ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग संगठन मोरङका उपलब्धि : स्टार्टअप प्रवर्द्धनदेखि बिजनेश क्लिनिकसम्म 

२०८० बैशाख, २९  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

उद्योग संगठनले दुईवर्षे रणनीतिक कार्ययोजना अन्तर्गत उद्योग व्यवसायको हकहित प्रवर्द्धन तथा मुुलुकको आर्थिक क्षेत्रको बृहत्तर हितका लागि नीतिगत बहस पैरवी, व्यावसायिक विकास सेवा प्रवाह, नेटवर्किङ तथा सम्बन्ध विस्तार र व्यावसायिक सामाजिक जिम्मेवारी गरी चारओटा रणनीतिक लक्ष्यहरू तय गरी सोही अनुरूपका विविध क्रियाकलाप सञ्चालन गरेको छ । यसबाहेक पनि संगठनले विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

निजीक्षेत्र र सरकारबीचको पुलको काम
संगठनले गर्ने बहस पैरवीलाई तथ्यका आधार सञ्चालन गर्न औद्योगिक सर्वेक्षण गरी तथ्यांक संकलन गरिएको छ । समष्टिगत अर्थतन्त्रका परिसूचकलाई समावेश गरी मासिक न्यूजलेटर प्रकाशन गरिएको छ । वित्तीय संकट र यसले निम्त्याएको असरका बारेमा मौद्रिक नीतिमा सुधार गर्नुपर्ने पक्षहरू, बजेटले पारेका प्रभाव, मिरगञ्ज पुलको अवरोध तथा यसको प्रभाव, बाढीले औद्योगिक क्षेत्रमा पुर्‍याएको क्षति लगायत समसामयिक विषयमा तथ्यपरक ढंगले अनुसन्धान गरी बहस पैरवीका कार्यक्रम सञ्चालन गरिएको छ । यसअन्तर्गत सरोकारवालाबीच तथा अन्तरक्रिया, सम्बन्धित राजनीतिक तथा प्रशासनिक नेतृत्व समक्ष डेलिगेशन बैठक, पत्राचार, प्रेस विज्ञप्ति लगायत क्रियाकलाप नियमित रूपमा सञ्चालन गरियो । साथै उपलब्ध सबै प्रकारका फोरममार्फत आर्थिक एवं औद्योगिक क्षेत्रको विकासका समसामयिक तथा रणनीतिक महत्वका विषयको उठान तथा समाधानका लागि पहल गरिएको छ । 

आर्थिक सम्मेलन ‘पाथ वे टु प्रोस्पेरिटी प्रोभिन्स वान’को आयोजना 
२०७८ फागुन १४ गते उद्योग संगठन मोरङले बाह्रखरी मिडियासँगको सहकार्यमा संगठनको सभाहलमा ‘पाथ वे टु प्रोस्पेरिटी प्रोभिन्स वान विषयक’ प्रदेशस्तरीय आर्थिक सम्मेलन सफतापूर्वक सम्पन्न गर्‍यो । यस कार्यक्रममा करीब ५०० जनाकोे सहभागिता थियो । कार्यक्रममा अर्थतन्त्रका विविध विषयलाई प्राथमिकता साथ उठान गरिएको थियो । 

विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनीको सफल आयोजना

संगठनले २०५३ सालदेखि निरन्तर रूपमा विराट एक्स्पो आयोजना गर्दै आएको छ । सोहीअनुसार सातौं संस्करणको रूपमा विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना गरिएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहेको उक्त एक्स्पोले व्यावसायिक विकासको अन्तरसम्बन्ध स्थापनामा सघाउ पुर्‍याएको छ । एक्स्पोको अवधिमा ६ ओटा थिममा २१ ओटा प्राविधिक सत्रहरू सञ्चालन भएका थिए । 

बृहत्तर रूपमा आयोजित उक्त एक्स्पो सफलतापूर्वक सम्पन्न भयो । एक्स्पोमा उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदान भयो । एक्स्पोले उद्यमी व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पुर्‍याएको छ । साथै कृषि उत्पादनको व्यावसायिकीकरण गर्न एक्स्पोले ठूलो भूमिका निर्वाह गरेको छ । उक्त एक्स्पोले औद्योगिक एक्स्पोको नयाँ मानक कायम गरेको छ । समग्रमा कोशी प्रदेशमा औद्योगिक उद्यमशीलताको दिगो इकोसिष्टम विकास गर्ने लक्ष्यको पहिलो खुड्किलो उक्लिएको यस एक्स्पोको सफलताबाट प्रमाणित भएको छ । 

‘मेरो देश मेरै उत्पादन’ उत्पादनमा राष्ट्रव्यापी अभियान 
स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुन्नत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले ‘मेरो देश, मेरै उत्पादन’को अभियान शुरू गरेका हुन् । जनस्तरसम्म पुर्‍याउने उद्देश्यले यो अभियान सञ्चालन भइरहेको छ । २०७७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट यो अभियानको प्रारम्भ गरिएको थियो । मेरो पहिलो रोजाइ स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पूरा गर्दछु, म आफ्ना छिमेकी, साथीभाइ, इष्टमित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु, उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवर्द्धनमा सधैं लागिपर्नेछु भन्ने चारबुँदे प्रतिबद्धता समेत तयार गरी अभियान सञ्चालन गरिएको छ । अभियानको निमोनिक लोगो उद्योगी व्यवसायीले प्राथमिकताका साथ आफ्ना उत्पादनमा प्रयोग गर्दै आएका छन् ।

