काठमाडौं। परम्परागत रूपमा गर्दै आएको उद्यम व्यवसायलाई फरक बनाउन, उचाइ दिन र त्यही उद्यममा टिकिरहन चुनौतीपूर्ण देखिन्छ । यस्तो चुनौती महिला उद्यमी त्यसमा पनि ग्रामीण भेगमा उद्योग व्यवसाय सञ्चालन गरेर रोजगारीसमेत दिएकाले बढी नै चुनौती सामना गर्नुपरेको देखिन्छ । सानो लगानी र सोही स्केलका उद्यममा सक्रिय रहेका महिला उद्यमीका लागि अहिले व्यवसायलाई कसरी डिजिटलाइजेशन गर्ने भन्ने कुरा र ग्राहकको दैनिकी सहज बनाउँदै आएका ‘डिजिटल प्लेटफर्म’सम्मको पहुँच चुनौतीपूर्ण बन्दै आएको देखिन्छ ।
काठमाडौंलगायत प्रमुख शहरहरूमा महिला उद्यमी सक्रिय छन् । उनीहरूका लागि पछिल्ला दशकमा विकसित प्रविधि, इन्टरनेट, डिजिटल प्लेटफर्मको उपयोग सहज हुन सक्छ । तर, ग्रामीण अर्थतन्त्रमै सघाएका र त्यहीँ पाउने कच्चा पदार्थको उपयोग गरेर आफू लाई उद्यमीका रूपमा स्थापित गर्ने महिलाका लागि भने यो अवस्था हुँदैन । त्यसका लागि ‘एक्स्ट्रा इफोर्ट’ नै जरुरी हुने रम्सन नेपालकी सह–संस्थापक रूमी सिंह बताउँछिन् ।
महिला उद्यमीलाई प्रोत्साहन गर्न र व्यावसायिक क्षेत्रमा भइरहेका परिवर्तनलाई विषय बनाएर सामूहिक अन्तरक्रिया गर्दै आएको न्यू बिजनेश एज प्रालिले सन् २०२३ को संस्करण ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवाडर््स’ गत शुक्रवार काठमाडौंमा सम्पन्न गर्यो । ‘वुमन आन्त्रप्रेनरशीप इन द डिजिटल एज’ विषयक प्यानेल डिस्कशनमा सिंहले डिजिटलाइजेशन विस्तारका साथै यो प्लेटफर्ममा महिला उद्यमीलाई कसरी ल्याउने र जानकारी दिने भन्ने विषयमा नै एक्स्ट्रा इफोर्ट जरुरी रहेको बताइन् ।
व्यवसाय र उद्यमशीलतामा दैनिक जीवनको अभिन्न अंग बनिसकेको इन्टरनेट प्रयोग गरेका महिला उद्यमी सफल र स्थापित भएका छन् । अवार्ड पाएका महिला उद्यमीले प्रविधि तथा इन्टरनेटको प्रयोगबाट उद्यममात्रै सिकेका छैनन् त्यसलाई प्रवर्द्धन, बजारीकरण र उचित मूल्य निर्धारणका लागि र प्रतिस्पर्धाका गुणहरू पनि विकास गरेका छन् । महिलाहरू प्रविधिमैत्री हुँदा उनीहरूलाई उद्यम यात्रा सहज भएको छ ।
उद्यमीका वस्तुहरू गुणस्तरीय भएमा, प्याकेजिङ राम्रोका साथै प्रस्तुतीकरण पनि उपयुक्त हुँदा उद्यमीले भौतिक रूपमा बजार खोजेर भौंतारिनु पर्दैन । विभिन्न डिजिटल प्लेटफर्मबाटै आफ्ना उत्पादनहरू सहज र सरल रूपमा ग्राहकसम्म पुग्ने अवस्था अहिलेको प्रविधिले सृजना गरिदिएको छ । त्यसको सक्दो उपयोग गरेर महिलाले आफ्नो उद्यमलाई उचाइ दिन सक्छन् ।
व्यावसायिक योजनादेखि, उत्पादन र उत्पादित वस्तु बजारसम्म लैजाने प्रक्रियामा निकै फेरबदल आइसकेको छ । ग्राहकसम्म भौतिक रूपमा पुगेर मार्केटिङ गर्नुपर्ने अवस्थालाई अहिले डिजिटलाइजेशनले सघाइरहेको महिला उद्यमीहरूको अनुभव छ । विश्व बजारमा इकमर्स प्लेटफर्महरूको तीव्र विस्तारले उद्यमशीलतालाई थप टेवा पुगेको उनीहरू बताउँछन् । ‘अहिले डिजिटल मार्केट तथा प्रविधिका विषयमा जानकारी भएन भने पछि परिन्छ,’ सिंहले भनिन्, ‘प्रविधिलाई स्वीकार गर्न नसके र साथसाथै अघि बढ्न नसक्ने हो भने व्यवसायमा सफल हुन सकिँदैन ।’
