ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लयमा फर्किंदै अर्थतन्त्र, चालू खाता घाटा ४६० अर्बबाट ४४ अर्बमा झर्‍यो, शोधनान्तर अवस्था पनि सकारात्मक 

२०७९ चैत, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

काठमाडौं । कोभिड–१९ (Covid-19) को प्रभाव र रुस–युक्रेन (Russia-Ukraine) बीचको तनावले आर्थिक गतिविधि प्रभावित हुँदा संकटउन्मुख बनेको अर्थतन्त्र (Economy) लयमा फर्किन थालेको छ । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले मंगलवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थिति मजबुत हुनुका साथै आन्तरिक अवस्था पनि विस्तारै लयमा फर्किन थालेको देखाएको छ । 

राष्ट्र बैंक (NRB)ले मंगलवार पत्रकार सम्मेलन नै गरेर चालू आर्थिक वर्षको आठ महीनासम्मको आर्थिक अवस्था सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र ट्र्याकमा आएको दाबी गरे । ‘अर्थतन्त्रको आन्तरिक र बाह्य अवस्था सुध्रिएको छ,’ उनले भने, ‘अब ब्याजदर (Interest Rate) पनि घट्दै जान्छ ।’

गभर्नर अधिकारीले चालू खाता घाटा ४ खर्ब ६० अर्बबाट ४४ अर्बमा झरेको, २ खर्ब ५८ अर्ब रुपैयाँले नकारात्मक रहेको शोधनान्तर अवस्था १ खर्ब ४८ अर्ब रुपैयाँले सकारात्मक बनेकोले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताए । ‘गत आर्थिक वर्षमा निकै जटिल अवस्था थियो, निद्रासमेत लाग्दैनथ्यो,’ उनले भने, ‘अहिले सूचकहरू सकारात्मक हुँदै गएका छन् । यसको प्रभाव सर्वसाधारणसम्म पुग्न अझै केही समय लाग्छ ।’

विदेशी मुद्रा सञ्चिति २ वर्षयताकै उच्च

चालू आर्थिक वर्षको फागुनमा विदेशी मुद्रा सञ्चिति (Foreign Currency Reserves) २ वर्षयताकै उच्च विन्दुमा छ । २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५ दशमलव २ प्रतिशतले बढेर फागुनमा १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यसअघि २०७७ फागुनमा विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९० अर्ब रुपैयाँ थियो । २०७६ पुसमा यो १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । अमेरिकी डलरमा सञ्चिति २०७९ असारमा ९ अर्ब ५४ करोड रहेकोमा फागुनमा १२ दशमलव १ प्रतिशत बढेर १० अर्ब ६९ करोड कायम भएको छ । 

यसबाट वस्तु र सेवा आयात धान्ने क्षमता बढेको छ । अहिलेको सञ्चितिले आर्थिक वर्ष २०७९/८० को सात महीनाकै अनुपातको वस्तु आयात गर्न १० दशमलव ९ महीनालाई र वस्तु तथा सेवा आयात गर्न ९ दशमलव ४ महीनालाई पुग्छ । 

शोधनान्तर बचत १४८ अर्ब

फागुन मसान्तमा देशको शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँले बचतमा छ । पोहोर फागुनमा यो २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो । अमेरिकी डलरमा पोहोर फागुनमा २ अर्ब १७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति यसपालि १ अर्ब १२ करोडले बचतमा छ ।

कोभिड–१९ महामारीले अघिल्ला वर्षमा आयात घट्दा शोधनान्तर स्थिति बचतमा थियो । गत वर्षको शुरूदेखि नै आयात उच्च भएपछि शोधनान्तर घाटा बढ्न थाल्यो । यसले विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंक र सरकारले आयात निरुत्साहित गर्ने नीति लिए । अनि शोधनान्तर स्थिति बचतमा गएको हो । शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति बढेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति हटाइसकेको छ । 

