नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार अनुभवी लगानीकर्ताको रूपमा परिचित छन् । आम लगानीकर्ताको हितमा समेत काम गर्दै आएका रौनियारसँग नयाँ स्टक एक्सचेन्ज र शेयर बजारको पछिल्लो अवस्थाबारे आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानीको सार :
अहिले नयाँ स्टक एक्सचेन्ज आउने कुरा चलिरहेको छ भने थप ब्रोकरहरूले लाइसेन्स पाउने प्रक्रियामा छन् । यसबाट समग्र शेयर बजारमा कस्तो प्रभाव पर्ला ?
पूँजी बजारमा राम्रो प्रभाव पर्छ, यसको दूरगामी परिणाम राम्रो आउँछ, भनौं कोसेढुंगा सावित हुनेछ । धेरै पहिलेदेखि नै लगानीकर्ताहरूलगायत लगानीकर्ता संघ/संगठनको माग हो । बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर लाइसेन्स बढाउनुपर्ने, कमोडिटिज मार्केट र नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ भनेर धेरै पहिलादेखि नै हामीले माग गरेका हौं । अब यी प्रक्रियाहरू अगाडि बढ्दा पूँजी बजारको विकास र विस्तार हुने देखिन्छ ।
सात प्रदेश ७७ जिल्लामा पूँजी बजारको पहुँच पुग्छ । यी प्रक्रिया अगाडि बढ्न केही समय लाग्ला तर यी सबै उपकरण आएपछि शेयर बजारमा नयाँ आयाम आउने देख्छु । नियामक निकाय नेपाल धितोपत्र बोर्डको नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढेको छ भने एलओई पाइसकेका छन् । अब नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज मार्केट थपिँदा शेयर बजारमा राम्रो प्रभाव पर्ने देख्छु ।
पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ? यस्तो हुनुको खास कारण के हो ?
२१ महीनादेखि शेयर बजार ओरालो लागेको छ । ३२ सय पुगेको बजार १८ सयदेखि १९ सय र २२ सयको वरिपरि घुमिरहेको छ । यस बीचमा राम्रा पक्षहरू पनि आए तर ब्याजदर भने एकदमै बढी छ । ६/७ प्रतिशतमा रहेको ब्याजदर १७ प्रतिशतसम्म पुगेको छ भने अर्को कुरा लामो समयदेखि बजार घटेकाले लगानीकर्ताको मनोबल एकदमै कमजोर भएको छ । यस कारण पनि बजार प्रभावित भएको हो ।
लगानीकर्ताको मनोबल उकास्ने गरी, शेयर बजारमा देखिने गरी केही कामहरू पनि भएका छैनन् । सबै उधारो भएका छन् । सोही कारण पनि लगानीकर्ताको मनोबल उठ्न सकेन । बेस रेट र स्प्रेडदर घट्यो भन्छन् । तर बैंक ब्याजदर घटेको छैन । नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स, कमोडिटिज मार्केट आउने प्रक्रिया अगाडि बढेको छ ।
शेयर धितो कर्जामा लागू गरिएको १५० प्रतिशतको जोखिमभार घटाएर १०० प्रतिशतमा झार्न र शेयर धितो कर्जामा १२ करोडको सीमा पनि हटाउनुपर्ने हामी सबै लगानीकर्ताको माग रहेको छ । यी सबै कुरा उधारोमै छन् । यस कारण पनि बजार प्रभावित भएको हो । अर्कोतर्फ बैंक तथा वित्तीय संस्थामा तरलता सहज भए पनि ऋणको लागि ब्याजदर एकदमै महँगो छ ।
अर्कोतिर अर्थमन्त्री र गभर्नरले कहिले के बोल्छन्, कहिले के, उनीहरू बोल्ने मात्र हो । बोलेको कुरा लागू भएकै छैनन् । पछिल्लो समय बजारमा भ्रामक कुराहरू धेरे आइरहेका छन् । लगानीकर्ताले बुझ्ने, देख्ने र महसुस गर्ने गरी केही कुरा भएन । सोही कारण पनि पछिल्लो समय बजार ओरालो लागेको हो ।
अहिले राजनीतिक नेतृत्व र सरकार सञ्चालकहरूले गरेको केही सकारात्मक या नकारात्मक टिप्पणीका कारण शेयर बजारमा उतारचढाव भएका उदाहरण हामीसँग छन् । यस्तो हुनुको प्रमुख कारण के हो ?
पछिल्लो समय राजनीति पनि केही अस्थिर छ । यसबाट पनि शेयर बजारलाई दीर्घकालीनभन्दा पनि क्षणिक रूपमा प्रभाव पार्दै आएको छ । नेपाल जस्तो देशमा बढी राजनीति हाबी हुन्छ । गभर्नर, अर्थमन्त्री, प्रधानमन्त्री जस्तो मान्छेले बोल्दा फरक पर्छ । तर, पछिल्लो समय लगानीकर्ताको मनोबल एकदमै कमजोर भएको छ । केही मान्छेले शेयर बजारबारे टीकाटिप्पणी गर्दा निकै प्रभाव पर्छ । शेयर बजारलाई स–सानो सूचनाले पनि प्रभावित पारिरहेको हुन्छ ।
लगानीकर्ताको लागि शेयर खरीद एवं विक्रीको लागि कस्तो समय उपयुक्त हुन्छ ? के–कस्ता कुरामा ध्यान दिनुपर्छ ?
