन्ने विश्वास छ ।
आँखा उपचारको क्षेत्रमा गर्नुपर्ने आगामी योजना के के छन् ?
भविष्यमा हरेक स्थानीय निकायसँग मिलेर हरेक स्थानीय तहमा आँखा उपचार केन्द्र खोल्ने योजना छ । करीब ६०० ओटा उपचार केन्द्र खोल्ने योजना छ । कतिपय स्थानीय तहमा खुलिसकेका छन् । धेरैजसो केन्द्रलाई ‘सर्जिकल सेन्टर’ वा ‘सेकेण्डरी लेभल आई हस्पिटल’को रूपमा स्तरोन्नति गर्न सकिन्छ ।
जुम्ला, डँडेलधुरा गुल्मीजस्ता पहाडी जिल्लामा पनि आँखा उपचार केन्द्र शुरू गरिसकेका छौं । ३५ जिल्लाका उपचार केन्द्रलाई आगामी ७ वर्षभित्र सेकेन्डरी लेभल आई हस्पिटलको रूपमा विकास गर्ने लक्ष्य छ । हरेक प्रदेशमा एक/एक आँखा अस्पताल छ । त्यसलाई ‘सेन्टर अफ एक्सिलेन्श’को रूपमा विकास गर्ने, सबै किसिमका सेवा प्रदान गर्ने, तालीम तथा अनुसन्धान कार्यक्रम शुरू गर्ने हाम्रो योजना छ । त्यस्तै आँखा स्वास्थ्यमा जनताको चेतना बढाउन सामुदायिक स्तरमै कार्यक्रम शुरू गर्ने सोच छ ।
यसका लागि नेपालमा पर्याप्त जनशक्ति छन् ?
जनशक्तिको सन्दर्भमा हामी आत्मनिर्भर भइसकेका छौं । लगभग साढे ४०० नेत्र विशेषज्ञ छन् । १ हजार ५०० भन्दा बढी अप्थाल्मिक असिस्टेन्ट छन् । अप्टोमेटिस्टहरू २ हजार ५०० भन्दा बढी छन् । अन्य जनशक्ति पनि पर्याप्त छन् । यसमा समतामूलक तवरले हरेक प्रदेशमा काम गर्ने वातावरण भने हुनुपर्छ । त्यसका लागि पनि कार्यक्रमहरू बनाइरहेका छौं । अहिले सरकारको स्वास्थ्य नीतिमा जुन हेल्थकेयर पूर्वाधार छ, त्यसमा आँखा स्वास्थ्य प्रोग्रामलाई पनि एकीकृत गर्ने योजना छ । त्यसमा पनि सरकारसँग मिलेर अगाडि बढ्ने हाम्रो योजना छ ।
बच्चाहरूमा दृष्टिदोष बढेको अवस्था छ । ग्रामीण भेगको भन्दा शहरी भेगको बच्चामा यसको समस्या बढी देखिएको छ । शहरी भेगमा सागसब्जी भन्दा जकं फुड बढी खाने, खुल्ला वातावरण नपाउने जस्ता कारणले गर्दा दृष्टिदोष देखिएको छ ।
नेपाल सरकारबाट तपाईंको अपेक्षा के हो ? सरकारले के गर्दियो भने त्यो पूरा हुन्छ ?
आँखा स्वास्थ्य भनेको आधारभूत स्वास्थ्यमा पर्छ र नेपालको संविधानले यसलाई निःशुल्क हुनुपर्छ भनेको छ । सरकारको स्थानीय स्तरमा रहेका आधारभुत संरचनाहरू छन्, त्यसमा यो सेवा प्रदान गर्ने व्यवस्था नभएको र गैरसरकारी संस्थाले अगाडि बढाएकाले सर्भिस पर्चेज गरिदिनुपर्छ । स्थानीय सरकारको लेभलबाट पनि हामीलाई अनुदान लगायतमा सहयोग हुनुपर्छ । निजी सरकारी सहकार्यको अवधारणालाई अगाडी बढाउँदै आँखा स्वास्थ्यलाई समग्र स्वास्थ्य प्रणालीमा एकीकृत गर्दै लग्यो भने सन् २०३० सम्ममा उपचारबाट निको हुने अन्धोपनको समस्या निराकरण गर्न सफल हुन्छौं ।
जनशक्ति पनि छ, प्रविधि पनि उत्कृष्ट छ भन्नुभयो । नेपाललाई आँखा उपचार र यसका विशेषज्ञ उत्पादनको गन्तव्य बनाउन सकिँदैन ?
