ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यस वर्ष किसानलाई रासायनिक मलको अभाव हुँदैन: उर्मिला श्रेष्ठको अन्तरवार्ता

२०८० असार, १३  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

२०२० भदौ २७ मा स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नेपालको आपूर्ति व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । सार्वजनिक–निजी साझेदारी मोडेलको साल्ट ट्रेडिङ कर्पोरेसन नेप्सेमा सूचीकृत कम्पनी हो । हाल कम्पनीका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा उर्मिला श्रेष्ठ छिन् । उनीसँग यस कम्पनीमा ३ दशकभन्दा बढी काम गरेको अनुभव छ । यसका अतिरिक्त उनी नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष र नेपाल महिला चेम्बरका अध्यक्ष समेत हुन् । प्रस्तुत छ, साल्ट ट्रेडिङ कर्पोरेसनमा सामानको आपूर्ति, विक्रीवितरणको अवस्था लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले श्रेष्ठसँग गरेको कुराकानीको सार ।

विगतमा साल्ट ट्रेडिङ कर्पोरेसनले मूल्य वृद्धिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने हैसियत राख्थ्यो । अहिले यसले आफ्नो कार्य कसरी सञ्चालन गरिरहेको छ ?
साल्ट ट्रेडिङ कर्पोरेसन २०२० भदौमा सरकारको अग्रसरतामा त्यति बेलाका नून व्यापारीसँगको लगानी साझेदारीमा स्थापना भएको थियो । कम्पनीमा नेपाल सरकारको २२ दशमलव ४५ प्रतिशत र सर्वसाधारणको ७७ दशमलव ५५ प्रतिशत शेयर छ । यो कम्पनी नेपालमा सार्वजनिक निजी साझेदारीको पहिलो नमूना हो । आपूर्तिको सन्दर्भमा सरकारले मन्त्रिपरिषद्बाट आयोडिनयुक्त नूनको नेपालभर विक्रीवितरणका लागि स्वीकृति दिएको छ । सरकारले आफ्नो यो काम साल्ट ट्रेडिङमार्फत गर्ने/गराउने व्यवस्था गरेको हो । देशभरको आपूर्ति व्यवस्था सहज बनाउन कम्तीमा पनि ६ महीनाको आपूर्तिको भण्डारण मौज्दात राख्नैपर्ने बाध्यता कम्पनीलाई छ । तर नूनको उत्पादनमा मौसमले असर पारिरहेको हुन्छ । वर्षमा ३/४ महीना मात्र नूनको उत्पादन हुन्छ । उत्पादनको समयलगत्तै नेपालमा मनसुन हुन्छ, जसकारण नेपालमा नून ल्याउन कठिनाइ हुन्छ । सहज तरीकाले नूनको आपूर्ति र भण्डारणका लागि यसमा वार्षिक डेढ/दुई अर्ब रुपैयाँ लगानी गर्नुपर्दछ । विगतका वर्षमा चिनीको आयात पनि गर्ने गरेका थियौं । सरकारले भन्सार शुल्क घटाइदिँदा त्यो सम्भव भएको थियो । २–३ वर्ष पहिलेदेखि चिनीको आयात गरेका छैनौं । चिनीको आपूर्ति सहजै छ भनेर धेरै लबिङ भयो । त्यसपछि आयात नगरेका हौं । तर
नेपाली चिनीको कारोबार भने गरेका छौं । यसका अतिरिक्त किसानलाई नभई नहुने रासायनिक मल अनुदान र गैरअनुदान दुवै तरीकाले आपूर्ति गरिरहेका छौं । अन्य अत्यावश्यक वस्तु चामल, दाल, गेडागुडी, घिउ, तेल, मैदा, पिठो लगायतको आयात गरिरहेका छौं । धूमपान र मद्यपानको व्यवसाय गरेका छैनौं । साल्ट ट्रेडिङले अखबारी कागजको व्यवसाय पनि निरन्तर अघि बढाएको छ । कहिलेकाहीँ फोटोकपी कागज र किताब छाप्ने कागजको विक्री पनि गर्छौं । गहुँको बीउको प्रशोधन पनि सरकारपछि सबैभन्दा धेरै हामी नै गर्छौं ।

आपूर्ति व्यवस्थापनको यति ठूलो संस्था चलाइरहँदा गहुँको बीउबाहेक कृषिउपजसँग सम्बन्धित अन्य के कस्ता कारोबार गरिरहनुभएको छ ?
गहुँको बीउको प्रशोधनका साथै ‘कन्ट्र्याक्ट फार्मिङ’ गरिरहेका छौं । गहुँको बीउ वितरण पनि गरिरहेका छौं । कम्पनीको अग्रसरतामा हेटौंडा औद्योगिक क्षेत्रभित्र खाद्य उद्योग खोलिएको छ । उक्त उद्योगमा मैदा उत्पादन गरिन्छ, जुन हामी नै विक्री गर्छौं । हामी बीउको उत्पादनमा संलग्न भइसकेपछि यसपालि मात्र भारतबाट आउने बीउ अलि बढी देखिएको हो । अरू समयमा कहिलेकाहीँ खुला सिमानाबाट आउनेबाहेक नेपालकै उत्पादन खपत हुन्छ । साल्ट टे«डिङको लगानीमा मोरङ सुगर मिल पनि छ । त्यसको फार्ममा हामीले उन्नत जातको उखु खेती गरेका छौं ।

