ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्टयाण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स : ‘दिगो पर्यटन विकासका लागि अझै धेरै गर्न बाँकी छ’

२०८० असार, २८  
समाचार अन्तरवार्ता अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

नेपाललाई पर्यटकीय मुलुकको रूपमा चिनाउने धेरै क्षेत्रमध्ये अग्रणी रूपमा रहेको छ– पदयात्रा (ट्रेकिङ) पर्यटन । ट्रिप एड्भाइजर, लोन्ली प्लानेट, सीएनएन जस्ता संस्थाले पदयात्रा पर्यटनका प्रमुख गन्तव्यको सूचीमा हरेक वर्षजसो नेपाललाई समेट्नुले यसको महत्व उजागर गर्छ । करीब ७ दशकको इतिहास बोकेको नेपालको ट्रेकिङ व्यवसायमा महिलाको उपस्थिति पनि बढ्दै गएको छ । यो प्रवृत्तिको शुरुआतकी अग्रणी हुन् याङ्किला शेर्पा, जसले १९८० को दशकमै स्नो लियोपार्ड ट्रेक कम्पनी थालेकी थिइन् । शेर्पा २०६१ सालमा पर्यटन राज्यमन्त्री भइसकेकी छिन् । प्रस्तुत छ, ट्रेकिङ व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), महिला उद्यमी संघ, नेपाल माउन्टेनियरिङ एशोसिएशन लगायत संस्थामा समेत रहेर काम गरिसकेकी शेर्पासँग आर्थिक अभियानले गरेको कुराकानीको सार :

तपाईंको बाल्यकाल कस्तो थियो ?

९ वर्षको उमेरसम्म बाल्यकाल ओलाङचुङगोलामै बित्यो । सरकारी विद्यालयमा पढेँ । नेपाली भाषा कमजोर भएकाले धरानस्थित शारदा बालिका स्कुलमा ५–६ महीना पढेर दार्जिलिङ गएँ । त्यहाँ एक–डेढ वर्ष पढेँ । त्यसपछि काठमाडौंको सेन्ट मेरिज स्कुलमा पढेँ । त्यसबेला वर्षमा एकपटक २ महीनाको छुट्टीमा घर जान्थ्यौं । त्यस बेला गाउँ जान–आउन नै एक महीना लाग्थ्यो । धरानबाट ओलङ्चुङगोला पैदल जानुपर्ने भएकाले बाल्यकालमा पूर्वी नेपाल बुझ्ने अवसर पाएँ । 

सार्वजनिक पदमा के केमा काम गर्नुभयो ?

पर्यटन क्षेत्रमा आबद्ध भएकाले महिला उद्यमी संघ र ट्रेकिङ एशोसिएसनमा रहेर धेरै कुरा सिक्ने र बुझ्ने अवसर पाएँ । सो समयमा यस क्षेत्रमा संलग्न महिला निकै कम थिए । कम्पनी शुरू गर्नुअघि ८० को दशकमा यती ट्राभल्समा पनि १०–११ वर्ष काम गरेँ । त्यहाँबाट पर्यटनका विविध विषयमा ज्ञान/अनुभव हासिल भयो । यती ट्राभल्समा तत्कालीन राजपरिवारको स्वामित्व थियो । म त्यहाँ साधारण अधिकृत तहबाट जागीर शुरू गरेर कार्यकारी तहसम्म पुगेँ । 

त्यसपछि आफन्तसँग मिलेर स्नो लियोपार्डमा काम शुरू गरेँ । त्यतिबेला नै म ट्रेकिङ एशोसिएसनमा आबद्ध भएँ । त्यस बेला महिला संघमार्फत मलाई छात्रवृत्तिमार्फत अमेरिकामा पढ्न जाने अवसर मिल्यो । नेपाली पर्यटनबारे मैले अमेरिका गएर धेरै थाहा पाएँ । ट्रेकिङ एशोसिएसनको उपाध्यक्ष हुँदै अध्यक्षसम्म भएँ । 

त्यस बेला हामीलाई पर्यटक आए पुग्थ्यो । तर पर्यटकीय गतिविधिले हिमालय तथा पर्वतीय क्षेत्रमा परेको असरबारे थाहा थिएन । हिमाली क्षेत्रमा फोहोर/प्रदूषणसम्मको कुरा उठ्थ्यो । अमेरिकामा हुँदा प्राध्यापकले मलाई नेपालमा पर्यटन प्रवर्द्धनका लागि के आवश्यक छ भनेर सोध्नुभयो । मैले धेरैभन्दा धेरै पर्यटक आगमन हुनुपर्ने बताएँ । त्यसपछि उहाँले मलाई एउटा डकुमेन्ट्री देखाउनुभयो, जहाँ सगरमाथा क्षेत्रमा कोक, बियर जस्ता पेयपदार्थका बोतलको चाङ लागेको थियो । जुन वातावरण सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण मानिन्थ्यो । ट्रेकिङ एशोसिएशनमा पर्या–पर्यटन (इको टुरिजम)को विषयमा छलफल भयो । उक्त छलफल निकै सार्थक रह्यो । ट्रेकिङ व्यवसायमा आबद्ध श्रमिक, कर्मचारी लगायतसँग वातावरणमैत्री ट्रेकिङबारे वार्षिक रूपमा कार्यशाला गोष्ठी गर्‍यौं । नेपालमा दिगो पर्यटन प्रवर्द्धनका गतिविधिमा विदेशी संघसंस्थाले पनि सहयोग गरे । 