सकिन्छ, अहिले पनि विभिन्न देश जस्तै म्यानमार, कम्बोडिया जस्ता देशबाट पनि जनशक्ति आएर प्रशिक्षण लिइरहेका छन् । यस अर्थमा नेपाललाई अन्तरराष्ट्रिय स्तरमा जनशक्ति उत्पादन गर्ने स्थानको रूपमा अगाडि बढाउन सकिन्छ ।
पहिले भन्दा अहिले जता हेर्यो त्यता चश्मा लगाएका बच्चाहरू भेटिन्छन् । रोग नै बढेको हो कि चेतना बढेको हो ?
बच्चाहरूमा दृष्टिदोष बढेको अवस्था छ । ग्रामीण भेगको भन्दा शहरी भेगको बच्चामा यसको समस्या बढी देखिएको छ । शहरी भेगमा सागसब्जी भन्दा जकं फुड बढी खाने, खुल्ला वातावरण नपाउने जस्ता कारणले गर्दा दृष्टिदोष देखिएको छ । त्यसको लागि स्कुल स्क्रिनिङ प्रोग्रामहरू हामीले ल्याएका छौं । निःशुल्क परीक्षण गर्ने र निःशुल्क चश्मा समेत दिने गरेका छौं । त्यो चश्मा लगाएपछि निरन्तर लगाए नलगाएको हेर्ने गरेका छौ । यसका लागि विद्यालयमै जनचेतनाका काम गर्ने गरेका छौ । यसरलाई राष्ट्रिय स्तरमै अगाडि बढाउने हाम्रो योजना छ । सरकारसँग मिलेर स्कुल शुरू गर्नुपूर्व नै आँखा परीक्षण गराउने कार्यक्रम गर्ने योजना पनि छ ।
शिविरहरू सञ्चालन गर्न जाँदा कत्तिको सहयोग पाउने गर्नुभएको छ । स्थानीयको प्रतिक्रिया कस्तो पाउने गर्नुभएको छ ?
कोभिड महामारीको बेला हामीले त्यति धेरै शल्यक्रिया गर्न पाएनौं । यो समयमा शिविर सञ्चालन गर्न सकिएन भने अस्पतालसम्म आउने अवस्था पनि थिएन । त्यसकारण अहिले एउटै क्याम्पमा ४०० बढी मोतियाबिन्दुका बिरामी पाइने गरेको छ । स्थानीय निकाय, स्थानीय क्लबहरू अन्य संस्थाहरूबाट पनि उत्साहजनक रूपमा सहभागिता भएको छ ।
नेपालमा आँखा भन्दा पनि कानको समस्या धेरै देखिएको छ । लगभग १८ प्रतिशत जनता यो बहिरोपनको समस्यामा देखिएका छन् । यो बहिरो पनको उपचार सेवामा पनि सामुदायिक स्तरमा हामी पुग्न सकेका छैनौं ।
सरकारले सहयोग गरेको छ । अनुदानको रूपमा सहयोग गरेको छ । सरकारले स्वास्थ्य प्रणालीमा आँखा स्वास्थ्यलाई पनि इन्टिग्रेटेड गर्ने भनेकोले विस्तारै यसलाई अपनत्व लिएको अवस्था छ । यो स्वागत योग्य कुरा हो । जिल्लाका सदरमुकामका उपचार केन्द्रहरू एकदमै राम्रा छन् । त्यो भन्दा उपल्लो लेभलका आँखा अस्पतालहरू सेन्टर अफ एक्सिलेन्शका अस्पतालहरू रहेका छन् । स्थानीय स्तरको लेभलमा आँखा स्वास्थ्यको उपचार हुनुपर्ने हो । त्यसमा सरकारले पक्कै पनि अपनत्व लिएर यो सेवालाई अगाडि बढाउने छ भन्ने विश्वास छ ।
यति संवेदनशील क्षेत्रमा काम गर्ने तपाईंहरूको सेवा सुविधाको अवस्था कस्तो छ ?
