ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लघुवित्तहरू अब स्वस्फूर्त मर्जरमा जाने सम्भावना बढी छ : कुलमणि तिम्सिना[अन्तरवार्ता]

२०७९ चैत, १९  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

इटहरीमा रहेको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुलमणि तिम्सिना वित्तीय क्षेत्रमा तीन दशकभन्दा बढी समय काम गरिसकेको अनुभवी व्यक्ति हुन् । पछिल्लो समय लघुवित्त संस्थाले सदस्य ऋणीसँग अधिक ब्याज असुल गरेको, अधिक नाफामुखी भएको, मूलभूत सिद्धान्त नै बिर्सिएको जस्ता गुनासा बढेका छन् । यस्ता संस्थाविरुद्ध आन्दोलन समेत भएका छन् । प्रस्तुत छ, लघुवित्त क्षेत्रको पछिल्लो समसामयिक अवस्थाबारे उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत तिम्सिनासँग आर्थिक अभियानका वेदराज पौडेलले गरेको कुराकानीको सार :

लघुवित्तहरूले चर्को ब्याज लिए, ब्याज मिनाहा गर्नुपर्छ भन्दै ठाउँ ठाउँमा आन्दोलन भइरहेका छन् । यसलाई कसरी हेर्नुहुन्छ ?

यसलाई दुई तरीकाले हेर्न आवश्यक छ जस्तो लाग्छ । कोरोना अगाडिको कार्यकाल र कोरोनापछिको कार्यकाल । किनभने कोरोना अगाडिको राष्ट्र बैंकले हामीलाई नियमन गर्दै गर्दाको बेला हामीले हाम्रा ग्राहक सदस्यलाई लगानी गर्दाको ब्याजदर अर्थात् कोरोना अगाडिको ब्याजदर र कोरोना पछाडिको ब्याजदर नै फरक छ । सेवाशुल्क समेत फरक छ । त्यो बेला हामीलाई राष्ट्र बैंकले नजिकबाटै निरीक्षण गरिहेको अवस्था थियो । पछिल्लो कार्यकालमा ग्राहक सदस्यले अलिकति बढी कर्जा लिन पाए हुन्थ्यो भन्ने उद्देश्य राख्नुभयो । सूचना लुकाएर अन्त कतै ऋण छैन या थोरै छ भनेर ढाँटेर ऋण लिनुभयो । कर्जा सूचना केन्द्र (सीआईबी) बाट डेटा हेर्दा ग्राहकले सूचना लुकाइएको पाइयो । त्यो ग्राहकले गरेको गल्तीलाई हामीले धेरै उचाल्न आवश्यक छैन । उहाँहरूलाई थप वित्तीय साक्षरता दिनुपर्ने देखियो । यद्यपि वित्तीय साक्षर बनाउँदै लैजाने क्रममा हामी प्रत्येक वर्ष २ हजार। २५ सय ग्राहकलाई प्रत्यक्ष तालीम दिइरहेका हुन्छौं ।
कोरोनापछिको राष्ट्र बैंकको मौद्रिक नीतिले लघुवित्तमा कस्तो असर गर्‍यो ?
कोरोनापछि २०७७ साउनमा आएको मौद्रिक नीतिले १५ प्रतिशतमा मात्र कर्जा लगानी गर्नुपर्ने निर्णय गर्‍यो । सेवाशुल्क पनि १ दशमलव ५ प्रतिशत तोकियो । कसैले वित्तीय अवस्था हेरेर १३ प्रतिशत ब्याजदरमा पनि लगानी गरे । तर १५ प्रतिशतभन्दा बढी ब्याजदर र डेढ प्रतिशतभन्दा बढी सेवाशुल्क लिन नपाइने नियम अहिले पनि लागू नै छ । यो नियम लागू भएपछि हामी आत्तियौं । ४ देखि ६ प्रतिशतसम्म लागत त लघुवित्तकै छ । १२ देखि १३ प्रतिशतमा कर्जा लिएर १५ प्रतिशतमा लगानी गर्दा निकै कठिन अवस्था आयो । वित्तीय प्रणालीमा प्रशस्त तरलता भएकाले बैंकहरूले क्रमशः ब्याजदर घटाउँदै गए । ब्याजदर घट्दै आएर ५ देखि साढे ५ प्रतिशतसम्म आयो । एकाधले त्योभन्दा पनि कममा लिनुभयो भन्ने सुनियो । यसो गर्दा १५ प्रतिशत अधिकतम ब्याजदर हुँदा त्यसबीचमा कर्जा लगानी पनि भयो । ग्राहकलाई अलिकति सस्तो प¥यो । १७ देखि १८ प्रतिशत ब्याजदरमा कर्जा लिइरहेका ग्राहकले १५ प्रतिशतमा ऋण लिन पाउँदा माग पनि बढी भयो । स्रोतको रूपमा पनि हामीलाई बैंकहरूले प्रशस्तै लगानी गर्ने अवस्था बन्यो । लकडाउनका कारण उद्योगधन्दा कलकारखाना लगायत व्यवसाय खस्कियो । बैंकहरूमा भने तरलताको अवस्था प्रशस्त रह्यो । बैंकहरूले लघुवित्त संस्थाहरूलाई सहुलियत दरमा राम्ररी उपलब्ध गराए । हामीले औसतमा साढे ६ प्रतिशतमा कर्जा पायौं । १५ प्रतिशतमा लगानी गरेको अवस्थामा ७ देखि साढे ७ प्रतिशतसम्म स्प्रेडदर रह्यो । आफ्नै लागत पनि ४ देखि ६ प्रतिशत पर्छ । स्रोतको लागत घटेकाले त्यो वर्ष संस्थाहरूले केही नाफा लिएको देखिन्छ । तर अहिले बजारमा आएजस्तो अत्यधिक ब्याजदर, चर्काे सेवाशुल्क लिएको होइन ।

