राष्ट्रिय स्तरको पहिचान पाएँ
डिना प्रधान
बारी रोस्टरी एन्ड प्याकेजिङ उद्योग
इन्टरप्राइजिङ वुमन अफ द इयर, कोशी प्रदेश
बारी रोस्टरी एन्ड प्याकेजिङ उद्योगले पूर्वाञ्चलमा कफीखेती गर्नुका साथै कफी प्रशोधन गरी बजारमा विक्री गर्दै आएको छ । हाम्रो उद्योगले धनकुटामा २ सय रोपनी जग्गामा कफीखेती गरेको छ । त्यहाँ उत्पादित कफीका अतिरिक्त स्थानीय किसानबाट समेत कफी संकलन गर्छौं । किसानलाई कफीखेतीमा प्रोत्साहन गर्न कफीको बिरूवा पनि प्रदान गर्दै आएका छौं । हाल मासिक १ हजार ५ सय केजी कफी उत्पादन गरी विराटनगर, धरान, पोखरा, काठमाडौंलगायत शहरमा वक्री गर्दै आएका छौं । अब विदेश निर्यात गर्ने योजना छ । हाम्रो उद्योगबारे पूर्वमा थाहा भए पनि राष्ट्रिय स्तरमा पहिचान गराउन न्यूबिज अवार्ड महत्त्वपूर्ण भएको छ । ससाना महिला उद्यमीका बारेमा तथ्यांक संकलन गरी उनीहरूको कामलाई प्रोत्साहन गर्न यो अवार्ड धेरै महत्त्वपूर्ण छ । अवार्ड कार्यक्रम पनि एकदमै भव्य र व्यवस्थित थियो ।
जिम्मेवारी थपिएको छ
चञ्चला दास
अध्यक्ष, वुमन स्किल सेन्टर
इन्टरप्राइजिङ वुमन अफ द इयर, मधेश प्रदेश
यो हाम्रा लागि ठूलो उपलब्धि हो । अहिलेसम्म गरेको मेहनतको फल पाएका छौं । अवार्ड र कार्यक्रमबाट मिलेको सकारात्मक कुराले प्रोत्साहित गरेको छ । अझै काम र जिम्मेवारी थपिएको महसूस भएको छ । ९ वर्षदेखि महिलालाई शीप सिकाउँदै आएका छौं । उद्यम गर्दा निकै कठिनाइ भयो । मधेश प्रदेशमा यसरी अघि बढ्न अहिले पनि कठिन छ । तर, निरन्तरको प्रयासपछि अहिले यो कामको सराहना गरिएको छ । हामीले शीपमूलक तालीम दिइरहेका छौं । शीप सिकाएपछि उद्यम गर्ने महिलालाई सहयोग पनि गर्छाैं । संस्थाले ‘बिजनेश’ ल्याएर महिला उद्यमी बनाएको छ । अहिले संस्थाकै पापड फ्याक्ट्री छ । महिला सदस्यहरूले शीप सिकेर अहिले आफ्नै मिथिला संस्कृतिका पेन्टिङलगायत उत्पादन गरिरहेका छन् ।
उद्यमी बन्नुभन्दा पनि सफल उद्यमी र यसमा नै टिकिरहनु चुनौतीपूर्ण छ । मार्केटिङ पनि ठूलो चुनौती बनेको छ । तर, हामीले वातावरण बनाउँदै छौं । अहिले सबैको हातमा मोबाइल छ । व्यवसाय प्रवर्द्धन गर्ने अवसर हुने भएकाले निकै सहज भएको छ ।
उद्यममा लाग्न प्रोत्साहन मिलेको छ
अनुष्का श्रेष्ठ
लसकुस फुड प्रोडक्ट प्रालि
इन्टरप्राइजिङ वुमन अफ द इयर, बागमती प्रदेश
नेपालमा महिलाको सशक्तीकरण र उद्यमशीलताका कुरा महिला दिवसको वरिपरि मार्च महीनामा मात्र हुने गर्छ । महिला दिवसको वरिपरि चर्को बहस हुने गरे पनि अन्य समयमा यसबारेमा खासै चर्चा हुँदैन । महिला सशक्तीकरण यो अवस्थामा रहेका बेला महिला उद्यमशीलता प्रवर्द्धन गर्ने गरी अवार्ड कार्यक्रम हुनु एकदमै सकारात्मक हो । यो अवार्डले महिलालाई उद्यममा लाग्न प्रोत्साहन मिल्छ । सातै प्रदेशका महिला छनोट गरी अवार्ड दिनु एकदमै राम्रो कार्यक्रम हो । त्यसैगरी स्वतन्त्र जुरी बनाएर प्रतिस्पर्धाको माध्यमबाट अवार्ड छनोट भएकाले मलाई यो एकदमै महत्त्वपूर्ण लागेको छ । हामीले मौलिक नेपाली मिठाइ ब्राण्डिङ तथा विक्री गर्दै आएका छौं ।
