पछिल्लो समय मुलुकको बाह्य क्षेत्रका सूचकमा केही सुधार देखिए तापनि आन्तरिक रूपमा भने अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामै छ । उच्च ब्याजदर, मागमा आएको कमी लगायत कारण आर्थिक व्यावसायिक गतिविधि सुस्त छन् । यसबाट बीमा व्यवसाय पनि प्रभावित भएको छ । प्रस्तुत छ, नेपालको बीमा व्यवसायको विद्यमान अवस्था, समस्या, चुनौती लगायत विषयमा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार :
मुलुकको विद्यमान आर्थिक अवस्थामा निर्जीवन बीमा व्यवसायको अवस्था कस्तो छ ?
अहिले देशका सबैजसो क्षेत्रमा आर्थिक मन्दीको स्थिति देखिएको छ । यसको असर बीमा क्षेत्रमा पनि पर्न थालेको छ । बीमा व्यवसायको पछिल्लो २ महीनाको तथ्यांकले समेत बीमा कम्पनीको व्यापार घटेको देखिन्छ । अहिले नागरिकको क्रयशक्ति नै कम छ । धेरैलाई आधारभूत आवश्यकता पूरा गर्नै कठिनाइ छ । त्यसैले यसको प्रभाव जीवन तथा निर्जीवन दुवै किसिमको बीमा व्यवसायमा परेको छ ।
बीमा क्षेत्रमा अहिले अन्य के कस्ता समस्या छन् ?
अन्य क्षेत्रमा झैं बीमा क्षेत्रमा पनि समस्या छन् । अहिलेको मुख्य समस्या बजार विस्तार हुन नसक्नु नै हो । तर हरेक चुनौतीमा नयाँ लगानीको अवसर पनि हुन्छ । त्यसैले समस्या पहिचान गरेर अगाडि बढ्दा लगानीको वातावरण बनाउन सकिन्छ । अहिले बीमा कम्पनीहरूले व्यवसाय विस्तार गर्न नयाँ क्षेत्र खोज्नुपर्ने अवस्था छ । सरकारले ८० प्रतिशतसम्म अनुदान दिएकाले अहिले हाम्रा लागि नयाँ क्षेत्र कृषि नै रहेको छ । बीमा प्राधिकरणले पनि कम्पनीहरूलाई हरेक वर्ष एउटा नयाँ प्रडक्ट ल्याउन मार्ग निर्देशन जारी गरिसकेको छ । उक्त निर्देशनले बीमा कम्पनीको बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ ।
कोरोना बीमाको दाबी भुक्तानीको अवस्था के छ ? अहिलेसम्म कति बीमितले भुक्तानी पाए ?
कोरोना बीमामा १२–१३ अर्ब रुपैयाँको दाबी परेको थियो, जसमध्ये करीब ५० प्रतिशत बीमितले भुक्तानी पाएका छन्, अर्थात् हामीले ६ अर्ब रुपैयाँजति दाबी भुक्तानी गरिसकेका छौं । कुल बीमा दाबीको ३ अर्ब ५० करोड रुपैयाँ बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)को दायित्व हो । हामी बीमकहरू कोरोना बीमाको दाबी भुक्तानी तिर्न तयार छौं । तर नेपाल सरकारबाटै भुक्तानी नआएकाले अहिले हामीले दाबी भुक्तानी गर्न सकिरहेका छैनौं ।
कोरोना बीमाको समयमै दाबी भुक्तानी नहु“दा बीमा क्षेत्रप्रति नै जनताको धारणा नकारात्मक भएको देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
समयमै कोरोना बीमाको दाबी भुक्तानी नहुँदा बीमकहरूले समयमा दाबी तिर्छन् र ? भन्ने प्रश्न उठ्न थालेको छ । बीमकहरूले झन्डै ५० प्रतिशत दाबी भुक्तानी गरिसकेकाले दाबी नपाएका बीमितहरूमा पनि भोलिका दिनमा दाबी पाउने आशा भने छ । तर यही विषय लामो समयसम्म लम्बिँदा बीमा क्षेत्रमा यसको दीर्घकालीन प्रभाव पर्ने सम्भावना बढेको छ ।
सरकारले अहिले सञ्चालन गरिरहेको स्वास्थ्य बीमाको प्रभावकारिता कत्तिको छ ?
नेपाल सरकारले ऐन ल्याएरै स्वास्थ्य बीमा सञ्चालन गरेको छ । तर समयमा स्वास्थ्य बीमाको पनि दाबी भुक्तानी भएको छैन । साथै स्वास्थ्य बीमाको ‘लस रेशियो’ धेरै भएकाले भोलिका दिन बीमा बजारमै यसको नकारात्मक असर पर्न सक्ने देखिएको छ ।
नेपालमा स्वास्थ्य बीमाको भविष्य कस्तो देख्नुहुन्छ ?