नियत सफा हुँदाहुँदै पनि ऋण तिर्न नसक्ने अवस्थामा लघुवित्तले के गर्छ ?
कोरोनाको असर विस्तारै ग्रामीण भेगमा पुगेको छ । कोरोनाको कारण उत्पादन घट्यो, उद्योगहरूले मजदूर कटौती गरे, घरको मुख्य आम्दानीको स्रोत सुक्यो । किराना पसल पहिलेको तुलनामा चलेन । अर्थात् विक्री छैन । सोही कारण ऋणको किस्ता तिर्न उनीहरूले सकिरहेका छैनन् । कोरोना सकियो । तर त्यसको असर अहिले देखिइरहेको छ ।
लघुवित्तले कर्जा दियो । ठूला बैंकहरूले योजनामा ऋण दिँदैनन् । तर लघुवित्तले म यस्तो गर्छु भनेर योजना सुनाएपछि विनाधितो ऋण दिन्छ । तर जे काम गर्छु भनेर ऋण लिएको हो, त्यो मानिसले त्यही काम नगरेर अन्त खर्च गरेकाले अहिले देखिएको समस्या चाहिँ लघुवित्तको कारण आएको भनिएको छ । तर दोषको भारी लघुवित्तलाई बोकाइने गरिएको छ । यो विडम्बना हो ।