अहिले लगानीकर्ताले लगानी गर्ने उपयुक्त समय हो । वारेन बफेट भन्छन्, ‘बाई इन रेड जोन ।’ अहिले नेप्से परिसूचक धेरै तल्लो विन्दुमा छ । ३२ सय पुगेको बजार १८ सयमा आउँदा करीब १४ सय अंक घटेको छ । अधिकांश कम्पनीहरूको शेयर मूल्य नेप्से इन्डेक्स ११ सय हुँदा कायम भएकोसम्म झरेका छन् । यस्तो अवस्थामा लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको बारेमा राम्रो अध्ययन गर्नु जरुरी छ ।
आधारभूत पक्ष राम्रा भएका, बोनस शेयरलगायत कम्पनीको वित्तीय अवस्थालाई राम्रोसँग केलाएर लगानी गर्नुपर्छ । बजार घट्दा पनि आधारभूत पक्ष राम्रा भएका कम्पनीको शेयर मूल्य पनि घटिरहेको हुन्छ । तर, त्यस्तो अवस्थामा बोनस शेयरले लगानी कभर गर्छ । अनि अर्को कुरा लगानीकर्ताले आफ्नो बचतको पैसा शेयर बजारमा लगानी गर्नु उचित हुन्छ । ऋण लिएर चाँहि शेयर बजारमा लगानी गर्नु हुँदैन ।
लगानीकर्ताको प्रवृत्ति ठीक विपरीत रहेको छ । बजार हरियो हुँदा किन्ने र रातो हुँदा बेचेर बाहिरिने प्रवृत्ति छ । यो एकदमै गल्ती हो । शेयर बजार भनेको घट्दा खरीद गर्ने र बढ्दा विक्री गर्ने हो । यी कुरामा ध्यान दिएमा शेयर बजारमा जोखिमभन्दा प्रतिफल बढी हुन्छ । अहिले लगानीकर्ताले लगानी गर्ने उपयुक्त समय हो ।
नयाँ स्टक एक्सचेन्ज, थप ब्रोकर लाइसेन्स आउँदा क–कसले के लाभ पाउँछन् ?
नियामक निकायले तोकिएको प्रक्रिया पूरा गरेर आउँदा थप ब्रोकर लाइसेन्सलगायत नयाँ स्टक एक्सचेन्ज पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । यी सबै प्रक्रियाहरू अगाडि बढ्दा शेयर बजारको विकाससँगै विस्तार हुन्छ । मानौं ब्रोकर लाइसेन्सकै कुरा गर्दा ५० जना ब्रोकरहरूको मात्रै मनोपोली हुनु भएन । काठमाडौंमा मात्रै सीमित रहेको पूँजी बजार नेपालको सबै ठाउँमा पुग्नुपर्छ ।
यसबाट सबै ठाउँमा रहेका नेपालीले शेयर बजारबारे बुझ्न र लगानी गर्न पाउँछन् । यसबाट प्रतिस्पर्धा हुन्छ, क्वालिटी हुन्छ र सेवा सुविधा थपिन्छन् । त्यस्तै नयाँ स्टक आएसँगै पूँजी बजारमा ठूलो विकास र विस्तार हुन्छ । नयाँ कम्पनीहरू थपिन्छन्, नयाँ टेक्नोलोजीहरू भित्रिन्छन् । अहिलेसम्म नेपालमा नेप्सेले नगरेको कामहरू अक्सन मार्केट, इन्ट्राडे, सर्टसेल जस्ता प्रविधिहरू भित्रिन्छन् । सर्टसेलबाट बजार घट्दा पनि कमाउन सकिन्छ । अहिलेको पुरानो स्टक एक्सचेन्जमा ‘खाए खा नखाए घिच्’ जस्तो भइरहेको छ, बेवसाइट पनि कहिलेकाहीँ राम्रोसँग चल्दैन । प्रतिस्पर्धाका लागि पनि नयाँ स्टक एक्सचेन्ज आउनैपर्छ ।
पछिल्लो समय शेयर बजारलाई लिएर नेपालीहरू, त्यसमा पनि युवावर्गमा बढी नै चासो देखिन्छ । नयाँ लगानीकर्ता कसरी शेयर बजारमा आउनुपर्छ ? तपाईको सुझाव के छ ?
नयाँ लगानीकर्ताहरूलाई सर्वप्रथम आईपीओ भर्न नछुटाउनुहोस् भन्न चाहन्छु । सेकेन्डरी बजारमा सीधै हात नहाल्नुहोस् । धेरै अध्ययन गर्नुपर्छ । शेयर बजारसम्बन्धी आधारभूत ट्रेनिङ लिएर स–सानो मात्रै लगानी गर्नुपर्छ । सबै वर्गका मानिसहरूसँग मेहनत गरेर कमाएको पैसा हुन्छ । सोही कारण पनि नबुझीकन एकैपल्ट लगानी गर्दा जोखिम बढी हुन्छ, बुझेर लगानी गर्नुपर्छ । वार्षिक वित्तीय विवरण हेरेर कम्पनीले १० वर्षदेखि कत्तिको नाफा कमाइरहेको छ ?
त्रैमासिक वित्तीय विवरण राम्रोसँग नियाल्नु जरुरी हुन्छ । कम्पनीले निरन्तर रूपमा लाभांश वितरण गरिरहेको छ कि छैन । त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ । लगानीकर्ताले कम्पनीको प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, नन पर्फर्मिङ लोन जस्ता कुरालाई ध्यान दिनुपर्छ । लामो समयदेखि आवद्ध रहेका अनुभवी विश्लेषक वा लगानीकर्ताहरूको भनाइहरू पनि सुन्नुपर्छ ।