काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ स्टक एक्सचेन्जको विपक्षमा उभिएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूले यसको विरोध नगरेपनि संसदको चौथो ठूलो दल रास्वपा मात्र यसको विपक्षमा उभिएको हो ।
पार्टीका संसदहरू अहिले सदनदेखि सार्वजनिक फोरमहरूमा नयाँ एक्सचेन्ज सञ्चालनमा आउँदा नेपालको पूँजी बजार निश्चित समूहको कब्जामा जाने बताइरहेका छन् । नयाँ स्टकको अनुमति दिन ठूलो भ्रष्टचार भएको भन्दै लाइसेन्स वितरण प्रक्रिया नै तत्काल रोक्नु पर्ने तर्क राख्दै आएका छन् ।
नेपाल धितोपत्र बोर्ड (SEBON) ले भने कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा मुल्यांकन समिति गठन गरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणको लागि आवश्यक प्रक्रियाहरू अगाडि बढाइसकेको छ । मुल्यांकन समितिका एक सदस्यका अनुसार उक्त प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
बोर्डमा नयाँ एक्सचेन्जको लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टी सांसदहरु भने नयाँ एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा आर्थिक चलखेल भएको भन्दै उक्त प्रक्रिया तत्काल रोक्नु पर्ने दबाब सम्बन्धित निकायहरुलाई दिदैं आएका छन् ।
गत वैशाख १५ मा रास्वपाकी सांसद सोविता गौतमले प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नयाँ स्टक एक्सचेन्सलाई लाइसेन्स दिने प्रक्रिया अविलम्ब रोक्नुपर्ने बताएकी थिइन । सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (NEPSE) ले सरकारलाई प्रति वर्ष लगभग १ अर्ब रुपैयाँ लाभांश योगदान गरिरहेको विषय उल्लेख गर्दै उनले नेप्सेलाई कमजोर बनाएर यसबाट भइरहेको बिजनेस नयाँ स्टक एक्सचेन्जमा डाइभर्ट हुने गरि काम गरेको आरोप लगाइन् । उनले नेपालको पूँजी बजार निश्चित समूहको कब्जामा हुने गरी नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने तयारी अबिलम्व रोकिनुपर्ने बताएकी थिइन ।
नयाँ स्टक एक्सचेन्जको विषयमा रास्वपा किन विपक्षमा उभिएको हो? भन्ने आर्थिक अभियानको जिज्ञासामा पार्टीका संसदीय दलका उपनेता तथा रास्वपाको मुद्रा तथा पूँजी बजार विभागका प्रमुख सांसद विराजभक्त श्रेष्ठले नेपालमा नयाँ एक्सचेन्जको आवश्यकताको वैज्ञानिक अध्ययन नै नगरी केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि नयाँ एक्सचेन्ज ल्याउन लागेको दाबी गरे ।
'नियत सफा नदेखिनुका साथै भ्रष्टचारको संकेत पनि देखिन्छ । त्यसैले रास्वपा यस्तो गलत नियतको एक्लै भए पनि सधै विपक्षमा उभिन्छ र निरन्तर खबरदारी गरिरहनेछ', उनले भने । यसका साथै लगानीकर्ताहरूको लगानी सुरक्षित राख्न पनि रास्वपा गम्भीर छ, उनले थपे ।
अर्थविद तथा नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष रेवत बहादुर कार्की नयाँ एक्सचेन्ज सञ्चालनमा आउँदा अहिले सञ्चालनमा भएको नेप्से कमजोर हुने भन्दा पनि झनै बलियो हुने बताउँछन् ।
'निजी क्षेत्रको बैंकहरू सञ्चालनमा आउँदा सरकारी बैंकहरूमा सुधार आएको थियो । यस्तै निजी क्षेत्रको टेलिकम कम्पनी सञ्चालनमा आउँदा सरकारी टेलिकम कम्पनीमा सुधार आए झैं नयाँ एक्सचेन्ज सञ्चालनमा आउँदा नेप्से कमजोर हुने भन्दा पनि नेप्सेमा सुधार आउँछ,' उनले भने ।
प्रतिस्पर्धी नहुँदा नेप्सेले बजारमा नयाँ औजार पनि ल्याउन नसकेको उनको भनाइ छ । नयाँ एक्सचेन्ज सञ्चालनमा आउँदा स्वस्थ प्रतिस्पर्धा हुने भएकाले बजारमा नयाँ औजारहरूका साथै नयाँ प्रविधि पनि आउने भएकाले बजार विकास र विस्तारमा सहयोग पुग्ने उनले बताए । यसले लगानीकर्तालाई पनि फाइदा हुने उनको विश्वास छ ।
कार्की भन्छन, ‘बजारमा अहिले सीमित व्यक्तीहरुको वर्चस्व भएको पाइन्छ । नेप्से र बोर्ड दुवै सरकारको स्वामित्वमा भएकाले बोर्डले पर्याप्त नियमन गर्न पनि सकेको छैन । त्यसैले नयाँ एक्सचेन्ज सञ्चालनमा आउँदा बोर्डको नियामकीय क्षमता पनि विस्तार हुन्छ ।’