त्यसो भए लघुवित्तको कर्जा बढी दुरुपयोग भएको देखियो, होइन ?
संख्या ठूलो भएपछि त्यहाँ नजर कम हुन्छ । लघुवित्तका सदस्यहरू धेरै छन्, जसकारण सबैमा नजर नपुग्न सक्छ । दुईजना छोराछोरी भएको घरमा र १० जना छोराछोरी भएको घरमा सबैको उत्तिकै रेखदेख हुन सक्दैन । कर्जा दिने बेलामा हामीले उहाँहरूलाई कर्जा, वित्तीय अनुशासनका विषयमा बुझाइरहेका हुन्छौं । साथै कर्जा त्यति चाहिने हो कि होइन, नचाहिएको पैसा ऋणमा घटाइदिनोस् भनिरहेका हुन्छौं । तर लघुवित्तबाट पाइने रकम अरूको भन्दा सहज हुन्छ । साहू महाजन, सुनचाँदी पसले, मिटरब्याजीको भन्दा सहज हुने भएकाले उहाँहरूले अलिकति छल्ने गर्नुहुन्छ । जस्तै, गाई किन्ने भनेर १ लाख ५० हजार ऋण लिनुभयो । तर १ लाख २० हजारको मात्र गाई किन्नुभयो भने त्यो किनिएको गाईको मूल्य तोक्न सकिँदैन । कुनै उद्योगको उत्पादन या बाहिरबाट भन्सार तिरेर आएको सामानको पो मूल्य यति हो भनेर तोक्न सकिन्छ । तर कृषि क्षेत्रको वस्तुको मूल्य यति नै हुन्छ भनेर तोक्ने मापदण्ड नहुँदा पनि समस्या छ । ऋणीमा इमानदारीको कमीको कारण समस्या उत्पन्न भएको हो । त्यो समस्या ऋणी आफैले निम्त्याएको हो ।

एउटा व्यक्तिले धेरैओटा लघुवित्तबाट ऋण लिने गरेकाले पनि समस्या भएको हो भनिन्छ नि ।

एउटा व्यक्तिले एउटाभन्दा धेरै लघुवित्तबाट ऋण लिन पाउँदैन । कर्जा सूचना केन्द्रबाट कुनै पनि ऋणीले कतिओटा लघुवित्तसँग ऋण लिएको छ भन्ने देखिन्छ । त्यसरी देखिएका ऋणीहरूलाई हामी जानकारी गराएर एउटा मात्रै ऋण लिनुहोला, अन्यको ऋण तिर्नुहोला भनेर सचेत गराउछौं । म यो संस्थाको मात्र ऋण लिन्छु भने प्रतिबद्धता गराएपछि मात्रै ऋण दिन्छौं । धेरैओटामा सदस्य बस्दा एउटा मानिस व्यस्त भएर पनि उसले रोजगारी गर्ने समय नपाएको अवस्था छ । राष्ट्र बैंकले नै एउटाभन्दा बढी लघुवित्तबाट ऋण लिन नपाउने गरी निर्देशन दिएको छ । यसमा थप नियम पनि आउलान् । अहिले राष्ट्र बैंकले आठबुँदे निर्देशन दिएको छ ।

एउटा प्रयोजनका लागि लिएर अन्यत्र लगानी गर्दा लघुवित्तका ऋणीहरू समस्यामा परेका हुन् ।
 

लघुवित्तको ऋण तिर्न नसकेर घरवास नै उठेको भन्ने जस्ता समाचार पनि आएका छन् । यसबारे के भन्नुहुन्छ ?
त्यस्तो होइन । ऋणको उचित लगानी गर्न नसकेकाले यस्तो समस्या आएको हो । एउटा काम गर्छु भनेर ऋण लिएर अर्काे काममा लगानी गर्दा प्रतिफल आउँदैन । त्यसरी ऋणी सदस्यले समयमा किस्ता बुझाउन नसक्दा यस्तो समस्या देखिएका छन् । तर दोष जति लघुवित्तलाई दिने गरिएको छ ।
लगानी गरेको पैसाको स्रोत के हो भन्ने बुझ्न जरुरी हुन्छ । हाम्रो स्रोत ५९ लाख बचतकर्ता हुन् । तीमध्ये ऋण लिनेको संख्या ३३ लाख छ । त्यसबाहेक वाणिज्य, विकास बैंक, वित्त कम्पनी, लघुवित्त वित्तीय संस्था (थोक कर्जा प्रदायक) ऋण लिएका छौं । ६४ ओटा लघुवित्त संस्थाका शेयरधनी र सर्वसाधारण शेयरधनीको समेत बचतको रकम हो । सबैको कर्जा मिनाहा गर्ने हो भने ५९ लाख बचतकर्ताको रकम कसले फिर्ता गर्छ ? हामीले फिर्ता गर्न सक्ने अवस्था छैन । त्यसैले सबै ऋण मिनाहा गर्न सक्ने कुरै भएन । झण्डै साढे ४ खर्ब लगानी र साढे ३ खर्ब ऋण छ । ऋणको पैसा फिर्ता गर्न नसक्दा बैंकहरूले पनि फिर्ता गर्न सक्दैनन्, जसकारण आर्थिक चक्र नै बिग्रन्छ । सबै ऋण मिनाहा हुन सक्दैन ।

