काठमाडौं । बैंक, वित्तीय संस्थाले तरलता व्यवस्थापनका लागि भन्दै आवश्यकताभन्दा बढी स्थायी तरलता सुविधा (SLF) लिएर नाफा बढाउन लगानी गरेको भन्दै महालेखाले प्रश्न उठाएको छ । नेपाल राष्ट्र बैंकले भने Standing Liquidity Facility दुरुपयोग नभएको स्पष्ट पारेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले एसएलफ दुरुपयोग नभएको दाबी गरे । ‘बैंकहरूले खुला बजार कारोबारसम्बन्धी कार्यविधि र Nepal Rastra Bank को निर्देशनअनुसार नै एसएलएफ सुविधा प्रयोग गरेका छन्,’ उनले आर्थिक अभियानसँग भने, ‘महालेखाले टिप्पणी गरेपछि हामी त्यसमा स्पष्ट पार्न उत्तर पठाउँछौं ।’
बैंक, वित्तीय संस्थाले केन्द्रीय बैंकको निर्देशन पालना गर्दा तरलता अभाव देखिएमा एसएलएफ सुविधा प्रदान गर्नुपर्नेमा यकीन नगरी राष्ट्र बैंकले सुविधा दिएको Office of the Auditor General को प्रतिवेदनमा कैफियत औंल्याइएको छ । ‘बैंक, वित्तीय संस्थाले तत्कालको तरलता समस्या समाधान गर्न सुविधा लिएको भए पनि उक्त अवधिमा ऋण र लगानी पनि वृद्धि भएको, बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरिएको देखिएकाले एसएलएफको सुविधा तरलता समस्या समाधानमा मात्र प्रयोग भएको यकीन गर्न सकिँदैन,’ प्रतिवेदनमा उल्लेख छ ।
बैंकहरूलाई अल्पकालीन दायित्व भुक्तानी गर्न तथा बैंकिङ प्रणालीमा तत्काल आइपर्ने तरलता समस्या समाधानका लागि केन्द्रीय बैंकले एसएलएफ सुविधाको व्यवस्था गरेको हो । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानी धितोमा यो सुविधा लिन पाउँछन् ।
महालेखाका अनुसार बैंक, वित्तीय संस्थाले आर्थिक वर्ष (आव) २०७६/७७ मा ८३ पटकमा गरी १ खर्ब ३ अर्ब, २०७७/०७८ मा १६७ पटकमा गरी ३ खर्ब ६१ अर्ब र २०७८/७९ मा ४ हजार ९०८ पटकमा गरी ९१ खर्ब ७० अर्ब रुपैयाँ एसएलएफ सुविधा लिएका छन् ।
एसएलएफ सुविधा लिने क्रम बढेपछि आव २०७८/७९ को पुसमा केन्द्रीय बैंकले नै ब्याजदर बढाएर ५ बाट ७ प्रतिशत पुर्याएको थियो । त्यसपछि पनि एसएलएफ सुविधा लिने क्रम बढ्दै गएपछि राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिबाट बैंक, वित्तीय संस्थाले अघिल्लो हप्ताको अन्त्यमा स्वदेशी मुद्रामा रहेको कुल निक्षेपको १ प्रतिशत मात्र एसएलएफ सुविधा लिन पाउने व्यवस्था गरेको छ ।
यस्तै यसको अवधि अधिकतम ५ दिनसम्म निर्धारण गर्नुका साथै ब्याजदर पनि ८ दशमलव ५ प्रतिशत पुर्याएको छ ।
गत आवसम्म एसएलएफमा सीमा थिएन । यस्तै बैंकहरूले सात दिनसम्म यसलाई प्रयोग गर्न पाउँथे । बैंकहरूले लगातार यो सुविधा लिएर लगानी गरेको महालेखाले औंल्याएको छ । ‘एक बैंकले ६७ पटक र ३१३ दिनसम्म सुविधा प्रयोग गरेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।
चालू आवको चैतसम्ममा बैंकहरूले १ हजार ६४८ पटकमा गरी २७ खर्ब २६ अर्ब ८१ करोड एसएलएफ लिएका छन् । बैंकहरूमा निक्षेप वृद्धिसँगै तरलताको अवस्था सहज भएपछि पछिल्ला महीनामा भने एसएलएफ लिने क्रम घट्दै गएको छ ।
खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार बैंकहरूले एसएलएफ लिँदा निवेदनमा सुविधा लिनुको प्रयोजन र उद्देश्य स्पष्ट खुलाउनुपर्ने व्यवस्था छ ।
यस्तै एउटा प्रयोजन खुलाई लिएको सुविधा अन्यत्र प्रयोग गर्न नपाइने र आवश्यक देखिएमा थप विवरण माग्न वा स्थलगत अनुगमनसमेत गर्न सकिने प्रावधान भए पनि राष्ट्र बैंकले अनुगमन नगरेको महालेखाको ठहर छ । वित्त विज्ञ तथा पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री महालेखाले एसएलएफ नबुझी टिप्पणी गरेको बताउँछन् । ‘राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरूले एसएलएफ सुविधा लिएका हुन्,’ उनले भने, ‘महालेखा जस्तो संवैधानिक निकायले हचुवामा टिप्पणी लेख्नु दुःखद हो ।’