रेमिट्यान्स पनि उच्च

राष्ट्र बैंकका अनुसार फागुनसम्ममा रेमिट्यान्स (Remittance) आप्रवाह २५ दशमलव ३ प्रतिशतले बढेर ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । फागुनमा अमेरिकी डलरमा रेमिट्यान्स १४ दशमलव ८ प्रतिशतले बढेर ६ अर्ब ९ करोड पुगेको छ । फागुनमा मात्र १ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च हो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वृद्धिसँगै सरकारले औपचारिक च्यानलबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गरेपछि सकारात्मक प्रभाव देखिएको हो । औपचारिकरूपमा प्राप्त हुने रेमिट्यान्स बैंकमा राख्दा एक प्रतिशत विन्दु थप ब्याज (Interest) दिनुका साथै सरकारले रेमिट्यान्स पठाउने नेपालीलाई सूचीकृत कम्पनीको शेयरमा आरक्षण दिएको छ । 

मूल्यवृद्धि पनि घट्यो 

फागुनमा मूल्य वृद्धिदर पनि केही घटेको छ । गत माघमा ७ दशमलव ८८ प्रतिशत रहेको उपभोक्ता मूल्य वृद्धिदर फागुनमा ७ दशमलव ४४ प्रतिशत छ । 

गत भदौमा ८ दशमलव ६४ प्रतिशत पुगेको यो असोजमा ८ दशमलव २६, कात्तिकमा ८ दशमलव शून्य ८, मङ्सिरमा ७ दशमलव ३८ र पुसमा ७ दशमलव २६ प्रतिशत थियो ।

अर्थतन्त्र चलायमान हुने अपेक्षा 

अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम भएसँगै बैंकहरूमा निक्षेप बढ्न थालेको छ । गत फागुनसम्ममा बैंक, वित्तीय संस्थामा रहेको निक्षेप ५ दशमलव ५ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा भने २ दशमलव ८ प्रतिशतले मात्र बढेको छ । 

बैंकको ब्याज बढ्ने क्रम फागुनमा रोकिएको छ । वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर फागुनमा १३ दशमलव शून्य ३ प्रतिशतमा स्थिर छ । मौद्रिक नीतिको प्रावधानअनुसार बैंकहरूले स्प्रेडदर समेत घटाउनुपर्ने भएकाले चैतदेखि कर्जाको ब्याजदर घट्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् । 

पत्रकार सम्मेलनमा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले माघ र फागुनमा ऋणको ब्याजदर स्थिर रहेको तथा निक्षेपको ब्याजदर र आधारदर घट्दो क्रममा रहेकाले ब्याजदर घट्दो प्रवृत्तिमा गएको बताए । खराब कर्जा केही बढ्न थाले पनि यसलाई नेपाली बैंकहरूको थेग्न सक्ने उनले दाबी गरे । 

ब्याजदर एकल अंकमा ल्याइने

यसैबीच बैंक सञ्चालकहरू पनि ब्याजदर एकल अंकमा ल्याउन तयार भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन०ले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग भएको भेटपछि मंगलवार पत्रकार सम्मेलन गरी निक्षेपको ब्याजदर ९ दशमलव ९ प्रतिशतमा झार्ने सहमति भएको जानकारी दिएको छ । 

‘प्रधानमन्त्रीसँगको बैठकमा बैंकको ब्याजदर एकल बिन्दुमा झार्ने छलफल भएको छ,’ सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले भने, ‘अहिले कायम ब्याजदर १० प्रतिशतले घटाउँदा एकल अंकमा झर्छ ।’ 

अहिले बैंकमा निक्षेप (Deposit) बढेको र तरलता (Liquidity) केही सहज देखिए पनि सबै बैंक (Bank) लगानी (Invest)  विस्तार गर्न सक्ने अवस्थामा नभएको गोल्यानले बताए । ‘बैंकहरूको औसत सीडी रेसियो ८५ प्रतिशत देखिए पनि केही वाणिज्य बैंकबाहेक अन्यले ऋण विस्तार गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘थप तरलताको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छौं, सम्बोधन हुनुपर्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)