नेपाल माउन्टेरियङ एशोसिएसनमा कार्यकारी सदस्य तथा प्रमुख सल्लाहकारको रूपमा पनि काम गरेँ । स्नो लियोपार्डले वातावरणमैत्री ट्रेकिङ गर्दा व्यवसाय पनि बढेको छ । नेपालको हिमाल क्षेत्रको वातावरण संरक्षणमा नेपालीले भन्दा विदेशीले बढी चासो दिएका छन् । यस्ता क्षेत्रमा अहिले रुख कटानलगायत गतविधि कम भएको छ । ठाउँ ठाउँमा वातावरणमैत्री होटल तथा लज खुलेका छन् । तर पनि हामीले दिगो पर्यटन विकासका लागि अझै धेरै काम गर्न बाँकी छ ।

यस क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड समेत पाउनुभएको छ । त्यसमा पनि धेरैजसो नेपालमा भन्दा बाहिर पाउनुभएको देखिन्छ । तपाईंहरूको कामलाई नेपालीले भन्दा विदेशीले बढी चिनेका हुन् ?

राम्रै काम गरे पनि नेपालमा सम्मान पाउन सजिलो छैन । अवार्ड पाउन ‘सोर्स–फोर्स’ लगाउनुपर्छ, आफ्नो मान्छे हुनुपर्‍यो । मैले त्यो गर्न सकिनँ त्यसरी अवार्ड लिन चाहिनँ । मलाई वल्र्डवाइल्ड लाइफ फण्डले ‘अब्राहम कन्जरभेसन अवार्ड’ दियो, जुन स्नो लियोपार्ड ट्रेकको नाममा पाएँ । यस्तै वल्र्डवाइड महिला उद्यमी महासंघले भारतको दिल्लीमा गरेको इन्टरनेशनल कन्फरेन्समा मलाई उत्कृष्ट महिला उद्यमीको रूपमा सम्मान गर्‍यो ।

सफलता पछाडिका दु:खको अनुभव पनि छन् ?

टानको अध्यक्ष हुँदा पुरुषहरूले अलि बढी निर्देशित गर्न खोज्थे । मेरो नेतृत्व कमजोर बनाउन खोजिन्थ्यो । तर मैले यी कुराको पर्वाह गरिनँ । म नियममा चल्ने मान्छे, शुरूदेखि नै नियमभित्र बसेर काम गरेँ । म र मेरो टीमले नेपालमा पर्यावरणमैत्री ट्रेकिङ प्रवर्द्धनको विषयमा जोड दियो । यस विषयमा डेलिगेसन नै गइयो । पर्यावरणमैत्री ट्रेकिङको विकास अवस्था बुझ्न सिक्किम गयौं । तर सिक्किमले यसमा भर्खर सिक्दै गरेको पाइयो । नेपाल भने धेरै अगाडि थियो ।

त्यतिबेला उक्त विषयमा गरिएको लबिङ तथा डेलिगेसनलाई मेरो संस्थाका अन्य पुरुष साथीहरूले मन पराएनन् । टानको १७ जनाको कार्यकारी समितिमा म अध्यक्ष थिएँ । उनीहरूले मैले ल्याउन खोजेको ‘इको ट्रेकिङ’को अवधारणा मन पराएनन् । तर म आफ्नो अठोट र पहलबाट कहिल्यै विचलित भइनँ । इमानदारीका साथ आफ्नो व्यवसाय चलाउँथेँ । सामाजिक विषयलाई प्राथमिकतामा राख्थेँ । यसमा पढेलेखेका कतिपय साथीहरूले सहयोग पनि गरे ।

जीवनमा अन्य केही कुरा खट्किएका छन् ?

