काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरूलाई कुलिङ पिरियड लागू गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका अनुसार लागू गरिने भनिएको कुलिङ पिरियडको गलत बुझाइका कारण अहिले यसको विरोध भइरहेको छ ।
प्राधिकरणले गत असार १ गते कुलिङ पिरियडबारे पत्र प्राप्त भएको ७ दिनभित्र सुझाव उपलब्ध गराउन जीवन बीमा कम्पनीहरूलाई पत्राचार गरेको थियो । प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेपछि कुलिङ पिरियड पनि लागू गर्ने भएको हो ।
अभिकर्ताहरू भने बीमा अभिकर्तालाई कुलिङ पिरियड आवश्यक नभएको बताउँछन् । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारी अभिकर्तालाई कुलिङ पिरियड आवश्यक नभएको उल्लेख गर्दै अभिकर्ताले सबै बीमा कम्पनीमा काम गर्न पाउनुपर्ने बताउँछन् । ‘कोही ग्राहक ठगिएका छन् भने नियामक निकायले अभिकर्तालाई कानूनअनुसार कारबाही गर्नुपर्छ । तर, अभिकर्तालाई एउटा मात्र काम गर्न पाउने, कुलिङ पिरियड लागू गर्ने भन्दै अंकुश लगाउने काम भने गर्नु हुँदैन,’ उनले भने ।
‘सबै ग्राहकलाई एउटै कम्पनीको पोलिसी मन नपर्न सक्छ । त्यसैले अभिकर्तालाई स्वतन्त्र रूपमा विभिन्न कम्पनीको विभिन्न पोलिसीमा काम गर्न दिनुपर्छ । संसारमा कतै कुनै व्यापारीले एउटा मात्र कम्पनीको सामान विक्री गर्न पाउँछ भन्ने नियम हुन्छ ?’ उनले प्रश्न गरे ।
नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेल प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेसँगै अभिकर्तालाई कुलिङ पिरियड पनि लागू गर्न अहिले कम्पनीबाट सुझाव संकलन गरिएको बताउँछन् । ‘जीवन बीमामा सबैभन्दा ठूलो भूमिका अभिकर्ताकै हुन्छ । कुलिङ पिरियड लागू गरेर बीमा अभिकर्तालाई अझ व्यावसायिक बनाउने प्राधिकरणको उद्देश्य हो,’ उनले भने ।
प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्र प्राधिकरणले अभिकर्तालाई नै अप्ठ्यारो हुने गरी कच्चा नीति नियम नबनाउने बताउँछन् । ‘अहिले हामीले कुलिङ पिरियडको नीति बनाउन जीवन बीमा कम्पनीहरूसँग सुझाव मात्र मागेको छौं । हामी अझै पनि छलफलको क्रममै छौं । कम्पनीहरूबाट कुलिङ पिरियड १ महीनादेखि ३ वर्षसम्म हुनुपर्छ भन्ने सुझाव आएको छ,’ उनले भने ।
‘नेपालमा केही अभिकर्ता आज एउटा कम्पनीमा भोलि अर्कोमा आबद्ध हुने गरेको पाइन्छ, जसका कारण कम्पनीको व्यवसायलाई मात्र नभएर अभिकर्तालाई पनि अप्ठ्यारो भएको पाइन्छ,’ मिश्र भन्छन्, ‘कम्पनीलाई असर पनि नहुने र अभिकर्ता आफू आबद्ध कम्पनीमा समर्पित र प्रतिबद्ध काम गर्न पाउनुपर्छ भन्ने उद्देश्यले कुलिङ पिरियडका लागि सुझाव मागिएको हो । तर, उक्त विषयको अहिले गलत बुझाइ र प्रचारप्रसार भएको देखिन्छ ।’
‘प्राधिकरणले कुलिङ पिरियड लागू गरेर अभिकर्तालाई महीनौंसम्म काम गर्न बन्देज गर्न लागेको होइन,’ उनी भन्छन्, ‘प्राधिकरणले अभिकर्ताले कुनै पनि बीमा कम्पनीमा आबद्ध भएपछि निश्चित समयसम्म काम गर्न कुलिङ पिरियडको नीति बनाउन सुझाव संकलन गरेको हो ।’ उनको भनाइमा यो कुलिङ पिरियडभन्दा पनि लकिङ पिरियड जस्तो हो । अभिकर्ताले सीईओहरू जस्तो कुलिङ पिरियडमा महीनौंसम्म काम नगरी बस्नु पर्दैन । तर, अभिकर्ता कुनै पनि कम्पनीमा आबद्ध भएपछि निश्चित समयसम्म काम गर्नुपर्छ भनेर प्राधिकरणले कुलिङ पिरियड लागू गर्न लागेको हो ।