काठमाडौं :अन्य क्षेत्रमा झैं बीमाक्षेत्रमा पनि बागमती प्रदेश नै अगाडि रहेको पाइएको छ । बीमा कम्पनीहरू बागमती प्रदेशमा मात्रै केन्द्रित हुँदा अन्य प्रदेशमा सक्रिय बीमालेखका साथै बीमा कम्पनीले संकलन गरेको बीमा शुल्क न्यून देखिएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष (आव) को चैतसम्ममा सक्रिय निर्जीवन बीमालेखको संख्या २१ लाख ६६ हजार ३२८ छ । त्यसमध्ये ४५ दशमलव १५ प्रतिशत बागमती प्रदेशमा छ । सबैभन्दा कम सक्रिय निर्जीवन बीमालेखको संख्या कर्णाली प्रदेशमा २ दशमलव १८ प्रतिशत र दोस्रो कम सुदूरपश्चिम प्रदेशमा ५ दशमलव १४ प्रतिशत छ ।
चालू आवको चैतसम्ममा सक्रिय जीवन बीमालेखको संख्या १ करोड ४१ लाख ६५ हजार ९९८ पुगेको छ । त्यसमध्ये ७२ दशमलव २२ प्रतिशत बागमती प्रदेशमा छ । सबैभन्दा कम सक्रिय जीवन बीमालेख कर्णाली प्रदेशमा १ दशमलव ४४ प्रतिशत, दोस्रो कम सुदूरपश्चिम प्रदेशमा ३ दशमलव १९ प्रतिशत र तेस्रोमा मधेश प्रदेशमा ३ दशमलव ५९ प्रतिशत रहेको छ ।
झन्डै ५० प्रतिशत बीमा शुल्क बागमतीबाट मात्रै
बीमा कम्पनीहरूले चालू आवको ९ महीनामा देशभरिबाट १ खर्ब ३४ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । त्यसमध्ये ४९ दशमलव ७२ प्रतिशत (६७ अर्ब रुपैयाँ) बागमती प्रदेशबाट संकलन भएको छ ।
प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले चैतसम्ममा ३० अर्ब १ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बागमती प्रदेशबाट मात्रै उनीहरूले कुल बीमाशुल्कको ६६ दशमलव २५ प्रतिशत (१९ अर्ब ८८ करोड रुपैयाँ) संकलन गरेका छन् । यस्तै दोस्रोमा लुम्बिनी प्रदेशबाट २ अर्ब ७३ करोड रुपैयाँ र तेस्रोमा कोशी प्रदेशबाट २ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
त्यसैगरी जीवन बीमा कम्पनीहरूले चालू आवको चैतसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यसमध्ये बागमती प्रदेशबाट ४७ अर्ब ११ करोड रुपैयाँ संकलन भएको छ । यो कुल बीमा शुल्कको ४४ दशमलव ९९ प्रतिशत हो । दोस्रोमा लुम्बिनी प्रदेशबाट १५ अर्ब २६ करोड रुपैयाँ र तेस्रोमा कोशी प्रदेशबाट १२ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
नागरिक सचेत भएपछि दायरा बढ्छ : अध्यक्ष सिलवाल
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्राधिकरणले मुलुकभर निरन्तर बीमा सचेतनाका कार्यक्रम गरिरहेको बताउँछन् । अध्यक्ष सिलवालका अनुसार चालू आर्थिक वर्षमा मात्रै प्राधिकरणले १ सयभन्दा बढी स्थानीय तहमा बीमा सचेतना र अन्तरक्रिया कार्यक्रम आयोजना गरिसकेको छ ।
बागमती प्रदेशमा मुलुकको सबैभन्दा बढी उद्योग, कम्पनी, यातायात भएकाले यही प्रदेशमा बीमाको अंश बढी हुनु स्वाभाविक भएको उनी बताउँछन् । अन्य प्रदेशमा बीमाको अंश कम भएकाले अहिले प्राधिकरणको प्राथमिकता नै बीमा सचेतना रहेको सिलवालले बताए । उनका अनुसार नागरिकहरू बीमाबारे सचेत भएसँगै अन्य प्रदेशमा पनि बीमाको दायरा क्रमश: बढ्दै जानेछ ।