काठमाडौं । चालू आर्थिक वर्ष (आव) को ११ महीनामा १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको बीमालेख समर्पण (सरेन्डर) भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आवको जेठ मसान्तसम्ममा बीमितले ९ हजार २३ सय ८१ थान बीमालेख समर्पण गरेका हुन् । प्राधिकरणका अनुसार चालू आवमा सबैभन्दा बढी बीमालेख साउनमा समर्पण भएको छ । साउनमा बीमितहरूले १ अर्ब ५१ करोड रुपैयाँको ८ हजार ४ सय २२ थान बीमालेख समर्पण गरेका थिए । सबैभन्दा कम बीमालेख समर्पण भएको महीना असोज हो । असोजमा ७७ करोड ३२ लाख रुपैयाँको ६ हजार ६३ थान बीमालेख समर्पण भएको थियो ।
जेठमा मात्रै १ अर्ब ३ करोड रुपैयाँको बीमालेख समर्पण भएको छ । जेठमा बीमितहरूले ९ हजार ७ सय ३३ ओटा बीमालेख समर्पण गरेका छन् । जेठमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमालेख समर्पण भएको छ । जेठ यो कम्पनीको ४३ करोड ३९ लाख रुपैयाँ बराबरको २ हजार ८ सय ५८ ओटा बीमालेख समर्पण भएको हो ।
दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको १३ करोड ८८ लाख रुपैयाँको १ हजार ७ सय २२ ओटा बीमालेख समर्पण भएको छ । तेस्रो नम्बरमा रहेको राष्ट्रिय बीमा संस्थानको १२ करोड ४६ लाख रुपैयाँ बराबरको १ हजार ७ सय ११ ओटा बीमालेख जेठमा समर्पण भएको हो ।
मन्दी प्रमुख कारण
बीमाक्षेत्रका जानकारहरूका अनुसार आर्थिक मन्दीका कारण बीमालेख समर्पण बढेको हो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे अहिले विभिन्न क्षेत्रमा मन्दी चलेका कारण धेरैजसो बीमितले आर्थिक जोहो गर्न बीमालेख समर्पण गर्ने गरेको बताउँछन् । ‘अहिले बैंकमा तरलता भए पनि ऋणीले ऋण नपाएको अवस्था छ । घरजग्गामा पनि त्यस्तै मन्दी छ,’ उनले भने, ‘त्यसैले आधारभूत आवश्यकता पूरा गर्न बीमितहरूले पोलिसी सरेन्डर गर्ने गरेको पाइन्छ ।’ पैसा आवश्यक भएको बेला एउटा निवेदन दिएर सजिलैसँग बीमालेख समर्पण गर्न सकिने भएकाले बीमितलाई सजिलो पनि रहेको उनी बताउँछन् ।
विगतमा बीमकहरूलाई राम्रो अन्डरराइटिङ नगरेकाले बीमालेख समर्पण बढेको भन्ने आरोप पनि लाग्थ्यो । अहिले स्थिति फरक छ । ‘नेपालमा मात्र नभएर विश्वभर मन्दी चलिरहेकाले आयस्रोतका साथै क्रयशक्ति घटेको अवस्थामा पोलिसी सरेन्डर हुनु स्वाभाविक हो,’ उनले भने ।