राम्रो छ, नेपालमा आँखा स्वास्थ्य सेवामा लागेका सबै जनशक्तिहरूको सेवा सुविधाहरू राम्रो छ ।
सबै उमेर समुहका व्यक्तिमा मोबाइल लगायतका डिजिटल डिभाइस चलाउनेको संख्या बढिरहेको छ, यसले कस्तो असर गर्छ ?
असर गर्छ, ड्राइ आइ को केस नेपालमा पनि बढी आउने गरेको छ । दृष्टी दोषको समस्या पनि आएको छ । हाम्रो विद्यालय शिक्षमै सुधार गर्नुपर्ने छ, त्यसमा केही समेटिएको छ । तर, अझै केही काम गर्न बाँकी छ ।
आँखासँगै कानको स्वास्थ्यमा पनि काम गर्ने योजना रहेछ । त्यसको सम्भावना कस्तो छ ?
नेपालमा आँखा भन्दा पनि कानको समस्या धेरै देखिएको छ । लगभग १८ प्रतिशत जनता यो बहिरोपनको समस्यामा देखिएका छन् । यो बहिरो पनको उपचार सेवामा पनि सामुदायिक स्तरमा हामी पुग्न सकेका छैनौं । आँखा स्वास्थ्य सेवामा दृष्टि विशेषज्ञ र अप्थाल्मिक एसिस्टेन्ट नेत्र विशेषज्ञको जो संख्या छ, जुन हामीले तालिम दिएका छौं, त्यो हिसाबले कानको उपचार सेवाको लागि मिडलेवल ह्यूमन रिसोर्सहरूको संख्या पर्याप्त रूपमा छैन नेपालमा । यस कारण पनि नेपालमा यसको समस्या विकराल नै छ ।
कुनै पनि आँखाको समस्या छ भने नजिकको आँखा अस्पताल वा उपचार केन्द्रमा जानुहोस् । कमसेकम वर्षको एकपटक आँखा जँचाउनुस् । आँखालाई माया गर्नुहोस् ।
यसको निराकरण गर्नको लागि केही उपचार केन्द्र र आँखा अस्पतालहरूमा कानको साधारण सेवा पनि दिँदै आएका छौं । विराटनगर आँखा अस्पताल, सगरमाथा चौधरी आँखा अस्पतालमा इएनटी डाक्टर नै राखेर शल्यक्रियाको समेत सेवा शुरू गरेका छौं ।
आँखाको उपचार गर्ने अस्पतालहरूमा इएनटी डाक्टर नै राखेर यो सेवा दिने योजना छ । यसको लागि सरकार र विदेशी निकायसँग सहकार्य पनि गर्ने हो । यसका लागि विदेशी निकायका लागि सिविएमले सहयोग गरेको छ । संघीय सरकारले पनि ट्रेनिङको लागि सहयोग गरेको थियो । हाम्रो अपेक्षा तीनै तहका सरकारबाट यो समस्या घटाउनको लागि नेपाल नेत्र ज्योति संघलाई सहयोग गर्नुभयो भने हामी यसमा धेरै अगाडि बढ्न सक्छौं ।
अन्त्यमा केही भन्नु छ । सरकारलाई, आम जनतालाई ?
नेपालको आँखा स्वास्थ्य प्रणाली एकदमै एफोर्डेबल छ । गुणस्तरीय पनि छ । निःशुल्क पनि प्रदान गरेका छौं । कुनै पनि आँखाको समस्या छ भने नजिकको आँखा अस्पताल वा उपचार केन्द्रमा जानुहोस् । कमसेकम वर्षको एकपटक आँखा जँचाउनुस् । आँखालाई माया गर्नुहोस् । सरकारले पनि स्थानीयस्तरमा आँखा स्वास्थ्यलाई एकीकृत गर्नतर्फ अगाडि बढ्नुपर्ने देखिन्छ ।
अन्तरराष्ट्रिय संस्थाले त लगभग ४५ वर्षदेखि हामीलाई सहयोग गर्दै आएका छन् । यो आँखा स्वास्थ्य प्रणाली जुन छ, यो विश्वकै नमुना प्रणाली हो । त्यो पनि गैरसरकारी संस्थाबाट सञ्चालित । त्यसको लागि पनि सबैलाई धन्यवाद दिन चाहन्छु ।
(नेत्र ज्योति संघका कार्यकारी निर्देशक मिश्र व्यवस्थापनमा पीएचडी हुन् ।)