काठमाडौं। नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स प्राप्त लघु बीमा कम्पनीहरू सञ्चालनमा आउन थालेका छन् । प्राधिकरणले हाल सातओटा लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गरेको छ, जसमध्ये दुई ओटाले व्यावसायिक कारोबार शुरू गरेका हुन् ।
कारोबार शुरू गर्ने लघु बीमा कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स रहेका छन् । प्राधिकरणका उपनिर्देशक शाम्बराज लामिछानेले लाइसेन्स पाएका प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि व्यावसायिक कारोबार थाल्न स्वीकृति पाइसकेको जानकारी दिए । उनका अनुसार यी कम्पनी कारोबार थाल्ने अन्तिम तयारीमा रहेका छन् ।
प्राधिकरणले गत भदौ १० गते सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीबाट प्रस्ताव माग गरेको थियो । प्राधिकरणले लघु जीवन बीमा व्यवसायतर्फ तीन र लघु निर्जीवन बीमा व्यवसायतर्फ चार कम्पनीको प्रस्ताव छनोट गरी लाइसेन्स वितरण गरेको थियो । प्राधिकरणका उपनिर्देशक लामिछानेका अनुसार स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले न्यूनतम चुक्तापूँजी पुर्याइसकेकाले दुवै कम्पनी कारोबार थाल्ने स्वीकृतिको पर्खाइमा छन् । लघु बीमा कम्पनीले न्यूनतम चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम गर्नुपर्नेछ ।
नेपाल बीमा प्राधिकरणले गत भदौ १० गते सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीबाट प्रस्ताव माग गरेको थियो, जसअनुसार लघु जीवन बीमा व्यवसायतर्फ तीन र लघु निर्जीवन बीमा व्यवसायतर्फ चार कम्पनीले लाइसेन्स पाएका थिए ।
ट्रस्ट माइक्रो इन्स्योरेन्सले भने प्राधिकरणले तोकेको न्यूनतम चुक्तापूँजी पुर्याउन सकेको छैन । लामिछानेका अनुसार प्राधिकरणले कम्पनीलाई निर्धारित चुक्तापूँजी पुर्याउन भदौसम्मको समय दिएको छ । प्राधिकरणले जारी गरेको ‘लघुबीमा निर्देशन २०७९’ अनुसार लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले अधिकतम ५ लाख रुपैयाँ बीमांक बराबरको बीमा गर्न पाउनेछन् । लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा व्यवसाय गर्न पाउनेछन् । त्यस्तै लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले अधिकतम ५० लाख रुपैयाँ बीमांक बराबरको बीमा गर्न पाउनेछन् ।
कुन बीमा कम्पनीको प्रधान कार्यालय कहाँ ?
‘लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९’ को दफा ५ को उपदफा १० मा प्रस्तावित लघु बीमकको कर्पोरेट कार्यालय काठमाडौं उपत्यकाबाहिर हुनुपर्ने उल्लेख छ । त्यसअनुसार नै प्राधिकरणले सातओटै लघु बीमा कम्पनीलाई काठमाडौं उपत्यका बाहिर प्रधान कार्यालय राख्न स्वीकृति दिइसकेको छ ।
प्राधिकरणले लघु जीवन बीमा व्यवसाय गर्न अनुमति पाइसकेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय मोरङको विराटनगरमा, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको प्रधान कार्यालय सुर्खेतको वीरेन्द्रनगर र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कास्कीको पोखरामा राख्न अनुमति दिएको छ ।
त्यसैगरी लघु निर्जीवन बीमा व्यवसाय सञ्चालनको अनुमति पाएको नेपाल माइक्रो इन्स्योरेन्सलाई चितवनको भरतपुर, ट्रस्ट माइक्रो इन्स्योरेन्सलाई रूपन्देहीको बुटवल, स्टार माइक्रोफाइनान्स इन्स्योरेन्सलाई धनुषाको जनकपुर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई कैलालीको धनगढीमा प्रधान कार्यालय स्थापना गर्न अनुमति दिइएको छ ।