बीमा ऐन २०७९ ले बीमा प्राधिकरणलाई थप स्वायत्त र सशक्त बनाएको छ । नयाँ बीमा ऐनमा तेस्रो पक्ष प्रशासकको विषय पनि समावेश गरिएको छ । उक्त विषय कार्यान्वयनमा आएसँगै नेपालमा स्वास्थ्य बीमाले नयाँ गति लिने देखिन्छ । मेरो विचारमा स्वास्थ्य बीमाको भविष्य एकदम उज्ज्वल छ ।
कृषि बीमामा अहिले कृषकको आकर्षण कस्तो छ ?
नेपाल सरकारले अहिले कृषि बीमालाई प्राथमिकतामा राखेर ८० प्रतिशतसम्म अनुदान दिएको छ । यस्तै बीमा कम्पनीहरूले शाखा विस्तार गरेर गाउँ गाउँमा गएर सेवा दिएका छन् । समयमै दाबी भुक्तानी गरिएकाले कृषि बीमामा आकर्षण बढ्दो छ । मेरो आकलनमा चालू आर्थिक वर्षमा कृषि बीमाको हिस्सा ३०० करोड रुपैयाँसम्म पुग्ने देखिन्छ ।
कृषि बीमामा शिखर इन्स्योरेन्सको हिस्सा कति छ ?
अहिले हामीले ७४–७५ जिल्लामा कृषि बीमा गरेका छौं । हामीसँग ६० जनाभन्दा बढी कृषिविज्ञ तथा भेटेरिनरी डाक्टर छन् । नेपालको कृषि बीमाको झन्डै २० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ हाराहारी हिस्सा शिखर इन्स्योरेन्सको छ । शिखरको बीमाको कुल पोर्टफोलियोको लगभग ११ प्रतिशत कृषि तथा लघु बीमाको रहेको छ । कृषि बीमा देशको आर्थिक विकासका लागि आवश्यक प्रडक्ट पनि हो । अहिले कृषि बीमाका कारण नेपालमा बीमाको बजार पनि बढेको छ ।
देशको आर्थिक विकासमा बीमा कम्पनीहरूको भूमिका कस्तो रहन्छ ?
बीमा क्षेत्रका कम्पनीहरूले बैंकमा रिजर्भ राखेर प्रतिफल लिने मात्र भन्दा त्यो पैसा देशको आर्थिक विकासका काममा पनि प्रयोग गर्नुपर्छ । बीमा कम्पनीहरूले कृषिसहित जलविद्युत् र पर्यटनको विकासमा पनि लगानी गर्नुपर्छ । त्यस्तो किसिमको लगानीले देशको कुल गार्हस्थ्य उत्पादनमा पनि सहयोग हुन्छ ।
बीमा क्षेत्रको विकास र विस्तारका लागि के गर्नुपर्ला ?
मेरो विचारमा बीमा क्षेत्रको विकास र विस्तारका लागि सरकारले बीमालाई आर्थिक एजेन्डा नै बनाएर बीमा गर्ने वातावरण सृजना गर्नुपर्छ । सरकारले कृषि बीमामा अनुदान दिएकाले झन्डै १० वर्षअघि ३ करोड रुपैयाँको बीमा क्षेत्र आज ३०० करोड रुपैयाँ हाराहारी पुगेको छ । त्यसैले बीमा क्षेत्रको विकास र विस्तारका लागि सरकारले समय सापेक्ष नीति लिनुपर्छ ।
स्थापना भएको छोटो अवधिमै शिखर इन्स्योरेन्स सफल हुनुको रहस्य के हो ?
कुनै पनि कम्पनी सफल हुनुको प्रमुख कारण टीम नै हो । हाम्रोमा कर्मचारीहरू औसत ३० देखि ३२ वर्ष उमेर समूहका छन् । अर्थात् हाम्रोमा युवा जनशक्ति छन् । अहिले बीमा कम्पनीको बजार र अन्य आयाम पनि फेरिएका छन् । बीमकको पूँजी बढेको छ । साथै कम्पनीहरू मर्ज भएर प्रवद्र्धकहरूको संख्या पनि घटेको छ । बजारमा प्रतिस्पर्धा बढेकाले अब कम्पनीको उच्च व्यवस्थापनले बजारमा नयाँ प्रडक्ट ल्याउन आवश्यक छ ।
बीमा कम्पनीले समयमा दाबी भुक्तानी नगरेको आरोप लाग्ने गरेको छ । यसबारे के भन्नुहुन्छ ?
बीमा कम्पनीले दाबी भुक्तानीमा हिजोभन्दा आज राम्रो गरेका छन् । अहिले बजारमा बीमितहरूसँग धेरै विकल्प छन् । त्यसैले भोलिका दिनमा दाबी भुक्तानीमा अझै राम्रो नगर्ने हो भने कम्पनीलाई बजारमा टिकिराख्न समेत गाह्रो हुन्छ । समयमै दाबी भुक्तानी गर्दा कम्पनीको बजार विस्तार हुन्छ भन्ने बुझ्नुपर्छ ।