विगत एक दशकभन्दा बढी समयदेखि शेयर बजारमा लगानी गर्दै आएका लगानीकर्ता नवराज दहालसँग पछिल्लो शेयर बजारको स्थितिबारे आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानीको सार :
पछिल्लो समय शेयर बजारकोे अवस्थालाई कसरी हेर्नुभएको छ ?
हामीले बजारप्रति सधैं नै सकारात्मक भएर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्नुपर्ने हुन्छ तर कहिलेकाहीँ बजारमा विपरीत परिणामहरू पनि पाइरहेका हुन्छौं । नियामक निकायहरूले ल्याउने अस्थिर नीतिका कारण पछिल्लो समय शेयर बजार प्रभावित भएको हो । नेपालको शेयर बजारले यसअघि प्राप्त गरेको उचाइमा पुन: पुग्न धेरै समय कुर्नु नपर्लाजस्तो लाग्छ । बजारमा पछिल्लो समय नराम्राभन्दा पनि राम्रा कुराहरू देखिरहेका छौं ।
नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाउने क्रम चलिरहेको छ भने नयाँ स्टक एक्सचेन्जको प्रक्रिया रोकिएको छ । कतिपयले त विरोध पनि गरिरहेका छन् । यसले बजारमा कस्तो असर पर्ला ?
नयाँ ब्रोकर लाइसेन्स हामीले विगतमा धेरै आन्दोलन गरेर राखेको माग हो । त्यतिखेरै हामी नेपाल स्टक एक्सचेन्जलाई पुन: संरचना गर भनेर आन्दोलनमै उत्रिएका थियौं तर नयाँ स्टक एक्सचेन्ज मागेका थिएनौं । ‘नेप्सेलाई पुन: संरचना गर’ भन्दा राज्यले तत्काल सुनेन । पछि बाध्य भएर यो पुरानो स्टक एक्सचेन्जमा सुधार ल्याउन नयाँ स्टक एक्सचेन्ज माग गरेका हौं ।
तत्काल काम गरिरहेका सीमित ब्रोकरहरूको सिन्डिकेटले गर्दा बजार विस्तार हुन सकेन । लगानीकर्ताले ब्रोकरहरूबाट पाउने सेवा स्तरीय नभएको अवस्थामा नयाँ ब्रोकर लाइसेन्स खुल्नु नेपाली पूँजी बजारको लागि ‘कोसेढुंगा’ हो । यसले एकदमै राम्रो परिणाम दिनेछ । शेयर बजारको भविष्य सहज छ भन्ने प्रमाणित गर्न पनि नयाँ ब्रोकरहरूले लगानीकर्ताले अनुभव गर्ने गरी काम गर्छन् जस्तो लाग्छ । नयाँ ब्रोकर आउने बित्तिकै बजार बढ्छ भन्ने कतिपयको बुझाइ छ । नयाँ ब्रोकर आउने बित्तिकै ब्रोकरले शेयर खरीद गरेर बजार बढाउने होइन, उनीहरूले दीर्घकालीन रूपमा बजार माथि लैजाने अभ्यास गर्नेछन् । नयाँ ब्रोकर आउने बित्तिकै नयाँ कारोबार हुनुपर्यो, नयाँ ग्राहकहरू आउनुपर्यो, भएका ग्राहकहरूलाई पनि स्तरीय र विश्वसनीय सेवा सुविधा दिएर ग्राहकहरू बढाउनुपर्यो । नयाँ ब्रोकरलाई चुनौती भनेको नयाँ ग्राहक लिनु र लगानीकर्ताहरूलाई स्तरीय सेवा दिनुपर्ने हुन्छ । यस कारण पनि नयाँ ब्रोकरहरूबाट बजार विस्तार हुन्छ । दीर्घकालमा नयाँ ब्रोकरले गर्दा बजारमा धेरै नै सुधार आउने देख्छु ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा एनआरएनलाई जलविद्युत् र उत्पादनमूलक क्षेत्रमा मात्रै लगानी गर्न पाउने व्यवस्था गरिएको छ । किन अरू क्षेत्र समेटिन सकेनन् ?
पहिलो कुरा सरकारले पूँजी बजारलाई बुझेको छैन । सरकारले चाहने हो भने अहिलेको पूँजी बजारबाट ठूलो फाइदा लिन सक्छ । देशभित्रकै लगानीकर्ताहरू लगानी गर्न इच्छुक छन् । लगानी गर्छु भनेर पनि लगानी गर्न पाइरहेका छैनन् । कसरी भन्दाखेरी हामीले भरेको आईपीओ पर्दैन । यसको मतलव सरकारले पनि ठूला–ठूला आयोजनाहरूको आईपीओ ल्याउन सकेको छैन भने निजी क्षेत्रको पनि आउन सकेको छैन । सरकारले सेकेण्डरी मार्केटलाई मात्रै फोकस गरेर हुँदैन ।
एनआरएनलाई जलविद्युत् र उत्पादनमूलक क्षेत्रमा उनीहरूको लगानी दीर्घकालीन रूपमा प्रयोग हुने भएकाले पनि सरकारले यी क्षेत्र छुट्याएको हुन सक्छ । छोटो समयमै लगानी गरेर नबाहिरियोस् भन्ने पनि हुन सक्छ । यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ । सरकारले दिगोपन र दीर्घकालीन लगानीका लागि यी सेक्टर दिएको जस्तो लाग्छ ।
बैंकहरूमा पूँजीकोषको दबाब भएसँगै हकप्रद शेयर निष्कासनको छलफलमा जुटेका छन् । यसले शेयर बजारमा कस्तो असर पर्ला ?
