गणित भनेपछि अधिकांश नेपालीलाई ज्वरो आउँछ । तर चुनावी अंक गणितमा भने नेपालीहरू अब्बल छन् । एसएलसी र एसईर्ईमा ३२ अंक पनि ल्याउन नसक्नेहरू पनि चुनावी अंक गणितमा अगाडि छन् । चुनावी जोड घटाउ, गुणा, भाग, प्रतिशत सबै फर्रर भन्न सक्छन् । चोक चोकमा गणितज्ञ, तथ्यांकशास्त्री जताततै भेटिन्छन् ।
दुई दिनपछि देशका तीन क्षेत्रमा उपनिर्वाचन हुँदै छ । भन्दा तीन ठाउँ र उप भने पनि यो महान् संग्राम भनेर सत्ता इतर र सत्ता भितरका पार्टीहरू ज्यान छाडेर लागेका छन् । त्यसैले हिजोआज नेताहरू खाँदा, पिउँदा, उठ्दा, बस्दा, हाँस्दा, रुँदा समेत हावामा आ–आफ्ना दाबा गरिरहेका छन् । आफ्नो आफ्नो राजनीतिक गणितको प्राण भरिरहेका छन् ।
कुल मिलाएर तीन सिटका लागि लडाइँ भइराछ । र दलदलमा फसेका सबै दलको दाबा छ कि तीनै क्षेत्रमा चुनाव उनीहरूकै आफ्नै दलले जित्छ रे ।
दल बदलु नेताहरू पनि आफैले जितेर सरकारमा गएर देशकै कायापलट गर्ने भनिरहेका छन् । सरकारी दलहरू त यसै पनि आफैले जित्नेमा ढुक्कै छन् । नेताको गणित पनि बुझ्न गाह्रो । आफूले दुईमा दुई जोड्दा चार भनेर पढियो, नेताहरू कि तीन भन्छन् कि पाँच । सबै मत आफूले पाउने दाबी गर्छन्, कोही प्रतिस्पर्धी नै छैन रे । प्रतिस्पर्धी नभए दिनरात नभनी किन दौडिएका ? मागी मागी किन करोडौं खर्चिएका ? जनतालाई जन्तु ठान्नेहरू अहिले चाहिँ किन जनतासँग तर्सिएका ? जनताका प्रश्नबाट किन तर्किएका ?
कर्मचारीलाई तलब खुवाउन सरकारसँग ढुकुटी छैन, जनता महँगीले सुकुटी भइसके, तर नेतालाई कि नोटको कि भोटको मात्रै फिटफिटी छ । आफूमा खोटै खोट भए पनि सत्ताका साँचो पाएपछि जनतालाई चोटै चोट दिने त यिनको कर्म बनेको छ ।
अर्थतन्त्र ओरालो लागोस् कि महँगी उकालो लागोस्, जनताको टाउकोमा ऋणको भारी थपियोस् कि चिन्ताको भकारी, यिनलाई बालै छैन ।
यता म हिसाब गरिराछु कि तीनै क्षेत्रमा फरक फरक दलले आ–आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहँदा कुनै एउटै दलको उम्मेदवारहरूले नै जिते पनि सरकारमा वा सरकारले गर्ने काममा के फरक पर्छ ? अझ जनतालाई त यसले झनै के नै फरक पर्छ ? एक दुई सिट बढी आउँदा दललाई अझ बल मिल्ने होला । त्यसैले त एक सिटे, दुई वा चारसिटे पनि मन्त्री, उपप्रधानमन्त्री बन्नेमा पुगे । तर बिचरा भोटर त भोटर मात्र न हो, दल र तिनका नेताले सधैं जोकर मात्र बनाइरहन्छन् । त्यसैले त नेताहरू हावामा गफ चुटदै, देश लुट्दै, वीरबलको खिचडी पकाइरहन्छन् । अरू पनि के के गर्छन् गर्छन् ।
नेताहरू हावामै योजना बनाउँछन्, हावामै विकास गर्दिन्छन्, हावामै निकास पनि गर्दिन्छन् । विकास गर्न प्राथमिकता चाहिँदैन, योजना चाहिँदैन र बजेट पनि चाहिँदैन । हावाबाट बिजुली बेच्नेदेखि युरोनियम खोज्नेसम्मका गफ बिकेकै छ क्यारे । आत्मनिर्भरताको योजना बनाउँदै देशलाई परनिर्भरताको खाल्डोमा जाक्नेहरूले देश हाँक्ने भएपछि मुलुक विश्वकै गरीब नबने के बन्छ ?
