काठमाडौं । अर्थतन्त्रको बाह्य अवस्था र बैंकहरूमा तरलता सुधारसँगै नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीतिमा पुनरावलोकन गरेसँगै बैंकहरूको ब्याजदर घट्न
थालेको छ ।
कोभिड–१९ र रूस–युक्रेन तनावका कारण महँगी उच्च भएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएको थियो । त्यसले बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुर्याएको थियो । तर, अर्थतन्त्रको बाह्य अवस्थामा आएको सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीति लचिलो बनाउँदै लगेपछि ब्याजदर घट्न थालेको हो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को माघमा बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुगेको थियो । फागुनपछि भने बैंकहरूको निक्षेपको ब्याजदर, आधारदर र कर्जाको ब्याजदर घट्न थालेको हो ।
तरलताको अवस्था सहज भएर बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेपछि आधारदर घटेर कर्जा सस्तो हुँदै भएको छ । यसबाहेक राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षाबाट ब्याजदर घटाउन प्रोत्साहन गरेको छ ।
चालू आवको मौद्रिक नीतिबाट राष्ट्र बैंकले बैंकदर १ दशमलव ५ प्रतिशत बिन्दुले बढाएर ८ दशमलव ५ प्रतिशत, नीतिगत दर ५ दशमलव ५ प्रतिशतबाट ७ प्रतिशत, निक्षेप संकलन दर ४ प्रतिशतबाट ५ दशमलव ५ प्रतिशत पुर्याएको थियो ।
यसले गर्दा वृद्धि भएको ब्याजदरको चर्को आलोचना भएपछि राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्पmत बैंकहरूको स्प्रेडदर (बैंक, वित्तीय संस्थाले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर) घटाउने घोषणा गर्यो । त्यसअनुसार वाणिज्य बैंकहरूले २०७९ चैत महीनाबाट स्प्रेडदर ४ दशमलव २ प्रतिशत र विकास बैंक तथा फाइनान्स कम्पनीहरूले ४ दशमलव ८ प्रतिशतमा कायम गरेका छन् ।
२०८० असारबाट भने वाणिज्य बैंकहरूले ४ प्रतिशत र विकास बैंक तथा फाइनान्सले ४ दशमलव ६ प्रतिशत स्प्रेडदर कायम गर्नुपर्नेछ । स्प्रेडदर घट्दा बैंकहरूको कर्जाको ब्याजदर सस्तो भएको छ ।
यस्तै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट राष्ट्र बैंकले ओभरनाइट रिपोको ब्याजदर पनि १ दशमलव ५ प्रतिशत विन्दुले घटाएर ७ प्रतिशतमा झारेको छ । यसबाट पनि बैंकहरूको पूँजीमा लागत कम भई ब्याजदरमा प्रभाव परेको छ । यसैगरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट बैंकदर १ प्रतिशत विन्दुले घटाएर ७ दशमलव ५ प्रतिशत कायम गरिएको छ ।
नेपाल बैंकर्स संघले पनि वैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्नुका साथै कर्जाको प्रिमियम समेत घटाएर अधिकतम ५ प्रतिशत मात्र तोकेको छ । यसले गर्दा ब्याजदर घट्दै गएको छ ।
संघका अध्यक्ष सुनील केसी बैंकहरूको ब्याजदर घट्दो क्रममा रहेको बताउँछन् । ‘राष्ट्र बैंकको नीति र बजारको अवस्थाले ब्याजदर घट्दै गएको छ,’ उनले भने, ‘असारसम्म हामी निकै सहज अवस्थामा आउँछौं ।’
ब्याजदर घट्दै गएकाले विस्तारै कर्जा प्रवाह हुने बैंकरहरूको अपेक्षा छ । वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थामा निक्षेप ३ खर्ब ७० अर्ब ७८ करोडले बढ्दा कर्जा भने १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँले मात्र बढेको छ ।
राष्ट्र बैंकले शुक्रवार प्रकाशित गरेको वैशाखसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले पनि अर्थतन्त्रको बाह्य क्षेत्र अझ बलियो भएको र आन्तरिक अवस्था सुधार हँुदै गएको आंैल्याएको छ ।
वैशाखसम्ममा विप्रेषण आप्रवाह २३ दशमलव ४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण शून्य दशमलव ५ प्रतिशतले बढेको थियो ।
यस्तै शोधनान्तर स्थिति पनि वैशाखमा २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो । २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २० दशमलव ९ प्रतिशतले वृद्धि भई २०८० वैशाखमा १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाखमा १७ दशमलव ६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।
आव २०७९÷८० को १० महीनाको आयातको आधारमा उक्त विदेशी मुद्रा सञ्चिति ११ दशमलव २ महीनाको वस्तु आयात र ९ दशमलव ७ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।