काठमाडौं । वैशाखमा जीवन बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क चालू आवकै सबैभन्दा कम रहेको छ । १० महीनाको अवधिमा असोजमा बाहेक हरेक महीना कम्तिमा १० अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका कम्पनीहरूले वैशाखमा भने ९ अर्ब ३७ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् । यो बीमा शुल्क पछिल्लो १० महीना यताकै सबैभन्दा कम हो ।
कम्पनीहरूले चैतमा ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका कम्पनीले फागुनमा १० अर्ब ३३ करोड, माघमा ११ अर्ब ७३ करोड, पुसमा १२ अर्ब १३ करोड र मंसिरमा १३ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
त्यस्तै कात्तिकमा १० अर्ब २३ करोड, असोजमा ९ अर्ब ७३ करो८, भदौमा १० अर्ब ९८ करोड र साउनमा १५ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । साउनमा आर्जन गरेको बीमा शुल्क नै चालू आवको सबैभन्दा धेरै बीमा शुल्क हो । साउन पछि मंसिरमा आर्जन गरेको बीमा शुल्क चालू आवकै दोस्रो धेरै हो ।
किन घट्यो बीमा शुल्क आर्जन ?
देशमा देखिएको आर्थिक सुस्तीको असर बीमा व्यवसायमा परेको बीमा कम्पनीहरूको भनाइ छ । आर्थिक मन्दीमा पहिलो आवश्यक्ता परिवारको आवश्यक्ता र त्यसपछि मात्रै अन्य कुरा पर्दा बीमा व्यवसाय निकै खुम्चिएको कम्पनीकोहरू दाबी छ ।
नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेश खत्री आर्थिक मन्दीकै कारण बीमा व्यवसाय खस्किएको बताउँछन् ।
'बीमितहरूले बीमा पोलीसी नविकरण गर्न अहिले नसकिने बताइरहेका छन् । उनीहरूको पहिलो आवश्यक्ता परिवारको छाक टार्ने भएको छ।' खत्रीले भने, 'जीवन बीमा भनेको फोर्स सेभिङ हो, मन्दीको बेला यो प्राथमिकतामा परेको छैन ।'
'सहकारीको व्यवसाय राम्रो भएको बेलामा व्यवसायिक अभिकर्ताले सहकारी मार्फत बीमितको पोलीसी नविकरण गरिदिन्थे । अहिले सहकारीहरू पनि समस्यामा परेपछि अन्य विकल्पबाट नविकरण सम्भव भएन । त्यसैले बीमा व्यवसाय यो वर्षकै न्युत स्तरमा आएको हो ।' उनले भने ।
अहिले नयाँ पोलीसीको विक्री पनि घटेको र नविकरण पनि ठप्पै भएको कम्पनीहरूको भनाइ छ ।
महीना | प्रथम बीमा शुल्क (रु लाखमा) | नवीकरण बीमा शुल्क (रु लाखमा) | बीमा शुल्क (रु लाखमा) |
साउन | 22,033.45 | 128,540.40 | 150,573.86 |
भदौ | 26,124.99 | 83,734.80 | 109,859.79 |
असोज | 22,796.96 | 74,537.96 | 97,334.93 |
कात्तिक | 20,217.15 | 82,129.66 | 102,346.81 |
मंसिर | 21,536.38 | 113,510.41 | 135,046.79 |
पुस | 29,070.30 | 92,288.07 | 121,358.37 |
माघ | 22,792.46 | 94,601.25 | 117,393.71 |
फागुन | 20,673.03 | 82,665.25 | 103,338.27 |
चैत | 24,808.16 | 85,287.54 | 110,095.70 |
वैशाख | 23,225.91 | 70,523.31 | 93,749.22 |
स्रोत: नेपाल बीमा प्राधिकरण
बीमा शुल्क घट्दा पनि बीमा संस्थान र सानीमा रिलायन्सको बीमा शुल्क बढ्यो
चालू आर्थिक वर्षको चैत महीनाको तुलनामा वैशाख महीनामा राष्ट्रिय बीमा संस्थान र सानीमा रिलायन्सको व्यवासायमा मात्रै सुधार आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको वैशाख महीनामा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
कम्पनीहरुले चैत महीनामा भने ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चैत महीनाको तुलनामा वैशाखमा कम्पनीहरूको बीमा शुल्क १४ दशमलव ८५ प्रतिशतले घटेको छ ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३१ दशमलव ६० प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा ३६ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ४७ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै सानीमा रिलायन्सको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३७ दशमलव ७१ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा २४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ३४ करोड ०५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
अन्य बीमा कम्पनीहरुको अवस्था के छ?
बीमा कम्पनी | चैत महीनाको बीमा शुल्क (रु लाखमा) | वैशाख महीनाको बीमा शुल्क (रु लाखमा) | फरक प्रतिशत |
राष्ट्रिय बीमा संस्थान | 3634.54 | 4,783.09 | 31.60 |
नेशनल लाइफ इन्स्योरेन्स | 11523.53 | 10,216.80 | -11.34 |
नेपाल लाइफ इन्स्योरेन्स | 28825.42 | 23,920.03 | -17.02 |
लाइफ इन्स्योरेन्स कपोरेशन | 14472.88 | 12,434.42 | -14.08 |
मेट लाइफ | 4862.5 | 3,973.08 | -18.29 |
एशियन लाइफ इन्स्योरेन्स | 6021.08 | 4,946.10 | -17.85 |
गुरास लाइफ इन्स्योरेन्स* | 2551.01 | 1,493.44 | -41.46 |
प्राइम लाइफ इन्स्योरेन्स* | 3762.42 | 1,865.62 | -50.41 |
आइएमई लाइफ इन्स्योरेन्स | 3638.44 | 2,794.56 | -23.19 |
युनियन लाइफ इन्स्योरेन्स* | 5777.86 | 4,744.84 | -17.88 |
सन नेपाल लाइफ इन्स्योरेन्स | 2901.21 | 2,635.70 | -9.15 |
रिलायन्स लाइफ इन्स्योरेन्स* | 499 | ||
रिलायबल नेपाल इन्स्योरेन्स | 3838.25 | 2,639.83 | -31.22 |
सिटिजन्स लाइफ इन्स्योरेन्स | 4451.17 | 4,024.39 | -9.59 |
सानीमा लाइफ इन्स्योरेन्स* | 443.99 | ||
प्रभु लाइफ इन्स्योरेन्स | 1547.58 | 1,364.69 | -11.82 |
महालक्ष्मी लाइफ इन्स्योरेन्स | 1679.62 | 1,266.56 | -24.59 |
सुर्य ज्योती लाइफ इन्स्योरेन्स | 7192.46 | 5,729.13 | -20.35 |
सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स* | २४७२.७५ | 3,405.22 | 37.71 |
हिमालन लाइफ इन्स्योरेन्स* | 1,511.73 | ||
जम्मा | 110095.71 | 93,749.23 | -14.85 |
स्रोत: नेपाल बीमा प्राधिकरण
*सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर अघि चैत ८ गते सम्म छुट्टाछुट्टै र मर्जर पछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट व्यवसाय शुरु गरेको।
*गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले मर्जर अघि वैशाख २८ गते सम्म छुट्टाछुट्टै र मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट व्यवसाय शुरू गरेको ।