हाम्रो देशको पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरूले राम्रोसँग कुरा नबुझेको देखिन्छ । हकप्रद शेयर भन्ने बित्तिकै यसले ठूलो काम गर्छ भनेर सोचेको देखिन्छ । हकप्रद शेयर भनेको हामीले किनेको चिज हो । हामीले हकप्रदलाई सेकेण्डरी मार्केटको शेयर मूल्यसँग तुलना गर्छौं, आज १०० रूपैयाँमा आएको भोलि दोस्रो बजारमा कसो २०० रूपैयाँ नपुग्ला भनेर । तर, सबै कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्ने बित्तिकै भोलि प्रगति गर्छ, राम्रो हुन्छ, प्रतिफल दिन्छ भन्ने छैन । हकप्रद शेयर निष्कासनको इस्युलाई हेर्दा अहिले कतिपय बैंकहरूलाई हकप्रद दिनैपर्ने अवस्था देखिएको छ । उनीहरूको पूँजीकोष टाइट भएर व्यवसाय गर्न गाह्रो भएको पनि देखिन्छ । तर, कतिपय बैंकहरूले मर्जर अथवा एक्वायर गरेर धेरै ठूलो पूँजी बनाइसकेका छन् र भोलि त्यो पूँजी लगानी गरेर त्यसबाट प्रतिफल लिन गाह्रो पर्ने अवस्था पनि आउँन सक्छ । नेपाल राष्ट्र बैंकले सबै बैंकहरूलाई हकप्रद निष्कासन गर्न दिनुभन्दा पनि कम्पनीहरूको सबै प्यारामिटरहरू हेरेर स्वीकृति दिएमा राम्रो हुन्छ जस्तो लाग्छ ।
शेयर बजारमा लगानीको लागि कम्पनी छनोट गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
यो चाहिँ लगानी गर्ने व्यक्तिमा भर पर्छ । कस्तो प्रकारको लगानी हो ? लगानी गर्दा दीर्घकालीन या अल्पकालीन ? डिम्याटमा शेयर आउने बित्तिकै बेच्छु भन्ने लगानीकर्ताहरूले बजारको माहोल हेरेर निर्णय गर्नुपर्ने हुन्छ । तर, दीर्घकालीन रूपमा लगानी गर्नेहरूले कम्पनीको व्यवसायको प्रकृति कस्तो छ ? हिजो कस्तो गरेको थियो ? भोलि कस्तो गर्न सक्ला भनेर वित्तीय विवरणलगायत लाभांशलाई हेर्नु जरूरी छ । त्यस्तै सर्टटम लगानी गर्दै हुनुहुन्छ भने त्यस कम्पनीमा भोलि लगानीकर्ताको आकर्षण भएर शेयर मूल्य बढ्ने आधारहरू के के छन् ? त्यसलाई विश्लेषण गरेर योजनाबद्ध तरीकाले लगानी गर्नुपर्ने हुन्छ । शेयर बजारमा एउटा पक्ष मात्र हेरेर विश्लेषण गर्नु हुँदैन ।
शेयर बजारबाट कमाएका र गुमाएका पनि धेरै उदाहरणहरू छन् । शेयर बजारबाट कसरी सफलता प्राप्त गर्न सकिन्छ ?
मेरो अनुभवमा शेयर बजारमा सबैभन्दा ठूलो कुरा धैर्य हो । बजारमा उतारचढावहरू धेरै आउँछन् । हामीले हरेक घटनालाई पूँजी बजारसँग लगेर जोड्छौं । त्यो एकदमै गलत हो । पूँजी बजारलाई चाहिँ घटनासँग जोड्नुपर्छ । जस्तै कुनै नेताले एउटा कुरा बोल्यो भने त्यसलाई बजारमा लगेर जोड्छौं अनि बजार घट्छ । आफ्नो तरीकाले विश्लेषण गरेर बजारमा टिक्न सक्यो भने त्यसले कुनै फरक पार्दैन । अहिले हाम्रो देशमा शेयर शिक्षाको कमी छ । शेयर बजारमा अनुशासित र धैर्य राखेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देख्छु ।
म पनि एक दशकभन्दा बढी शेयर बजारमा छु । कुनै बेला बजार घट्दा धैर्य गुमाएर बेचेर निस्केको भए शून्यमा हुन्थें तर त्यो बेलामा आफ्नो लगानीलाई सुरक्षित गरेर राखें । त्यसपछि मैले राम्रो समय कुरेर राम्रो प्रतिफल प्राप्त गरें । शेयर बजारमा गरिएको लगानी आजको भोलि भन्दा पनि दीर्घकालीन रूपमा अनुशासित भएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देख्छु । कुरा सबैको सुन्नुपर्छ, निर्णय आफूले गरेर अनुशासित तरीकाले धारणा बनाएर लगानी गरियो भने शेयर बजारले धोका दिँदैन ।