उनले प्रविधि कसरी चल्छ भन्ने कुराभन्दा पनि त्यसबाट कसरी लाभ लिने भन्नेमा बढी ध्यान दिन आवश्यक हुने बताइन् । ‘हाम्रो संस्थाले कृषिमा सप्लाई चेन र त्यसबाट ग्रामीण किसान, ग्रामीण फुडको कसरी भ्यालू देखाउने भन्नेमा काम गर्छ,’ उनले भनिन्, ‘प्रविधिले कसरी बिजनेशमा सघाउँछ भन्ने अवधारणमा काम गरौं ।’
तर, अझै पनि ग्रामीणस्तरमा उद्यम गरेका महिलाको पहुँचमा इन्टरनेट र त्यसलाई कसरी व्यावसायिक प्रयोगमा ल्याउने भन्ने ज्ञानको कमी देखिन्छ । उनले भनिन्, ‘मोबाइलबाट एसएमएस गरेर सघाउन खोज्दासमेत सन्देश पढ्न नसक्ने महीला दिदीबहिनी हुनुहुन्छ । यसलाई अझ सहज बनाउन भोइस रेकर्डबाट सम्बद्ध जानकारी गराउनुपर्छ ।’ यसैगरी प्रविधिलाई स्थानीयकरण कसरी गर्ने र कुन तहसम्म गएर महिला उद्यमीलाई सघाउन सकिन्छ भन्ने विषयमा बढी काम गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
गण्डकी प्रदेशबाट इन्टरप्राइजिङ वुमन अफ द इयर अवार्डका लागि छानिएकी मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योगका सुकुन रसाइली वि.क डिजिटल प्रविधिको प्रयोगमा महिला उद्यमी अझै पनि पछाडि रहेको बताउँछिन् । जति समय काममा खटिन्छन् त्यसको १ घण्टा भए पनि प्रविधिमूलक ज्ञान तथा जानकारीका लागि खर्चिनुपर्ने उनको भनाइ छ । ‘त्यसले क्षमता विकास र प्रविधि सिक्न सघाउने भएकाले महिलाको क्षमता बढ्छ,’ उनले भनिन् ।
विभिन्न डिजिटल प्लेटफर्मबाटै आफ्ना उत्पादनहरू सहज र सरल रूपमा ग्राहकसम्म पुग्ने अवस्था अहिलेको प्रविधिले सृजना गरिदिएको छ । त्यसको सक्दो उपयोग गरेर महिलाले आफ्नो उद्यमलाई उचाइ दिन सक्छन् ।
व्यावसायिक घराना गोल्छा ग्रूपका निर्देशक सीमा गोल्छाले मोबाइल खरीद गर्दादेखि नै महिला पहिलो प्राथमिकतामा नपर्ने सुनाइन् । उनले उदाहरण दिँदै भनिन्, ‘मोबाइल अर्डर गर्दा नै पहिला पुरुष (बुबा), त्यसपछि छोरा र बल्ल महिलाको पालो आउँछ । यो अवस्थामा महिला उद्यमीले सहज रूपमा डिजिटल प्रविधिको विषयमा कसरी सिकेर उद्यम गर्न सक्छन् ?,’ प्यानेल डिस्कशन सत्रमा उनले इन्टरनेटको पहुँच बढाए मोबाइलबाटै पनि शीप सिक्न सकिने बताइन् ।
महिलाले एक्लै बसेरभन्दा सामूहिक रूपमा
इन्टरनेटबाट शीप सिकेर त्यसलाई व्यवसायको आकार दिन सक्ने अवसर रहेको उनको भनाइ छ । इन्टरनेटको सहायताबाट उद्यम व्यवसाय सिक्ने अवस्थालाई अवसरको रूपमा लिनुपर्ने उनको भनाइ छ ।