विनाधितो ऋण प्रवाहको कारण नै ऋणीले ऋण नतिर्ने समस्या आएको हो ?
हामीलाई राष्ट्र बैंकको निर्देशनअनुसार कुल कर्जाको एक तिहाइ धितो लिएर र दुई तिहाइ विनाधितो ऋण प्रवाह गर्नुपर्छ । कोरोनाकालअघि समूहमा छलफल गथ्र्याैं । तर कोरोनाका बेला भने समूहको भेला नै भएन । यो अवस्थामा हामीले नेपाल राष्ट्र बैंकलाई धितो कर्जा र विनाधितो कर्जालाई ५०/ ५० प्रतिशत बनाइदिन आग्रह गर्‍यौं । तर त्यो स्वीकृत भएन । त्यसले गर्दा विनाधितोतर्फको केही जोखिम बढेको छ । एक–दुई महीनासम्म जोखिम बढ्न सक्छ । किनभने बजारमा ऋण मिनाहा हुन्छ भन्ने हल्ला फैलाइएको छ । तर वैशाख जेठ तिरबाट जब खेतीको सिजन शुरू, हुन्छ त्यसपछि विस्तारै किस्ता तिर्ने क्रम नियमित हुँदै जान्छ भन्ने मलाई लाग्छ । दशैं तिहारका बेला खसी बोका उपहार राखेर खोलिने चिठ्ठा पनि दर्ता गरिनुपर्छ, नत्र गैरकानूनी हुन्छ । तर अहिले ऋण मिनाहा गरिनुपर्छ भनेर लघुवित्तको आन्दोलनमा रसिद काटेर सहयोग रकम उठाइन थालेको छ । गैरकानूनी रूपमा चन्दा उठाइन पाइँदैन । अरू बैंकहरूले झैं हामीले पनि राज्यलाई कर तिर्छौं । तर हामीलाई सुरक्षा छैन । लघवित्तमा २३ हजार कर्मचारी छन् । यति धेरै जनशक्ति कार्यरत रहेको लघुवित्त क्षेत्रलाई केही मानिसले बदनाम गर्न खोजेका छन् । तर वास्तविकता त्यस्तो छैन । बैंकहरूबाट सस्तो ब्याजमा पुनर्कर्जा वितरण भएपछि १ लाख लिने क्षमताका मानिसले पनि २ देखि ३ लाखसम्म ऋण लिएपछि समस्यामा परेका हुन् । केही टाठाबाठाहरू बैंकहरूविरुद्ध लाग्दा ऋण मिनाहा हुन्छ कि भन्ने आशामा कमजोर साक्षरता भएका व्यक्तिहरु पनि पछि लागेको जस्तो देखिन्छ । त्यो गलत हो ।

