काठमाडौं । मुलुकमा केही स्टार्टअपले राम्रो व्यवसाय गरिरहेको र थप सम्भावना देखिएकाले यसलाई सघाउने गरी सरकारले नीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्टार्टअप उद्यममा राम्रो व्यवसाय गर्दै आएका स्टार्टअपले आफ्ना अनुभव सुनाउँदै यस्तो धारणा राखेका हुन् ।
न्यू बिजनेश एज प्रालिले गत शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स २०२३’ को सामूहिक छलफल सत्रमा उनीहरूले कृषि, शिक्षालगायत धेरै क्षेत्रमा स्टार्टअप उद्यमको सम्भावना रहेको बताए । लजिस्टिक स्टार्टअप उपायका सह–संस्थापक राहुल मल्ल ठकुरीले ईकमर्श प्लटफर्मको प्रयोगबाट फुड तथा अन्य सामानले सजिलै ग्राहक पाउने गरेको तर अन्य लजिस्टिकका सामान डेलिभर गर्दा भने निकै सास्ती देखिने गरेको बताए ।
नेपालमा लजिस्टिकबाहेक अन्यमा प्रविधिको उपयोग राम्रो भएकाले यसमै धेरै अनुसन्धान तथा अध्ययन गरेर स्टार्टअप उद्यम शुरू गरिएको उनको भनाइ छ । स्टार्टअपका लागि वित्तीय स्रोत जुटाउन विभिन्न संस्थाहरूसँग सहकार्य गरिएको भन्दै उनले भने, ‘स्टार्टअप उद्यम सञ्चालनका लागि हाम्रो आइडिया डोल्माले सघाउँदै आएका क्षेत्रसँग मिल्दा फन्ड पाउन सजिलो भयो ।’
पत्रकारिताबाट कृषिसम्बन्धी स्टार्टअपमा फड्को मारेकी सुनीता न्हेमाफुकी कृषिक्षेत्रलाई हेर्ने मानसिकतामा अहिलेसम्म परिवर्तन नआएको बताउँछिन् । आर एन्ड डी इन्नोभेटिभ सलुशन प्रालिका संस्थापकसमेत रहेकी उनले सरकारले स्टार्टअपलाई सघाउन अझै पनि नसकेको बताइन् ।
उक्त अवसरमा उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले स्टार्टअप इकोसिस्टम बनाउने प्रमुख काम सरकारको भएको बताए । स्टार्टअप राष्ट्र बनाउन के गरिनुपर्छ ? भारतमा साढे ७ वर्षमा युनिकर्न हुन्छन् । तर, नेपालमा कार्यविधि आउनै वर्षौं लाग्यो भन्ने सहजकर्ताको प्रश्नमा गौतमले भने, ‘नीतिमा खाडल छ, यद्यपि सरकारले ढिलै भए पनि स्टार्टअपलाई परिभाषित गरेको छ । उद्यमका लागि पहिलोपटक कर्जा योजना पनि शुरू गरेको छ ।’
स्टार्टअप उद्यम कर्जा कार्यविधि–२०७९ का विशेषताका विषयमा पनि उनले जानकारी दिए । सरकारले कर्जा दिने प्रयोजनका लागि कार्यविधि ल्याएको बताए । स्टार्टअपका उत्पादन तथा सेवा समाजले भोगेका समस्याको समाधानमा सहयोगी हुनुपर्नेमा उनको जोड छ । उपायका मल्लले भने, ‘लगानी गर्दा कहाँ गर्ने, कसरी गर्ने, फन्ड उठाउँदा उनीहरूको इच्छा कता छ भन्नेतर्फ पनि ध्यान दिऔं, समूहको पनि उत्तिकै महत्त्व हुन्छ, विश्वास गर्ने टीम जरुरी हुन्छ ।’ दूरदृष्टि, बजार र इच्छाशक्ति भएमा स्टार्टअप सफल हुन सक्ने उनको तर्क छ ।
कार्यक्रममा सहभागी नेपाली पात्रोका सन्तोष देवकोटाले अहिले बनिबनाउ क्षेत्रमा मात्रै लगानी खन्याउने सोच हाबी रहेको बताए । ‘नेपाली समाज सुहाउँदो आइडियामा काम भएको छैन र सोच नै छैन, यो दुर्भाग्य हो,’ उनले प्रश्न गरे, ‘शुरुआती बिजनेश उद्यम गर्नेलाई सरकारले कसरी सघाएको छ ?’
अर्का सहभागी गोविन्द चापागाईंले लघुवित्तको ४ खर्ब रुपैयाँ कृषिमा लगानी भए तापनि पैसामात्र दिइएको, परियोजना नदिएको गुनासो गरे । छरिएको पैसा कसरी उपयोग गर्ने भन्नेमा सरकारले के कसरी सघाउँछ भन्ने उनको प्रश्न थियो ।
सामूहिक छलफलमा सहजीकरण गरेका विकासा टेकका सहसंस्थापक अस्मोद कार्कीले स्टार्टअप युनिकर्न हुन लगानी, कोष, कृषिको घट्दो योगदान, सेवाको बढ्दो योगदानलगायत विषयमा प्रश्न गरेका थिए ।
कार्यक्रममा सहभागी कुवेर पाठकले अहिलेको पुस्तालाई कुन समयमा कुन खेती गर्ने भन्ने ज्ञान नभएको बताए । उनले कृषि स्टार्टअपमा कसरी युवालाई आकर्षित गर्न सकिन्छ भनेर विभागका महानिर्देशक गौतमलाई प्रश्न गरेका थिए ।
‘७ वर्षमा धेरै जमीन बाँझो बन्दै छ, अहिलेका युवालाई कृषिमा कसरी आकर्षित गर्न सकिन्छ’ भन्ने प्रश्न उनले उद्यमी सुनीता न्हेमाफुकीलाई सोधेका थिए । उक्त प्रश्नको उत्तरमा उनले भनिन्, ‘इजरायलमा ३ प्रतिशत कृषक कृषिमा आबद्ध छन्, उनीहरूले ९७ प्रतिशत जनसंख्यालाई उपभोग गर्न सक्ने उत्पादन दिएर, अमेरिका, यूरोपलगायत देशमा निर्यात गर्छन्, तर नेपालमा भने कृषि दु:खको पेशा हो भन्ने बुझाइ छ । यो अवस्था फेर्न इन्जिनीयरलगायत पेशामा भएकाहरू समेत कृषिमा आउने वातावरण र कृषि प्रविधिको विकास गर्नुपर्छ ।’