विगत १७ वर्षदेखि शेयर बजारमा लगानी गर्दै आएकी छिन् पूजा सापकोटा भट्टराई । उनीसँग शेयर बजारका विभिन्न विषयमा आर्थिक अभियान दैनिककी लक्ष्मी शर्माले गरेको कुराकानीको सार ।
शेयर बजारमा कसरी आकर्षित हुनुभयो ?
२०६३ सालमा पहिलो पटक गोर्खा विकास बैंकको आईपीओ भरेकी थिएँ । त्यो समयमा अहिलेजस्तो धेरैलाई शेयर बजारको ज्ञान थिएन ।
त्यो आईपीओ भरेपछि पर्यो । र, मैले त्यसलाई बेच्ने खोजे । तर, कसरी बेच्ने थाहा थिएन । त्यही क्रममा एक जना दिदीसँग भेट भयो । र, त्यही आईपीओ बेच्ने क्रममा दोस्रो बजारमा प्रवेश गरेकी हुँ ।
शेयर बजार महिलाको लागि एकदमै उपयुक्त देख्छु । किनभने बिहान घरको काम सकेर बच्चाबच्चीलाई स्कुल पठाएपछि ११ बजेदेखि ३ बजेसम्म पूर्णरूपमा बजारमा समय दिन पाइन्छ ।
शेयर बजारको काम जागिर गर्नभन्दा सजिलो छ । जागिर गर्न कसैको अन्डरमा बसेर काम गर्नुपर्छ । तर, शेयर बजारमा त्यस्तो हुँदैन । आफूले स्वअध्ययन गरेर नै लगानी गर्न सकिन्छ । कम्पनीको बारेमा अध्ययन गरेर लगानी गरे, प्रतिफल आउँदा बुक गर्न सके यसबाट राम्रै आम्दानी गर्न सकिन्छ । यी कारणले गर्दा म शेयर बजारमा आकर्षित भएँ ।
लामो समयदेखि शेयर बजारको उतावचढाव पार गर्दै यो क्षेत्रमा सक्रिय हुनुहुन्छ ? लगानीको लागि पूँजी बजार कतिको उपयुक्त छ ?
शेयर बजार हो, उतावचढाव त आइरहन्छ । मैले पनि शुरुआती समयमा केही कुरा नबुझ्दा अप्ठ्यारो पनि भयो । विस्तारै सबै कुरा बुझें । अहिले लगानी गर्दा अप्ठ्यारो महसुस गरेकी छैन ।
शेयर बजार लगानीको लागि एकदमै उपयुक्त क्षेत्र हो । त्यसमा पनि महिलाको लागि धेरै नै उपयुक्त हो । मैले आफ्ना धेरै चाहना यहीबाट पूरा गरेकी छु । यस कारण यो क्षेत्रजस्तो उपयुक्त अरु देख्दिनँ ।
कतिपय लगानीकर्ताले पूँजी बजारलाई नै आम्दानीको स्रोत बनाएको देखिन्छ । यो क्षेत्रमा लगानी गरेर आत्मनिर्भर हुने अवस्था देख्नुुहुन्छ त ?
संसारका जति पनि अर्बपति छन्, अधिकांश शेयर बजारमा लगानी गरेर त्यो स्थानमा पुगेका हुन् । मैले पनि शेयर बजारमा लगानी गरेर राम्रो आम्दानी गरेकी छु ।
त्यसैले शेयर बजारमा लगानी गरेर आत्मनिर्भर मात्रै होइन, मनग्ये आम्दानी गर्न पनि सकिन्छ । तर, लगानी गर्नेबित्तिकै प्रतिफल आइहाल्ने भन्ने हुँदैन । यस क्षेत्रमा लगानी गर्नुपूर्व बजारको बारेमा अध्ययन/अनुसन्धान गर्न आवश्यक हुन्छ । हल्लाको भरमा गरिएको लगानीमा जोखिम धेरै हुन्छ ।
शेयर बजारमा लगानी गर्दा बजारको ट्रेण्ड र कम्पनीको समग्र वित्तीय अवस्था हेर्नु जरुरी हुन्छ । यस्तै, हल्लाको भरमा लगानी गर्नु हुँदैन ।
पछिल्लो समय शेयर बजारमा महिला लगानीकर्ताको आकर्षण बढ्दो छ, तपाईं शेयर बजारमा लगानी गरेर सफल हुँदा अन्य महिलालाई पनि यो क्षेत्रमा ल्याउन कुनै पहल गर्नुभएको छ ?