अहिलेको समस्या सम्बोधन गर्न राष्ट्र बैंकले कस्तो नीति ल्याउनुपर्छ ?
इमानदारीपूर्वक भन्नुपर्दा लघुवित्तको संख्या धेरै भएकै हो । धेरै हुनुमा राष्ट्र बैंकले वित्तीय पहुँच बढाउने उद्देश्यले धेरै संस्थालाई यसको लाइसेन्स दियो । विगतदेखि गैरसरकारी संस्थामा सञ्चालनमा आएका संस्थालाई पनि वित्तीय लाइसेन्स दिएको र नयाँ संस्थाले पनि लाइसेन्स पाएकाले कुनै समय लघुवित्तको संख्या १०० पुगेको थियो । तर अहिले मर्ज हुँदै गएर ६४ ओटामा आएका छन् । यसबीचमा १८ ओटा लघुवित्तले त मर्जरको सम्झौता पनि गरिसकेका छन । यो वर्षको अन्त्यसम्ममा लघुवित्तको संख्या ५० देखि ५५ को हाराहारीमा रहन्छ । जब संख्या घट्दै जान्छ, तब यस्ता संस्थाका विकृतिमा सुधार आउँछ । एउटा मानिसले पाँचओटा लघुवित्तबाट ऋण लिएको थियो भने पाँचओटामध्ये दुईओटा संस्था मर्ज हुनेबित्तिकै त्यो ऋणीको ऋण चारओटामा सीमित हुन्छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै एउटा मात्र वित्तीय संस्थाबाट ऋण लिने व्यवस्था गर्न भनेको छ । यसकारण अब लघुवित्तीय संस्थाका सदस्यको संख्या घट्छ । सदस्य संख्या घटेपछि  सञ्चालनमा पनि समस्या  आउँछ । अनि यस्ता संस्था अर्काेसँग मर्जरमा जानुपर्ने अवस्था आउँछ । 

धितोतर्फको १५ लाखसम्म ऋण दिइँदै आएकोमा राष्ट्र बैंकले ७ लाखमात्र दिन निर्देशन दिएको छ । विनाधितो ७ लाख नै लिन पाउने व्यवस्था गरेको छ । जोखिम न्यूनीकरण गर्ने काम गरेको छ ।लघुवित्त संस्था बढी नाफामुखी भए भन्नका लागि विगतमा २० प्रतिशतभन्दा बढी नाफा बाँड्दा त्यसको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नुपथ्र्याे । अहिले १५ प्रतिशतभन्दा बढी नाफा बाँड्नुपर्‍यो भने त्यसको ५० प्रतिशत जगेडा कोषमा राख्नुपर्ने प्रावधान छ । लघुवित्तको लाभांश बढी देखिनुको अर्को कारण के हो भने हामीलाई विगत ४ वर्षदेखि हकप्रद शेयर जारी गर्न दिइएको छैन । बोनस वा मर्जरको माध्यमबाट पूँजी वृद्धि गर्न गर्नुपर्ने अवस्था छ । हकप्रद शेयर जारी नभएको र व्यवसाय उच्च रूपमा बढेपछि पूँजीको तुनलामा नाफा बढी देखिनु स्वाभाविक नै हो । जसरी वाणिज्य बैंकहरूको चुक्तापूँजी २ अर्बबाट एकैपटक ८ अर्बको बनाइयो, त्यसैगरी कम्तीमा ५० प्रतिशत या शतप्रतिशतसम्म हकप्रद शेयर जारी गर्न दिने हो भने प्रतिशेयर आम्दानी स्वतः घट्छ । नाफा आफैं नियन्त्रण हुन्छ । संस्थाहरू पनि बलिया हुन्थे । राष्ट्र बैंकले पूँजी वृद्धिका लागि मर्जर या बोनस शेयर मात्रको बाटो रोजेकाले लघुवित्तको संख्या नघटेको हो । अब एउटा ग्राहकले एउटा मात्र संस्थाबाट ऋण लिन पाउने भएपछि बहुबैंकिङको संख्या यकीन हुन्छ । ग्राहक संख्या घट्ने भएकाले संस्थाहरू स्वतःस्फूर्त मर्जरमा जाने सम्भावना बढी छ ।