स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम 
नवीन व्यावसायिक सोच विचार तथा अवधारणा भएका युवालाई उद्यमशीलतामा रूपान्तरण गर्न आवश्यक प्राविधिक एवं व्यावसायिक विकास सेवाहरू, वित्तीय एवं अन्य लगानीको पहुँचका लागि सहजीकरण तथा समन्वय गरी नयाँ व्यवसायको सृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमअन्तर्गत २ चरणको सफलतापूर्वक सम्पन्न गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालय, अन्तरप्रेरणा प्रालि, स्वीस कन्ट्याक्ट, विराटनगर महानगरपालिका, नबिल बैंक लगायत संस्थासँग सहकार्य गरी सञ्चालन गरिएको कार्यक्रममा नवीन व्यावसायिक आइडिया भएका ३५ जना युवा उद्यमीलाई व्यावसायिक विकास सेवाहरूको माध्यमबाट उद्यमशीलतामा रूपान्तरणका लागि सहजीकरण गरिएको छ । व्यावसायिक विकासका सेवाहरूको नेटवर्क विकास गरी उद्यमशीलताको बृहत्तर इकोसिष्टम विकास गर्ने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमबाट नेपाल सरकारले प्राथमिकतामा राखेको इन्कुबेशन सेन्टर सञ्चालनको परिकल्पनालाई साकार पार्न महत्वपूर्ण अनुभव हासिल भएको छ ।
 
दक्ष जनशक्ति उत्पादनका लागि सहजीकरण
औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग सम्बोधन गर्न उद्योग संगठन मोरङले शीप विकास इकाइ सञ्चालनमा ल्याएको छ । उद्योगलाई चाहिने दक्ष जनशक्ति र बजारमा उपलब्ध जनशक्तिका बीचमा रहेको भिन्नताका कारण उद्योग व्यवसायले भोग्दै आएको दक्ष जनशक्ति अभावको समस्या सम्बोधन गर्न तालीम प्रदायक संस्था र उद्योगबीच समन्वय गरी दक्ष जनशक्तिको उपलब्धता सहज बनाउने यसको उद्देश्य छ । स्वीस सरकारको सहयोगमा हेल्भेटास इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादनका मुख्य सरोकारवालाहरू निजीक्षेत्र, सरकार र तालीम प्रदायक शैक्षिक संस्थाहरूबीच तालीम सहजीकरण, नीतिगत सुधार र रोजगारी सृजनाका लागि समन्वय गरिन्छ । साथै दिगो नीति फोरमका रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्नेछ । यो कार्यक्रमको सञ्चालनका लागि आगामी सन् २०२५ सम्मका लागि इन्स्योर परियोजनासँग सम्झौता भएको छ ।

स्थलगत उद्योग भ्रमण तथा बिजनेश क्लिनिक सञ्चालन 
निजीक्षेत्रका वास्तविक मुद्दाको ठोस र मूर्त पहिचान हुन सकेको छैन । त्यसैले तिनको समाधान खोज्ने, नीति निर्माण तहमा चित्तबुझ्दो तथा प्रभावकारी भूमिका निर्वाह गर्ने र निजीक्षेत्रको बहस पैरवी गर्ने कुरा प्रचारमुखी जस्तो मात्र भयो कि भन्ने अनुभूति हुन थालेको छ । यसबाट माथि उठेर संगठनले बिजनेश क्लिनिकको अवधारणा अघि सारेको हो । यस कार्यक्रमअन्तर्गत सदस्य उद्योग प्रतिष्ठानका समस्या संकलन गर्न सदस्य प्रतिष्ठानमा भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ । यसरी संकलित समस्यालाई कार्यान्वयन तह, नीतिगत तह, उद्योग विशेष वा साझा समस्या तथा ऊर्जा, कर, राजस्व, श्रम, भन्सार, निर्यात आयात, बैंक तथा वित्तीय क्षेत्र, स्थानीय सरकार जस्ता विषयमा वर्गीकरण गरिएको छ । सोही अनुरूपको समाधानका लागि सम्बन्धित निकायमा पहल र प्रयत्न गरिँदै आएको छ । संकलित समस्या तथा सुझावलाई संगठनले गर्ने सबै नीतिगत फोरममा प्राथमिकताका साथ उठाउँदै आएको छ । 

स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालन
उद्योग संगठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिंकेज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ । संगठनका पूर्वअध्यक्ष एवं वरिष्ठ उद्योगपति, समाजसेवी स्वं महेन्द्र गोल्छाको स्मृतिमा स्थापना गरिएको यस औद्योगिक अध्ययन केन्द्रले आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिक अध्ययन अनुसन्धान तथा नीति विश्लेषण गर्न विश्वविद्यालयका युवा अनुसन्धानकर्तालाई प्रेरित गर्नेछ । पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्य तथा हुलास वायर इण्डष्ट्रिज प्रालिको आर्थिक सहयोगमा शुरू गरिएको यो औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमूना सिकाइ केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । यस कार्यक्रमका मुख्यतः तीनओटा पक्ष छन्, जसअनुसार विश्वविद्यालयका शोधार्थीलाई आर्थिक एवं औद्योगिक विषयमा थेसिस लेखनमा सहयोग गर्ने, नीति अध्ययन तथा विश्लेषण गर्ने र अर्थनीति संवाद शृंखला सञ्चालन गर्ने रहेका छन् । यसअन्तर्गत पाँचओटा अर्थ संवाद शृंखला सञ्चालन गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)