‘इन्टरनेटविना अहिले जुनसुकै काम गर्न अप्ठ्यारो हुन्छ,’ गोल्छाले भनिन्, ‘डिजिटलाइजेशनले समान रूपमा अवसरहरू सृजना गर्छ, तर त्यसलाई कसरी व्यवसाय अनुकूल प्रयोग गर्ने भन्ने हो । अहिले मार्केट पनि विस्तार भएको छ ।’ उत्पादनदेखि बजारीकरणसम्मका लागि डिजिटल प्लेटफर्मले सहज बनाएको उनले बताइन् । उनले अझै पनि महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर र स्वतन्त्र हुन नसकेको उल्लेख गरिन् । प्यानेल डिस्कशनको सहजीकरण गरेका स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ट्रान्जेक्शन बैंकिङ हेड माइकल सिद्धीले डिजिटल युगमा उद्यमीहरू टिक्न र प्रतिस्पर्धा गर्न डिजिटल रूपान्तरण अपनाउनुपर्ने बताए । ‘अन्यथा डाइनोसर हुने जोखिम हुन्छ,’ सिद्धीले भने । उक्त अवसरमा उनले महिला उद्यमशीलतामा डिजिटलाइजेशनले के कसरी सहयोग गराउँछ ?, व्यवसायमा देखिएका बाधाहरू समाधान गर्न प्रविधिले कत्तिको सघाएको हुन्छ ? लगायत प्रश्न गरेका थिए ।
बजार बुझ्न र प्रतिस्पर्धामा प्रविधिले निकै सघाएको भन्दै उनले प्रश्न गरे, ‘अहिले प्रणालीले नै महिला उद्यमीलाई सघाउने नीति लिएको देखिन्छ भने केन्द्रीय बैंकले पनि महिला उद्यमीलाई सघाउने गरेको छ, यी कार्य हुँदा मुलुकको अर्थतन्त्रमा अब कसरी परिवर्तन आउन सक्छ ?’ उनले डिजिटल साक्षरताले महिला उद्यमीलाई परम्परागत रूपमा भोग्दै आएका बाधा न्यूनीकरण गर्न सघाउने बताए ।
प्यानेल डिस्कशन सत्रमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता तथा सहसचिव राधिका अर्यालले सरकारले ‘डिजिटल नेपाल’ अभियान नै सञ्चालन गरेकाले यो विषय सरकारको प्राथमिकतामै रहेको बताइन् । ‘मोबाइल डिभाइसबाट फोन र सोसल मिडिया चलाउन मात्रै हो भने यसलाई डिजिटल साक्षरता मानिँदैन,’ अर्यालले भनिन्, ‘महिलाले काम गर्ने शैलीमा फरक आइसकेकाले व्यवसायलाई सघाउने गरी साक्षरता बढाउनुपर्छ ।’ डिजिटलाइजेशन प्रयोग गर्न सके कामको बोझ कम हुने र समय पनि बचत हुने उनले बताइन् । महिलाको योगदानलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गणना गरिनुपर्नेमा पनि उनले जोड दिइन् ।
‘१५औं आवधिक योजनाले सूचना प्रविधिमैत्री र डिजिटल इकोनोमीमा ध्यान दिएको छ,’ उनले भनिन्, ‘इकमर्सलाई लक्षित गरेर विधेयक बनेको छ, विशेष आर्थिक क्षेत्रमा आईटी क्लस्टर नै राखिने भएको छ, निर्यात गर्दा आयकर छूट दिने र महिलालाई मात्रै लक्ष्य गरेर पाँचखाल औद्योगिक ग्रामको काम अघि बढेको छ ।’ संघीयता कार्यान्वयनसँगै धेरै स्थानीय तहका उपप्रमुख महिला हुने भएकाले पनि महिला उद्यमीले सहज रूपमा सम्बद्ध प्रदेशमा आवश्यकताका विषयमा कुरा राख्न सक्ने उनको भनाइ छ । ‘संघीय शासन प्रणाली लागू हुनुअघि महिलाहरू कै नाममा बजेट जान्थ्यो,’ उनले भनिन्, ‘यसलाई निरन्तरता दिनुपर्छ भने स्थानीय तहमा महिलालाई लक्ष्य गरेर काम गरिनुपर्छ ।’