नेपालमा चिनीसँग सम्बन्धित विभिन्न समस्या आउने गरेका छन् । किसानले समयमा पैसा नपाएको सुनिन्छ । अर्कोतिर उद्योगीका पनि आफ्नै समस्या छन् । आपूर्ति व्यवस्था खलबलिएकाले यस्तो भएको उद्योगीहरू बताउँछन् । वास्तविकता के हो ?
चिनी उद्योगमा यस्ता समस्या धेरै छन् । विगतका वर्षमा २ वर्षको उखुको पैसा रोक्ने, तेस्रो वर्ष उखु आपूर्ति गरिसकेपछि किसानले एक वर्षको पैसा मात्र पाउने अवस्था थियो । यो विषयमा हामीले मन्त्रालयमा धेरैपटक आवाज उठायौं । किसानले उखुको विषयमा सडकमा आवाज उठाइरहँदा नीति निर्माण तहमा हामीले त्यो कुरा गरिरहेका थियौं । मन्त्रालयको दबाब तथा हस्तक्षेपपछि धेरै मिलले किसानको पैसा भुक्तानी गरिसकेका छन् । दुई–चारओटा मिलको उखु भुक्तानीमा अझै पनि समस्या छ भन्ने सुनिएको छ । यो भुक्तानी नहुनुका कारण धेरै छन् ।

साल्ट ट्रेडिङले उखु उत्पादन र मिल सञ्चालन दुवै गरिरहेको छ ?
चिनी उत्पादन मिल पुरानो भएकाले बन्द भएको छ । मोरङ सुगर मिल कम्पनी आफ्नै जग्गामा छ । हामीले रोप्ने र काट्ने कामका लागि मेशिन/उपकरणमा निकै पैसा खर्च गरिसकेका छौं । श्रमिक अभावले समयमै उखु काट्न नसकिने र काटेर लगेपछि सुक्ने डरले यान्त्रिकीकरणमा धेरै पैसा खर्च भएको हो । यो क्षेत्रमा सरकारको लगानी पुगेको छैन । तर खासमा जानुपर्ने यान्त्रिकीकरणमै हो । सरकारले अहिले कृषि मन्त्रालयमार्फत सानो सानो कुरामा अनुदान दिने होइन । ठूला कृषि मिल/मशिनरीमा सरकारको लगानी भयो भने कृषिउपजको उत्पादन बढ्छ ।

कम्पनीले कति जनालाई रोजगारी दिएको छ ?
साल्ट टे«डिङमा मात्रै स्थायी र अस्थायी गरेर ५०० भन्दा बढीले नियमित रोजगारी पाइरहेका छन् । लोड/अनलोड गर्ने कामदारको संख्या यसमा जोडिएको छैन । हाम्रो अर्को वर्किङ युनिटले नून लगायत सामान प्याकिङ गर्छ । त्यसमा पनि ३०० भन्दा बढी कर्मचारी छन् । यसमा ९० प्रतिशतभन्दा बढी महिला छन् । गोरखकाली रबर उद्योगमा पनि नेपाल सरकारपछिको ठूलो साझेदार हामी नै हौं । तर त्यो अहिले बन्द छ । बुटवल धागो कारखानामा पनि हाम्रो लगानी छ । यो उद्योग सञ्चालनमा आएपछि साल्ट ट्रेडिङ अन्तर्गत रोजगारी पाउनेको संख्या थपिन्छ । वित्तीय क्षेत्रतिर सन्राइज बैंकमा हाम्रो शेयर छ । सगरमाथा र लुम्बनी इन्स्योरेन्स मर्ज भएर बनेको सगरमाथा लुम्बनी इन्स्योरेन्स कम्पनीमा पनि हाम्रो शेयर छ ।

कम्पनीको वार्षिक सरदर कारोबार कतिसम्म हुने गरेको छ ?
साल्ट ट्रेडिङको मात्र हिसाब गर्ने हो भने पहिला १०–११ अर्बको हुन्थ्यो । गतवर्ष कोभिडपछि घटेर ८ अर्बजति भएको छ । यस वर्ष बढ्ने अपेक्षा छ । नेपालमा खेतीका लागि सधैं मल अभाव हुने गरेको छ । अहिलेको स्थिति कस्तो छ ?
नेपाल सरकारको नीतिअनुसार कृषि सामग्री कम्पनी लिमिटेडले नेपाल सरकारले दिने अनुदानमध्ये ७० प्रतिशत पाउँछ । ३० प्रतिशत हामीले पाउँछौं । त्यो ३० प्रतिशतको आधारमा अहिले हामीले सबै मल ल्याइसकेका छौं । त्यसबाहेक पनि थप ९२ हजार मेट्रिक टन मल हामीलाई दिइएको छ । त्यसमध्ये धेरै मल आइरहेको छ । बाँकी मल पनि असोजभित्र आउँछ । नेपालमा वार्षिक लगभग ५ लाख मेट्रिक टन मल आवश्यक पर्दछ । अहिलेको मौज्दात ६०/७० हजार मेट्रिक टन मात्र छ । यो वर्ष असोजसम्म किसानलाई मलको समस्या हँदैन । त्यसपछि पनि खरीदका लागि सरकारले निर्देशन दिएमा कुनै समस्या हुँदैन ।

अहिले विभिन्न गाउँ ठाउँमा मल ढुवानीको प्रबन्ध कसरी गरिरहनु भएको छ ?
गाउँपालिकाको सिफारिशमा कृषि मन्त्रालयबाट कोटा छुट्ट्याइएको हुन्छ । कोटाको आधारमा हामीले वितरण गर्ने हो । तर बाहिरबाट मल आयातको हकमा सबै ठाउँमा वीरगञ्जबाटै लैजानुपर्छ, जसकारण मलको ढुवानी महँगो पर्छ । कलकत्ताबाट मात्रै मल आउने भएकाले वीरगञ्जबाटै ल्याउनुपरेको हो । विशाखापत्तनम्बाट पनि आउन थालेमा सजिलो हुने थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)