चुनाव भनेकै हावा कुरा गरेर जित्ने हो रैछ । उहिले जनताका लागि जनताद्वारा जनताले भन्ने नारा थियो । अहिले हावाका लागि हावाद्वारा हावाले भन्ने पारा देखिएको छ । त्यसैले जो भेट्यो उही नेता नयाँ रोजगारी सृजना गर्ने गफ हावामा फ्याँकिराछ । सरकारले रोजगारी दिन सक्ने कुनै नयाँ योजना ल्याएको छैन । किनकि दलहरूका हनुमान् र झोले कार्यकर्ताहरू जहाँ जहाँ भर्नुपर्ने हो, सबै प्रदेश, जिल्ला समन्वय समिति, केन्द्र र प्रदेशमा भएका सबै संरचनाहरूमा भरिसकेको छ । निजीक्षेत्र उद्योग व्यवसाय चलाउन नसकेर भएका रोजगारी कटौती गर्ने क्रम जारी छ । दिनमा ३३ सय युवा त्यही रोजगारी खोज्नकै लागि देश छाड्दै विदेशका सडक, गल्ली भौंतारिरहेका छन् । तर नेता युवा–स्वरोजगारको हावा गफ फुक्न छाडेका छैनन् ।
विदेशमा रोजगारीमा गएकाहरू पनि कम्तीका छैनन् । जसले देशभित्र रोजगारी बन्द गरायो, उसैका अन्धभक्त भएर विदेशमा चन्दा दिनेदेखि भोट मागिदिने उनीहरू नै छन् । अमेरिकामा वा जापान बसेकाले नेपाललाई अमेरिका वा जापान जस्तो बनाउने गफ दिइरहेको हुन्छ । खाडीबालाले दुबई, कतार बनाउने भनिरहेको हुन्छ । उहिले लाहुरेका गफ र अहिलेका चाउरेका गफ सुन्ने जमाताको कमी छैन नेपालमा ।
अझ नेताहरू अँधेरोमा बसेर सबै उद्योगहरूमा प्रशस्त बिजुली पुर्याउने भाका गरेर थाकेका छैनन् । बिजुली उत्पादन छैन, उत्पादन भएको बिजुली बेच्न पर्याप्त ट्रान्समिशन लाइन छैनन् । छिमेकी पनि बिजुली किन्न त्यति उदार छैन । तर पनि बत्ती दिने बिजुली गफ लाउन छाड्दैनन् । किनकि यही नै त हो चुनावी अंकगणित । कुरामा हावा भर्ने र मनलाग्दी दाबा गर्ने खुबै देखिएको छ ।
नेताहरू हावाबाटै कुरा सृजना गर्छन् र फेरि कुरालाई हावामै उडाइ पनि दिन्छन् । गरीब भोटरका लागि चैं न रोजगारी न दाल, चामल न दबाई ।
सत्य त यो हो कि यिनीहरू हावामा कविता र गजलसमेत लेखिरहेका छन् । तर भोटर केवल पजल देखिरहेका छन् । चुनाव भोटरका लागि कसले के भन्यो, कसले जित्छ, कसले हार्छ भन्ने फगत एक नयाँ गृहकार्य बनेको छ ।
यो कसले बुझ्ने ? कसले सम्झाउने यो राजनीतिक अंकगणित ? बुझेकाले बुझाउन थाल्यो भने उल्टै पाठ घोकाएर पठाउने जमात तयार छ ।
नेपालमा चुनाव जित्ने ३ ओटा तरीका छन् । हावा गफ लगाएर, तर्साएर वा नोट बर्षाएर । चुनाव जित्न यी ३ ओटै तिगडममा व्यापक लगानी छ । तर जनताका अगणित पीडामा दलको गणितको के अर्थ हँ ?