काठमाडौं । नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority) का अनुसार चालू आर्थिक वर्ष (आव) को ८ महीनामा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरूले कृषि तथा बाली बीमालेखबाट १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।
व्यवसायको सम्भावना बढेसँगै बीमकहरू शाखा विस्तार गरेर धमाधम गाउँगाउँमा पुगिरहेका छन् । सरकारले पनि कृषि बीमा (Agriculture Insurance) लाई प्राथमिकतामा राखी ८० प्रतिशतसम्म अनुदान दिएकाले पछिल्लो समय कृषिबीमा गर्नेको संख्या बढ्दो क्रममा रहेको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू बताउँछन् ।
प्राधिकरण (NIA) का अनुसार चालू आवको फागुनसम्ममा कृषि तथा बाली बीमालेखमार्फत बीमकहरूले सबैभन्दा बढी बीमा शुल्क बागमती प्रदेशबाट संकलन गरेका छन् । बागमती प्रदेशबाट गत साउनदेखि फागुनसम्ममा ५८ करोड ४७ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क उक्त बीमालेखमार्फत संकलन भएको छ । यस्तै दोस्रोमा लुम्बिनी प्रदेशबाट २३ करोड ३५ लाख र तेस्रोमा गण्डकी प्रदेशबाट २० करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।
शिखर इन्स्योरेन्स (Shikhar Insurance) कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे सरकारले कृषिबीमालाई प्राथमिकतामा राखी अनुदान दिएकाले पछिल्लो समय मुलुकको बीमा क्षेत्रमा कृषि तथा बाली बीमाको अंश बढेको बताउँछन् ।
‘सरकारले कृषि बीमामा ८० प्रतिशतसम्म अनुदान दिएका कारण यसमा कृषकको आकर्षण बढ्दो छ । अहिले बीमा कम्पनी (Insurance Company)हरू गाउँगाउँमा पुगेकाले कृषकलाई कृषि तथा बाली बीमा गर्न सहज पनि भएको छ,’ पाण्डेले भने, ‘मेरो आकलनमा चालू आवमा कृषि बीमाको अंश ३ सय करोड रुपैयाँसम्म पुग्ने देखिन्छ ।’
पाण्डेका अनुसार कृषि बीमा देशको आर्थिक विकासका लागि आवश्यक प्रडक्ट हो । ‘कृषि बीमाले गर्दा नेपालमा बीमाको बजार पनि बढेको छ,’ उनी भन्छन्, ‘बीमकले बीमा दाबी भुक्तानी गर्दा बीमाको बजार विस्तारमा पनि मद्दत पुग्छ ।’
शिखरले ७४/७५ जिल्लामा कृषि बीमा गरेको र उक्त कम्पनीसँग ६० जनाभन्दा बढी कृषिविज्ञ तथा भेटेरिनरी डाक्टरहरू रहेको पाण्डेले जानकारी दिए । देशको कुल कृषि बीमामा झन्डै २० प्रतिशत अंश शिखर इन्स्योरेन्सको रहेको पनि उनले दाबी गरे ।
सरकारले कृषकलाई प्याकेजिङ, भण्डारणका साथै बजार व्यवस्थापनमा सहजीकरण गरिदिए कृषकलाई सहज हुने पाण्डेको भनाइ छ ।