कार्यक्रममा महिला उद्यमशीलताका विषयमा बहस भयो । यसमा सातै प्रदेशका महिला उद्यमी जम्मा हुनुभएको, राज्यका तर्फबाट समेत मन्त्री, गभर्नर, सचिवलगायत उच्च पदस्थ कर्मचारी सहभागी हुनुभएको थियो । यसबाहेक यस्ता कार्यक्रममा महिला उद्यमशीलता प्रवर्द्धनका लागि वर्कशप तथा नेटवर्किङजस्ता कार्यक्रमलाई पनि सँगै जोडेर लैजान सके प्रभावकारिता बढाउन सकिन्छ ।
यस्तो सम्मान सरकारले पनि गर्नुपर्छ
सुकुन रसाइली वि.क
मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग
इन्टरप्राइजिङ वुमन अफ द इयर, गण्डकी प्रदेश
अवार्डले ऊर्जा र जिम्मेवारी थपिएको छ । यस्तो सम्मान सरकारले पनि गर्न सके महिलालाई उद्यमशीलतामा थप प्रोत्साहन मिल्ने थियो । महिलाहरू आर्थिक रूपमा बलियो बन्नुपर्छ । आर्थिक रूपमा अरूमाथि भरपर्दा महिला हिंसा भई नै रहन्छ । हिंसा अन्त्यका लागि पनि महिलाहरू उद्यमशीलतामा आउनुपर्छ । महिलाहरू २४ सै घण्टा खटेर काम गर्न सक्ने भएकाले कमजोर हुँदैनन् । आफ्नो व्यवसायलाई निरन्तरता दिनुपर्छ । उद्यमी बन्नुपर्छ । आम्दानी गर्नुपर्छ । जुनसुकै व्यवसाय गर्ने विद्यार्थीदेखि ठूला उद्यमी किन नहुन्, उनमा इच्छाशक्ति हुनुपर्छ । काम सानोठूलो हुँदैन । डिजिटल प्रविधिमा भने महिला उद्यमी अझै पनि पछाडि छन् । जति समय काममा खटिन्छ, त्यसको १ घण्टा भए पनि प्रविधिमूलक ज्ञान तथा जानकारीका लागि खर्चिनुपर्छ । त्यसले आफ्नो क्षमता विकास र प्रविधि सिक्न सघाउने भएकाले महिलाको क्षमता बढ्छ । हामीले मार्फामा स्याउको सुकुटीदेखि खाद्य वस्तु उत्पादन तथा प्रशोधन गर्दै आएका छौं । सरकारले महिला उद्यमीको पहिचान गरेर अनुदान, सहुलियत कर्जा दिनुपर्छ । व्यवसाय योजनालाई नै धितो मानेर सरकारले महिला उद्यमीलाई सहुलियत कर्जा दिनुपर्छ ।
अघि बढ्नका लागि हौसला
बिन्दु चर्ती मगर
चर्ती फ्लोरा
इन्टरप्राइजिङ वुमन अफ द इयर, लुम्बिनी प्रदेश
बाँकेको नेपालगञ्जमा विभिन्न चाडपर्व तथा सभासमारोहका लागि आवश्यक पर्ने फूलका लागि भारतीय बजारको भर पर्नुपथ्र्यो । स्थानीय स्तरमा फूल उत्पादन तथा विक्री गर्ने व्यवस्था पनि थियो । त्यसैले यस क्षेत्रमा व्यावसायिक सम्भावना देखेर मैले पुष्प व्यवसाय शुरू गरेकी हुँ । अहिले आफ्नै ३० कट्ठामा फूलखेती गर्नुका साथै फूल तथा फूलबाट निर्मित सजावट सामग्री विक्री केन्द्रसमेत सञ्चालनमा ल्याएकी छु । यसबाट विभिन्न पर्व तथा समारोहमा आवश्यक पर्ने फूलमालाका लागि भारत धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अहिले नेपालगञ्जमै रोजेको फूल पाउन सकिन्छ । यसमा स्थानीय महिला दिदीबहिनीलाई रोजगारीसमेत दिएकी छु । स्थानीय स्तरमै व्यवसाय गर्दै आएकी मैले राष्ट्रिय स्तरको अवार्ड पाउनु मेरा लागि ठूलो कुरा हो ।