मैले महिलालाई मात्रै होइन, पुरुषलाई पनि शेयर बजारमा लगानी गर्नका लागि पहल गरेकी छु । त्यति मात्रै होइन, शेयर बजारबारे जिज्ञासा राख्नेहरूलाई जानेका कुराहरू शेयर गर्ने गरेकी छु । शेयर लगानीकर्तालाई ब्रोकरसम्म लैजानको लागि पनि प्रोत्साहित गरेकी छु ।
कतिपय दिदीबहिनीहरू मबाट प्रभावित भएर पनि शेयर बजारमा लगानी गर्न आउनुभएको छ । मैले सिकाएकामध्ये कतिपयले राम्रो प्रगति गर्नुभएको छ ।
केही लगानीकर्ताहरू भने आजको भोलि प्रतिफल खोज्नु हुन्छ, बजार घट्दै जाँदा डराएर आफ्नो लगानी झिक्नु हुन्छ । शेयर बजारमा धैर्यता राख्न आवश्यक छ । शेयर बजार धैर्यता गर्न नसक्नेको लागि होइन ।
त्यसैले बजार घट्दा आईपीओ खरीद गर्नुस्, बढ्दा आफ्नो टार्गेट मिट भएपछि बेच्नुस् ।
शेयर बजारमा लगानीको लागि कम्पनी छनोट गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
विभिन्न क्षेत्रका राम्रा नराम्रा कम्पनीहरू नेप्सेमा सूचीकृत छन् । यस कारण हामीले लगानी गर्नुपूर्व सबैभन्दा पहिला कम्पनीको बारेमा बुझ्नु जरुरी छ ।
कम्पनीको संस्थापक शेयरधनीदेखि सञ्चालक समितिसम्मको जानकारी लिनुपर्छ । यस्तै, कम्पनीको वार्षिक प्रतिवेदनलाई राम्रोसँग केलाउनु पर्छ । यसैगरी, कम्पनीको चुक्ता पूँजी, नाफा, प्रतिशेयर आम्दानी, नेटवर्थलगायत विभिन्न फेक्टरहरूलाई पनि केलाउनु पर्छ । साथै विगत पाँच वर्षदेखि लाभांशको ट्रेण्डलाई पनि हेर्नुपर्छ ।
लगानीकर्ताले एउटै सेक्टरमा मात्रै लगानी गर्नुहुँदैन । विभिन्न सेक्टरका विभिन्न कम्पनीहरूमा लगानी गर्नु उपयुक्त हुन्छ । कम्पनीको विगत, वर्तमान र भविष्यको आँकलन गरी लगानी गर्न सकेमा शेयर बजारबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।
नयाँ लगानीकर्ताको लागि शेयर बजारमा प्रवेश गर्न र बाहिरिन कुन समय उपयुक्त हन्छ ?
शेयर बजारमा प्रवेश गरी प्रतिफल प्राप्त गरी बाहिरिनको लागि एकदमै चलाख हुनुपर्छ । हल्लाको भरमा लगानी गरियो भने एकदमै घातकसिद्ध हुन्छ ।
नेपालको शेयर बजारको इतिहासलाई हेर्दा वियरिस ट्रेण्ड २ वर्षदेखि साढे ३ वर्षसम्म रहेको देखिन्छ । बजारमा प्रवेश गर्दा पनि त्यही बीचको अवधिलाई हेरेर शेयर मूल्य निकै तल्लो विन्दुमा आएको समयमा खरीद गर्नुपर्छ ।
पहिलो आईपीओमार्फत शेयर बजारमा प्रवेश गर्नुहोस् । त्यसपछि शेयर बजारसम्बन्धी स्वअध्ययन अनुसन्धान गर्नुहोस् । इन्टरनेटमा सबै कुराको बारेमा बुझ्न सकिन्छ । यी सबै कुरा बुझेर शेयर बजारमा प्रवेश गर्नुहोस् ।
नयाँ लगानीकर्ताहरू बजार बढेर माथि पुग्दा आत्तिएर लगानी गर्नुहुन्छ, त्यो एकदमै गलत हो ।
शेयर बजारमा स्वअध्ययन एकदमै जरुरी छ । आफूले खरीद गरेको शेयर बेच्नका लागि एउटा टार्गेट राख्नुहोस्, त्यो टार्गेट मिट भएपछि विक्री गर्दा उपयुक्त हुन्छ । मचाहिँ अमेरिकी अर्बपति व्यापारी एवं शेयर बजारका लगानीकर्ता वारेन बफेटको सिद्धान्त फलो गर्छु । बफेटको सिद्धान्त छ– सबै लोभी हुँदा डराउनु र सबै डराउँदा लोभी हुनु । यस सिद्धान्तलाई फ्लो गरेर शेयर बजारमा लगानी गरे जोखिमभन्दा प्रतिफल बढी पाउन सकिन्छ ।
बजार बढ्दै जाँदा नियामक निकायले विभिन्न अभिव्यक्ति दिने गरेका छन् । त्यस्ता अभिव्यक्तिलाई पनि मूल्याङ्कन गर्न आवश्यक छ ।