ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यू बिजनेश एजको २२औं वार्षिकोत्सव विशेष:  साइबर सुरक्षाको जोखिम

२०८० बैशाख, २४  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अनन्त्य सुन्दर

नेपालमा सरकारी निकायको वेबसाइटदेखि प्रयोगकर्ताको फेसबुक, ट्वीटर एकाउन्ट ह्याक गरी सामाजिक सञ्जालबाट ठगीजस्ता घटना बढ्दो क्रममा छ । नेपालमा यस्ता घटना बारम्बर दोहोरिँदा ‘न्यु इकोनोमी’मा साइबर सुरक्षाको जोखिम बढेको जानकार बताउँछन् । 

इन्भेस्टोपेडियाका अनुसार ‘न्यू इकोनोमी’ नयाँ र तीव्र गतिमा वृद्धि हुने उद्योगको वर्णन गर्न प्रयोग गरिएको शब्दावली हो । ती उद्योगलाई अत्याधुनिक तथा आर्थिक वृद्धि र उत्पादकत्वको प्रेरक शक्ति हो भन्ने विश्वास गरिन्छ । प्रविधिको उपलब्धताका कारण नेपाल न्यू इकोनोमीमा प्रवेश गरेसँगै यसको जोखिम पनि बढेको छ । असर देखिन शुरू भइसकेको छ । 

अन्तरराष्ट्रिय टेलिकम्युनिकेशन युनियन (आईटीयू)को ‘ग्लोबल साइबर सेक्युरिटी इन्डेक्स २०२०’ प्रतिवेदनअनुसार नेपाल साइबर सुरक्षाको दृष्टिकोणबाट अत्यन्त जोखिम राष्ट्रको सूचीमा छ । नेपाल विश्वभरको साइबर सुरक्षा इन्डेक्समा ९४औं स्थानमा रहेको छ । उक्त प्रतिवेदनअनुसार नेपालले ग्लोबल साइबर सेक्युरिटीका विभिन्न क्षेत्रमा कुल १०० अंकमा ४४ दशमलव ९९ अंक प्राप्त गरेको छ ।

यस्तै ९७ दशमलव ४९ अंक प्राप्त गरेको भारत चौथो स्थानमा, ९२ दशमलव ५३ अंक प्राप्त गरेको चीन आठौं स्थानमा, ८१ दशमलव २७ अंक प्राप्त गरेको बंगलादेश ११औं स्थानमा र ६४ दशमलव ८८ अंक प्राप्त गरेको पाकिस्तान १४औं स्थानमा रहेको छ । अर्थात् आईटीयूको रिपोर्टअनुसार अन्य एशियाली मुलुकको तुलनामा पनि नेपालमा साइबर सुरक्षाको जोखिम उच्च रहेको देखिन्छ ।  

नेपालमा साइबर ब्युरो गठन भएको ५ वर्ष र यसले काम गर्न थालेको ३–४ वर्ष मात्र भएको छ । ब्युरोले न्यू इकोनोमीमा विभिन्न किसिमका साइबर अपराधको अध्ययन, अनुसन्धान गर्दै आएको छ । साइबर ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार राय साइबर सुरक्षा कुनै मुलुकको बलियो कुनैको कमजोर भन्ने नहुने बताउँछन् ।

‘नेपाल कहाँ छ भन्ने भन्दा पनि हाम्रो सुरक्षा मेकानिजमको कुरा महत्त्वपूर्ण हो,’ राय भन्छन्, ‘त्यसैले न्यू इकोनोमीमा कुनै पनि मुलुकले सुरक्षाको संयन्त्रले कसरी मिलाएको छ भन्ने विषयले साइबर सुरक्षामा असर गर्छ । तर, थ्रेट सबै मुलुकमा उत्तिकै हुन्छ ।’

इन्टरनेटबाट हामीले सुविधा पाएसँगै जोखिम पनि आउँछ । त्यसैले हामीले सुरक्षा संयन्त्र बनाउनु महत्त्वपूर्ण हुन्छ । उनका अनुसार साइबर सुरक्षामा तीनओटा कुरा महत्त्वपूर्ण हुन्छ– डेटाको गोपनीयता, डेटाको अखण्डता र डेटाको उपलब्धता ।

ब्युरोका प्रवक्ता राय न्यू इकोनोमीमा ब्युरोलाई थप सशक्तीकरण गर्न ब्युरोका कर्मचारीलाई आवश्यकताअनुसार प्रशिक्षण दिनुपर्ने बताउँछन् । त्यसका साथै हामीसँग साइबर सेक्युरिटी नीति पनि छैन । उनी भन्छन्, ‘हामीले अहिले विद्युतीय कारोबार ऐन २०६३ मा टेकेर मुद्दा चलाइरहेका छौं । न्यू इकोनोमीका अपराधको ट्रेन्ड सबैलाई समेट्न छुट्टै ऐन आवश्यक छ । अघिल्लो प्रतिनिधिसभामा साइबर सेक्युरिटी नीति अन्तिम चरणमा पुगेको थियो । अहिले पनि उक्त ऐन ड्राफ्टमै सीमित छ । उक्त ऐन पास भएर कार्यान्वयनमा आएसँगै हामीलाई काम गर्न धेरै नै सहज हुन्छ ।’ 

न्यू इकोनोमीमा साइबर सुरक्षाको जोखिममा विज्ञदेखि लिएर सबै किसिमका प्रयोगकर्ता रहेको राय बताउँछन् । ‘सदुपयोग गरेन भने हामी सबै जोखिममा छौं,’ राय भन्छन्, ‘त्यसैले प्रयोगकर्ताले साइबर हाइजिनमा ध्यान दिनुपर्छ । अनावश्यक नचिनेको मान्छेले कुनै पनि किसिमको लिंक पठाउँदा वा युजर, नेम, पासवर्ड, ओटीपी माग्दा हामी सजग हुनुपर्छ ।’

अहिले बच्चादेखि वृद्धसम्म हरेकको हातमा डिभाइस पुगेको छ । तर, पर्याप्त रूपमा साइबर सुरक्षाको सचेतना पुग्न सकेको छैन । त्यसैले न्यु इकोनोमीको साइबर जोखिमलाई न्यूनीकरण गर्न पाठ्यक्रममै राखेर ‘क’ ‘ख’ ‘ग’ जसरी साइबर सुरक्षाका विषय पढाउनु आवश्यक रहेको उनले औंल्याए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)