विकट ठाउँको उद्यमले पहिचान पायो
शिला विश्वकर्मा नेपाली
जेएफ रत्न पत्थर प्रशोधन केन्द्र
इन्टरप्राइजिङ वुमन अफ द इयर, कर्णाली प्रदेश
कर्णाली प्रदेशको दूरदराजमा उद्यम गरेर बसेकालाई महिलालाई खोजेर अवार्ड तथा सम्मान गर्नु उनीहरूका लागि निकै उत्साह र सम्मानको कुरा हो । जाजरकोटजस्तो विकट ठाउँमा पनि महिला उद्यमशीलता छ भन्नेर देखिनु ठूलो उपलब्धि पनि हो । यो अवार्डले मलाई निकै खुशी बनाएको छ । विगत १० वर्षदेखि रत्न तथा पत्थर प्रशोधनको काम गरिरहेकी छु । यस बीचमा व्यवसायलाई अघि बढाउन निकै ठूलो समस्याको सामना गर्नुपर्यो । कोरोना भाइरसका कारण त झनै समस्या भयो । तर पनि मैले आफ्नो व्यवसाय छोडिनँ । व्यवसायमा निरन्तर लागेर यहाँसम्म आएर सम्मान पाउँदा मलाई निकै खुशी लागेको छ । डिजिटल प्रविधिले व्यवसायमा लागेकालाई निकै मद्दत गर्दो रहेछ । अहिले यो प्रविधि सिक्दै पनि छु । व्यवसाय अघि बढाउन निरन्तर लागिरहनुपर्छ । व्यवसायको प्रचारप्रसारका लागि विभिन्न समयमा हुने एक्स्पोहरूमा सहभागी हुनुका साथै अहिले डिजिटल प्रविधिको उपयोग गरेर पनि मार्केटिङ गर्न सकिन्छ ।
कार्यक्रम प्रेरणादायी छ
संगीता खड्का
संस्थापक, पीएस ट्राभल प्वाइन्ट टुर्स प्रालि
इन्टरप्राइजिङ वुमन अफ द इयर, सुदूरपश्चिम प्रदेश
महिला उद्यमीका लागि यस्ता अवार्ड कार्यक्रम प्रेरणादायी हुन्छन् । जो महिलाहरू केही गर्न सक्दिनँ कि भनेर पछाडि हट्नु हुन्छ, त्यस्ताका लागि यस्ता अवार्ड कार्यक्रमले प्रोत्साहन मिल्छ । न्यू बिजनेश एजले महिलालाई बाहिर निस्केर यहाँसम्म आउन सघाएको छ । परिवारले पनि सघाउने र बुझ्ने भएका छन् । व्यवसाय, उद्यमशीलताजस्ता कुरामा महिलाहरू पनि लाग्नुपर्छ है भन्ने खालको बुझाइमा यस्ता कार्यक्रमको योगदान रहन्छ । सुदूरपश्चिमको अछाममा बस्ने महिला उद्यमी र काठमाडौंमा काम गर्ने महिला उद्यमीबीचमा धेरै कुरामा भिन्नता छ । यो बीचको सेतुका रूपमा अहिले डिजिटलाइजेशनले काम गरेको छ । अहिले भौतिक रूपमा एकै ठाउँमा बसेर समाधान खोज्न जरुरी छैन । टिकटक, फेसबुक, युट्युबहरूले ‘टाइअप’ गरिदिएको छ ।
सरकारी स्तरबाट पनि अवार्ड दिनुपर्छ
डा. आनन्द शोभा ताम्राकार
भर्मी कम्पोस्ट विज्ञ
सोसल आन्त्रप्रेनर अफ द इयर
हाल नेपालमा ठूलो समस्या रासायनिक मल र विषादीको प्रयोग हो । यसले गर्दा वातावरण पनि बिग्रेको छ । स्वास्थ्यलाई नकारात्मक असर परेको छ । माटो पनि बिगारेको छ । यसको विकल्प भनेको जैविक मल हो । त्यसमा पनि राम्रो गुणस्तरको गँड्यौला मल हो । त्यसैले म गँड्यौला मलको प्रचारप्रसार र प्रवर्द्धनमा लागिरहेको छु । शुरूशुरूमा यति पढेको मान्छे किन फोहोरको काममा लागेको होला भनेर मेरा कुरा काट्नेहरूबाट विस्तारै प्रशंसा पाउन थालेकी छु । मैले धेरै किसानलाई गाउँगाउँमा पुगेर गँड्यौला मल बनाउन र यसको प्रयोग गर्न प्रोत्साहन गरिरहेकी छु ।