इमानदारीपूर्वक भन्नुपर्दा लघुवित्तको संख्या धेरै भएकै हो ।

तत्कालीन गभर्नर चिरञ्जीवी नेपालको पालामा बैंकहरूलाई गाउँ जाऊँ भनियो । तर उनीहरू गाउँ गएनन् । गए पनि न्यून रूपमा मात्र पुगे, जसकारण ग्रामीण क्षेत्रमा ठूलो हिस्सा लघुवित्तहरूले लिए । यही कारण पनि विकृति आएको हो ?
जति बेला स्थानीय तह गाविसबाट गाउँपालिकामा रूपान्तरित हुँदै थिए, त्यो बेला गभर्नर नेपालकै पालामा बैंकहरूलाई प्रत्येक गाउँ पालिकामा गएर शाखा खोल्न भनियो । फलस्वरूप पश्चिम विकट जिल्लाको एउटा गाउँपालिकाबाहेक सबैमा वाणिज्य बैंक पुगे । तर लघुवित्त हिजो माओवादी द्वन्द्वको बेलामा पनि गाउँमै सेवा दिइरहेका थिए । वाणिज्य बैंकहरू द्वन्द्वका बेला गाउँ छाडेर शहर पसे । त्यो बेलामा सहकारी र लघुवित्तले जनतालाई वित्तीय सेवा दिए । विभिन्न गैरसरकारी संस्थाहरूको तथ्यांक हेर्दा २०५८ देखि २०६८ सालसम्म सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला नेपालको गरीबीको अवस्थामा भने व्यापक सुधार भएको देखिन्छ । यो योगदान सहकारी संस्था र लघुवित्तको हो । यो नेपाल सरकारको तथ्यांकले पनि भन्छ । वाणिज्य बैंकहरूको सेवा लिन अहिले पनि पहाडमा एक दिन हिँड्नुपर्छ । तर लघुवित्तका कर्मचारी घर घरै पुगिरहेका हुन्छन् । अहिले पनि गाउँघरमा वित्तीय पहँुच लघुवित्तकै कारण बढी छ । महिला सशक्तीकरण र वित्तीय साक्षरतामा पनि लघुवित्तको योगदान ठूलो छ । शैक्षिक अवस्था सुधारका लागि समेत हामीले पहल गरेका छौं । शीपमूलक तालीम दिने काम गरेका छौं ।

राष्ट्र बैंकले दिएको आठ बुँदे निर्देशनलाई कसरी लिनुभएको छ ? यो सकारात्मक छ कि लघुवित्तलाई अझ कस्न खोजिएको हो ?

नाफाको वितरणमा कम्पनी ऐनअन्तगत दर्ता भएका संस्थाहरू लाभांश कति बाँड्ने भनेर खुला हुनु पर्दछ । अब लाभांश बाँड्न दिने कि नदिने भन्ने अधिकार राष्ट्र बैंकमै छ । हिजो ७० प्रतिशत स्वीकृति दिने पनि राष्ट्र बैंक नै थियो । अब यहाँ १५ प्रतिशतभन्दा बढी नाफा बाँड्ने भए ९५ प्रतिशत विभिन्न जगेडा कोषहरूमा बजेट छुट्ट्याउनुप¥यो भनेर नाफामा अंकुश लगाउन खोजिएको छ । यसले के हुन्छ भने लघुवित्त क्षेत्रको अवस्था नबुझी खाली नाफा कमाउन लालायित लगानीकर्ताहरु चाहिं अलिकति डिमोटिभेट हुने अवस्था आउन सक्दछ । शेयर बजारमा लघुवित्तको अप्रत्याशित मूल्यवृद्धि वा छलाङ भन्ने खालको अवस्था चाहिँ रोकिन्छ । यसले दोस्रो बजारमा असर गर्छ । २० प्रतिशतसम्म लाभांश वितरणमा केन्द्रीय बैंक खुकुलो भइदिँदा हुन्थ्यो । कम्पनी ऐनको रुल एण्ड रेगुलेसन अनुसार यसरी ठ्याक्कै कडाइ गर्दा अप्ठ्यारो अवस्था आउँछ नै । लघुवित्तमा शेयरका खेलाडीहरू प्रवेश गर्ने अनि शेयरको मूल्य अचाक्लि बढाइदिने चलनले हल्ला बढी भएको हो । हुन त यसको पछाडि शेयर पूँजी सानो भएकाले नै हो । यसमा शेयर पूँजी थपिदिने हो भने ईपीएस घट्छ । लगानीकर्ता निरुत्साहित हुन्थे र संस्था पनि बलियो हुन्थ्यो । त्यो काम भइरहेको अवस्था चाहिं छैन । 

लघुवित्त क्षेत्रलाई केही मानिसले बदनाम गर्न खोजेका छन्

खराब कर्जा न्यूनीकरणतर्फ लघुवित्तहरूले नयाँ रणनीति बनाउनु पर्ने बेला भएन र ? 

