काठमाडौं । कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले बाह्य क्षेत्र बलियो हुँदा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत गरेको छ ।
विप्रेषण (रेमिट्यान्स) र भ्रमण आय वृद्धिसँगै शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सहज अवस्थामा पुगेका छन् । यससँगै उच्च विन्दुमा पुगेको बैंकको आधारदर र ब्याजदर घट्न थालेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार देखिएको राष्ट्र बैंकले औंल्याएको छ ।
विप्रेषण हालसम्मकै उच्च
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को चैतमा मात्र १ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । विदेशमा रहेका नेपालीले एक महीनामा पठाएको यो हालसम्मकै बढी रकम हो । यसअघि फागुनमा १ खर्ब ४ अर्ब ४४ करोड, माघमा १ खर्ब ४ अर्ब ८ करोड र पुसमा १ खर्ब ४ अर्ब ६० करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।
चालू आवको चैतसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा विप्रेषण शून्य दशमलव २ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण १३ दशमलव ९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष डलर विप्रेषण १ दशमलव ८ प्रतिशतले घटेको थियो ।
विप्रेषण बढ्नुमा वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि र औपचारिक माध्यमबाट पैसा पठाउन प्रोत्साहन गर्ने सरकारको नीतिलाई कारण मानिएको छ । औपचारिक रूपमा प्राप्त हुने विप्रेषणलाई बैंकमा राख्दा साधारण निक्षेपको भन्दा १ प्रतिशत विन्दु थप ब्याज प्रदान गर्नुका साथै विप्रेषण पठाउने नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीको साधारण शेयरमा आरक्षणको व्यवस्था गरिएको छ ।
यसैगरी भ्रमण आय ९४ दशमलव ३ प्रतिशतले बढेर चैत मसान्तमा ४४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२ अर्ब ७३ करोड रुपैयाँ मात्र थियो । भ्रमण आय बढ्दा खुद सेवा आयको घाटा घटेर ५६ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष चैतमा खुद सेवा आय ७९ अर्ब २८ करोड रुपैयाँले घाटामा थियो ।
शोधनान्तर र सञ्चितिमा निरन्तर सुधार
चैत मसान्त हुँदा देशको शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा थप सुधार देखिएको छ । २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति १७ दशमलव ९ प्रतिशतले बढेर चैतमा १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ । अमेरिकी डलरमा सञ्चिति २०७९ असारको ९ अर्ब ५४ करोडबाट १४ दशमलव ८ प्रतिशतले वृद्धि भई चैतमा १० अर्ब ९४ करोड पुगेको छ ।
विदेशी मुद्रा सञ्चिति बढेपछि विदेशबाट वस्तु तथा सेवाको आयात धान्ने क्षमता पनि बढेको छ । चालू आव २०७९/८० को ९ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चितिले ११ महीनाको वस्तु र ९ दशमलव ४ महीनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
एक वर्षअघि विदेशी मुद्राको सञ्चिति पर्याप्तता ६ दशमलव ६ महीनाको आयात धान्ने स्तरमा ओर्लेको थियो । त्यसबेला मुलुकको बैंकिङ क्षेत्रसँग ११ खर्ब ६७ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो । विदेशी मुद्रा सञ्चिति घटेपछि आयात निरुत्साहित हुने गरी राष्ट्र बैंकले विलासी वर्गका वस्तुको आयात एलसीमा नगद मार्जिनको व्यवस्था गर्यो । सरकारले १० वस्तुको आयातमा रोक लगायो ।
सरकार र राष्ट्र बैंकले लिएको नीतिका कारण आयात घटेपछि शोधनान्तर स्थिति बचतमा गएको हो । शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति बढेपछि सरकारले आयात प्रतिबन्ध हटाउनुका साथै राष्ट्र बैंकले एलसीमा नगद मार्जिनको प्रावधान हटाइसकेको छ ।
चालू आवको चैतसम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा यो २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा थियो ।
राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीतिका कारण आयात र निर्यात दुवै घटिरहेको छ । यसले पनि शोधनान्तर अवस्था र विदेशी मुद्राको सञ्चितिमा सुधार आएको हो ।
मूल्यवृद्धिमा भने दबाब
अर्थतन्त्रका सूचक बलियो बन्दै गएका बेला मूल्यवृद्धिमा भने दबाब कायमै छ । चालू आवको चैतमा उपभोक्ता मूल्यवृद्धिदर ७ दशमलव ७६ प्रतिशत छ । अघिल्लो वर्ष चैतमा यो ७ दशमलव २८ प्रतिशत थियो । चालू आवकै फागुनमा मूल्यवृद्धिदर ७ दशमलव ४४ प्रतिशत थियो ।
आन्तरिक अर्थतन्त्र सुधारको संकेत
कसिलो मौद्रिक नीतिमार्फत संकटोन्मुख अर्थतन्त्र सुधारको लक्ष्य लिएको राष्ट्र बैंकले उक्त नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने अवस्थामा आइपुग्दा आन्तरिक स्थितिमा पनि सुधारका संकेत देखिन थालेका छन् । मौद्रिक नीतिका कारण लगातार उकालो लागेको ब्याजदर घट्न थालेको छ । बैंकमा निक्षेप तथा कर्जा प्रवाह पनि बढ्न थालेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघमा १३ दशमलव शून्य ३ प्रतिशत पुगेको कर्जाको औसत ब्याजदर चैतमा १२ दशमलव ८४ प्रतिशतमा झरेको छ । यस्तै निक्षेपमा पनि ८ दशमलव ४१ प्रतिशत पुगेको औसत ब्याजदर चैतमा ८ दशमलव २६ प्रतिशतमा झरेको छ । बैंकहरूको आधारदर पनि १० दशमलव ७२ बाट १० दशमलव ४८ प्रतिशतमा झरेको छ ।
बैंकहरूको निक्षेप संकलन तथा कर्जा प्रवाहमा पनि सुधार देखिएको छ । चैतमा बैंक, वित्तीय संस्थाहरूमा निक्षेप ७ प्रतिशतले र कर्जा प्रवाह ३ दशमलव ५ प्रतिशतले बढेको छ । वैशाखदेखि बैंकहरूले ब्याजदर, कर्जाको प्रिमियमदर घटाएको र राष्ट्र बैंकको निर्देशनअनुसार स्प्रेडदर समेत समायोजन गरेकाले आगामी महीनामा ब्याजदर अझ कम हुने र अर्थतन्त्र विस्तारै सहज हुने राष्ट्र बैंकका अधिकारी बताउँछन् । चैत अन्तिम साता ८ महीनासम्मको प्रतिवेदन सार्वजनिक गर्दा गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र ट्र्याकमा आएको दाबी गरेका थिए । अर्थतन्त्रको आन्तरिक र बाह्य अवस्था सुध्रिएको भन्दै उनले सर्वसाधारणसम्म यसको लाभ पुग्न केही समय लाग्ने बताएका थिए ।
आर्थिक सूचकहरूमा सुधारसँगै मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिएर ब्याजदर घटाउन, कर्जा प्रवाह बढाउन र उद्योगी व्यवसायीलाई सहुलियत दिन राष्ट्र बैंकलाई दबाब बढेको छ ।