मेरो कामलाई न्यूबिज अवार्डले अझै प्रोत्साहित र हौसला प्रदान गरेको छ । यो अवार्डले धेरै महिला दिदीबहिनीलाई प्रोत्साहन मिल्नेछ । यो कार्यक्रम उद्यमीलाई हौसला प्रदान गर्ने कार्यक्रम पनि हो । यसबाट धेरै युवा उद्यम गर्नका लागि उत्साहित भएका छन् । अवार्डसँगै प्रदान गरिएको नगद पुरस्कारले महिला उद्यमीलाई सहयोग पनि मिलेको छ । महिला उद्यमीको मनोबल बढाउन आगामी दिनमा सरकारी र निजी स्तरबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।
लैंगिक विभेद हटाउन महत्त्वपूर्ण
पद्मासना शाक्य
अध्यक्ष, मानुषी लघुवित्त वित्तीय संस्था
बिजनेश वुमन अफ द इयर
मानुषीमार्फत महिला तथा विपन्न वर्गको उत्थान तथा विकासमा हामी ३ दशकभन्दा लामो समयदेखि काम गरिरहेका छौं । तल्लो तहका महिलालाई उनीहरूको स्थानीय स्रोत र साधनमा आधारित शीप सिकाउने, उद्यम व्यवसाय गर्न वित्तीय सेवा प्रदान गर्ने तथा उनीहरूले उत्पादन गरेका सामानको विक्री वितरणका लागि समेत हामीले काम गरिरहेका छौं ।
विशेषगरी हामीले महिला दिदीबहिनीलाई हस्तकला व्यवसायका लागि सहयोग गरिरहेका छौं । हस्तकला निर्यातमा पनि हामीले काम गरिरहेका छौं । तर, पछिल्लो समय हस्तकलाको बजार घटिरहेको छ । हाम्रा उत्पादनकर्ता पनि यसमा चिन्तित छन् । हामी कसरी राम्रो र गुणस्तरीय उत्पादन गर्न सक्छौं भनेर लागिरहेका छौं । महिला उद्यमीलाई नै केन्द्रित गरी गरिएको अवार्ड एकदमै नौलो र उत्कृष्ट कार्यक्रम भएको छ । यसबाट लैंगिक विभेद हटाउँदै समावेशिता र समानता कायम गर्नमा समेत सहयोग पुग्छ । महिलाको कार्यक्रम महिलाले मात्र गर्नुपर्छ भन्ने मान्यतासमेत यसले तोडेको छ । यसका लागि आयोजकलाई धेरैधेरै धन्यवाद दिन्छु ।
पहिचान दिएको छ
सेवा पाठक
सीईओ, भायनेट कम्युनिकेशन
प्रोफेशनल वुमन अफ द इयर
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सीए उत्र्र्तीण गरेपछि अडिटिङको कामबाट मेरो व्यावसायिक यात्रा शुरू भएको हो । केही वर्ष इन्स्योरेन्स क्षेत्रमा काम गरेपछि आईटी क्षेत्रमा प्रवेश गरेकी हुँ । चार वर्षदेखि भायनेट कम्युनिकेशनको नेतृत्व गर्दै प्राविधिक क्षेत्रमा सक्रिय छु । ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउन र प्राविधिक क्षेत्रको उत्कृष्ट कम्पनीका रूपमा यसलाई अघि बढाउन लागिरहेकी छु ।
न्यूबिज प्रोफेशनल वुमन अफ द इयर अवार्डले मेरो व्यावसायिक कामलाई पहिचान दिएको छ । यो अवार्ड मेरा लागि एकप्रकारको सरप्राइज नै भयो । किनकि मैले अवार्ड पाउँछु भनेर सोचेको पनि थिइनँ । अवार्डले मलाई व्यावसायिक रूपमा काम गर्न अझ हौसला मिलेको छ । कार्यक्रम एकदमै भव्य र व्यवस्थित थियो । त्यसका लागि आयोजकलाई धन्यवाद दिन चाहन्छु । यस्ता कार्यक्रम तथा अवार्डले महिलालाई हौसला प्रदान गर्छ । महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्ने कार्यक्रममा महिलाको उपस्थिति अलिकम भयो कि जस्तो लाग्यो । आगामी दिनमा यसतर्फ पनि ध्यान पुर्याउन सुझाव दिन्छु ।