जोखिम कम गर्न धितोतिर जानुपर्ने हो । तर राष्ट्र बैंकले लिमिट बढाएको छैन । विनाधितोतर्फ जाने अन्य कर्जाहरू अलिक कडाइ गरिरहेका छौं, जसले जोखिम कम गर्न सहयोग पुग्छ । हामीलाई समस्यामा परिसकेका ऋणीहरूको कर्जालाई पुनर्तालिकीकरण र पुनःसंरचना गर्न दिइएको छैन । हामीले अहिले गर्ने भनेको नवीकरण मात्रै हो । हिजो १० हजार तिर्ने ऋणीले अहिले ५ हजार मात्रै तिर्न सक्नुहुन्छ भने त्यहाँ पुनःसंरचना गरेर समय बढाइदिन पाएको भए सहज हुँदै जान्थ्यो भन्ने हो । तर यो अधिकार हामीलाई छैन । मुख्यतया ग्राहक आफैं इमानदार हुनुपर्‍यो र वित्तीय सारक्षता पनि हुनुपर्‍यो ।
वित्तीय साक्षरता लघुवित्तले मात्रै गर्ने होइन, यो नेपाल सरकार, गाउँपालिका, उपमहानगर, महानगरपालिका, राष्ट्र बैंक लगायतका संस्था सबैले सबैका लागि वित्तीय सारक्षरता कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । वित्तीय सारक्षरता भयो भने ऋणीहरू अनुशासित हुन्छन् र ऋणमा बेइमान गर्दैनन् । तर अहिले ग्रामीण क्षेत्रमा ऋण नतिर्ने कालोसूचीमा परेको मान्छे पनि जननिर्वाचित प्रतिनिधि छन् । जसले वित्तीय अनुशासनहीन काम गरेको छ, त्यसको बसाईसराई, नागरिकताको सिफारिश, पासपोर्टको सिफारिश लगायत रोकिदिने भने मात्रै पनि कर्जा दुरुपयोग गर्नेहरू निरुत्साहित हुन्थे । यो काम सरकारले चाँडै गर्न आवश्यक छ । ऋण नतिर्ने, तर ठूला ठूला ठेक्कापट्टामा खुलेआम सहभागी हुन पाउने अनि ठेक्का पनि उसैले पाउने अवस्था छ । कम्तीमा बदमास गर्नेहरूलाई कारबाही गर्ने परिपाटी भएमा मात्रै अनुशासन कायम हुन्छ ।

कर्जा दुरुपयोग नगरेको मानिस, वित्तीय अनुशासनमा बसेको मानिसलाई मात्रै सरकारले पनि अनुदान दिनुपर्दछ । किनकि अनुदानको रकम पनि त नेपाली जनताकै रकम न हो । डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा एउटा बजेटमा नेपाल सरकारबाट स्थानीय तहबाट पाउने सुविधा बैंक तथा वित्तीय क्षेत्रका खराब ऋणी हुन् भने उनीहरूलाई त्यो सुविधाबाट रोक्नुपर्छ भनिएको थियो । तर त्यो कार्यान्वयन भएन । हिजो त्यो लागू भएको भए आज यस्तो अवस्था आउने थिएन । वित्तीय संस्थाको ऋण खाएर नतिरेको अवस्थामा  बसाईसराईको अनुमति गाउँपालिकाले दिनुहुँदैन । खराब ऋणी र वित्तीय अनुशासन उल्लंघन गर्नेलाई स्थानीय तहबाटै कारबाही हुन थालेमा मात्रै यो समस्या समाधान हुन्छ, नत्र हुन सक्दैन । वित्तीय संस्था र बैंकहरूले मात्रै कारबाही गर्न सक्दैनन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)