म टानमा हुँदा महिला उद्यमी संघको सदस्य थिएँ, जहाँ मैले लघुकर्जासम्बन्धी नेतृत्व गर्दा श्यामवदन श्रेष्ठले धेरै सहयोग गर्नुभयो । त्यतिबेला मलाई यो सिक्न इण्डोनेशिया र इटाली पठाइयो । त्यहाँ अन्य देशका महिला उद्यमीलाई के कसरी सहयोग गरिँदो रहेछ भन्ने थाहा पाएँ । इण्डोनेशिया र मलेसियामा आदिवासी महिलाले कसरी व्यवसाय गर्छन् भन्ने अवलोकनको अवसर पनि मिल्यो । 

ट्रेकिङ व्यवसायको विद्यमान चुनौती के हो ?

अहिले जताततै सडक तथा बाटोको सुविधा पुग्यो । भौतिक विकासका पूर्वाधार बने, बन्दै छन् । तर नेपालमा वातावरण संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनमा चुनौती थपिएको छ, जुन चिन्ताको विषय हो । उदाहरणका लागि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा धेरै पर्यटकीय स्थल छन् । तर विकासका नाममा यस्ता क्षेत्रमा समेत जथाभावी डोजरको प्रयोग गरिएको छ । अव्यवस्थित प्लटिङ तथा शहरीकरण बढेको छ । यस्ता ठाउँमा पर्यटक जान मन पराउँदैनन् । पर्यटनमैत्री विकासमा राज्यको ध्यान पुगेको देखिँदैन । अर्को कुरा दूरदराजका क्षेत्र, जहाँ ट्रेकिङको राम्रो सम्भावना छ, त्यस्तो क्षेत्रमा समेत ‘डोजरे विकास’ बढेको छ । पदमार्ग नै मासिनेगरी सडक विस्तारले पदयात्रा व्यवसाय मात्र संकटमा परेको छैन, त्यहाँको वातावरण समेत जोखिममा छ । सडकले पदमार्ग छोटिँदा पर्यटन मजदूरदेखि स्थानीयको आयस्रोतमा समेत असर परेको छ । विगतमा यस क्षेत्रमा धेरैले रोजगारी पाएकोमा पदमार्ग प्रभावित हुँदा व्यवसायबाटै पलायन हुने अवस्था सृजना हुन थालेको छ । स्थानीय अर्थतन्त्रमा ठूलो योगदान दिएको ट्रेकिङ व्यवसायमा परेको संकटलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ ।

यसलाई कसरी जोगाउन सकिन्छ त ?

मोटरबाटो बनाउँदा विशेषगरी पर्वतीय क्षेत्र र यसमा भएका पदमार्गलाई असर नपरोस् । स्थानीय युवाको आयस्रोतको राम्रो विकल्प हो ट्रेकिङ । ट्रेकिङ व्यवसाय नै सुक्यो भने धेरै मानिस बेरोजगार हुने अवस्था आउँछ । सरकारले यो यो व्यवसाय पनि नमर्ने र विकास पनि अगाडि बढाउने स्पष्ट मोडल अवलम्बन गर्नुपर्छ । ट्रेकिङ लगायत पर्वतीय पर्यटनको अर्को चुनौती जलवायु परिवर्तन पनि हो । जलवायु परिवर्तन र तापमान वृद्धि विश्वव्यापी चिन्ता र चुनौती बन्दै गएको छ । त्यसमा पनि हाम्रो जस्तो संवेदनशील पर्वतीय क्षेत्रमा यसको असर अहिले नै देखिन थालेका छन् । हिमालहरू कालापत्थरमा परिणत हुनु, समयमा हिमपात नहुनु, हिमताल फुट्ने जोखिम बढ्नु यसका केही उदाहरण हुन् । यसतर्फ सरकार र आम सरोकारवाला सबैको बेलैमा ध्यान जानु जरुरी छ ।

अन्त्यमा के भन्नुहुन्छ ? 

महिलाको उद्यमशीलता विकास गर्दा एउटा समस्या के देखियो भने महिलालाई हामीले तालीम दियौं, शीप सिकायौं, उद्यमी बनायौं, तर उनीहरूले उत्पादन गरेका वस्तुको उच्च मूल्य शृंखला र बजारीकरणमा ध्यान दिएनौं । उत्पादित वस्तुको बजारीकरणमा ठूलो समस्या देखिएको छ । उद्यमी सबै महिलाले पढेलेखेका हुँदैनन् वा उनीहरूलाई बजारीकरणको धेरै ज्ञान हुँदैन । त्यस्ता महिलाका उत्पादनको बजार व्यवस्थापनमा राज्यले सघाउनुपर्‍यो । उत्पादनको बजार व्यवस्थापनमा सहजीकरण गर्नुपर्‍यो । सहुलियतपूर्ण कर्जामा सहज पहुँच हुनुपर्‍यो । अर्को हाम्रो स्वदेशी सामानको प्रयोगलाई प्रोत्साहन गर्नुपर्‍यो । महिला उद्यमशीलताको विकास तथा विस्तारका लागि गर्नुपर्ने यस्ता काम धेरै छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)