उद्यमी दिदीबहिनीलाई उत्साह
डा. प्रतिभा पाण्डे
मेडिकल डाइरेक्टर, सिवेक हस्पिटल
वुमन आन्त्रप्रेनर अफ द इयर
म मेडिकल डाक्टर भएको करीब ५० वर्ष भयो । मेरो अनुभवमा महिलाको सशक्तीकरणका लागि शिक्षा सबैभन्दा ठूलो कुरा हो । महिलालाई अघि बढाउन शिक्षालाई नै प्रवर्द्धन गर्नुपर्छ । साथै महिलाका लागि आर्थिक स्वतन्त्रता पनि उत्तिकै जरुरी छ । अहिले प्रविधिको क्षेत्रमा धेरै महिला देखेको छु । तर, नेतृत्वमा भने महिलाको उपस्थिति कमजोर छ । राजनीतिक नेतृत्वमा पनि महिलाको उपस्थिति कमजोर नै छ । यसमा आउन सक्नुभएको पनि छैन । यसका लागि हामीले अझै मेहनत गर्न आवश्यक छ । हाम्रा कानूनहरू पनि असमान छन् । त्यो सबै ठीक नभएसम्म अगाडि बढ्न महिलालाई गाह्रो पनि छ ।
अवार्डले महिलालाई व्यवसायका लागि प्रोत्साहन गरेको छ । राष्ट्रिय स्तरका महिलालाई भन्दा पनि प्रत्येक प्रदेशबाट छुट्टाछुट्टै महिला उद्यमी छनोट गरी पुरस्कृत गर्नु एकदमै राम्रो छ । यसबाट प्रदेशमा रहेर उद्यम गरिरहेका महिला दिदीबहिनीलाई उत्साह मिलेको छ । कार्यक्रममा महिला उद्यमशीलता र प्रविधिको विषयमा गरिएको प्यानल छलफल पनि फलदायी रह्यो । तर, कार्यक्रममा प्रायोजक कम्पनीहरूको प्रचारप्रचार अलि बढी भयो कि जस्तो लाग्यो । मेडिकल फिल्डमा पनि हामी औषधि कम्पनीको प्रायोजनमा कार्यक्रमहरू गर्छौं तर यति धेरै प्रचारप्रसार गर्दैनौं । उनीहरूको बढी प्रचारप्रसारले मुख्य कार्यक्रम ओझेलमा परेको हो कि जस्तो भान भयो । किनकि राष्ट्रिय पुरस्कार वितरण गर्ने बेलासम्म सबैजना सेलिब्रेशनको मुडमा हुनुहुथ्यो । आगामी दिनमा यो पक्ष सुधारमा आयोजकले ध्यान पुर्याओस् ।
थप काम गर्न हौसला मिलेको छ
अलिशा श्रेष्ठ
सहसंस्थापक, अम्निल टेक्नोलोजिज प्रालि
वुमन इन टेक अफ द इयर
यस्ता अवार्ड कार्यक्रममा सहभागी भएको यो मेरा लागि पहिलो अवसर हो । आफूले गरिरहेको कामको पहिचान हुने गरी अवार्ड पाउने खुशीको कुरा हो । यसले मलाई पहिचान दिएको छ । साथीभाइबाट बधाई आउने क्रम जारी नै छ । यसले मलाई आगामी दिनमा थप काम गर्न हौसला मिलेको छ । कार्यक्रम एकदमै उत्कृष्ट भयो । कार्यक्रममा भएको प्लानेल डिस्कशन पनि इन्फरमेटिभ नै रह्यो ।
विगत १७ वर्षदेखि म प्रविधिको क्षेत्रका काम गरिरहेको छु । विशेष गरी म आईटी प्रोग्रामर भए पनि आफ्नै कम्पनी स्थापना गरेपछि व्यवस्थापनको काम पनि हेरिरहेकी छु । म आईटी र व्यवस्थापनको विद्यार्थी भएकाले सजिलो पनि भएको छ । हाम्रो कम्पनी विभिन्न कम्पनीको वेबसाइट, सफ्टवेयर तथा मोबाइल एप्सको विकासमा काम गरिरहेको छ ।